Fitkauli LIVE
साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँचजना स्रष्टा सम्मानित र दुई हास्यव्यङ्ग्य कृति लोकार्पण गर्दै खित्कौलीसभा सम्पन्न

फित्कौली र बाङ्गा अक्षरको संयुक्त आयोजनामा ‘फित्काैलीकाे खित्कौली सभा– ५’, पुरस्कार तथा सम्मान अर्पण एवम् कृति लोकार्पण समारोह शनिबार सम्पन्न भएको छ ।

Nepal Telecom ad

काठमाडौँ । नेपाली हास्यव्यङ्ग्य साहित्यको प्रवर्द्धनको अभियानमा सक्रिय संस्था फित्कौली र बाङ्गा अक्षरको संयुक्त आयोजनामा ‘फित्काैलीकाे खित्कौली सभा– ५’, पुरस्कार तथा सम्मान अर्पण एवम् कृति लोकार्पण समारोह शनिबार सम्पन्न भएको छ ।

वरिष्ठ हास्यव्यङ्ग्यकार प्रा रामकुमार पाँडेको प्रमुख आतिथ्य र नरनाथ लुइँटेलको अध्यक्षतामा सम्पन्न समारोहमा ‘यस वर्षको फित्कौली राष्ट्रिय हास्यव्यङ्ग्य पुरस्कार’ बाट देशभरका पाँच जना विशिष्ट हास्यव्यङ्ग्य स्रष्टालाई सम्मान गरियो ।

हास्यव्यङ्ग्यकार रामकुमार पाँडे, नरनाथ लुइँटेल, पुरस्कार अक्षयकाेषदाता विजया गजुरेल, जनक चालिसे  लगायतले पुरस्कृत स्रष्टाहरूलाई संयुक्त रूपमा पुरस्कृत र सम्मानित गर्नुभएको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा सम्पन्न समारोहमा यस वर्षको फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय हास्यव्यङ्ग्य सम्मान झापाका वरिष्ठ हास्यव्यङ्ग्यकार होम सुवेदीलाई अर्पण गरियो । सुवेदीलाई सम्मान पत्रसहित नगद रू २०,१०५ प्रदान गरिएको थियो ।

त्यसैगरी हेटौडा सिस्नुपानीका पूर्वअध्यक्ष राजकुमार लामिछानेलाई गोविन्द विजया–फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कार, काठमाडौंका कवि राजेन्द्रप्रसाद अधिकारीलाई, फित्कौली हास्यव्यङ्य राष्ट्रिय कविता पुरस्कार, गुल्मीका रामप्रसाद पन्थीलाई फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय निबन्ध पुरस्कार र मकवानपुरका बुढ्यौली साहित्यका अभियन्ता तथा नियात्राकार रमेशमोहन अधिकारीलाई मुकुन्द–मुना बुढ्यौली साहित्य पुरस्कार समर्पण गरियो । उहाँहरूलाई सम्मानपत्रसहित जनही रू. १५,१०५ रूपैयाँ प्रदान गरिएको थियो ।

समारोहमा फित्कौलीसँगको सहकार्यमा यसोभानु साहित्य सङ्गीत प्रतिष्ठानद्वारा प्रकाशित कृति ‘सम्हार्जन’ र फित्कौली अनलाइन मिडियाद्वारा प्रकाशित ठाकुरप्रसाद अधिकारीको ‘टेढो नजर’ हास्यव्यङ्ग्य कृति लाेकार्पण गरियाे ।

हास्यव्यङ्ग्यकारहरू प्रा रामकुमार पाँडे, नरेन्द्रराज पौडेल, नरनाथ लुइँटेल, डा बमबहादुर थापा जिताली, डा मुकेश चालिसे, डा खगेन्द्रप्रसाद लुइटेल, नारायण भट्टलगायत मार्फत सामूहिक रूपमा लोकार्पण गरिएको हाे ।्

लोकार्पित कृति मध्ये ‘टेढो नजर’ माथि समीक्षात्मक मन्तव्यका क्रममा प्रा कपिल अज्ञातले कृतिमा हास्य र व्यङ्ग्यको सन्तुलित संयोजन भएको उल्लेख गर्दै यसलाई नेपाली हास्यव्यङ्ग्य साहित्यको महत्वपूर्ण निधिका रूपमा लिनु पर्ने बताउनुभयो ।

त्यसैगरी लोकार्पित अर्काे कृति ‘सम्हार्जन’ माथि समीक्षाका क्रममा डा नवराज खतिवडाले समीक्षा जस्तो जटिल विषयमा एआइको प्रयोग कसरी हुनसक्छ भन्ने उदाहरण प्रस्तुत गर्दै सङ्ग्रहका ६७ वटा निबन्धहरू बारे भिन्नभिन्न कोणबाट एआइले गरेको विश्लेषणको सार प्रस्तुत गर्नु भएको थियो ।

राजेन्द्र कार्कीद्वारा स्थापित तथा बाङ्गा अक्षरद्वारा व्यवस्थित खाइराइड हास्यव्यङ्य निबन्ध प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरूलाई पनि पुरस्कृत गरियो । प्रतियोगितामा इलामका सेमन्त आचार्य प्रथम भई नगद रु २० हजार र सम्मानपत्र इलाम नै पुगेर दिइएको थियो भने काठमाडौँस्थित डियरवाक स्कुलका सुविज्ञराज पोखरेल द्वितीय हुँदै नगद रु १० हजार र सम्मानपत्रबाट पुरस्कृत हुनुभयो। यस्तै, काठमाडौँको कान्तिभैरव गुरुकुल स्कुलका पुसप खरेल र काभ्रे इङ्लिस स्कुल, काभ्रेकी स्वीकृति तामाङलाई संयुक्त रूपमा जनही नगद रु ५ हजार र सम्मानपत्र प्रदान गरिएको थियो ।

पुरस्कृत छात्रछात्रा एवम् सम्मानित स्रष्टाहरूले आफ्ना हास्यव्यङ्ग्यात्मक सिर्जना प्रस्तुत गर्दै सम्मानित र पुस्कृत गरिएकामा गौरवको अनुभूति भएको बताउनु भयो ।

समारोहमा हास्य कलाकार सुवोध गौतमको चार राष्ट्रिय नेताहरूमा केन्द्रित चार कविताको प्रहसनात्मक प्रस्तुति अत्यन्त मनोरञ्जक रहेको थियो । डिल्लीप्रसाद मूलतिहुन र टेकबहादुर कोइरालको उपहार उपक्रम पनि कम रमाइलोे थिएन ।

कार्यक्रममा ‘बाङ्गा अक्षर, नेपाल’ तथा यसोभानु प्रतिष्ठानका तर्फबाट नारायण भट्टराईले ‘संहार्जन’ प्रकाशनको औचित्यमाथि प्रकाश पार्दै समारोहमा समुपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

समारोहमा प्रमुख आमन्त्रित वरिष्ठ हास्यव्यङ्ग्यकार रामकुमार पाँडेले आजको सन्दर्भमा हास्यव्यङ्ग्यको सान्दर्भिकता र उपादेयता झन बढिरहेको बताउँदै यसको प्रकाशन प्रशारण र उत्प्रेरणामा हिजो वासुदेव भैरवहरू सक्रिय थिए भने आज फित्कौलीले अगुवाइ गरिरहेको छ भन्नु भयो । एउटै थलोमा हास्यव्यङ्ग्य कृतिहरूको लोकार्पण, ससाना भाइबैनीहरू सहित हास्यव्यङ्ग्य लेखनमा सक्रिय आधा दर्जन स्रष्टाहरूलाई सम्मानित गर्न पाउँदा आफूलाई खुसी लागेको बताउनु भयो ।

कार्यक्रमको आरम्भमै नरनाथ लुइँटेलले स्वागत मन्तव्यका क्रममा नेपाली हास्यव्यङ्ग्यका मुर्धन्य व्यक्तित्व भैरव, वासुदेव, पिँडाली, गोतामेहरूको स्मरण गर्नु भएको थियो । उहाँले फित्कौलीको हास्यव्यङ्ग्य अभियानमा निशर्त र निस्वार्थ सहयोग पुर्याउने आदरणीय दुई दिवङ्गत व्यक्तित्व लोक सुब्बा र विजय चालिसेप्रति फित्कौलीका तर्फबाट श्रद्धा स्वरुप १ मिनेट मौन धारण गर्न आव्हान गर्नु भएको थियो ।

डिल्लीबजार निवासी ८१ वर्षीय जेष्ठ नागरिक विदुरमणि दाहालले रु. २५ हजार समर्पण गरी फित्कौली संरक्षक सदस्यता ग्रहण गर्ने घोषणा गर्नुभएको जानकारी गराइएको थियो ।

फित्कौलीमा वर्षभरि पोष्ट भएका राजेश मानन्धरका कार्टुनहरु मध्ये छानिएका कार्टुनहरुको प्रदर्शन समेत गरिएको यो समारोहलाई कल्पना काफ्लेले सहजीकरण तथा सञ्चालन गर्नुभएको थियो ।

समारोहमा काठमाडौंमा उपलब्ध फित्कौलीका संरक्षक, विशिष्ट, आजीवन सदश्यहरू, विभिन्न साहित्यकार, समीक्षक तथा हास्यनुरागीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

०००
फित्काैली डेस्कका लागि भीष्म रिमाल र गरिमा लुइँटेल
तस्विर : ध्रुवराज थापा, भीष्म, साधुराम खड्का

सभाका केही तस्विरहरू

 

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
5 days ago

पुरस्कृत सबैलाई हार्दिक बधाई ।

चेवन बस्नेत ठूलाघरे
चेवन बस्नेत ठूलाघरे
5 days ago

असल कामका लागि उत्कृष्ठ कार्य । वधाई छ नरनाथ सर ।

Nepal Telecom ad
2
0
Would love your thoughts, please comment.x
()
x