साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जेटविहीन हुलाकी सडकमा बजेटभन्दा ठूलो ‘गफको बाढी’

बरियारपट्टीको यो 'बहुभाषिक कवि सम्मेलन' नेपाली साहित्यको इतिहासमा 'काम कुरो एकातिर, कुम्लो बोकी थिमीतिर' भन्ने उखान प्रमाणित गर्ने एउटा अमिट कोशेढुङ्गा साबित भएको छ ।

Nepal Telecom ad

शनिबार (धुलो र हिलोको विशेष संस्करण)
सङ्घीयताको सुवास त कहाँ हो कहाँ, बरु सडक किनारका खाडलमा जमेको फोहोर पानीको सुगन्ध र तराईको ज्यान लिने तातो घामबीच, सिरहाको ऐतिहासिक हुलाकी सडकमा अचेल एउटा अनौठो साहित्यिक महामारी फैलिएको छ । हुलाकी सडक बन्ने छाँटकाँट नदेखेपछि वाक्क भएका जनताका अगाडि साउनको रिमझिम झरी (पढ्नुस्: हिलो बनाउने प्राकृतिक मेसिन) का बीच बरियारपट्टीको श्री जनता माध्यमिक विद्यालयको प्राङ्गणमा एउटा यस्तो ‘साहित्यिक महाकुम्भ’ मच्चियो, जसले देशका नेताहरूलाई समेत माथ खुवाइदियो ।

अवसर थियो- ‘हुलाकी बहुभाषिक राष्ट्रिय कवि सम्मेलन-२०८३’ ।
देशका २२ वटै जिल्लाका कविहरू आफ्नो घरको कामधन्दा छोडेर, झापादेखि बाँकेसम्मका ९ दर्जनभन्दा बढी ‘शब्दका ठेकेदार’ हरू बरियारपट्टीमा ओर्लिए । उनीहरूले आफ्ना भित्री पीडा, युगीन आक्रोश र सुन्दर सपनाहरू यसरी रैथाने भाषामा ओकले कि बेचरा स्थानीय सोझा जनता ‘अब त सडक बन्ने भो’ भन्दै ताली पड्काउन बाध्य भए”। नेपाली, मैथिली, हिन्दी, बज्जिका, उर्दू र भोजपुरी भाषामा यति धेरै कविता वाचन भए कि बरियारपट्टीको हावामा अक्सिजन भन्दा बढी साहित्यिक गफ र आक्रोशको मात्रा बढेको महसुस हुन्थ्यो ।

बालकको काँधमा देशको हिलो, वृद्धको काँधमा दोसल्ला !
सडक भनेको ढुङ्गा, माटो र अलकत्राको निर्जीव थुप्रो मात्र होइन (हुन त हुलाकी सडकमा अलकत्रा खोज्न टर्चलाइट नै बाल्नुपर्छ), यो त नेताहरूको चुनावी एजेन्डा हो भन्ने कुरा प्रमाणित गर्दै कार्यक्रमको उद्घाटन एक निर्दोष आठ वर्षीय बालकबाट गराइयो । नेताहरूले रिबन काट्दा काट्दा पुल नबनेपछि आयोजकले बुद्धि पुर्‍याए- ‘अब यो हिलो र अलपत्र पुलको पाप नयाँ पुस्ताकै काँधमा हालिदिऊँ !’ देशका ठूला नदीहरू कमला, कन्काई, बागमती र नारायणीमा वर्षौँदेखि माछा मार्ने अखडा बनिरहेका लङ्गुर बुर्जा जस्ता पुलहरूको दुरावस्था हेरेर आउने पुस्ता समयमै सचेत होस् भनेर यो नौलो नाटक रचिएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि, ‘हरेक घटनामा वक्तव्य दिन सक्ने’ वरिष्ठ साहित्यकार पुण्य कार्कीले मधेसको धोती र माटोको यसरी तारिफ गरे कि मानौँ भोलिदेखि नै देशको सबै समस्या समाधान हुँदैछ । उनले भने- “मधेसको धोतीले मुलुकको राष्ट्रिय इज्जत ढाकेको छ ।” यो सुनेर हलमा यति जोडले ताली बज्यो कि विद्यालयको पुरानो छाना खस्न मात्र बाँकी थियो ।

त्यस्तै, अर्का ओजस्वी वक्ता बोधकुमार घिमिरेले त झन् मधेसको एक्सरे नै गरिदिए । उनले भने, “सडकको दुर्गति त देखाउने दाँत मात्र हो, भित्र त भोकमरी, अशिक्षा र अन्धविश्वासको ठूलो सुरुङ छ ।” उनले कवितामै मधेसका पुराना समस्याको जरो उखेल्ने धम्की दिए, तर व्यवहारमा भने बरियारपट्टीको सडकको एउटा ढुङ्गो पनि हल्लिएन । राममणि पोखरेलले हुलाकी सडक र जनजीवन नेपालीको परिचयसँग गाँसिएको बताए ।

कोसी तरेर आँसु पुछ्न आउनेहरू र ‘भौगोलिक शरणार्थी’ को रुवाबासी
हुलाकी सडकको दुःखमा ऐक्यबद्धता जनाउन झापादेखि आएका कविहरूले यस्तो गफ दिए कि लाग्थ्यो मेचीमहाकाली हुलाकी सडक नबन्दा झापालीहरूलाई पनि राति निद्रा लागिरहेको छैन । सुनसरीका कविहरू त झन् झन् भावुक भए । उनीहरूले भने, “हामी त मधेसी जनताको आँसुमा मलम लगाउन ज्यान जोखिममा राखेर कोसी नदी तरेर आएका हौँ।” (हुन त उनीहरू गाडीमै आएका थिए !)

जनकपुरका कविहरूको आक्रोश अर्कै थियो । उनीहरूले काठमाडौँको सिंहदरबारले मधेसप्रति आँखा चिम्लेको आरोप लगाए । कमला नदीमा पुल नबन्दा आफूहरू आफ्नै देशमा ‘भौगोलिक शरणार्थी’ भएको पीडा सुनाउँदा हलमा रुवाबासी चल्न मात्र बाँकी थियोद। तर, कसैले यो सोचेनन् कि कविताले पुल बन्ने भए त अहिलेसम्म नेपालका सबै नदीमा सुनका पुल बनिसक्थे !

आयोजकको स्वीकारोक्ति र ‘कुर्सी नपाउँदा’ कविहरूको फन्को
कार्यक्रमका परिकल्पनाकार रामरिझन यादवले मञ्चमै भावुक हुँदै एउटा ठूलो बम पड्काए । उनले इमानदार बन्दै स्वीकार गरे, “हाम्रा पुर्खाहरू राज्यको ठूलठूला कुर्सीमा त पुगे, तर यो हुलाकी सडकतिर भने कहिल्यै आँखा घुमाएनन् ।” उनले यो कार्यक्रम मनोरञ्जनका लागि नभई शान्तिपूर्ण क्रान्ति भएको दाबी गरे ।

त्यसैबीच, उदयपुरका नन्दलाल आचार्यले ‘हुलाकीको हुङ्कार’ नामक यस्तो कविता पढे, जसले मानिसको श्वास नै रोकिदियो । उनले सडकलाई विद्यार्थीको सपना, बिरामीको श्वास र श्रमिकको सङ्घर्षसँग तुलना गरे । कविता सुन्दा लाग्थ्यो, यो सडक होइन, कुनै साक्षात भगवान् हो !

तर, पर्दा पछाडिको नाटक अर्कै थियो । आयोजना जिल्ला (सिरहा) का कतिपय रैथाने कविहरू भने “हामीले भाउ पाएनौँ, देशैभरिका कविलाई दोसल्ला ओढाउँदा हामीलाई सोध्दा पनि सोधेनन्” भन्दै मुख बिगारेर, असन्तुष्टि छाद्दै, फन्केर घरतिर लागे । साहित्यिक क्रान्तिमा पनि ‘मान-मर्यादा र कुर्सी’ को लडाइँ देख्दा दर्शकहरू भने पेट मिचीमिची हाँसिरहेका थिए ।

पुरस्कारको ललिपप र ६ घण्टे गफको महाकाव्य
यो महाकुम्भमा साना भुराभुरी (विद्यार्थी) हरूलाई पनि तानिएको थियो । विषय तोकिएको थियो- “हुलाकी सडकको दशा, दिशा र दुर्दशा” । विद्यार्थीहरूलाई बुढा कविहरूको गनगन सुन्न गाह्रो नहोस् भनेर नगद पुरस्कारको ललिपप देखाइएको थियो । प्रथम हुनेलाई ५ हजार, द्वितीयलाई ३ हजार, तृतीयलाई २ हजार र पाँच जनालाई १ हजारका दरले सान्त्वना पुरस्कार !

एक दर्जन विद्यार्थीले तत्कालै पुल र हिलोका विरुद्ध कविता वाचन गरे । तर, आयोजकले पुरस्कार भने तत्कालै दिएनन् । “कार्तिक ११ गते फेरि बोलाएर, अझै धेरै विद्यार्थी जम्मा पारेर मात्रै विधिवत् रूपमा दिन्छौँ” भन्दै उधारो आश्वासन बाँडियो ।

उदयपुर, झापा, सुनसरी, सर्लाही र बाँके जस्ता टाढाटाढाबाट आएका बूढा कविहरूलाई भने दोसल्ला र प्रमाणपत्र दिएर मख्ख पारियो । करिब ६ घण्टासम्म चलेको यो ‘गफ र कविताको म्याराथन’ मा १०० भन्दा बढी कविहरूले मुक्तक, गीत र झ्याउरे भाका पस्किए। श्रोताहरू मन्त्रमुग्ध भएका हुन् कि ६ घण्टासम्म एउटै ठाउँमा बस्दा बस्दा निदाएका हुन्, त्यो त भगवानलाई नै थाहा होला !

समग्रमा, हुलाकी सडकको हिलो जतिसुकै कारुणिक भए पनि, बरियारपट्टीको यो ‘बहुभाषिक कवि सम्मेलन’ नेपाली साहित्यको इतिहासमा ‘काम कुरो एकातिर, कुम्लो बोकी थिमीतिर’ भन्ने उखान प्रमाणित गर्ने एउटा अमिट कोशेढुङ्गा साबित भएको छ ।

०००
बकेटमा हिलो बोकेर सिरहाबाट नन्दलाल आचार्यको रिपोर्ट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x