जुनू घिमिरेपाका युवा बालक छन् बिहाल
दुख्दै गरेको अब घाउ मेटौँ । सक्नेहरूले अनि गाँस काटौँ । लागोस् सबैको घरभित्र घाम । पाका युवा बालक छन् बिहाल ।।
जुनू घिमिरे :
उर्लेर आयो जग थर्थरायो ।
खोला किनारा सब गड्गडायो ।।
काम्यो धरा नै जनमा विलाप ।
पाका युवा बालक छन् बिहाल ।।
साँच्चै दुखायो अमिलो छ आँसु ।
सारा रुँदै छन् कसरी म हाँसूँ ?
नास्यो सयौँको घरवार साथ ।
पाका युवा बालक छन् बिहाल ।।
गर्जेर आयो भुमरी सरी त्यो ।
एकै घडीमा दुनियाँ उडायो ।।
हे दैव ! तेरो बुझिएन चाल ।
पाका युवा बालक छन् बिहाल ।।
सोच्नै नसक्ने किन घाउ दिन्छौ ?
हे दैव ! हाम्रो कति जाँच लिन्छौ ?
एकै बनायौ सबको चिहान ।
पाका युवा बालक छन् बिहाल ।।
दुख्दै गरेको अब घाउ मेटौँ ।
सक्नेहरूले अनि गाँस काटौँ ।
लागोस् सबैको घरभित्र घाम ।
पाका युवा बालक छन् बिहाल ।।
०००
भक्तपुर, दुवाकोट
Subscribe
Login
0 Comments
Oldest





































