साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेटाहा र फटाहा

ज्यान लतालुतुक्क गल्छ भने गलिरहाेस् । पेटमा गानाेगाेला उठ्छ भने उठिरहाेस् । बिनासित्तिमा अर्काकाे पेट मारेर आफ्नाे पेट फुलाउने पेटुवाप्रति पेट्राेल छर्किदा काेही तर्सिन्छ भने मेराे भन्नू केही छैन ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

आफू त परियाे पेट पुछुवा मान्छे । सबैभन्दा पछि जन्मिएकाे कान्छाे सन्तान । बाआमाकाे जवानी निख्रिएर बुढ्याैलीतिर सकसले जन्माएकाे बचेराे । सकसकाे बेर्नाे । आफूभन्दा अगाडि दाइ दिदीहरू धेरै जन्मिए । काेही खेर गए । काेही भाग्यले रहे । हामीहरू काेही नहुँदा पनि खानका लागि दुःखै थियाे रे ! सन्तान थपिएपछि झन् दुःख थपिदै गएछ बाआमालाई । थाप्लामाथि अजङ्गको भारी , भारीमाथि चिचीभुँडी गरेर हुर्केका हामी । आमालाई जन्माउनै दुःख भयाे । जन्मेपछि खुवाउन । खानेबेलामा कसले खायाे ? काे भाेकै रह्याे ?थाहा नहुने । जसले राेइकराइ गर्थ्याै उसले चाराे हुल्न पाउँथ्याे । शान्त स्वाभावकाले खानै नपाएर भाेकले बाेल्न नसकी अझै शान्त हुन्थ्याे । भाेकले लल्लु भएपछि बाेल्ने शक्ति नै कहाँ हुन्थ्याे र ? आफू परियाे चिचिलाे, बतिलाे तर अलिकति झगडालु । झगडाले कहिले फाइदा हुन्थ्यो , कहिले घाटा । धेरैजना भएपछि जेजस्तो भए पनि बाँड्नु पर्ने । त्यसैले कहिल्यै कसैकाे गतिलाे गरी पेट भरिएन । सधैं सुकेनासले सुकाइएका हाम्रा गथासा यहाँ धेरै फुकाइएन ।

हाम्रा पालामा पनि मेलामेसा आउँथे । चेलीबेटीले निधार बेच्न पाउँथे । निम्न वर्गीयले गाईपैसा पाएपछि फुर्ती लाउँथे । मध्यम वर्गीयले आनासुकीमै चुड्की लाउँथे । हुनेखानेका हातमा माेहर देखिन्थे ।आफू परियाे ठुटे केटाे । घरमा निधार नबेचिने जात । अन्त पनि दक्षिणामा केटाकाे गन्ती नहुने । भइहाले पनि भुराका भागमा कति नै झराेस् र ? त्यसैले धेरैजसो दिदीबहिनीकाे दक्षिणामा आँखा लाइन्थ्याे । ताल परे हात लामाे गराइन्थ्याे । नपरे दिदीबहिनीलाई धारे हात लगाइन्थ्याे । आमासित काैडी कहिल्यै देखिएन । तैपनि कुइँकुइँ गरिन्थ्याे । बटारिएकाे चाल पाए बाउले लगाउथे लात । लात खाएपछि काैडीका त के कुरा कसाैंडीकाे आटाे हराउँथ्याे । भाेकै भएपछि स्कुल जाने बाटाे हराउँथ्याे । एकदिन स्कुल नगएपछि भाेलि मास्टरका अघि पर्न मन डराउँथ्याे । यसैगरी बेलाबेला स्कुलकाे पढाइ हराउँथ्याे । स्कुल नगएर गाईबाच्छा चराए घरका खुसी । आफूलाई हाेमवर्क गर्न नपर्दा हाइसञ्चाे । कमसेकम गाेठालाहरूसँग गुच्छा खेल्न पाइन्थ्यो । खालमा ठुलाबडाले दाउ लाएकाे, जित्नेले जुँगामा ताउ लाएकाे र गजक्क परेर भाउ खाएकाे देख्न पाइन्थ्यो । कसैले जिताैरीकाे दुई पैसा फालिदिए पिपलगेडी मिठाइँ खाइन्थ्याे । मस्त रमाइन्थ्याे ।

समयले काेल्टे फेर्याे । दिदीहरू भिनाजुका भए । दाजुहरू भाउजूका । माथिल्लो निकायबाट बालाई छिटै बाेलवा भयाे । आमाकाे सिन्दुर गयाे । याे बबुराे अनाथ भयाे । कमाउनेहरू लाखापाखा भए । नकमाउनेहरू अनदेखा भए। दुई पैसा देख्ने र फुटेकाे काैडी नदेख्ने बीच कित्ताकाट भयाे । हेर्दाहेर्दै सहाेदर पराई भयाे । पराई हितैषी भयाे । वर्षाैंदेखिकाे चुलाे विरानाे भयाे । आँगन, गाेठ, बारी र खरबारीमा हिड्दा पनि हाेस पुर्याउनु पर्ने भयाे । सायद यसैलाई भनिन्छ , नियतिकाे खेल ।

मनमा कुरा गुम्साएर बस्नु भन्दा मनपेट माझेकाे राम्राे । अरूकाे पेट पस्नु भन्दा आफ्नै पेट कसेकाे जाति। पेट पस्नेहरू अरूका मनका कुरा धुत्न र नजानिदाे पाराले लुट्न सिपालु हुन्छन् । आफू परियाे साेझाे मान्छे । हुनत : जतिसुकै बाङ्गाेले पनि आफूलाई बाङ्गाे कहाँ भन्छ र ? मनका कुरा कसलाई भन्नू कसलाई नभन्नु । मनपेट मिल्ने साथीभाइ भनेर केही कुरा गर्याे । उसैले गाउँभरि छताछुल्ल पारिदिन्छ । यसरी पेटमा कुरा नअडाउने र भित्रभित्रै छुरा चलाएर पेटपाला गर्नेहरूकाे कमी छैन यहाँ । पेटे कुरा यताउता गराएर पेटपालाे गर्ने यस्ता पेटारेहरू देख्दा पेट पाेलेर आउँछ ।

भाेकाे पेटमा कसैले केही गर्न सक्दैन । केही गर्नका लागि भए पनि पेट भर्नै पर्ने हुन्छ । पेट भर्नका लागि केही गर्नै पर्ने हुन्छ । पेटपरमेश्वरकाे लीला पनि अद्भुत छ । मिठाे र नमिठाेसँग कुनै मतलब छैन । स्वादकाे काम जिभ्राकाे हाे । घाँटीदेखि तल झरेपछि पेटपरमेश्वरका लागि सबै समान छ । प्रसाद जस्तै ; पवित्र र प्रिय । गरिष्ठ पर्याे भने पचाउन गाह्राे हुन्छ । चाहे त्याे वस्तु हाेस् या विचार ! यस्ता अपाच्य वस्तु वा विचारदेखि टाढा रहँदा नै हितकर हुन्छ ।

कसै कसैले पेटलाई गाली गरेर पापी पेट भनेकाे पाइन्छ । पापी पेट पाल्नाका लागि पापड पेल्नु परेकाे कथा र बेथा धेरैले सुनाउँछन् । यसाे हेर्दा पेटै हुन्नथ्यो भने कसैले केही छुन्नन्थ्याे । भाेकमरीले मर्नु पर्दा रून्नथ्याे । लाद्राे फुलाएर लम्बाेदर काेही हुन्नथ्यो । पेट छ र त सबथोक छ । हाँडीघाेप्टे हाेस् या घ्याम्पे , टाकनटुकुन हाेस् या ठन्डाराम पेटकाे बनावटले मानिसको पहिचान बनाएकाे छ । गच्छेअनुसार मान्छे पेटपूजामा समर्पित रहेकाे छ । धनी -गरिब , माग्ने -लम्फु , साधु- चाेर , राजा- रङ्क कसैप्रति रिसराग र वैरभाव नराख्ने पेट कुनै परमात्मा भन्दा कम छैन । अनेक कुला, खाेला, भल,भेल, बाढी र नदी सबैलाई आफूमा समाहित गर्न सक्षम समुद्रजस्तै छ पेट परमात्मा । तपाईंले जे पठाए पनि नाकनिक गरेकाे छैन । ओैंशी र पूर्णे केही नभनी रक्सी र मासु गाेदे पनि गएकै छ । केही नपठाए पनि केही भन्दैन । हड्ताल गर्दैन । एकादशीमा व्रत बसे पनि भएकै छ । सेन्तेरेमसित हेकुला काेचे पनि गएकै छ । पानीपेटमा सबथोककाे भरथेग भएकै छ । जठराग्निले ऐराे हालेक‌ै छ । मलद्वारले मल फालेकै छ ।

पेट चाहे जस्ता र जत्रा हुन् हरेक व्यक्तिले पेट बाेकेकै हुन्छ । फुकेकाे हाेस् या सुकेकाे जस्ताे भएपनि कसैलाई मतलब नहुनु पर्ने हाे । तर कतिपय विद्वानहरू यस्ता हुन्छन् जसलाई अरूकाे चियाेचर्चाे नगरेसम्म निद्रा लाग्दैन । कुरा नकाटेसम्म खाएकाे पच्दैन । कतिपय पेशेवरहरूले लाइक, कमेन्ट र भ्यूजका लागि हेलाे गाइज फलानाेकाे पेट ढिस्कानीले बाेकेकी भनेर उखरमाउलाे गरेकाे भेटिन्छ । श्रीमान विदेश भएका बेला यता श्रीमतीले पेट बाेकेकाे समाचार हेडलाइनमा लेखिन्छ । यिनै मसला बाेकेर असला मार्न वकिलहरू अदालततिर कुदेकाे पाइन्छ । कसलाई के प्रवाह यहाँ ? घर जाेडेर भन्दा फाेरेर बढ्ता कमाइन्छ । मिलापत्रमाभन्दा छाेडपत्रमा ज्यादा समाइन्छ ।

कार्टुनिस्टका कार्टुनहरूले देश बेचुवा ,घुस घिचुवा पेटारेहरूका घैंटाजत्रा पेटमाथि व्यङ्ग्य वाणकाे सुइराेले घाेचेकाे देखिन्छ । घाेच्नेहरूले घाेचिरहन्छन् । लेख्नेहरूले लेखिरहन्छन् । सामाजिक सञ्जालमा खाेक्नेहरूले खाेकिरहन्छन् । न त पेट बाेक्नेहरू कहिल्यै मेटिन्छन् । न त पेट जबरजस्ती बाेकाउने अपराधीहरू रेटिन्छन् । जसलाई पर्याे पर्याे न त निर्मला पन्तहरूका हत्यारा र बलत्कारीहरू भेटिन्छन् । सुशासन र समृद्धिका सारङ्गीहरू रेटिन्छन् । यहाँ त केवल जिउँदै जनावर निल्ने अजिङ्गर भेटिन्छन् ।

भाेकाे पेट लिएर वैरीसँग लडेका वीरका सन्तान आज पेटकै लागि परदेशीसँग झुकेकाे देख्दा अचम्म लाग्छ । जसले पेट काटेर हामीलाई हुर्काए । पटुकाले पेट कँसेरै भएपनि अदम्य शाहस र शक्ति देखाए । अन्नका कुरा छाेडाैं पानी पनि नखाएर, निराला पेट लिएर देश बनाउन र देश बचाउन ज्यानकाे आहुति दिए । तिनै वीर गाेर्खालीका सन्तान कतै गु खानी त भएका हाेइनन् ? शंका लाग्छ । हाेइन भने देशभित्र प्रिय अप्रिय घटना हुँदा किन देशी विदेश चलखेल भनिन्छ ? यसरी आफ्नै आमाकाे पेटमा लात्ती हानेर छाती ठाेक्न पछाडि नपर्नेहरूलाई किन काेर्रा लगाउँदैन जनता ? देशकाे सम्पत्ति स्वाहा पारेर ढाेलक जत्राे पेट प्रदर्शन गर्ने यी पेटाहा र फटाहाहरूलाई फटाफट फाँसीकाे फन्काेमा फनफनी घुमाइदिए केही फरक पर्दैन ।

पेटे दर्शन छाट्याे भनेर कसैकाे पेट कुटुक्क काटेकाे भए झाँडीतिर गएर पसाराे पारे हुन्छ । पेटका किरा मार्नका लागि प्रयाेग गरिएकाे अस्त्रले कसैकाे पेट लाग्छ भने लागिरहाेस् र आँत काट्छ भने काटिरहाेस् । पखला चल्छ भने चलिरहाेस् । ज्यान लतालुतुक्क गल्छ भने गलिरहाेस् । पेटमा गानाेगाेला उठ्छ भने उठिरहाेस् । बिनासित्तिमा अर्काकाे पेट मारेर आफ्नाे पेट फुलाउने पेटुवाप्रति पेट्राेल छर्किदा काेही तर्सिन्छ भने मेराे भन्नू केही छैन ।

०००
२०८३।०३।१४
रेसुङ्गा न पा २, गुल्मी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाटी पार्टीका कुरा

पाटी पार्टीका कुरा

रामप्रसाद पन्थी
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
आफनि घाेल आफुइ धेकुन

आफनि घाेल आफुइ धेकुन

रामप्रसाद पन्थी
शहीद ?

शहीद ?

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x