साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काफल काण्ड

माेलमाेलाइमा काफल किनेर खानेहरू र शक्तिकाे आड वा उन्मादमा सडकमा काफल घाेप्टाउनेहरूलाई मात्रै एउटा सल्लाह छ, "जंगलमा गएर एक माना काफल टिपेर मात्रै देखाऊ ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

शुक्रबारकाे साँझपख एकाएक भान्सा काेठाकाे टेवलमाथि कचाैरीमा काफल देखा पर्याे । काफल देखिएपछि ` तारा बाजी लै लै´बाल गीत र त्यसभित्रकाे ` काफल गेडी कुटुक्क ´ हरफले सुटुक्क बालापनकाे याद दिलायाे । काफलका राती गेडी फेला परेपछि मनले कहाँ मान्थ्याे र ? मुख रसाएर आइहाल्याे । चाेर हात काफलमाथि जाइलाग्याे । मुखले दुईचार दाना काफल खाइहाल्याे । हल्का अमिलो र गुलियो स्वाद हुनु काफलकाे विशेषता हाे । मेराे मुखमा परेकाे काफल अलि बढी नै अमिलो परेछ । अनायसै आवाज फुत्कियाे
“कस्ले ल्यायाे यस्ताे अमिलाे काफल ?”

प्रतिक्रिया आयाे “किनेकाे हैन । घरकै हुन् । दिदीले ल्याइदिएको । केटाकेटी कति रमाएका छन् । साँधेर खाए । भाेलि हामी पनि जानुपर्छ, काफल टिप्न । “दुई दाना अमिला काफलले दाँत नै कुँडिएका हुँदा काफल खान जाने रहर पटक्कै थिएन र भनिदिएँ,
“भाेलि त भ्याउँदिन अफिसमा काम छ ।
“माउलाई टार्न खाेजेकाे चल्लाले हल्ला गरिहाले,
“हामीले जस्ता भएपनि खान्छाैं। भाेलि त जसरी पनि जानुपर्छ । ऐसेलु र काफल मज्जाले खानुपर्छ ।”
भुराकाे कुराले मेराे अडान लतक्क गल्याे । भाेलि काफल खान जाने निधाे भयाे ।

हिजाेकाे वाचाअनुसार भाेलि आज बनेर आइहाल्याे । त्रियासी जेठ २ ओैंशी तिथि शनिवार जागिरे र स्कुले सबैकाे विदाकाे दिन भइहाल्यो । उनलेे पलाष्टिक, झाेला आदि बन्दाेबस्तीका सामान तयार पारिन् । काफल यात्राकाे समय भयाे । छाेरी एघारकाे परीक्षा तयारीका कारण नजाने भइन् ।छाेराकाे तर्फबाट आफू पनि नजाने तर एक हप्ताका लागि पुग्ने गरी काफल ल्याउने उर्दी भयाे । माेबाइल खेलाउन पाइने दाउपेचका कारण छाेराकाे नजाने मनस्थिति स्पष्ट बुझियाे । हेर्दाहेर्दै काफल यात्रीकाे संख्या चारबाट दुईमा झर्याे । यात्री संख्या सिमित भएका कारण पैदल यात्राकाे याेजना सवारी साधनमा परिवर्तन भयाे । दुई सदस्यीय टाेलीले माेटरसाइकलमा काफल यात्रा अगाडि बढायाे ।

निश्चित गन्तव्यमा पुगेपछि माेटरसाइकल राेकियाे । अब पाइतालाहरू ओछ्याउँदै दुई देहले यात्रालाई अगाडि बढाउदै गए । खरबारी भएकाेले बाटाे सहज थिएन । कतै कँड्यान थियाे, त कतै ढुङ्ग्यान । ढिंक र कान्लाहरू छिचोल्दै काफलका बाटाेहरू ताक्दै बल्लतल्ल काफलकाे बाेटसम्म पुगियाे । भुइँमा लाछिएका र भाँचिएका हाँगाहरू देख्दा नरमाइलो लाग्याे । मान्छेहरूले फल खाए पनि निर्दयी बनी हाँगा नभाँचिदिए आगामी दिनमा पनि त हसुर्न पाउथे हाेला ! आखिर बाँदर र मान्छेमा के फरक रह्यो र ? प्रवृत्ति बाँदरकाे भएपछि । काफल बाेटकाे जमिन निजी भएकाेले अलिक बढी नै चिन्ता भयाे । निजी भएर के गर्नु ? नियमित बसाइँदेखि टाढाकाे जमिन भएपछि । सार्वजनिक जंगलमा जस्तै केही माथिका बाेटहरूमा अपरिचित केटाकेटीका साथमा माउहरू चर्दै थिए । हामीले प्रतिक्रिया जनाएनाैं । एकदिन प्रतिक्रिया जनाएर के गर्नु ? दैनिक रूपमा निगरानी गर्न नसकेपछि ।

दुई मुरी काटिसकेकाे ज्यानले सुरूमा भुँइमा खसेका काफल गेडी कुटुक्क पारियाे । अनि बिस्तारै गाेडाहरू काफलकाे बाेटका हाँगामाथि सारियाे । उनले पनि जसाेतसाे फेंदतिरका हाँगाहरूमा काफल टिप्न थालिन् । गन्थनमन्थन गर्दै काफल टिपिदै थियाे । झण्डै माना चार जति काफल हुँदै थिए । अब ओर्लनु पर्छ भन्ने सल्लाह हुँदै थियाे । यत्तिकैमा टेकेकाे हाँगाे लाछियाे । समातेका हाँगा भाँचिए । ज्यान भुँइमा पछारियाे । एकैछिन चकमन्न अँध्यारो भयाे । आँखा खुल्दा जमिनमा रगत देखा पर्याे । टाउकाे फुटेझैं लाग्याे । छातीका करङ् र देब्रे साप्राे भाँचिएझैं लाग्याे । उनले फाेन गरेर गुहार माग्न थालिन् । अटाेवाला सन्ताेष भाइ उद्दारमा आउने भएपछि मनमा केही सन्ताेष भयाे । रगत धेरै नबगाेस् भनेर चाेटमाथि हातले थिचियाे तर तप् तप् रगत बग्ने काम थामिएन । अस्पतालकाे इमर्जेन्सीमा नपुगुञ्जेल हाेस हवास ठाउँमा थिएन ।

सर्वप्रथम घाउ सफा गर्ने र टाँका लगाउने काम भयाे । त्यसपछि एक्स रे । एक्स रे मा जाेखिमपूर्ण खराबी नदेखिएकाले मन केही हलुका भयाे । घटना भएकाे थाहा पाएर आमा अस्पतालमै पुग्नुभयाे । आमालाई देख्दा मन झन् भक्कानियाे । छाेरीले गाली गर्दै भनिन् , “किन अप्ठ्यारोमा जानू भएकाे ? केही भएकाे भए … ?” मन थाम्न सकिएन । अर्काेतिर फर्किएर आँसु पुछ्न सिवाय केही गर्न सकिएन । अड्चालीस घण्टाकाे अवधिमा वमिट भएमा , बर्बराएमा वा अन्य कुनै अप्ठ्यारो महसुस भएमा ठूलाे ठाउँमा गएर सिटिस्क्यान गर्ने सुझाव चिकित्सकबाट आयाे । धन्न साे अवधिमा त्यस्तो केही भएन । तर दुवै आँखा सुन्निएर हेर्न नमिल्ने भए । थिचिएकाे देव्रे साप्राे निलाे हुँदै गयाे । अस्पतालकाे ओैषधि साथमा छँदै थियाे । भेट्न आउने आफन्तहरूले ल्याइदिएको गाउँघरे जडिबुटी सेवन गरियाे । कहिल्यै मुखमा नपरेकाे गँगटाले ओखतीका रूपमा प्रवेश गर्याे । लगाईएकाे टाँका खाेलियाे । घाउमा माम्री लाग्दैछ । ठाउँ ठाउँको दुखाइ यथावत् छ । यसपटक बाँचियाे । खुसी यसमै छ ।

झलक्क याद आयाे ती पात्रहरूकाे जाे , “काफल काफल” भन्दै यात्रुहरूलाई सय / दुई सयका काफलका पाेकाहरू बनाएर बेच्दै हिँड्छन् । यसरी हिड्नेहरूमा प्राय : बालबालिका र महिलाहरू नै हुन्छन् । यसरी बजार अनि सडक – गल्लीहरूमा डाली र साेलीहरूमा काफल बेच्न राखेका वा हिडेका दृश्यहरू नदेख्ने कमै हाेलान् । सम्झिएँ घरका पुगिसरी भएकाे भए जाेखिम माेलेर काफल टिप्ने र बाटाघाटामा चिच्याउँदै हिड्ने रहर कसलाई पाे हुँदाे हाे ?

यसपाली काफल काण्डले सामाजिक सञ्जाल तातिएकाे पनि देखियाे । मानवता बिर्सेर मान्छे मातिएकाे पनि देखियाे । काफल काण्ड भाइरल भएपछि पुङमाङ्हरू आत्तिएकाे पनि देखियाे । ती महिला जसका काफल भुइँमा घाेप्ट्याउनेहरूले तत्क्षण कस्ताे सन्तुष्टि पाए कुन्नि ? संसारले भट्याउँदा कस्ताे सवाद खाए थाहा भएन । जे हाेस् मानवता उदाङ्गाे भएकाे त्याे उदण्डताकाे परिणाम राम्रो अवश्य भएन । तर काफलवालीप्रति संसारकाे सहानुभूति रह्याे । सामाजिक सञ्जालले न्याय दियाे । यसलाई श्रष्टा र द्रष्टाहरूले सकारात्मक रूपमा लिएका छन् ।

आकाशका फल आँखा तरी मर भनेझैं जंगलमा ज्यान जाेखिममा हाली काफल टिप्नेका बेथा जमिनमा पाेख्नेहरूलाई के थाहा ? माेलमाेलाइ गरेर घटिघटाउमा किनेर खानेहरूले देख्दा काफल खाएकाे देखिन्छ । मेराे विचारमा अरूकाे चित्त दुखाएर , हेपेर, नानाथरी वचन र बार्गेनिङ गरेर काफल खानेहरूले काफलसँगै गरिब र निमुखाहरूका रगत र पसिना खाइरहेका हुन्छन् । भन्नुहाेला , पैसा कमाउन पनि त सजिलाे छैन । म पनि त त्यहीँ भन्छु , ” पैसा कमाउन सजिलो नभएकै कारण काफल बेच्नेहरू जाेखिम माेलेर काफल टिप्छन् । काफल बेचेर गर्जाे टार्न ।

जंगलमा काफल खाेज्नु र टिप्नु काललाई निम्ताे दिनु सरह हुन्छ । मैले त काफल शब्दमा यहीं रहस्य लुकेकाे देखें । देखें मात्रै किन ? आफैले भाेगें । चित्रगुप्तकाे बहिखाता बिग्रेकाेले फर्काएकाे कुरा गुप्तचित्रबाट थाहा लाग्याे । मेराे कुरामा विश्वास नगर्नेले काफलमा भएकाे `फ´ हटाएर हेरे भयाे । कफलबाट `फ´ हटाउँदा ` काल´ नै हुन्छ । काफलमा काल लुकेकाे कस्ले देख्ने ? काफलमा काल देखिने भए अकालमा ज्यान जाने थिएन हाेला । मान्छेले काफल खान त परै जाओस् काफलकाे बाेटतिर नजर पनि लगाउने थिएन । तर सत्य यहीँ हाे काफल टिप्दा कालले टिपेका समाचार वर्षेनी सुनिएका छन् । अरूले टिपेका काफल खान त राम्रै हुन्छ । तर काफल टिप्नेहरूका कथाहरू कमैलाई थाहा हुन्छ । माेलमाेलाइमा काफल किनेर खानेहरू र शक्तिकाे आड वा उन्मादमा सडकमा काफल घाेप्टाउनेहरूलाई मात्रै एउटा सल्लाह छ, “जंगलमा गएर एक माना काफल टिपेर मात्रै देखाऊ । तिमी काफल टिपेर बेच्नेहरूका कथा आफै बुझ्ने छाै ।”

सुन्नेलाई सुनकाे माला भन्नेलाई फूलकाे माला । काफल काण्डकाे कथा बुझ्नेका दिमागमा जाला ।काफल किन्नेले अबदेखि सम्मानसाथ किनेर खाला ।
काफल घाेप्टाउने घाेप्टेहरूका सुध्रिऊन् चालामाला ।
अस्तु

०००
रेसुङ्गा न पा २, गुल्मी
२०८३ जेठ १५

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Him all pandey
Him all pandey
4 months ago

काफलको फ हटेको देखेको भए त डर लागीहाल्थ्यो नी तर त्यो हटेको त अप्रत्यासित घटनाले गरायो र भाग्यले साहित्य फुरायो ! छिटो सुधार होस्!

Ramprasad panthi
Ramprasad panthi
4 months ago
Reply to  Him all pandey

पछि देख्याे अनि चेत्याे ।

Nepal Telecom ad
ढाेग दियाँ

ढाेग दियाँ

रामप्रसाद पन्थी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
मोडर्न ड्रेस

मोडर्न ड्रेस

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
छाडा साँढेको खोजी

छाडा साँढेको खोजी

ठाकुरप्रसाद अधिकारी
विवशता

विवशता

दिप मंग्राती
2
0
Would love your thoughts, please comment.x
()
x