फित्काैली डटकमपैसा नै त हो हजुर !
नेताले किन गाउँगाउँ डुलेर जनतालाई कहिल्यै पूरा नहुने झुटो वाचा बाँड्छ ? पैसा नै त हो हजुर !
सुबिज्ञ राज खरेल :
हास्यव्यङ्ग्य साहित्यको उन्नयन र प्रवर्द्धनका लागि हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीद्वारा स्थापित खाइराइड हास्यव्यङ्ग्य पुरस्कार स्थापना २०८२ मा गरेका हुन् । विद्यालय तहको विश्वव्यापी हास्यव्यङ्ग्य निबन्ध प्रतियोगिता आयोजना गरी यो पुरस्कार प्रदान हरेक वर्ष प्रथम, द्वतीय, र तृतीय गरी चार जनालाई हरेक वर्ष प्रदान गरिन्छ । व्यवस्थापक बाङ्गा अक्षरले व्यावस्थापन गरेको प्रतियोगिता २०८३ मा रु. १०००० (दश हजार) को पुरस्कार सहित यो निबन्ध द्वतीय भएको हो ।
“हातका मैला सुनका थैला, के गर्नु धनले?
साग र सिस्नु खाएको वेश आनन्दी मनले !”
माथिको श्लोक हामी सबैले पक्कै पनि जीवनमा एक न एक पटक कि पढेका छौँ कि सुनेका छौँ। यो श्लोक महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित महाकाव्य मुनामदनको दोस्रो पानामा पाउन सकिन्छ। बुढा हजुरबादेखि सामाजिक शिक्षकसम्म, कम्युनिष्ट नेतादेखि “धन ठूलो कि मन?” वादविवादमा पक्षमा बोल्ने विद्यार्थीसम्म, सबैजनाले पैसाको चरित्रहत्या गर्न यही श्लोकको सहारा लिन्छन्। स्वयम् ‘लक्ष्मीप्रसाद’ ले नै ‘लक्ष्मीको प्रसाद’ को यसरी उछित्तो काढेको!! यसैको कारणले सायद महाकविलाई पनि त्यो बेला प्रसादको भाग अलि कम नै परेको थियो।
हाम्रो समाजको ढोँग पनि गजबकै छ। मञ्चमा उभिएर जुन पैसालाई हामी रावण भनेर सराप्छौँ, व्यवहारमा त्यही पैसाको पाउमा राम भन्दै लम्पसार पर्छौँ। जुन पैसालाई साहित्यका पानामा विष भनेर निन्दा गरिन्छ, त्यही पैसा खाममा हालेर तिनै साहित्यकारलाई पुरस्कार भन्दै टक्र्याइन्छ। जुन पैसालाई कलिको साक्षात् अवतार मानिन्छ, मन्दिरमा भगवान् फकाउन त्यही पैसाको बिटो चढाइन्छ। पैसाले मान्छेलाई अन्धो बनाउँछ भनेर खोक्ने हामी, अन्धो मान्छेको आँखा खोल्न पनि अन्त्यमा त्यही पैसाकै शरणमा पुग्छौँ।
हाम्रो समाजको बिहेवारी त झनै गजबको छ! जातपात र गोत्रको जन्मकुण्डली जुधाएपछि कन्यादान गर्ने परिवारको मुखबाट फुत्किने पहिलो ब्रह्मवाक्य नै हुन्छः “अनि बाबुको काम नि?” सिधै आम्दानी सोध्दा धर्मकर्मको बर्को च्यातिने डरले हाम्रा चतुर बाजेहरूले यो प्रश्नलाई अलिकति संस्कारको लेप लगाएर सोध्छन्। उता वरपक्ष पनि कहाँ कम हुनु! मुखले “हामीलाई त बुहारी दिए पुगिहाल्छ नि!” भन्दै गर्दा उनीहरूको मनको क्याल्कुलेटरले भने दाइजोको पल्सर र फ्रिजको हिसाब जोडिसकेको हुन्छ। अन्त्यमा दुवै पक्ष मिलेर जन्ती र भतेरको निहुँमा आफ्नो हैसियतको विज्ञापन गर्छन्। बिचरा बेहुला र बेहुलीको प्रेम त मण्डपमै अलपत्र पर्छ तर फलानाको बिहेमा कति लाखको स्वाहा भयो भन्ने तथ्याङ्क भने छिमेकीको दिमागमा जुगजुगसम्म ताजा रहन्छ।
बाउलाई सम्पत्तिबारे सोध्दा झापड खाइने र मास्टरलाई तलब सोध्दा सिधै विद्यालय निकाला भइने देशका बिचरा बालबालिका त सानैदेखि पैसाको नाम लिनासाथ तर्सिन्छन्। आफ्नै बुबाको खल्तीको गहिराइ नाप्नु हाम्रो समाजमा महापाप नै मानिन्छ। तर अचम्म! अस्ट्रेलिया भासिएको दाहालज्यूको छोराले महिनामा कति डलर छाप्छ र त्यसलाई नेपाली रुपैयाँमा साट्दा कति बोरा हुन्छ भन्ने गफगाफ चाहिँ घरको बैठकमा चियासाथ बिस्कुट चपाउँदै बस्ने हरेकलाई कण्ठै हुन्छ। हाम्रा आफन्तहरू वास्तवमा जन्मजात अर्थशास्त्री नै हुन्। उनीहरूलाई अर्थशास्त्रमा रुचि नभएको कहाँ हो र? समस्या यति मात्र हो उनीहरूको आर्थिक अनुसन्धानको केन्द्रविन्दु आफ्नो रित्तो गोजी कहिल्यै हुँदैन, सधैँ अर्काको भरिभराउ बाकस मात्र हुन्छ।
कुनै बच्चाले भुलवश “म त ठूलो भएर व्यापारी बन्छु” भन्यो भने हाम्रो समाजमा त्यसलाई ठूलै असक्षमताको सङ्केत मानिन्छ। “व्यापारमा त डुबिन्छ नि बाबु! बरु लोकसेवामा नाम निकालेर कुनै अड्डाको सुब्बा भएर आनन्दको जागिर खाऊ न!” भन्दै कलिला मुनाहरूको सिर्जनात्मक पखेटा पहिल्यै कुँजाइन्छन्। पछि गएर त्यही बच्चा फाइल र हाजिरी कापीको दास बन्छ अनि तिनै दूरदर्शी अभिभावकहरू चियापसलमा भेला भएर “खै यो देशमा उद्यम गर्ने माहोल नै छैन” भन्दै लामो खुईईय गर्छन् । हाम्रो देशको अर्थतन्त्र उकास्न दक्ष अर्थमन्त्री वा विश्व बैंकका विशेषज्ञ नचाहिने रहेछन्। चियापसलका चार जना अनुभवी काकाहरूलाई जिम्मा दिए पुग्छ। देशको बजेट कसरी मिलाउने भन्ने गुरुयोजना त चियाको दोस्रो कप रित्तिनुअघि नै तयार भइसक्छ! तर चियाको बिल आइसकेपछि भने बीस रुपैयाँको चानचुन कसले तिर्ने भन्ने विषयमा उहाँहरूबीच राष्ट्रिय स्तरकै आर्थिक सङ्कट आइपर्छ।
हामीले पैसालाई जतिसुकै महापापी खलनायकको पगरी गुथाए पनि हाम्रो समाजमा मान्छे नाप्ने एक मात्र आधिकारिक तराजु भनेकै पैसा हो। मान्छेले कति पढेको छ, कति इमानदार छ वा कति पसिना बगाउँछ भन्ने कुरा त गौण हुन् उसको कमाइको मिटर कति माथि उक्लिएको छ भन्ने कुराले नै उसको औकात तय गर्छ। सुटटाई कसेर हिँड्ने चोरको पनि यहाँ रातो कार्पेट ओछ्याएर स्वागत हुन्छ तर फाटेको भोटो लगाउने इमानदार मान्छेको अनुहार हेर्न कोही तयार हुँदैन। धन देखेपछि महादेवका तीनवटै नेत्र खुल्ने हाम्रो समाजमा मानिसको चरित्रको उचाइभन्दा पहिले उसको खल्तीको गहिराइ नापिन्छ। “मानिस ठूलो दिलले हुन्छ” भन्ने आदर्श हामी सबैको जिब्रोको टुप्पोमा त छ तर प्राडोपजेरोबाट भुइँमा खुट्टा टेक्ने महाशयको दिलचाहिँ पक्कै पनि दुई चार इन्च त बढी फराकिलो नै होला भन्ने कुरामा हामीलाई कुनै शङ्का हुँदैन।
दानधर्मको कुरा गर्दा पनि हाम्रो पाखण्ड हेर्नलायक हुन्छ। दाहिने हातले दिएको दान देब्रे हातले थाहा पाउनु हुँदैन भन्ने शास्त्रको पाना सबैलाई कण्ठ छ त्यसैले त पाँच लाखको चेक हस्तान्तरण गर्दा लाउडस्पिकरबाट सात पुस्ताको नाम, थर र गोत्रसहित रकम घोषणा गरेर कडा गोपनीयता कायम गरिन्छ। अझ शिलालेखमा सुनौलो अक्षरले नाम कुँदाएर फेसबुकमा बत्तीसै दाँत देखाएको तस्बिर हालिन्छ। अनि बायोमा “समाजसेवी” लेख्नु त अनिवार्य नै भइहाल्यो। मन्दिरको भेटी बाकसमा पाँच रुपैयाँ चढाउने पुण्य चाहिँ माथि चित्रगुप्तले नै आफ्नै डायरीमा हिसाब राखिदिन्छन् होला। आखिर स्वर्गको मन्त्रालयमा पनि लेखापाल त पक्कै होलान् नि !
जनताको लागि, प्रजाको लागि राष्ट्रको सरकार नै आदर्श हुन्छन् रे! पैसाको महत्त्व बुझ्ने तर खुलेर स्वीकार नगर्ने संस्कार शायद हामीले हाम्रा माननीय मन्त्रीज्यू, नेतासाहेबबाट सिकेका हौँ। तर वास्तवमा हामी नेपालीहरूले पैसाको उचित व्यवस्थापन गर्न हाम्रा कुशल नेताहरूबाट सिक्नुपर्छ। मासिक तलब एक लाख ननाघे पनि केही वर्षमै करोडौँ मूल्यका जग्गा, विलासी सवारी साधन र विविध व्यवसायको स्वामित्व कायम गर्न सक्ने यस्तो अद्भूत क्षमता त वास्तवमै अध्ययनयोग्य विषय नै हो।
यस्ता अद्वितीय आर्थिक प्रतिभाबाट हामीले वित्तीय साक्षरताको पाठ सिक्न सक्दैनौँ भने कसबाट सिक्ने? बचत, लगानी र सम्पत्ति विस्तारका यति तीव्र र प्रभावकारी उपायहरू उनीहरूलाई मात्र थाहा भएको देखिन्छ। बैंकमा हाम्रो दस हजार रुपैयाँले वर्षभरि बसेर केही सय रुपैयाँ ब्याज जन्माउँदा पनि गर्व गर्नुपर्छ, उहाँहरूको सम्पत्तिले भने मालिक कुर्सीमा बसिरहेकै अवस्थामा बच्चाबच्ची जन्माइरहेको हुन्छ। चक्रवृद्धि ब्याजले पनि यस्तो प्रगति देख्यो भने आफ्नो पाठ्यक्रम फेरबदल गर्न माग गर्ला।
पैसाले नै पैसा जन्माउने यस्तो जादुगरी प्रगतिको पछाडि हाम्रा माननीयहरूको अद्भूत पाचनप्रणालीले ठूलो भूमिका खेलेको छ। करोडौँका काण्ड, कमिसन र ठेक्कापट्टाका चिल्ला फाइलहरू सिङ्गै निल्दा पनि उहाँहरूको जयभुँडीलाई कहिल्यै ग्यास्ट्रिकले छुँदैन। उहाँहरूको अनुहारमा अपचको डकारसम्म नसुनिँदा हामी सर्वसाधारणको पेट भने उहाँहरूकै भ्रष्टाचारका समाचार सुनेर बिग्रिसकेको हुन्छ। तर अचम्म हेर्नुहोस् हाम्रो पेट बिग्रिएर हतारहतार बाहिर निस्कनुपर्यो भने सानो कामका लागि पाँच र ठूलो कामका लागि दस रुपैयाँ खल्तीबाटै झिक्नुपर्छ। खर्बौँको राष्ट्रिय बजेट पचाउन कुनै शुल्क नलाग्ने यो देशमा बिचरा गरिबले आफूले खाएको दुई गाँस दालभात पचाएर फाल्दा पनि पैसा नै तिर्नुपर्ने कस्तो गजबको अर्थतन्त्र !
वास्तवमा यो देशमा जन्मदर्ता बनाएदेखि मृत्युदर्ताको प्रमाणपत्र निकाल्दासम्म हरेक पाइलामा देशभक्ति भन्दा गोजीको शक्ति बलियो हुनुपर्ने कस्तो विडम्बना! एउटा सामान्य नागरिकताको सिफारिस माग्न वडामा जाँदा होस् वा पसिना बगाएर राहदानी नवीकरण गर्ने लाइन बस्दा, कर्मचारीलाई दस औँला जोडेर गरिने नमस्कारले भन्दा फाइलभित्र सुटुक्क छिरेको हात्तीले काम छिटो फत्ते गराउँछ। स्वर्गको ऐरावतभन्दा शक्तिशालि हामी नेपालीको हात्तीको जादुले वर्षौँ सुतेका कागजलाई एकै मिनेटमा जुरुक्क उठाएर नचाइँदिन्छ।
अस्पतालको ढोकाबाट भित्र छिरेपछि पनि पैसासँगको हाम्रो साइनो कहाँ छुट्छ र! सानैदेखि “स्वास्थ्य नै धन हो” भनेर घोकाइन्छ तर अस्पतालको काउन्टरको बिल देखेर बिरामीका आफन्तलाई “धन नै स्वास्थ्य हो” भन्ने नयाँ ज्ञान प्राप्त हुन्छ। सडकका खाल्डाखुल्डीदेखि अस्पतालको शय्यासम्म, स्कुलको भर्नादेखि घाटको दाउरासम्म यहाँ निःशुल्क त केवल गफ र धुलो मात्र पाइन्छ। यस्तो पाइलापाइलामा, कुनाकाप्चामा वालेट खोल्नुपर्दा त सायद स्वर्ग जाने बाटोमा पनि ‘टोल ट्याक्स’ तिर्नु पर्ने हो कि भनेर डर लाग्छ।
महाकविले “हातको मैला” भनिदिएकै भरमा पैसालाई घृणा गर्ने यो ढोँगी नाटक किन? हातको मैला त पानी र साबुनले सजिलै धुन सकिन्छ तर रित्तो गोजीले निम्त्याउने लाचारी र भोकलाई कुन ब्रान्डको साबुनले पखाल्ने? जबसम्म हामी लक्ष्मीको प्रसादलाई बाहिरबाट छोप्न खोज्छौँ र भित्रभित्रै पुज्छौँ तबसम्म हाम्रो नैतिकताको शेयर बजार यसरी नै ओरालो लागिरहनेछ।
अन्ततः एकपटक छातीमा हात राखेर सोचौँ त! डाक्टरले किन दिनरात नहेरी बिरामीको उपचार गर्छ ? व्यापारीले किन बिहानैदेखि बेलुकी अबेरसम्म सटर खुल्ला राख्छ ? नेताले किन गाउँगाउँ डुलेर जनतालाई कहिल्यै पूरा नहुने झुटो वाचा बाँड्छ ? पैसा नै त हो हजुर !
०००
कक्षा १० । डियरवाक सिफल स्कुल सिफल, काठमाडौँ
सुबिज्ञ राज खरेलसंग गरिको कुराकानी
प्रश्न (१) प्रतियोगितामा तपाईँको निबन्धले प्रथम पुरस्कार प्राप्त गर्दा कस्तो लाग्यो?
द्वितीय पुरस्कार प्राप्त गर्दा निकै खुसी लाग्यो। आफ्नो पहिलो हास्यव्यङ्ग्यात्मक निबन्धले नै यस्तो सफलता प्राप्त गर्दा अझ विशेष महसुस भयो। यस उपलब्धिले मलाई भविष्यमा पनि नयाँ विधामा लेख्ने उत्साह र आत्मविश्वास दिएको छ।
प्रश्न (२) यो प्रतियोगिताका बारेमा कसरी जानकारी पाउनुभयो?
हाम्रो विद्यालयले विगत केही वर्षदेखि विद्यार्थीहरूलाई यस प्रतियोगितामा सहभागी हुन प्रोत्साहित गर्दै आएको छ। यसै क्रममा मैले पनि प्रतियोगिताबारे जानकारी पाएको थिएँ।
प्रश्न (३) निबन्ध लेख्दै गर्दा पुरस्कार पाउँछु होला भन्ने लागेको थियो? अनि यो रचना तयार पार्दा कसैको मार्गदर्शन वा सहयोग लिनुभएको थियो ?
आफ्नो रचनाप्रति विश्वास थियो, तर पुरस्कार नै प्राप्त हुन्छ भन्ने निश्चित थिएन। निबन्ध लेख्ने क्रममा मेरा शिक्षकहरू र मेरी आमाबाट उपयोगी सुझाव तथा मार्गदर्शन प्राप्त भयो। विशेष गरी रचनामा रहेका केही कमजोरीहरू औँल्याइदिने र सुधारका लागि सुझाव दिने कार्यमा उहाँहरूको महत्त्वपूर्ण भूमिका रह्यो। उहाँहरूको हौसला र सहयोगले मलाई थप आत्मविश्वासका साथ लेख्न प्रेरित गर्यो।
प्रश्न (४) निबन्ध लेखनका क्रममा तपाईँलाई सबैभन्दा रमाइलो वा कठिन क्षण कुन चाहिँ लाग्यो?
निबन्ध लेख्दै गर्दा आफैँले लेखेका केही व्यङ्ग्यात्मक प्रसङ्गहरू पढेर आफैँलाई हाँसो उठ्नु सबैभन्दा रमाइलो पक्ष थियो। कठिन चाहिँ मनमा आएका सबै विचारलाई निबन्धमा अटाउन र कुन प्रसङ्ग राख्ने, कुन हटाउने भनेर निर्णय गर्न लाग्यो।
प्रश्न (५) यसभन्दा पहिले पनि कविता र निबन्धहरू लेख्नुभएको थियो कि?
यसअघि पनि मैले निबन्ध, कविता, पुस्तक समीक्षा लगायतका विभिन्न विधामा लेख्दै आएको थिएँ। तर हास्यव्यङ्ग्यात्मक निबन्ध लेखेको भने यो पहिलो अनुभव थियो।
प्रश्न (६) आगामी साल प्रतियोगितामा भाग लिन चाहने जुनियर कक्षाका साथीहरूलाई के सल्लाह दिनुहुन्छ?
जुनियर कक्षाका साथीहरूलाई सकेसम्म यस्ता प्रतियोगिताहरूमा सहभागी हुन सल्लाह दिन्छु। आफूमा विश्वास राखेर अगाडि बढ्नुपर्छ। ‘म पनि गर्न सक्छु’ भन्ने मानसिकता लिएर प्रयास गरेमा यस्ता प्रतियोगिताबाट धेरै कुरा सिक्न सकिन्छ।
प्रश्न (७) अब हास्यव्यङ्ग्य साहित्यिक यात्रालाई अगाडि बढाउने सोच र भावी योजनाहरू के-के छन्?
अहिले नै हास्यव्यङ्ग्य लेखनलाई निरन्तरता दिने कुनै निश्चित योजना बनाएको छैन। तर भविष्यमा कुनै विषय वा घटनाले मनमा रोचक विचार जन्मायो र त्यसलाई हास्यव्यङ्ग्यका रूपमा प्रस्तुत गर्न सक्छु जस्तो लाग्यो भने अवश्य लेख्नेछु। मेरो विचारमा यस्ता रचनाहरू स्वाभाविक रूपमा सिर्जना हुँदा अझ राम्रा हुन्छन्।
०००














































I am really proud of your work Subigya… Keep up with your more amazing works!!!! All the very best!!