फित्काैली डटकमकवि पार्वती पुडासैनीको ‘मान्छे र मान्छेहरू’ प्रकाशित
कविताहरूले समकालीन समयको यथार्थ चित्रण गर्दै समाज, मानवीय सम्बन्ध र जीवनलाई अघि बढाउने सम्भावित बाटोहरूको खोजी गरेका छन्।
काठमाडाैं । कवि पार्वती पुडासैनीको नयाँ कविता सङ्ग्रह ‘मान्छे र मान्छेहरू’ भर्खरै प्रकाशित भएको छ। उहाँ नेपाली साहित्यमा विगत ३५ वर्षदेखि कविता, कथा, निबन्ध तथा स्वास्थ्यसम्बन्धी लेखनमा सक्रिय रहँदै आउनुभएको छ।
यस सङ्ग्रहमा ११६ कविताहरू सङ्गृहीत छन्। कविताहरूले समकालीन समयको यथार्थ चित्रण गर्दै समाज, मानवीय सम्बन्ध र जीवनलाई अघि बढाउने सम्भावित बाटोहरूको खोजी गरेका छन्।
कविता सङ्ग्रहका सम्बन्धमा समालोचक डा. अनुपमा रेग्मीले भन्नुभएको छ, “कवि पार्वती पुडासैनीका कविताहरू विषयमा विविधता, शैलीमा सङ्क्षिप्तता, भाषामा आलङ्कारिकता र सरलता, सङ्घर्षशील जीवनको चित्रणका साथै मानवीय सम्बन्ध, व्यवहार र मान्छेको फरकपनलाई चिनाउने विशेष प्रस्तुति बनेर उभिएका छन्।”
त्यस्तै, कवि एवं समालोचक भीष्म उप्रेतीले सङ्ग्रहका कविताहरूमा जीवनका विविध अनुभूति र संवेदनाहरू सुन्दर ढङ्गले अभिव्यक्त भएको बताउनुभएको छ। उहाँका अनुसार, “यस सङ्ग्रहमा कवि पार्वती पुडासैनीले जीवनको घामछायालाई निकै सुन्दर ढङ्गले अभिव्यक्ति दिएकी छिन्। प्रेमको कोमल र गहिरो अनुभूति, युद्धको कुरूपता, भुइँमान्छेको जीवन, मानवीय आकाङ्क्षा तथा जीवनका अपूर्णताहरू कवितामा विषयवस्तु भएर आएका छन्।”
भुँडीपुराण प्रकाशनले प्रकाशनमा ल्याएको यस सङ्ग्रहबारे प्रकाशन संस्थाका प्रबन्ध निर्देशक केशव पराजुलीले कविताहरू पाठकको मन जित्न सफल भएको र बजारमा माग बढेको बताउनुभएको छ। उहाँले भन्नुभएको छ, “कवि पार्वती पुडासैनीका कविताहरूले पाठकहरूको मन जित्न सफल भएका र उनको कविताको बजारमा अत्यधिक माग भएको कारण हामीले प्रकाशनमा ल्याएका हौँ।”
गत वर्ष प्रकाशित उहाँको ‘छेपारो समय’ कविता सङ्ग्रहको पहिलो संस्करण छोटो अवधिमै बजारबाट सकिएको थियो।
गहन अध्ययन, गहिरो चिन्तन र पर्याप्त शिल्पगत सौन्दर्यका साथ कविता लेख्दा अभिव्यक्ति पूर्ण हुने धारणा कवि पार्वती पुडासैनीले व्यक्त गर्नुभएको छ।
०००
Subscribe
Login
0 Comments
Oldest









































