नन्दलाल आचार्यजाम
"अङ्कल ! सडकको जाम त गाडी पन्छाएपछि खुल्ला, यो मन्त्रालयमा अडकिएको न्यायको जाम चाहिँ कुन क्रेनले तानेर खोल्ने हो ?"
नन्दलाल आचार्य :
“सडक त तीन दिन मात्र रोकिएको हो सा’प !” सडकको छेकैमा धुलो खाँदै बसेकी मृतक चेलीकी आमाले मन्त्रीका प्रतिनिधिलाई तिखो नजरले नियालिन् र थपिन्, “मेरी छोरीले न्याय नपाएको त ऊ जन्मनुअघिदेखि नै रहेछ ।”
ठूला गाडीको लस्कर र हर्नको घन्काबीच मन्त्री-प्रतिनिधिले महँगो फाइल खोले- “सरकार यस विषयमा पूर्ण प्रतिबद्ध छ !”
उही भीडबाट कालो चश्मा लगाएकी एक किशोरी अघि सरेर मुस्कुराई, “अङ्कल, यो प्रतिबद्धता पनि मास्कजस्तै हो र ? भीड देखेपछि कालो अनुहार ढाक्न लगाउने, भीड हटेपछि खल्तीमा हाल्ने ?”
वरिपरिको भीडमा हाँसोको सानो बाढी बग्यो । प्रतिनिधिले लाज ढाक्न हतार-हतार आइफोन निकाले, दुई औँला स्वाइप गरे र फोटो खिच्दै स्टाटस लेखे- ‘सरकार अत्यन्त गम्भीर छ ।’
किशोरीले मोबाइलको स्क्रिनतिर हेर्दै च्याँठ्ठिएर सोधी, “सर ! यो गम्भीरता फेसबुकको भित्तामा मात्रै झुण्डिने हो कि फाइलभित्र पनि छिर्छ ?”
प्रतिनिधिको औँला स्क्रिनमै ठप्प भयो ।
“अपराधी पक्राउ पर्यो ?” किशोरीको प्रश्न थियोे ।
“अनुसन्धान जारी छ ।”
“न्याय ?”
“प्रक्रियामा छ ।”
“सुरक्षा ?” किशोरीको प्रश्नको आँधी नरोकिने अवस्था देखेर र प्रश्नको चोट सहन नसकेर प्रतिनिधिले फाइल बन्द गरे, मानौँ फाइलसँगै जनताको मुखै बन्द हुन सकोस् ।
चेलीकी आमाले साडीको छेउले आँसु पुछिन् र फ्रेम टाँगिएको छोरीको धमिलो तस्बिर हावामा उचालिन्- “हामीलाई छोरीको लास देखाएर गरिएको भाषण चाहिँदैन सा’प ! हामीलाई त त्यस्तो देश चाहिया छ, जहाँ छोरी घरबाट निस्कँदा आमाले मन्दिरको भगवान्लाई होइन, सिंहदरबारको राज्यलाई भरोसा गर्न सकोस् ।”
क्षणभरमै पछाडिबाट दर्जनाैँ हातहरूले प्लेकार्ड उचाले-
‘छोरी दया होइन, अधिकार हो !’
‘न्याय दान होइन, राज्यको कर्तव्य हो !’
मन्त्रीका प्रतिनिधि भने बाटो खुलाउने प्रहरी आदेश खोज्न हतार-हतार फेरि त्यही रित्तो फाइल पल्टाउन थाले ।
त्यही बेला उही किशोरीले माइक फुत्काउँदै सोधी, “अङ्कल ! सडकको जाम त गाडी पन्छाएपछि खुल्ला, यो मन्त्रालयमा अडकिएको न्यायको जाम चाहिँ कुन क्रेनले तानेर खोल्ने हो ?”
०००
२०८३ भदौ ७ गते ।
सिर्जनाकुटी, सिरहा ।
Subscribe
Login
0 Comments
Oldest











































