साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काफल काण्ड

माेलमाेलाइमा काफल किनेर खानेहरू र शक्तिकाे आड वा उन्मादमा सडकमा काफल घाेप्टाउनेहरूलाई मात्रै एउटा सल्लाह छ, "जंगलमा गएर एक माना काफल टिपेर मात्रै देखाऊ ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

शुक्रबारकाे साँझपख एकाएक भान्सा काेठाकाे टेवलमाथि कचाैरीमा काफल देखा पर्याे । काफल देखिएपछि ` तारा बाजी लै लै´बाल गीत र त्यसभित्रकाे ` काफल गेडी कुटुक्क ´ हरफले सुटुक्क बालापनकाे याद दिलायाे । काफलका राती गेडी फेला परेपछि मनले कहाँ मान्थ्याे र ? मुख रसाएर आइहाल्याे । चाेर हात काफलमाथि जाइलाग्याे । मुखले दुईचार दाना काफल खाइहाल्याे । हल्का अमिलो र गुलियो स्वाद हुनु काफलकाे विशेषता हाे । मेराे मुखमा परेकाे काफल अलि बढी नै अमिलो परेछ । अनायसै आवाज फुत्कियाे
“कस्ले ल्यायाे यस्ताे अमिलाे काफल ?”

प्रतिक्रिया आयाे “किनेकाे हैन । घरकै हुन् । दिदीले ल्याइदिएको । केटाकेटी कति रमाएका छन् । साँधेर खाए । भाेलि हामी पनि जानुपर्छ, काफल टिप्न । “दुई दाना अमिला काफलले दाँत नै कुँडिएका हुँदा काफल खान जाने रहर पटक्कै थिएन र भनिदिएँ,
“भाेलि त भ्याउँदिन अफिसमा काम छ ।
“माउलाई टार्न खाेजेकाे चल्लाले हल्ला गरिहाले,
“हामीले जस्ता भएपनि खान्छाैं। भाेलि त जसरी पनि जानुपर्छ । ऐसेलु र काफल मज्जाले खानुपर्छ ।”
भुराकाे कुराले मेराे अडान लतक्क गल्याे । भाेलि काफल खान जाने निधाे भयाे ।

हिजाेकाे वाचाअनुसार भाेलि आज बनेर आइहाल्याे । त्रियासी जेठ २ ओैंशी तिथि शनिवार जागिरे र स्कुले सबैकाे विदाकाे दिन भइहाल्यो । उनलेे पलाष्टिक, झाेला आदि बन्दाेबस्तीका सामान तयार पारिन् । काफल यात्राकाे समय भयाे । छाेरी एघारकाे परीक्षा तयारीका कारण नजाने भइन् ।छाेराकाे तर्फबाट आफू पनि नजाने तर एक हप्ताका लागि पुग्ने गरी काफल ल्याउने उर्दी भयाे । माेबाइल खेलाउन पाइने दाउपेचका कारण छाेराकाे नजाने मनस्थिति स्पष्ट बुझियाे । हेर्दाहेर्दै काफल यात्रीकाे संख्या चारबाट दुईमा झर्याे । यात्री संख्या सिमित भएका कारण पैदल यात्राकाे याेजना सवारी साधनमा परिवर्तन भयाे । दुई सदस्यीय टाेलीले माेटरसाइकलमा काफल यात्रा अगाडि बढायाे ।

निश्चित गन्तव्यमा पुगेपछि माेटरसाइकल राेकियाे । अब पाइतालाहरू ओछ्याउँदै दुई देहले यात्रालाई अगाडि बढाउदै गए । खरबारी भएकाेले बाटाे सहज थिएन । कतै कँड्यान थियाे, त कतै ढुङ्ग्यान । ढिंक र कान्लाहरू छिचोल्दै काफलका बाटाेहरू ताक्दै बल्लतल्ल काफलकाे बाेटसम्म पुगियाे । भुइँमा लाछिएका र भाँचिएका हाँगाहरू देख्दा नरमाइलो लाग्याे । मान्छेहरूले फल खाए पनि निर्दयी बनी हाँगा नभाँचिदिए आगामी दिनमा पनि त हसुर्न पाउथे हाेला ! आखिर बाँदर र मान्छेमा के फरक रह्यो र ? प्रवृत्ति बाँदरकाे भएपछि । काफल बाेटकाे जमिन निजी भएकाेले अलिक बढी नै चिन्ता भयाे । निजी भएर के गर्नु ? नियमित बसाइँदेखि टाढाकाे जमिन भएपछि । सार्वजनिक जंगलमा जस्तै केही माथिका बाेटहरूमा अपरिचित केटाकेटीका साथमा माउहरू चर्दै थिए । हामीले प्रतिक्रिया जनाएनाैं । एकदिन प्रतिक्रिया जनाएर के गर्नु ? दैनिक रूपमा निगरानी गर्न नसकेपछि ।

दुई मुरी काटिसकेकाे ज्यानले सुरूमा भुँइमा खसेका काफल गेडी कुटुक्क पारियाे । अनि बिस्तारै गाेडाहरू काफलकाे बाेटका हाँगामाथि सारियाे । उनले पनि जसाेतसाे फेंदतिरका हाँगाहरूमा काफल टिप्न थालिन् । गन्थनमन्थन गर्दै काफल टिपिदै थियाे । झण्डै माना चार जति काफल हुँदै थिए । अब ओर्लनु पर्छ भन्ने सल्लाह हुँदै थियाे । यत्तिकैमा टेकेकाे हाँगाे लाछियाे । समातेका हाँगा भाँचिए । ज्यान भुँइमा पछारियाे । एकैछिन चकमन्न अँध्यारो भयाे । आँखा खुल्दा जमिनमा रगत देखा पर्याे । टाउकाे फुटेझैं लाग्याे । छातीका करङ् र देब्रे साप्राे भाँचिएझैं लाग्याे । उनले फाेन गरेर गुहार माग्न थालिन् । अटाेवाला सन्ताेष भाइ उद्दारमा आउने भएपछि मनमा केही सन्ताेष भयाे । रगत धेरै नबगाेस् भनेर चाेटमाथि हातले थिचियाे तर तप् तप् रगत बग्ने काम थामिएन । अस्पतालकाे इमर्जेन्सीमा नपुगुञ्जेल हाेस हवास ठाउँमा थिएन ।

सर्वप्रथम घाउ सफा गर्ने र टाँका लगाउने काम भयाे । त्यसपछि एक्स रे । एक्स रे मा जाेखिमपूर्ण खराबी नदेखिएकाले मन केही हलुका भयाे । घटना भएकाे थाहा पाएर आमा अस्पतालमै पुग्नुभयाे । आमालाई देख्दा मन झन् भक्कानियाे । छाेरीले गाली गर्दै भनिन् , “किन अप्ठ्यारोमा जानू भएकाे ? केही भएकाे भए … ?” मन थाम्न सकिएन । अर्काेतिर फर्किएर आँसु पुछ्न सिवाय केही गर्न सकिएन । अड्चालीस घण्टाकाे अवधिमा वमिट भएमा , बर्बराएमा वा अन्य कुनै अप्ठ्यारो महसुस भएमा ठूलाे ठाउँमा गएर सिटिस्क्यान गर्ने सुझाव चिकित्सकबाट आयाे । धन्न साे अवधिमा त्यस्तो केही भएन । तर दुवै आँखा सुन्निएर हेर्न नमिल्ने भए । थिचिएकाे देव्रे साप्राे निलाे हुँदै गयाे । अस्पतालकाे ओैषधि साथमा छँदै थियाे । भेट्न आउने आफन्तहरूले ल्याइदिएको गाउँघरे जडिबुटी सेवन गरियाे । कहिल्यै मुखमा नपरेकाे गँगटाले ओखतीका रूपमा प्रवेश गर्याे । लगाईएकाे टाँका खाेलियाे । घाउमा माम्री लाग्दैछ । ठाउँ ठाउँको दुखाइ यथावत् छ । यसपटक बाँचियाे । खुसी यसमै छ ।

झलक्क याद आयाे ती पात्रहरूकाे जाे , “काफल काफल” भन्दै यात्रुहरूलाई सय / दुई सयका काफलका पाेकाहरू बनाएर बेच्दै हिँड्छन् । यसरी हिड्नेहरूमा प्राय : बालबालिका र महिलाहरू नै हुन्छन् । यसरी बजार अनि सडक – गल्लीहरूमा डाली र साेलीहरूमा काफल बेच्न राखेका वा हिडेका दृश्यहरू नदेख्ने कमै हाेलान् । सम्झिएँ घरका पुगिसरी भएकाे भए जाेखिम माेलेर काफल टिप्ने र बाटाघाटामा चिच्याउँदै हिड्ने रहर कसलाई पाे हुँदाे हाे ?

यसपाली काफल काण्डले सामाजिक सञ्जाल तातिएकाे पनि देखियाे । मानवता बिर्सेर मान्छे मातिएकाे पनि देखियाे । काफल काण्ड भाइरल भएपछि पुङमाङ्हरू आत्तिएकाे पनि देखियाे । ती महिला जसका काफल भुइँमा घाेप्ट्याउनेहरूले तत्क्षण कस्ताे सन्तुष्टि पाए कुन्नि ? संसारले भट्याउँदा कस्ताे सवाद खाए थाहा भएन । जे हाेस् मानवता उदाङ्गाे भएकाे त्याे उदण्डताकाे परिणाम राम्रो अवश्य भएन । तर काफलवालीप्रति संसारकाे सहानुभूति रह्याे । सामाजिक सञ्जालले न्याय दियाे । यसलाई श्रष्टा र द्रष्टाहरूले सकारात्मक रूपमा लिएका छन् ।

आकाशका फल आँखा तरी मर भनेझैं जंगलमा ज्यान जाेखिममा हाली काफल टिप्नेका बेथा जमिनमा पाेख्नेहरूलाई के थाहा ? माेलमाेलाइ गरेर घटिघटाउमा किनेर खानेहरूले देख्दा काफल खाएकाे देखिन्छ । मेराे विचारमा अरूकाे चित्त दुखाएर , हेपेर, नानाथरी वचन र बार्गेनिङ गरेर काफल खानेहरूले काफलसँगै गरिब र निमुखाहरूका रगत र पसिना खाइरहेका हुन्छन् । भन्नुहाेला , पैसा कमाउन पनि त सजिलाे छैन । म पनि त त्यहीँ भन्छु , ” पैसा कमाउन सजिलो नभएकै कारण काफल बेच्नेहरू जाेखिम माेलेर काफल टिप्छन् । काफल बेचेर गर्जाे टार्न ।

जंगलमा काफल खाेज्नु र टिप्नु काललाई निम्ताे दिनु सरह हुन्छ । मैले त काफल शब्दमा यहीं रहस्य लुकेकाे देखें । देखें मात्रै किन ? आफैले भाेगें । चित्रगुप्तकाे बहिखाता बिग्रेकाेले फर्काएकाे कुरा गुप्तचित्रबाट थाहा लाग्याे । मेराे कुरामा विश्वास नगर्नेले काफलमा भएकाे `फ´ हटाएर हेरे भयाे । कफलबाट `फ´ हटाउँदा ` काल´ नै हुन्छ । काफलमा काल लुकेकाे कस्ले देख्ने ? काफलमा काल देखिने भए अकालमा ज्यान जाने थिएन हाेला । मान्छेले काफल खान त परै जाओस् काफलकाे बाेटतिर नजर पनि लगाउने थिएन । तर सत्य यहीँ हाे काफल टिप्दा कालले टिपेका समाचार वर्षेनी सुनिएका छन् । अरूले टिपेका काफल खान त राम्रै हुन्छ । तर काफल टिप्नेहरूका कथाहरू कमैलाई थाहा हुन्छ । माेलमाेलाइमा काफल किनेर खानेहरू र शक्तिकाे आड वा उन्मादमा सडकमा काफल घाेप्टाउनेहरूलाई मात्रै एउटा सल्लाह छ, “जंगलमा गएर एक माना काफल टिपेर मात्रै देखाऊ । तिमी काफल टिपेर बेच्नेहरूका कथा आफै बुझ्ने छाै ।”

सुन्नेलाई सुनकाे माला भन्नेलाई फूलकाे माला । काफल काण्डकाे कथा बुझ्नेका दिमागमा जाला ।काफल किन्नेले अबदेखि सम्मानसाथ किनेर खाला ।
काफल घाेप्टाउने घाेप्टेहरूका सुध्रिऊन् चालामाला ।
अस्तु

०००
रेसुङ्गा न पा २, गुल्मी
२०८३ जेठ १५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफनि घाेल आफुइ धेकुन

आफनि घाेल आफुइ धेकुन

रामप्रसाद पन्थी
शहीद ?

शहीद ?

रामप्रसाद पन्थी
म त दान दिन्नँ

म त दान दिन्नँ

रामप्रसाद पन्थी
जेन्जी छाेरीलाई चिठी

जेन्जी छाेरीलाई चिठी

रामप्रसाद पन्थी
प्रभु ! नाक काटेर नकटाे बनाऊ

प्रभु ! नाक काटेर...

रामप्रसाद पन्थी
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
पर्मुख अतिथि

पर्मुख अतिथि

डा. गंगाप्रसाद अधिकारी
सेकुवा बाजेलाई अर्को पत्र !

सेकुवा बाजेलाई अर्को पत्र...

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

प्रविण टण्डन ’वसन्तप्रवीण’
देश के हाे बुझिस् ?

देश के हाे बुझिस्...

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x