राजकुमार लामिछानेचाडबाडको चटारो
हे भगवान् ! कस्तो खालको तिरिमिरी तिहार हो यो ? चोकमा देउसेलाई दान गर्न जाँदा आफैँ पो पड्केर डङ्ग्रङ्ग होइएला भन्ने डर ।
राजकुमार लामिछाने :
चाडबाडै चाडबाडको चाङले चिनिएको मुलुकमा चाडबाडको चटारोले चुर्लुम्म हुनु स्वाभाविकै हो । कहिले सूर्यको छ्ठ पूजा, कहिले तुलसीको मठ पूजा, कहिले कृष्णहरूको कृष्णतालिका त कहिले गोपिनीहरूको हरितालिका भन्दाभन्दै घुम्दै फिर्दै रुम्जाटार भने झैँ उही दसैँ उही तिहार फुत्त फुत्त … …।
हेर्नोस् त ! जौको जमराले जमिनमा जरा गाडेको तिस दिन बित्न नपाउँदै दसैँको पछिपछि दगुर्दै तिहार पनि कस्सिएर आउने गर्दछ । किन यति चाँडो घाँडो लाग्न आउनु परेको होला यो तिहारलाई पनि ? जो जति भएको अर्थतन्त्र जम्मै जमराले स्वाहा पारेर सो ऋण तिर्न कमारो नै बस्नुपर्ने अवस्थामा तिहारले खेलाउने तिरिमिरीबाट झन् बच्ने कसरी ? तिलकाने बोकोले भएभरको सबै दसैँमै पोको पारी सकेको अवस्थामा तिहारमा फेरि कोसँग माग्ने हो गुहार ?
गएको दसैँको कुरो हो, तल्लो घरका तिलप्रसाद तिम्सिनाले तिब्बतबाट तिस हजारमा तिसै किलोको च्याङ्ग्रा ल्याएछन् भने माथ्लो घरको भन्सारमा काम गर्ने भरत भँडारीको घरमा भारतबाट भरिलो खसी । कहिले तल्लो घरको भेडो भ्या-भ्या गर्छ भने कहिले माथ्लो घरको खसी म्याँ-म्याँ । त्यसपछि मेरो आफ्नै घरेलु कम्पनीका घनश्याम र घिउकुमारी समेत जिउ उफारी उफारी कराउन लागे- खोइ हाम्रो चाहिँ खसी ?
गाउँमा सबैको मिल्दै थियो चाँजोपाँजो, आफ्नो भने बिग्रेको हलोको काँजो झैँ जोत्न मिलेन, त्यसपछि खेत रहन्छ बाँझो अनि भएन गजब । गरिबका लागि ठुला चाडबाड भनेका एकादेशका कथा नै हुन्छन् । धर्मपत्नी सँधैभरि वर्तिर पर्तिर हेर्दै खै कहिले आउँछ बोको भन्थिन्। घने र घिउकुमारी झन् बोको बोको भन्दै भोकै नै बस्न थालिसकेका थिए । आफ्नो बिग्रिएको परिस्थितिको कुरा गरी कसलाई के साध्य, त्यसैले जे परे पर्ला उसै बखत टर्ला भनी म भएँ तिलकाने खोज्न बाध्य ।
गाउँ सहर सबै व्यापारीले निचोरिसकेको हुँदा भने जस्तो सस्तो तिलकाने पाउने कहाँ ? धोती न टोपी गर्दै धेरै ठाउँमा चाहारेँ, कहीँ सानो दुब्लो पाइन्थ्यो भने कहीँ बडेमानको लामघारे । आफूले भने जस्तो र सस्तो तिलकाने कहीँ नपाउँदा अगाडि बोकाको जस्तो सिङ छँदै छ, पछाडिको ढिङ केहीले छोपी दिउँला बोकौँ कि क्या हो बोकैको आमा भन्ने झोक पनि नचलेको चाहिँ होइन । तर बाटामा लैजाँदा लैजाँदै कसैले पुच्छर उठाएर हेन्यो भने फेरि अर्को आपत, कसको पो छ र भर दसैँमा पनि बुढी बाखीको मासु खाँदो रैछ भनेर हल्ला गरिदेलान् भन्ने डर । आखिर गरिब भए पनि समाजको अगाडि नाक त ठाडै छ नि ! कसले गर्छ त्यस्तो इज्जत जाने काम ? बरू दाम बढी परे पनि गतिलै तिलकाने किन्ने गरिन्छ काम । गाँठ नभएर टाट परे पनि आँट भने कम थिएन ।
बल्ल बल्ल धमिलेका धनप्रसाद धिमालकहाँ धनै परे पनि राम्रै खालको भेट्टाएँ तिलकाने । त्यो किनेपछि त दसैँ बसाइँ गयो भन्ने जस्तो भै गयो । दसैँमा आफ्नै घरमा मार हान्न लागिएको यो पहिलो वर्ष भएकोले हर्ष लाग्नु स्वाभाविकै थियो । कतिखेर बोको मार हानेर उदरपूर्ति गरौँला भनेर उज्यालो भएदेखि खुब फुर्ती लगाउँदै मार हान्ने मान्छे खोज्दै हिँडेको त कोही पाइँदैन बा ! जसलाई भने पनि पहिला ठुलाबडाकै सकेर मात्र काटिदिउँला भन्दाभन्दै बिहान चुर्लुम्म बित्यो । बल्लबल्ल गुरौबिर्ताको गुणराजले मार हानी दिन्छु तर के जाती नल र फल चाहिँ मलाई चाहिन्छ है त भनेर कबोल नगराई छोडेन ।
लौ मरिजालस् भनेर उसलाई त मनाएँ, फेरि मार हान्ने बेलामा बोको समाउने मान्छे पाइएन । बल्ल बल्ल एक जना भेटियो तर फेरि सिङपट्टि समाउँदिन भन्छ । आफूलाई पनि अगाडि समाउन डर लाग्ने हुँदा लामो डोरी बनाएर अलि परै बसेर समाएको, मार हान्ने बेलामा बोकोले मुन्टो बटारेकाले आधी गर्दन पनि छिनालेन, आखिर रेटेरै छुट्यायो । दसैँमा घरैमा मार हानेर मासु खाने रहर कैयौँ वर्षपछि पोहोर तिलकाने काटेर, तिखारिएको दाँत र तिख्खिएको आँतलाई सन्तुष्टि पार्ने काम तामेल त गरियो तर सोको तिस दिन बित्न नपाउँदै तेर्सिएको तिहारलाई फेरि मान्ने हो कसरी ? म त्यसै रनभुल्लमा परेँ।
नमनाऔँ भने पनि दसैँपछिको नेपालीहरूको प्रमुख ठूलो चाड, मनाऔँ भने चाडबाड मनाउँदा मनाउँदै आफ्नो खुस्किसकेको छ ढाड । पहिलेकै ऋण तिरिएको छैन, फेरि ऋण खोज्ने हो कहाँ ? भन्न चाहिँ जेथा हुनेलाई पो व्यथा लाग्छ डराउनु पर्दैन भन्छन् तर आफ्नो चाहिँ जेथा नभएर व्यथा लागेको त होला नि ? नडराउनु पनि कतिन्जेल, गले गोरू बसे झैँ एकैचोटि घरको ताउलो झ्याप्प बसेपछि जाउलो बिना नै प्राण पखेरू उड्न के बेर ?
हर्कपुरको हर्ककहाँ हजुर ! हजुर ! भनेर दसैँमा गरिएको फार्छा तमसुकपछि उनीकहाँ फर्केको पनि छैन, फेरि कुन निउँले यो मगन्ते जिउ देखाउन फिर्ने ? सो सबै स्याम्मे तिलकानेले बोकी गो । एक मनले सोचेँ, गोवर्द्धन पहाड नै उचालेर गोकुलवासी र गोपिनीहरूको उद्धार गरे झैँ मलाई पनि उचालेर तिहारभरि अर्कै बिहारमा लगेर राखिदिनोस् भनेर कृष्णकै आराधना गरौँ कि जस्तो पनि नलागेको होइन । तर घरकी राधिका प्यारीलाई त धोका दिएर गोपिनीहरू खेलाउँदै हिँड्ने कृष्ण कालेको के भर ? त्यसैले तिहारबाट तर्सिएर अन्तै तर्किनलाई समेत आँट गर्न सकिएन ।
जुक्ति निकाले मुक्ति पाइन्छ भने झैँ मेरो मन सधैँ तिहार कसरी मनाउने भन्ने जाजुल्ले जुक्ति जुटाउनमै जुटिरह्यो र झल्याँस्स दानवीर बली राजाको देउसीलाई समेत दानकै एउटा महान् पाटो सम्झिएकोले अर्थशास्त्रको थोर बहुत महत्त्व र परिभाषा बुझेका मेरा आफ्नै पुत्र, पुत्री र पत्नीको पवित्र विचारले मेरो मस्तिष्कमा मज्जासँग अर्थ सङ्कलन गर्ने नयाँ बाटोको आविष्कार उत्तिखेरै गरायो ।
पहिले पञ्चायत कालमा पाङ न पुच्छरका पाँच जना भएपछि पञ्च गनिन्थे, जे जस्तो निर्णय गरेर भए पनि तिनै पञ्चहरू मात्र बनिन्थे । त्यो प्रतिगमनलाई परास्त गर्न परिवर्तनको नाममा आएको प्रजातन्त्रले परै पुग्ने गरी पाखा लगायो भने पनि आखिर प्रजातन्त्रमा समेत उही पाँचै जनाले उहिलेको पञ्चभन्दा पनि महापञ्चको काम गरिरहेका छन् । एउटै परिवारका पाँच जना, पाँचै पार्टीमा लागेर पाँचै जना पार्लियामेन्टमा पुगेको देख्दा नेपालमा कस्तो प्रजातन्त्र फस्टाएको भनी विदेशीहरू समेत दङ्ग परिरहेका छन् । त्यसैले मैले पनि विचार गरेँ- सिङ्गो पाँचै जनाको पारिवारिक दल नफुटी एउटै पार्टी बनेर देउसी भैलोमा उर्लियौँ र मज्जासँग कुर्लियौँ भने त बस जुटिहाल्छ नि तिहारको कार्तिके दान । त्यसैले परिवारमा सहमति गरियो- भैलिनीमा फैलिनी भनेर ।
हुन त महिलाहरूले एक दिन भैलो र पुरुषहरूले एक दिन देउसी खेल्ने चलन हो तर ती चलनहरू सबै अपचलन भै सके । प्रजातान्त्रिक संस्कारमा जसलाई जे जति दिन मनाउन मन लाग्छ त्यति दिन मनाउन पाइन्छ । त्यसैले तिहारमा पनि दुइतीन दिन मात्र देउसी भैलो खेल्ने दिन गै सक्यो, अब त उहिलेका कुरा खुजलिए अहिलका कुरा फैलिए भने भैँ संसार अर्कै भैसक्यो ।
काग तिहारको दिनदेखि नै खैजेडी बजाएर लागियो देउसी भैलो दन्दनाउन । सुरुमै “हामी त्यसै आएनौँ बलि राजाले पठाको” भनेको त राजाको नाम सुन्नै नहुने कमरेडको घर परेछ; झन्डै लखेटेका । हाम्रो पारिवारिक जुलुसको प्रस्तावित देउसी भैलो कार्यक्रमलाई कतिले बुझे कतिले बुझेनन् थाहा भएन । जे होस् लोकले बुझ्न पनि नबुझे पनि मनाउन विवश र बाध्यहरूका बिम्ब थियो हाम्रो देउसी भैलो कार्यक्रम ।
कोही मजा गरेर “ए, परिवार पूरै ?” भन्थे भने कोही “होइन, कति दिन पहिलेदेखि हो ?” भन्थे । जे होस् मजबुरीका नाम महात्मा गान्धी भने झैँ आफूले भने खेलियो मजैसँग ।
हुन त देउसी भैलो पहिला पहिला पनि खेलिन्थ्यो, आफूले जानेका आशिषहरू पेलिन्थ्यो । देउसेका आशिष लागी जाउन् भनेर घोक्रो फुलाई फुलाई कराइन्थ्यो, त्यसपछि एक वर्ष हराइन्थ्यो । हुन त हामी जस्ता मगन्त नारायणले दिएको आशिष के लाग्थ्यो कुन्नि ? खरको छानो भएको घरहरूमा हामीले देउसी र भैलो खेल्दा अर्को साल आउँदा सुनको छानो भनेर आशिष नदिएको होइन तर जहिले पनि छानो भने खरको खरै भएपछि यसपालि भने घरबेटी बालालाई रिस उठेछ क्यारे “लौ लैजाओ सुन” भनेर त्यै खर पो एक मुठी तानेर दिनुभयो ।
जे होस् आशिष लागे पनि नलागे पनि प्रत्येक घरघरमा देउसी भैलो खेलेर रमाइलो गरिन्थ्यो । अहिले त एउटा चोकमा क्यासेट र चक्का डर्याेमडुरुम बजाएर देउसी भैलो खेल्ने, गाउँका सबैले त्यहीँ चोकमा आएर दान गर्नु पर्ने, यति दाम हाल्नु होला भन्ने खाम घरैमा आइपुग्ने गरेको देख्दा नेपाली चाडबाडमा समयसापेक्ष आएको यस्तो परिवर्तनलाई पनि चाहेर नचाहेर स्विकार्नै परेको छ ।
आफूलाई भने घिउ न तेल पकाउँ बुढा सेल भने झैँ घिउको, पिठोको, मसलाको, ताईको तथा झिरको जोरजामले ठाडो शिर गर्न कहाँ पाउनु, कताको जिली कताको गाँठी भने झैँ सधैँ पिरको पिर । फेरि पैसा पड्केको हो वा परिवर्तन, जताततै पड्केको पड्क्यै । हे भगवान् ! कस्तो खालको तिरिमिरी तिहार हो यो ? चोकमा देउसेलाई दान गर्न जाँदा आफैँ पो पड्केर डङ्ग्रङ्ग होइएला भन्ने डर ।
आफ्ना भएका गाई र भाइको पूजा गर्न त खासै पिरोलिनु परेन । तर साँच्चै सङ्कट चाहिँ देखा पर्न थाल्यो कुकुर तिहारमा ! नेताभन्दा पनि बुद्धिमानी भएकोले नगरपालिकाले देखिसहेन । छानीछानी सिध्याएर कुकुर तिहारमा त समस्या नै पारी दिए बा ! पहिला पहिला पो गाउँभरी, सहरभरी माले, काले, भाले, तिल्के, मिल्के, ऐरै, खैरै, टाटे, पाटे, लुते, लुतुरे, डाङ्ग्रे, पाङ्ग्रे थरिवरिका कुकुरहरू पाइन्थे । झन् कार्तिक महिना लागेपछि त डाँगा र डाँगी रिमिक्स भएर जता पायो उतै लठारिन्थ्यो बग्रेल्ती । तिहारमा पूजा गर्न काली कुत्तिम् महाउत्तिम् खैरी कुतिम् तथैवच… । भन्थे सोही अनुसार छानी छानी पूजा गरिन्थ्यो र पो नर्के पूजेको फल पाइन्थ्यो । अहिले त नर्के नै नपाउने बेलामा केको छानी छानी नर्के पूजा गर्नु ।
तै आफ्नै सँधियार सुरवीर सिम्खडाले विदेशी बहुत तगडा कुकुर पालेका र बिहान बेलुका डोर्याउँदै आउँदा मेरै घरको तुलसीको मठमा धेरै चोटि तुर्क्याउँदै आँगनकै डिलमा समेत लिँड्याइसकेको हुँदा दिए भने यसपालि उनैको कुकुर पूजा गर्ने सुर छ । विदेशी कुकुरको पूजा गर्दा त धर्म पनि ठूलै कमाइएला नि हगि ! लौ त मेरो चाडबाडको चालामाला चाल पाइहाल्नु भो तपाईँहरूको भने शुभ रहोस् है !
(लेखक सिस्नुपानी नेपालको निवर्तमान अध्यक्ष हुनुहुन्छ । उहाँका पुतलाको पावर र बुद्धिपुराण पुस्तक प्रकाशित छन् ।)
०००
हेटाैाडा, मकवानपुर
Subscribe
Login
0 Comments
Oldest










































