Fitkauli LIVE
साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार जना साहित्यकार तथा भाषाविद्हरूलाई सम्मान तथा पुरस्कार समर्पण

प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्व एवं अग्रज साहित्यकार रोचक घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा साहित्यिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने चार स्रष्टाहरूलाई पुरस्कृत गरिएकाे थियाे ।

Nepal Telecom ad

काठमाडाैं । दायित्व वाङ्मय प्रतिष्ठानले विभिन्न विधाका चार जना साहित्यकार तथा भाषाविद्हरूलाई सम्मान तथा पुरस्कार समर्पण गरेको खबर छ ।

शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षको प्रे़क्षालयमा प्रतिष्ठानद्वारा आयोजित विशेष समारोहका बीच साहित्यकार रामप्रसाद पन्तका दुई कृति र साहित्यिक पत्रिका ‘दायित्व’को १६१औँ अङ्कको समेत लोकार्पण गरिएका थिए ।

प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्व एवं अग्रज साहित्यकार रोचक घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा साहित्यिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने चार स्रष्टाहरूलाई पुरस्कृत गरिएकाे थियाे । समारोहमा ‘शङ्कर कोइराला आख्यान पुरस्कार’ आख्यानकार बाजुराम पौडेल, ‘कुमार–सरस्वती साहित्य पुरस्कार’ प्रा. कपिल अज्ञात, ‘चूडामणि भाषाव्याकरण–कोश पुरस्कार’ भाषाविद् प्रा.डा. दानराज रेग्मी र ‘रामप्रसाद पन्त वाङ्मय पुरस्कार’ साहित्यकार महेश प्रसाईलाई समर्पण गरिएका थिए ।

सोही अवसरमा प्रमुख अतिथि घिमिरे तथा मञ्चासिन व्यक्तित्वहरुले अध्यक्ष पन्तद्वारा लिखित नियात्रोपन्यास कृति ‘बीस बास’ र संस्मरण कृति ‘स्मृतिपुञ्ज’ का साथै प्रतिष्ठानको मुखपत्र ‘दायित्व’को १६१औँ अङ्कको लोकार्पण गरेका थिए ।

लोकार्पित कृतिहरूमाथि समीक्षात्मक मन्तव्य राख्दै प्रा.डा. भागवत ढकालले ‘स्मृतिपुञ्ज’मा इतिहासको आलोकमा नलेखिएका कथा र जीवनका भोगाइहरूलाई सुन्दर बिम्बमार्फत उतारिएका बताए भने यस्तै, ‘बीस बास’ कर्णाली प्रदेशको यात्रा विवरण, स्कन्ध पुराणको सन्दर्भ र शहीद भीमदत्त पन्तको जीवनसङ्घर्ष समेटिएको उत्कृष्ट नियात्रोपन्यास भएको उल्लेख गर्दै कृति सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रोचक घिमिरेले बदलिँदो समय अनुसार कार्यक्रमहरूमा नयाँ पुस्ता जेन–जी पुस्तालाई पनि प्रोत्साहन र सहभागिता जनाउनुपर्ने सुझाव दिएका थिए । उनले आफ्ना दिवङ्गत मित्रहरू शङ्कर कोइराला, कुमारबहादुर जोशी र चूडामणि गौतमको साहित्यिक तथा भाषिक योगदानको स्मरण गर्दै चूडामणि गौतमले नेपाली भाषा र व्याकरणको रक्षाका लागि गरेका सङ्घर्ष ऐतिहासिक रहेको उल्लेख गरेका थिए । घिमिरेले प्रतिष्ठानद्वारा योग्य पात्रहरुका नाममा स्थापित पुरस्कारबाट सुयोग्य व्यक्तित्वहरुलाई पुरस्कृत गरिएकामा दायित्व वाङ्मय प्रतिष्ठानको प्रशंसा गर्दै पुरस्कृत व्यक्तित्वहरूलाई शुभकामना दिएका थिए ।

समारोहमा पुरस्कृत स्रष्टाहरूले पुरस्कारले आफूहरूलाई थप सिर्जनात्मक ऊर्जा र जिम्मेवारी बोध गराएका भनेका थिए । यसै क्रममा प्रा.डा. दानराज रेग्मीले लोपोन्मुख भाषाहरूको अभिलेखीकरणको महत्त्वमाथि प्रकाश पार्दै आगामी पाँच वर्षभित्र जनजीवनमा प्रयुक्त हुने नयाँ शब्दकोश लेख्ने घोषणा गरेका थिए ।

प्रा. कपिल अज्ञातले महाकवि देवकोटाका बारे मिहिन ढङ्गले अनुसन्धान गरी समालोचनामा अग्रणी मानिने गुरु कुमारबहादुर जोशीको नामको पुरस्कारबाट पुरस्कृत हुन पाउनु आफ्नो अहोभाग्य रहेको बताए । यसैगरी, बाजुराम पौडेलले पुरस्कारलाई आफूले सिर्जनाको सफलताको मापक र सिर्जनात्मक बोझका रूपमा लिएको बताउँदै आगामी लेखनमा न्याय पुग्ने गरी दायित्व बढेको बताए ।

सोही क्रममा महेश प्रसाईले सार्थक लेखनकर्ममा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दै आफूलाई पुरस्कृतका लागि योग्य ठहर्याउने चयन समिति र प्रतिष्ठान प्रति आभार प्रकट गरे ।

प्रतिष्ठानका संस्थापक ठाकुर शर्मा भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा विशिष्ट अतिथि डा. महेश्वर शर्मा, संरक्षक सूब सेन, सल्लाहकारहरू अर्जुन विरक्ति, कलाधर काफ्ले र प्रह्लाद पोख्रेल तथा पुरस्कार संस्थापक परिवारका तर्फबाट अनिल कोइराला, कुमुद जोशी र असीम गौतम लगायतको उपस्थिति रहेका थिए । महासचिव यादव भट्टराईले कविता वाचनसहित कार्यक्रमको सहजीकरण गरिएको उक्त कार्यक्रममा सयौं संख्यामा साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको समापन गर्दै सभापति रामप्रसाद पन्तले योग्य व्यक्तित्वहरूलाई पुरस्कृत गर्न पाउँदा प्रतिष्ठान स्वयं गौरवान्वित भएको बताए । असोजदेखि पुससम्म चारै जना स्रष्टाको जन्मजयन्ती पर्ने भएकाले सोही अवसर पारेर पुरस्कार समर्पण गरिएको जानकारी दिँदै सम्बद्ध सबैप्रति धन्यवाद ज्ञापन सहित सभा विसर्जन गरेका थिए ।
हाे ।

०००
समाचार श्राेत : शब्दपथ

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x