राजकुमार लामिछानेमहेश थापाकाे ‘नमोनम:’ सरसरी पढेपछि…
तथापि अधिकांश निबन्धहरु भरपुर व्यङ्ग्यले भरिएका र विसङ्गति माथि प्रहार गरिएका, चोटिला, पोटिला, सग्ला, अग्ला, रसिला र कसिला छन् । असल व्यक्तिको परिचय कसैको चाकरी, चाप्लुसीमा अडिनु भन्दा पनि आफूले गरेको सतकर्मको आधारमा ठडिनु पर्दछ ।

राजकुमार लामिछाने :
आफू हास्यव्यङ्गयको भोको भएको हुँदा महेश थापाद्वारा लिखित हास्यव्यङ्ग्य सङ्ग्रह नमोनमः हेर्ने धोको थियो । पुस्तक हात परेपछि पुस्तकभित्रका सबै पोकापुन्तुराहरु फुकाउँदै अद्योपान्त साफ पारेँ । कतिपय पोकाहरुलाई दोहोर्याई तेहर्याई फुकाएँ र मनग्ये रसपान गरेँ । जति पढे पनि अझै पढूँ पढूँ लागि रहने, खदिलो व्यङ्ग्य रसले भरिएको, राज्यका विद्यमान बग्रेल्ती विसङ्गतिमाथि बेजोडसँग प्रहार गरिएको पुष्ट साहित्यका दानाहरु पाएँ पुस्तक नमोनमका पानाहरुमा ।
महेशजीका सिर्जना र प्रस्तुत नमोनम पुस्तकका सम्बन्धमा साहित्यकार प्रदिप नेपाल, सम्पादक हिमाल खबरपत्रिका किरण नेपाल, लेखक कवि फिल्म निर्देशक प्रकाश सायमी, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे तथा केदार शर्मा लगायतका आदरणीय महानुभावहरुले पुस्तकको भूमिका लेखनीका क्रममा मुक्तकण्ठले प्रशंसा गरी सक्नुभएको छ । उहाँहरुको रायमा मेरो पनि सोह्रैआना सहमति छ । व्यङ्ग्य लेखनी एक चुनौतीपूर्ण विधा हो, सिधा नभै घुमाएर विकृतिको मूल जरोमाथि खरो पाराले आरा लगाएर रेट्नु पर्ने र हँसाइ हँसाइ त्यसका सारा जराहरु समेत निमोठ्नु पर्ने हुन्छ । यसमा थापाजी सशक्त रुपमा देखापर्नु भएको छ ।
यस पुस्तकभित्र ५२ वटा सिर्जनाहरु समेटिएका छन् । हरेक सिर्जनाहरुले समाजका विभिन्न क्षेत्रमा छरपष्ट छरिएका बेथितिका बिस्कुनहरुलाई फिँजाउने र सुन्दर हास्यरसमा डुबाएर साहित्यप्रेमी पाठकहरुको मष्तिस्क भिजाउने काम व्यङ्ग्यकार थापाले गर्नु भएको छ । यस सङ्ग्रहभित्र समावेश भएका रचनाहरु असाध्यै पोटिला र चोटिला छन् तथापि सबैलाई फुकाउँदा अलि लामो हुने भएकाले केही सिर्जनाका पोकाहरुलाई यहाँ फुकाउन लागि रहेको छु ।
विदेशी पाहुना आउँदा देखाउन र उनीहरुलाई खुशी पार्न गरिने टालटुले विकासले अर्थतन्त्र सखाप पार्ने गरेको हाम्रा विकासे कार्यहरु टिकाउभन्दा पनि बजेट मात्र बिकाउ हुने खालका रहेका छन् । रातारात सडक पिच हुन्छ भोलि उप्केर ङिंच पर्दछ । यस्तो नेपालीहरुको बजेटमारा नियति र नागरिकले पुर्याएको धर्मका बारेमा “नागरिक धर्म” शीर्षक मार्फत यसरी व्यङ्ग्य गर्नु भएको छ :
काठमाण्डौं सहरलाई चिरिच्याट्ट पार्न लिपापोती कार्यक्रम चल्दै गर्दा ‘यो बिरालोपन्थी विकास दुई दिनको रगरगी भएकाले तीन दिनमा फुस्स हुने’ अनुमान गरिएकै हो । त्यस बेला सरकारबाट हडबडीको बहानामा तल–बितल गरे भने सम्मेलन सकिनासाथ दूध–पानी छुट्याउने प्रतिबद्धता आएथ्यो । तर सार्क सकिएलगत्तै नवनिर्मित संरचनाहरु भरिभङ्ग भएका समाचारहरु आउन थालिहाले । यति चाँडो पूर्वानुमान सत्य साबित हुन थाल्नुको गूढ कारण पत्तो लगाउनु नागरिक धर्म हुने भएकाले सडक अवलोकनमा निस्किएँ ।
“युरोपका गल्ली–गल्लीमा यो भन्दा झकासको सडक हुन्छ रे !” सडक पार गर्न लागेका एक झुण्ड कर्णधारमध्ये सबभन्दा खाइलाग्दोले पेटीको गमलालाई फुटवल बनाउँदै भन्यो ।
“यो सबै यिनको कमाउने मेसो हो, पोलिटिक्स झुर भएपछि यस्तै हो, यार !” गमलाको बचेखुेचेको भूगोलमा लात मार्दै दोस्राले जुल्फी सम्यायो ।…
त्यसै गरी महंगीको मारले सोझा साझा गरिव जनतालाई सधै किचिरहेको, थिचिरहेकोे र मिचिरहेको छ । जुनसुकै तन्त्र आए पनि गरिब गरिब नै छन्, बेरोजगार बेरोगार छन् । उनLहरुको कहिल्यै आर्थिक उत्थान हुँदैन् । अर्थशास्त्र भनेको फगत अर्थ्याउने शास्त्र मात्र हो, यसलाई गुरुवरले पढाउँदा घोक्ने आखिर त्यही अर्थले नपत्याएपछि सधै अर्थ अभावले ठोक्ने यो कस्तो शास्त्र हो भन्दै “अनर्थशास्त्र” शीर्षक मार्फत महंगीतन्त्रका बारेमा यसरी खनिनु भएको छ–
खुला बजारमा माग र पूर्तिको रेखाबीच सम्लिन भएपछि मूल्य निर्धारण हुने कुरा बेस्कन घोकियो । गोज्याङहरुको हुलमा ठालु पल्टिन त्यही कुरा वेपत्ता खोकियो पनि । सन्तुलनको विन्दु फेला पर्नुअघि मूल्यमा आउने ऊहापोहले निम्त्याउने माग र आपूर्तिको असन्तुलन दर्साउन माकुरीको जालोजस्तो रेखाचित्र कोर्न घुँडाको छाला खुइल्याइयो । तर यता बजारमा माग र पूर्तिको धक्कामुक्कीले नभई साहुजीको ‘मूड’ले मूल्य निर्धारण हुँदो रहेछ । बजारमा मूल्य त साहूजीको मूडमा राम बसेको छ कि हराम चढेको छ भन्ने कुराले पो निर्धारण गर्दो रहेछ ।
गुरुवरले कुनै वस्तुको मूल्य बढ्दा मान्छेहरु त्यसलाई प्रतिस्थापन गर्ने वस्तुतिर लहसिने मागको छड्के लाेचसम्बन्धी मन्त्र बताएका थिए। त्यस क्रममा चियाको मूल्य बढे कफीको माग बढ्ने उदाहरण ठेल्थे गुरुहरु । तर पट्रोलको हाहाकार भई मूल्य चुलिएको बेला न भटभटेलाई साइकलले प्रतिस्थापन गर्यो न त तेलखटराको सट्टा बिजुलीगाडी चलाउने चाँजो मिलाउने जाँगरै टुसाएको देखियो। बरु देखियो दुई किलोमिटर परको ससुरालीमा टिका थाप्न पैदल वा साइकलमा जानुको साटो चार किमी लामो पेट्रोलको लाइनमा रातभरि धर्ना कसेको । यो फुर्तीको समाजशास्त्रसँग अर्थशास्त्रीय सिद्धान्तको मिलान कसरी हुन्छ भनी कसले बताइदिने ?
पढेर पनि योग्यता अनुसारको रोजगारी नपाउने कारणले गर्दा युवाहरुलाई पिरोल्ने गरेको छ । कैयौ दुःख गरेर पढ्यो तर नोकरीको चक्करमा चौतर्फी चटारिदा चाउरिएको चित्तमा चसक्क चसक्क चस्किरहदा चाँडै नै चित्रगुप्तले चित्तामा चढाउने चाँजोपाचो मिलाउने हुनकी भन्ने चिन्ताले चिटचिट पसिना आइरहन्छ । राज्यले शिक्षित वेरोगार बनाएर नागरिकहरुको अपमान गरेको छ । नबिक्ने बिद्या बकाईले बरवाद भएर युवाहरु छटपटाई रहेका छन् । यो पेचिलो अवस्थाप्रति घोचिलो पाराले “ उन्नतीको सुमार्ग !” मार्फत भन्नु भएको छ–
ऊ सोच्थ्यो– एकवारको जुनीलाई पढेर किन खुइल्याउने ? पढेर हुन्छ के ? नोकरीको चक्करमा चाकरी, ताबेदारी अनि लाचारीको जिन्दगी किन काट्ने ? उसले जीवनभर चक घोटेर डस्टरी नगर्ने भीष्मप्रतिज्ञा उहिल्यै गरिसकेको थियो । डस्टरीले जेनतेन भोक भगाए पनि भान्सा चलाएर ज्युनार गराउन नसक्नेमा ऊ विश्वस्त थियो । डाक्टरी गरम् भने प्रवेश परीक्षामा प्रश्नपत्रको सेटिङ मिलाउनै गाह्रो, मिलिहाले भर्ना शुल्कको साँवा ब्याज चुक्ता गर्दागर्दै मत्र्यलोकको भिसा सकिने भएकाले उसले त्यो सम्भावनालाई पनि हापिदिएको थियो उहिल्यै ।
छोराको मनसुवा बुझेपछि पिताजी फत्फताए– “ कस्तो कुमार्गी जन्मिएछ, धिक्कार !”
“ ए बाउ !उल्टी खोपडी बोकेर नयाँ नेपालाँ काम छैन” भोलारामले बुझाउन चाह्यो– “कुमार्ग त त्यो हो जहाँ तिमी मलाई धकेल्न खोज्दै छौ ।”
“यो पनि छैन,ऊ पनि होइन !” बाउ झर्किए– “अनि के चाहिँ गर्छस त लठिभुत्रे !”
“मनी प्लान्ट रोप्छु !” भोलारामले दृढतापूर्वक भन्यो ।……
स्वास्थ्य सेवाको नाममा जुटेका डाक्टर सावहरुको विशेषज्ञता, दक्षता र योग्यता कतिको छ, कसरी जनताहरुलाई लुटेका छन्, उपचार गर्न आउनेलाई कंगाल बनाएर कसरी भव्य बंगला ठड्याएका छन्, उनीहरुको उपचार विधिले कसरी सोझा साझा निमुखाहरुको गिदी खाएको छ, आफूले विरामी चुसेर टाट पल्टाएपछि अन्यत्र लैजानोस भनेर रिफर गर्ने डाक्टरी चलनमाथि जलन हुँदै “डामिदिनोस प्रभु” र “रिफर गर्द्या छु” शीर्षककाे निबन्ध मार्फत यसरी प्रहार गरिएको छ –
छिमेकमा एकजना नामी डाक्टरसा’बले महल बनाएको हुँदा बिसन्चोमा के गर्ने भन्ने चिन्ता छैन, चोकमा बिँडी तान्दै दिन काट्ने बडाहरुले केही अघिसम्म यिनको हैसियत डेरावाल विद्यार्थी केटोको मात्र थियो भने पनि । हेर्दाहेर्दै उनको बङ्गला यो लठिभद्रे टोलकै गजुर बन्यो। टोलको एउटा टोली उनको तीव्र उन्नतिको रहस्य जान्न लँगौटी कसेर लागेको छ । यसबीचमा नेप्से सूचकले ढिकीच्याउँ खेल्यो, तर डाक्सा’बको प्रगति वेगवानै रह्यो । डाक्सा’ब भन्ने सम्बोधनले मात्र उहाँको व्यक्तित्व माथि न्याय गर्न सक्ने अवस्था छैन ।उहाँले डाक्टरको व्यक्तित्वमाथि व्यापारी, ब्रोकर, मध्यस्थकर्ता, कमिसन एजेन्ट आदि अनेक चमक चढाउँदै जानुभएको छ ।
छिमेकीहरुलाई निःशुल्क हेल्थ टिप्स बाँड्ने उहाँको उदारतासामु भैरव अर्यालको ‘हाँडीघाप्टे भुँडी’ ले पानी माग्न भ्याउँदैन । हरेक बिहान हल्का हुन उहार्ले गर्ने कसरतबाट निकट छिमेकी म ‘अलार्म’ घडीमा ब्याट्री फेर्ने झन्झटबाट मुक्त भइसकेको छु ।
अभ्यस्त वातावरणभन्दा भिन्न आवाजले पहिलो बिहान त मलाई उहाँको महलमा सत्याग्रही बूढा डाक्टरका समर्थकहरु नाराबाजी गर्न आइपुगे कि जस्तो लागेको थियो । तर ठाडा कान लाएर सुन्दा खडेरीमा किसानले महादेव पुकारा गरेजस्तो पो सुनियो । खेती न किसानी,किन मागे यिनले माघे जाडामा पानी भन्दै झ्यालमा कान सटाएपछि स्पष्ट सुनियो– “ हरहर महादेव, डामिदेऊ देऊ–देऊ !”
‘पानी देऊ–देऊ’ त सुनि आएकै हो, अब यो ‘डामिदेऊ–देऊ’ कहाँबाट आयो ? उन्नतीको यो कुनै नवीन सुत्र हुनुपर्छ भन्ने निर्क्योलसहित त्यसबाट लाभान्वित हुने मनसुवाले छततिर दगुरे । उहाँ टेरेसमा देखापर्नासाथ बत्तिसा टल्काउँदै अर्जी गरेँ– हजुरको विशेषज्ञता केमा, डाक्सा’व ?
“लाइन मिलाउने !” सङ्क्षिप्त जवाफ आयो ।
आन्द्रा काटिदिएर बिरामीको चिलिम फर्काउँदा पनि पैसो मुठ्याउन पाइने अनि नङ फुलेको बिरामीलाई आईसीयूमा कोचेर सिरिखुरी पार्न मिल्ने । यो भन्दा गजब इलम दुनियाँमा अर्थोक के होला ?भर्चुअल दुनियाँमा नेटवर्किङ गरेजस्तो काठमाडौंमा अस्पताल, ललितपुरमा छात्रावास, भक्तपुरमा कक्षाकोठा, सिलगुडीमा फ्याकल्टी र नौटङ्कीवाल डाक्टर–बिरामीको जोरजाम गरेर शिक्षण अस्पताल खोल्न पाइने हाम्रो जस्तो देशमा काम गर्नुको मजा बेग्लै छ । तर आईओएमलाई स्वायत्त बनाउनुपर्छ भन्दै उपवास बस्नेहरु मरिगए यो मजाको भेउ पाउँदैनन् ।…… (रिफर गर्द्र्या छु)
बूढापाका भन्थे–काल लागे नि अनिकाल नलागोस् । उहिलेका कुरा खुइलिए, नयाँ जमाना आयो । मानिसहरु भन्न थोलेका छन्– एकवारको जुनीमा सबैथोक लागोस्, अस्पतालको फेरो काट्ने दशा नलागोस् ।
निधारमा टुप्लुकिएको पिलोले गर्दा गाउँमा दुःखजिलो गुजारा गरिरहेका मनप्रसाद दम्पतीको होस गुम भयो । अस्पताल भूतबाट तर्सिएर वैद्य गुहारे, धामी पुकारे ।वैद्यले डाले घाँस सुँघाएर बाख्री झ्वाम पारे भने झँाँक्रीले ढ्याङ्ग्रो ठटाएर कुखुरो । पुष्टकारी जत्रो पिलो तिलौराकार भएपछि श्रीमती मनमायाले खोरको लामकाने बेचेर अस्पताल जाने आँट कसिन् ।
सरकारी अस्पतालको सेवा लिएकाहरुको घेवा देखेका उनीहरु सहरमा चल्तीको एक निजी शिक्षण अस्पताल पस्दा डाक्टर साहेबले कम आत्मीयता देखाएका हैनन् ।
ओहो ! बडो सही ट्याममा आइपुग्नुभो ।थोरै विलम्बले अमतन्न पार्न सक्थ्यो। निधारको पिलोको तार गिदीमा जोडिएको हुने भएकाले रिस्क मोल्न सकिन्न । लौ, तुरुन्त सिटी स्क्यान,एमआरआई र कल्चर गराइहालौं ।
शतप्रतिशत होसमा रहेका मनप्रसादले मुख खोल्न नभ्याउँदै स्ट्रेचरमा हालेर विद्युत्वेगमा दौडाए अनि मिलिक्क गर्न नपाउँदै सर्वाङगीण परीक्षण सकेर फर्काए । त्यसपछि म्यानेजरले दुई हात लामो बिल धराउँदै भने– ‘चेकजाँचको पचहत्तर हजार, अप्रेशन खर्च पच्चीस हजार र भर्ना डिपोजिट पचास हजार गरी कुल डेढ लाख जम्मा गराइहाल्नू । अनि थप रकमको इन्तजाम पनि थाल्नू ।’
…शोडषीले दिएको एउटा स्याम्पल चक्की बिरामीको मुखाँ राखिदिंदै डाक्टरले भने–“ लौ यो चिरिप्प पार्नुस त ।” मनप्रसाद हिक्क–हिक्क गर्न थाले ।
“तिमेर्का चिरिप्पले मेरा बूढा झिरिप्प हुन लागिसके । हे भगवान ! बिरामीको लागि के अनशन बस्देला खै ?” मनमाया कड्किन खोजिन् ।
…डाक्टर साहेबले मनमायालाई सम्झाउँदै भने– “हामीले सक्ने जति गर्यौ । सुविधासम्पन्न अस्पतालमा रिफर गर्द्या छु, तुरुन्त लैजानू ।”
राजनैतिक अस्थिरता र बेरोगार भएर बस्दाको पीडा एकातिर छँदैछ, त्यसमा पनि विदेश हुईंकिने म्याराथुन दौडको होडबाजीमा लागेर भए भर्को जेथा जमिन सुईक्याउदै विदेशीका भेडिगोठमा ओठ सुकाएर जागिर खाँदाको तितो यथार्थ र नयाँ नेपालको परिवेशमा उठेका विभिन्न कथ्यलाई तथ्य बनाएर “परिचय” शीर्षक मार्फत व्यङ्ग्यकारले भन्नु भएको छ –
गैरी खेत खनिरहेको बेला दसबर्से युद्धको ‘अग्रगामी’ धक्काले उछिट्याएर अरबको मरुभूमिमा थचारिन पुगेका उनले नेपाल नयाँ हुन लागेको खबर सुने’सि अरबी साहूलाई भेडीगोठ जिम्मा लगाएर घर फिर्तीको पिलेन टिकट लिए। पराया भूमिमा नूर गिराएर बस्नुभन्दा आफ्नै देशमा स्वदेशी पहिचानका साथ जिन्दगी बाँच्ने लालसा माथि नविनतातर्फ फड्को हान्न नेपालै ठम्ठमिएको खबरले मनलाई त्यसैत्यसै चच–है बनाइरहेको थियो । उनी सटक्क पिलेनमा पसे ।
“कति वर्षमा फिर्दै छौ ?”छेउको सिटका बुजु्रकले गफिने मेसो गरे ।
“पन्ध्र वर्ष !”उनले सङ्क्षिप्त जवाफ फर्काए ।
“पुरानो नेपालकै रहेछौ !” ओठ लेप्य्राउँदै बुज्रुकले थपे– “नयाँ नेपालाँ परिचय दिँदा अलिक होस गर्नू, नत्र शुद्धतावादीहरुले बिताउलान् ।”…..
…“ कसैले परिचय मागेमा नेपाली हुँ भन्दिन्छु ।” गाउँ पुगेपछि आफ्नो गुरुवरका अगाडि मनपेट खोले उनले ।
“ नयाँ नेपालाँ अर्थोक जेसुकै भन,तर झुकेर नि आफ्नो परिचयमा नेपाली नजोड ! केहि नफुरे बरु आकाशबाट भर्खरै खसेको एलियन हुँ भन्देऊ !” गुरुवरले भटाभट आइडिया दिए–“ कसैले ‘म त नेपाली’ भन्दै गीत गुन्गुनाउँदाधरि पेटमा गुडगुड हुनेहरु आजकल छ्यास्छ्यास्ती भएका छन !”
पहिचानको माखेसाङ्लोबाट पार पाउने जक्ति फराउन दोबाटोछेउको चौतारीमा पुगेका उनले हठात् आफ्नो नाम बताउँदै एकजना भद्रसामु मित्रताको हात बढाए ।……
अन्तत,
यस नमोनम सङग्रहभित्र समावेश भएका सबै रचनाहरु बराबरी उचाईका छन् भनेर स्वयं थापाजीले पनि भन्न सक्नुहुन्छ जस्तो लाग्दैन । निबन्धहरुको स्तरियतामा केही उतारचढाव देखिन्छन् । कतिपय निबन्धहरुमा व्यङ्ग्य स्वादको लागि चाहिने मरमसलाको मात्रा अलि मलिन हो कि भन्ने महसुस हुन्छ । तथापि अधिकांश निबन्धहरु भरपुर व्यङ्ग्यले भरिएका र विसङ्गति माथि प्रहार गरिएका, चोटिला, पोटिला, सग्ला, अग्ला, रसिला र कसिला छन् । असल व्यक्तिको परिचय कसैको चाकरी, चाप्लुसीमा अडिनु भन्दा पनि आफूले गरेको सतकर्मको आधारमा ठडिनु पर्दछ । व्यङ्ग्य क्षेत्रमा चम्किला नक्षत्रको रुपमा देखापर्नु भएका थापाजीका सिर्जनाहरु साहित्यको संसारमा फैलिँदै र उचाई अग्लिंदै जाउन् हार्दिक शुभकामना ।
इति
०००
हेटौडा–४, मकवानपुर,
लेखक लामिछाने सिस्नुपानी नेपाल मकवानपुरका निवर्तमान अध्यक्ष हुन् ।
मिति :२०८२।०३।२४
Subscribe
Login
0 Comments
Oldest







































