जुनू घिमिरेमैले बा चिनेँ
बा भनेको त डोजर रहेछन् जो भिरमा पनि बाटो खन्न तयार अरूकै लागि जोतिँदा जोतिँदै आफू बिग्रेको पत्तो नहुने । बा भनेको त घाम रहेछन् अरूका लागि उज्यालो हुँदाहुँदै आफू सल्किरहनु पर्ने ।

जुनू घिमिरे :
टोपीबाट टुपी बाहिर ननिस्किएसम्म
बा शिरको टोपी फुकाल्नुहुन्नथ्यो
पसिनाले निथ्रुक्क भिजेको अनुहार
त्यही टोपीले पुछ्नु हुन्थ्यो
लाग्थ्यो बा आफ्नै पसिनाले टोपी धुनुहुन्छ
तर होइन रहेछ
बा पसिना जम्मा गरेर
हाम्रा कलमहरूमा मसी भर्नु हुँदोरहेछ
आखिर बा भनेकै
आफू भिजेर सन्तानलाई
ओभानो राख्ने रुमाल रहेछन् ।
आफ्नो कमिजमा लागेको दागले
बालाई केही फरक पर्दैन थियो
तर हाम्रा लुगामा दाग देखिएनन्
बाको स्टकोट च्यातिन्थ्यो
तर हाम्रा लुगा फाटेर लाजले
बाहिर चिहाउने दिन कहिले आएन
साँच्चै बा भनेको
आफू च्यातिएर सन्तान सिलाउने मेसिन रहेछन् ।
बा भनेको त डोजर रहेछन्
जो भिरमा पनि बाटो खन्न तयार
अरूकै लागि जोतिँदा जोतिँदै
आफू बिग्रेको पत्तो नहुने ।
बा भनेको त घाम रहेछन्
अरूका लागि उज्यालो हुँदाहुँदै
आफू सल्किरहनु पर्ने ।
साँच्चै बाले त्यो च्यातिएको स्टकोट
अझै फेर्न सकेका छैनन्
किनकि
बाको श्रम गर्ने उमेर सकियो
म आफैँ पनि बा भएँ ।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































