फित्काैली डटकमभलो चाहनेहरूको भिड
लाक्षागृहको गुरुयोजना मैले तयार गरेको हूँ, लंकाको लिस्नु मेरै डिजाइन हो । म गोर्खाली फौजको पहिलो गढी हुँ, म अमूल्य नागमणी हुँ ।
सेवन्त आचार्य :
हास्यव्यङ्ग्य साहित्यको उन्नयन र प्रवर्द्धनका लागि हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीद्वारा स्थापित खाइराइड हास्यव्यङ्ग्य पुरस्कार स्थापना २०८२ मा गरिएकाे हाे । विद्यालय तहको विश्वव्यापी हास्यव्यङ्ग्य निबन्ध प्रतियोगिता आयोजना गरी यो पुरस्कार प्रथम, द्वतीय, र तृतीय गरी चार जनालाई हरेक वर्ष प्रदान गरिन्छ । बाङ्गा अक्षरले व्यावस्थापन गरेको प्रतियोगिता २०८३ मा रु.२०,००० (बीस हजार) को पुरस्कार सहित यो निबन्ध प्रथम भएको हो ।
एकाइसौँ शताब्दीका घाम–जुन हाम्रो आँगनमाथिबाट अनवरत यात्रा गरिरहेका छन, तर विश्वको पात्रोमा आफ्नै ढाँचाको तिथिमिति घर्किदै छ । नेपालको पात्रोमा असोज महिनाको टुसो मात्र पलाएको छ । यो महिनादेखि नेपाली चाडवाडको रौनक बजारका पसलसम्म भित्रिने क्रम शुरु भैसकेको छ ।
विहानै पूर्वबाट चाडवाड आएको सूचना बोकेर बडेमानको सूर्य उदाउछ । चाडपर्वको शुरुवातको शास्त्रीय मतका केस्रा केलाउने जिम्मा मर्मज्ञहरूकै पोल्टामा छोडिदिने हो भने अहिलेका चाडवाडको शुरू चाहिं कपडा पसलबाट हुने कुरामा दुइमत छैन ।
एकदिन बजारको माहोल हेर्नका लागि घरबाहिर निस्केको थिएँ, अचानक मुसलधारे वर्षा शुरु भयो र ओत लाग्न नजिकैको कपडा पसल छेउमा उभिएको मात्र थिएँ, “भाइलाई यो कुर्ता ठिक्क हुन्छ” भन्ने आवाजले झसङ्ग भएँ, पसल्नी दिदीको इशारा मतिरै थियो । अझ प्रस्ट पार्दै भनिन्, “यो भर्खरै झरेको, फेसनै यस्तैको छ, टिका लगाउँदा कुर्ता नलगाई कसरी दशैं मनाउनु ?” बोल्ने क्रम अझै रोकिएन, “हाइट ठ्याक्कै मिल्छ, अब धेरै छैन, मिलाएर दिन्छु लानु ।” म भागवत सुने झै असल श्रोता बनेर सुनिमात्र रहेँ । दिदी रेडियोमा समाचार वाचन गरे झैं एकपछि अर्को दलिल पेश गर्दै गइन्, “अरूलाई अठार सयमा बेच्दैछु, तपाईंलाई बाह्रसयमा दिइ हाल्छु ।” अझ यो पाइन्ट पनि लाने हो भने अझै घटाएर दिन्छु ।
चिन्दै नचिनेकी दिदीले मलाई मात्र सस्तोमा दिन खोज्दैछिन्, मात्र मलाई । अझ पाइन्टको कुरा पनि हुँदैछ । एउटा कालो पाइन्ट हातमा लिएर फेरि दिदीले आफ्नोपन मिसिएको स्वरमा भनिन्, “यो ठिक्क हुन्छ, तपाईंलाई २९ को कम्मर लाग्छ, भित्र पसेर यो लगाउनु त सारै फिट देखिन्छ ।” म केहि नबोली गम्भीर रुपमा सोच्न बाध्य भएँ कि मेरा परिवारका सदस्यलाई पनि थाहा नभएको २९ को कम्मर पनि थाहा रहेछ । कति ख्याल राख्ने पसल्नी दिदी। तर, म एउटै कपडामा विद्यालय र मावल दुवै ठाउँ भ्याउने बबुरोलाई त्यो कुर्ताको कुनै सुर्ता थिएन । बिस्तारै वर्षा रोकिँदै गयो र म हिँड्न लाग्दा अलि ठूलो स्वरमा भनिन्, “तपाइँकै भलाईको लागि भनेको थिएँ ।”
झरी थामिएपछि सडक छेउमा उभिएको मात्र थिएँ, अटो वाला दाइ टुप्लुक्क आइपुगे र भने, “भाइ कहाँ जाने हो ?” अटो खाली देखेर मलाई सकस पर्यो भाडाको । खासमा मैले ट्याक्सी पर्खेको थिएँ, सस्तोमा जान। केहि क्षण मौन बसेँ।मौनता चिर्दै दाइले भनिहाले, “जाने भए भन्नु है ।” मैले मेरो गन्तव्य बताएँ । त्यसपछि दाइले हतार हतार भने , “त्यहाँ सम्मको भाडा दुई सय हो, तपाईलाई डेढसयमै लगि दिन्छु ।” फेरि एक अपरिचित दाइ मेरो भलाईमा खडा भएको देख्दा परम् आनन्द महसुस भयो ।
केहि दिनदेखि दाँत दुखेको हुनाले दन्त चिकित्सकलाई देखाउनु थियो । घरै नपुगी लागें दन्त सेवा केन्द्रतिर, अपरिचित डाक्टरसाबले कागजमा लेख्दै भन्नुभयो, “तपाईंको दाँत सफा गर्ने बेला भएको रहेछ ।” मैले पनि भनिहालेँ म त दिनकै ब्रस गर्छु, के भएछ र त्यस्तो ? उहाँले मन्द मुस्कान साथ सल्लाह दिनुभयो, “त्यस्तो सफा गरेर हुँदैन के। यहाँ मेसिनबाट सफा गरिन्छ, दाँत सेता र चम्किला हुन्छन् । अनि यो एउटा दाँत कस्नुपर्ने पनि रहेछ, यहाँ गर्नुहुन्छ भने म तपाईंलाई विशेष छुटमा गरिदिन्छु । तपाईंकै भलाइका लागि भनेको इच्छा तपाईंको ।” मेरो भलो चाहनेहरूको सूचीमा उहाँ पनि दर्ता हुनुभयो । म त विशेष प्रजातिकै मनुवा रहेछु कि क्या हो ? मेरा दाँत अनारका दाना जस्तै मिलेका र हिमाल झैं टल्कने देखिउन् भन्ने शुभेच्छा अहिलेसम्म कसैले प्रकट गरेका थिएनन् ।
दन्तसेवा केन्द्रबाट फर्केर घरमा प्रवेशमात्र के गरेको थिएँ, “नमस्कार हामी एउटा कलेजबाट प्रयोगात्मक परीक्षाको लागि आएको, हामीसँग यो यो समानहरु छन् हजुरले एउटा राखिदिनु पर्यो ।” एकै सासमा भनेको यो वाक्य कुनै नाटकको पात्रले कण्ठ गरेको सम्वाद जस्तो लाग्यो । मेरा अगाडि दुईजना सुकुमार युवकहरू विवाहको जन्ती जान तयार भए जस्तै हुलियामा उभिएका थिए । झोलाबाट केहि औषधिजन्य उत्पादनहरु निकालेर मेरा अगाडि प्रदर्शन गर्दै त्यसका गुणहरुको बयान यति धेरै गरे कि, हजार जिब्रो भएका शेषनागले पनि आफ्नो इज्जत बचाउन धौधौ पर्ने कुरा निश्चित थियो।
धेरै व्याख्या सुनेपछि, अहिले मलाई कुनै रोग छैन, ओखती आवश्यक छैन, “भन्दिएको मात्र के थिएँ, दुबैजना मिलेर सानो सानो दर्शन शास्त्र नै सुनाई दिए । उनीहरुले ती औषधिहरूको यति चर्चा परिचर्चा गरे कि सुन्दासुन्दै अलि अलि लागेका रोगहरू पनि तत्काल भाग्ला जस्तो पो भयो। उनीहरू शिरदेखि पाउसम्म सबै एउटै औषधिले ठिक गर्छ भन्ने दाबी पेश गर्न पनि पछि परेनन् । निःशुल्क परामर्शको उचाई यति बढेर गयो कि संसारका सबै रोगको औषधि एउटै सिसीमा छ । अझ भनौं संजीवनी बुटी फुल्ने सिंगै द्रोणागिरि पर्वत त्यहि सानो झोला भित्र छ । उनीहरु अश्विनीकुमारका निजि सचिव हुन्, उनीहरुको एक सिसी ओखतीले चेवन ऋषिको झैं आधा उमेर कम हुन्छ ।
मुत्र सङ्क्रमणदेखि सुत्र स्मरणसम्म पुत्र प्राप्तीदेखि पत्थर समाप्तीसम्मका अचुक औषधि त्यहिँ छन् । उनीहरुको मुख्य सार थियो जीवनमा जे पनि हुन सक्छ, अहिले रोग नलागेपछि लाग्न सक्छ, आफूलाई नभए परिवारका अरुलाई पनि हुन सक्छ। तपाईंकै भलाईका लागि भनेको, हामी तपाईंकै लागि यति टाढादेखि आएको। अझै धेरै सुनाउने छाँटकाँट बुझेपछि एउटा सामान राखिदिएँ र मेरो भलाई गर्न आएका एक जोडी शुभचिन्तकको विदाइ गरेँ ।
भोलिपल्ट मेरो भलाइको सुनौलो प्रस्ताव लिएर फेरि एक थान शुभचिन्तकको आगमन भयो । प्रस्ताव थियो अध्ययन भिसामा अस्ट्रेलिया वा जापान जानुपर्ने। छलफल लामै चल्यो, वार्तालापकै क्रममा गहिरो प्रश्न आयो शुभचिन्तक महासयबाट “तपाईंलाई भविष्यको चिन्ता छैन ?” म पनि सोच मग्न भएँ, भविष्यको बारेमा त सोचेकै रहेनछु । मैले नसोचेको विषय मेरा शुभचिन्तकहरूले सोचिदिनु परेको छ । धन्य छन् मेरो भलो चाहनेहरु । अझ उनीहरूले पछि आइपर्ने स्वास्थ्य समस्या, बिहेवारी, घरको जिम्मेवारी, सबै विषयमा गहन र सारगर्भित प्रवचन दिएर म जस्तो निर्बुद्धि, बेबकुफको भलो गर्ने सत्प्रयास गरेकै हुन् ।
यसरी हप्तामा एक दुई जना मेरो भलाइका निम्ति आइरहन्छन् । उनीहरू मेरैलागि सोचिरहन्छन्, मैले दुःख नपाओस् भन्ने उत्कण्ठाले धेरैलाई पिरोलेको छ । यो संसारमा मैले दुःख पाउँछु कि भन्ने चिन्ताले खर्लप्पै निलेको छ । यो ब्रम्हाण्डमा म मात्र यस्तो अलौकिक प्राणी हूँ कि, सबै मेरो भविष्य नबिग्रियोस्, म संरक्षित र सुरक्षित बाँची रहुँ भन्ने कामना, याचना सदिच्छाको पुष्पगुच्छा लिएर भेट्न आउछन् । मानौं मलाई जोगाइएन भने प्रलय आउँछ, संसार ध्वस्त हुन्छ ।
“भविष्य, बनाउने भए अमेरिका जाऔँ, तल्लो बाटो” मध्येराती फोन मार्फत पेश गरिएको सुनौलो प्रस्ताव थियो, एक शुभचिन्तकको । यसको अन्तिम वाक्य त्यहि थियो, “तपाईंलाई मात्र भनेको अरुलाई हल्ला नगर्नु एक जनाको मात्र ठाउँ छ । तपाईंलाई आफ्नै ठानेर तपाईंकै भलाइको लागि भनेको, सोच विचार गर्नु।“
मेरो भलाइका लागि मानिसहरू खाना, पानीको पर्वाह नगरी लागि परेका छन् । मानौं म त्यो देशको निसन्तान राजा हुँ, मलाई थोरै तल– बितल परेमा राज्य नै विलय हुन्छ । म बाँचेमात्र चराचर जगत बाँच्नेछ । म त्यो दोलखाको भिमसेनको मुर्ति हुँ मलाई एक थोपो पसिनामात्र आयो भने पनि देश संकटमा पर्छ। मेरो भविष्य सुन्दर बनाउन को–को मात्र लागी परेनन् ।
म चानचुने मानिस त हुँदै होइन। मेरो भविष्यमाथि कहिल्यै संकट नआओस भन्ने हेतुले बीमा कम्पनीका शुभचिन्तकहरू लगातार ४ दिन आफ्नै जुत्ता खियाउँदै मेरो घरसम्म पदार्पण गरेबाट पनि थाहा हुन्छ कि मेरो लागि धेरैले योगदान गरेका छन् । आफ्नो अमूल्य समय मेरै निम्ति कुर्वानी गरेका छन् । हर हालतमा मेरो संरक्षण चाहन्छन् । मानौ म आफू इतिहासमा कहिल्यै नजन्मिएको र अब पनि नजन्मने त्रिकालदर्शी अगमवक्ता हुँ ।
उनीहरूले सूक्ष्मातीसूक्ष्म कुरा मेहनत लगाएरै बुझाएका हुन्, अझ कापीमा नक्सा बनाएर प्रस्ट्याउने प्रयास नगरेका पनि होइनन्। लाभांशको मचान,मचान चढ्ने भर्याङ, आयको चाङ, मृत्युको दाम आदि ईत्यादि। सबै सुनेपछि जीवनमा पहिलो पटक मृत्यु पनि लोभलाग्दो भान भयो तर मृत्युको आसमा वीमा गरौँ कि वीमाको आसमा मृत्युवरण गरौँ द्विविधामा परेँ ।
भविष्यको निम्ति बचत गर्ने राम्रो प्रावधान बुझाउन सहकारीकर्मी मित्रले गरेको मेहनत पनि मेरै भलाइको लागि थियो। मैले दुःख पाउनु हुँदैन, सानो भन्दा सानो समस्याले पनि मलाई चियाउने हिम्मतसम्म गर्नु हुँदैन, सबैको कामना त्यहि छ । त्यसैले मलाई लाग्दैछ म घिसिपिटी मानिस त हुँदै होइन, अझ भनौ म मानिस नै हुँ कि अर्कै ग्रहबाट आएको अनौठो प्राणी ? म आफै तीन छक्क छु । मलाई कुनै दुर्घटनाले वा दिनदशाले नघेरोस् भन्ने यो सकल जगतको कामना मेरै लागि हो, मात्र मेरो लागि। मलाई दरबार हत्याकाण्डको रहस्य सबै थाहा छ, कोत पर्वको एक एक खबर मलाई नै थाहा छ । हर्मुज नहरको चाबीदेखि रावणको नाभी सम्म मैले मात्र देखेको छु। मानौ, म चारै युगको ज्ञाता, अलौकिक पौराणिक पात्र हुँ । लाक्षागृहको गुरुयोजना मैले तयार गरेको हूँ, लंकाको लिस्नु मेरै डिजाइन हो । म गोर्खाली फौजको पहिलो गढी हुँ, म अमूल्य नागमणी हुँ ।
म गलत बाटोमा लाग्छु कि भनेर चिन्ता लिने शुभेच्छुकहरुको बेग्लै समूह छ । कुन वाद असल, कुन वाद खराब, कुन पन्थ कहाँ पुग्छ, कुन वादीले के खान्छ । कसैले दायाँ पन्थ अगाडि बढ्न सुझाए,कसैले राता किताब पढ्न सुझाए। लिङ्कनदेखि लुथर किङ्सम्मका योगदान र जेम्स ह्यारिसनले गरेको रक्तदानको एकएक किस्सा बुझाउन गोडा दशेक प्रहरहरु खर्च भएका थिए । गान्धीले गरेका सन्धिदेखि महाकालीको कहानीमा कोसीको पानी मिसाएर सर्वत पिलाउन सम्म मेहनत नगरेका होइनन् । यी सबै मेरै कल्याणको निम्ति थिए। सबै बुझाउन कम्मर कसेर लागि पर्ने मित्रहरुलाई मुरी मुरी धन्यवाद नदिई कसरी भारा तिर्न सकिएला र अझ मुरीमा दिएको धन्यवाद त कम होला ट्रक ट्रक धन्यवादका हकदार हुनुहुन्छ उहाँहरू ।
मेरो भलो चाहने सहृदयी महानुभावहरू, चोक चौतारीदेखि खेत खलियानसम्म सल्लाह सुझाव र सुनौला प्रस्तावहरु लिएर दैनिकजसो भेटघाट भइरहन्छन् । मलाई एउटा त्रासले बेला बेला झस्काई रहन्छ, कतै मलाई चिडियाखानामा राखेर संरक्षण गरिने त होइन । त्यसैले समय हुँदै सबै शुभेच्छुकहरूलाई सविनय अनुरोध गर्न चाहन्छु कि, म पनि यहि लोकको साधारण मनुवा भएकोले मेरो संरक्षणको निम्ति यति धेरै भुर्नहत्ते नगरी दिनुहोला । म कुनै निकुञ्जमा संरक्षणको पर्खाइमा रहेको लोपोन्मुख प्राणी नभएको ऐलान गर्नु मेरो परम्कर्तव्य बन्न जान्छ ।
मेरो मस्तिष्कमा कुनै रहस्मयी र दुर्लभ तन्त्र, मन्त्र, सूत्र वा सूचना पनि छैन् । मसँग न त यार्सागुम्बा फल्ने बोट छ न त डाइनोसरको गोठ छ । न मसान खेल्ने आहाल छ, न एलियनको बगाल छ । अतः सम्पूर्ण ज्ञात अज्ञात उपकारी शुभेच्छुकहरूप्रति कृतज्ञता प्रकट गर्दछु । जदौ ।।
यो निबन्धका तीन मूल्याङ्कनकर्ता मध्येका एक लक्ष्मण गाम्नागेले मूल्यांकनको सिलसिलामा लेख्नु भएको टिप्पणी । (हैट, यो भैरव अर्यालले लेखेका हुन् कि लामिछानेले ? लक्ष्मण गाम्नागेले पाँच-सातवटा रचनामा छरेका विषयवस्तु यी ‘किशोर’ हुन् कि ‘किशोरी’ हुन्, यिनले एउटै निबन्धमा आगो बल्ने भाकामा लेखेका छन्। मलाई विश्वास लाग्दैन, यो विद्यार्थीले लेखेको निबन्ध हो, र म यो पनि भन्न सक्तिनँ, यो कुनै जीवित सिद्धहस्त भनिने कुनै व्यङ्ग्यकारले लेखेको हो; किनभने मैले उहाँहरू सबैलाई चिनेकै छु र पढेकै छु। यी निबन्धकारले यसैगरी लेख्न थाले र छाडेनन् भने हामी धेरै पछि पर्नेछौँ, तर को हुन् यिनी ??? )
०००
कक्षा : १२, श्री अमर मा.वि. इलाम
सेवन्त आचार्यसँग गरिएको संक्षिप्त कुराकानी
प्रश्न (१) प्रतियोगितामा तपाईँको निबन्धले प्रथम पुरस्कार प्राप्त गर्दा कस्तो लाग्यो ?
० प्रतियोगितामा मेरो निबन्धले प्रथम पुरस्कार प्राप्त गर्दा मलाई अत्यन्तै खुसी र गर्वको महसुस भयो। आफ्नो लेखन र मेहनतको कदर भएको देख्दा मनमा छुट्टै खालको उत्साह पलाएको छ, जसले मलाई आगामी दिनमा अझ राम्रो लेख्न प्रेरित गरेको छ
प्रश्न (२) यो प्रतियोगिताका बारेमा कसरी जानकारी पाउनुभयो ?
० यस प्रतियोगिताका बारेमा मैले मेरा गुरुहरु मार्फत जानकारी पाएको हुँ। साथै, सामाजिक सञ्जालमा प्रकाशित सूचनाले पनि मलाई यसबारे थप स्पष्ट हुन मद्दत गर्यो।
प्रश्न (३) निबन्ध लेख्दै गर्दा पुरस्कार पाउँछु होला भन्ने लागेको थियो ? अनि यो रचना तयार पार्दा कसैको मार्गदर्शन वा सहयोग लिनुभएको थियो ?
० निबन्ध लेख्दै गर्दा पुरस्कार नै पाउँछु भन्ने त सोचेको थिइनँ, तर एउटा राम्रो सिर्जना तयार पार्छु भन्ने विश्वास भने पक्कै थियो । साथै, विभिन्न पुस्तकहरु अध्ययन गरेर निबन्ध तयार गरेकाे हुँ । यो रचना तयार गर्दा भिनाजुले मार्गदर्शन प्रदान गर्नु भएको थियो।
प्रश्न (४) निबन्ध लेखनका क्रममा तपाईँलाई सबैभन्दा रमाइलो वा कठिन क्षण कुन चाहिँ लाग्यो ?
० हास्यव्यङ्ग्य विधा भएकाले समाजका विकृतिलाई रमाइलो शैलीमा उतार्ने क्रममा शब्दहरू खेलाउन मलाई निकै रमाइलो लाग्यो। तर, विषयवस्तुको गाम्भीर्यतालाई नबिगारीकन व्यङ्ग्य र हास्यको सन्तुलन मिलाउन भने सुरुमा केही कठिन महसुस भएको थियो।
प्रश्न (५) यसभन्दा पहिले पनि कविता र निबन्धहरू लेख्नुभएको थियो कि?
० हजुर, मैले यसभन्दा पहिले पनि विभिन्न कार्यक्रमहरूका लागि कविता, वक्तित्व तथा निबन्धहरू लेख्ने गरेको थिएँ। सानैदेखि साहित्यमा रुचि भएकाले फुर्सदको समयमा केही न केही कोरिरहने मेरो बानी छ।
प्रश्न (६) आगामी साल प्रतियोगितामा भाग लिन चाहने जुनियर कक्षाका साथीहरूलाई के सल्लाह दिनुहुन्छ ?
० आगामी साल प्रतियोगितामा भाग लिन चाहने जुनियर भाइबहिनीहरूलाई म के भन्न चाहन्छु भने, पुरस्कारको लोभ नगरी आफ्नो मनका भावनालाई निर्धक्क भएर कागजमा उतार्ने बानी बसाल्नुहोस्। जति धेरै अध्ययन र लेखनको अभ्यास गरिन्छ, त्यति नै हाम्रो सिर्जना निखारिँदै जान्छ।
प्रश्न (७) अब हास्यव्यङ्ग्य साहित्यिक यात्रालाई अगाडि बढाउने सोच र भावी योजनाहरू के-के छन् ?
० यो पुरस्कारले मलाई साहित्यिक यात्रामा अघि बढ्न ठूलो हौसला दिएको छ। आगामी दिनमा समाजका यथार्थ र विसङ्गतिहरूलाई अझ सटिक र सिर्जनात्मक ढङ्गले हास्यव्यङ्ग्यमार्फत उजागर गर्दै जाने र आफ्ना रचनाहरूलाई पुस्तकका रूपमा प्रकाशन गर्ने योजना बनाएको छु।
००















































आहा! अति सुन्दर हास्य व्यङ्ग्य