घनश्याम रेग्मीपाकाहरूबाट सिकाैँ (६)
हामीले नव कार्य थाल्न कसियौँ बिर्सेर हाम्रो जग टुप्पो हेर्न हतार लाग्दछ यता आधार बिर्सी सब हाम्रो संस्कृति धर्म वैभव कला जोगाउँदै सिर्जना पाकाको कति योगदान छ बुझौँ होला कहाँ बिर्सन ।
घनश्याम रेग्मी :
हाम्रा पूर्वज शास्त्रसम्मत कुरा खोजी निहारीकन
गर्थे पालन नीति धार्मिक कुरा हेरी विचारीकन
पाका सङ्ग्रह हुन् विचार पथका के के नगर्ने भनी
साझा धर्म र कर्मका विषयमा खाका बनाए गुनी ।४१
•••
शिक्षाको कठिनाइ सो समयमा हुन्थ्यो भए तापनि
सुन्थे वेद र शास्त्र धैर्य मनले कण्ठाग्र गर्थे पनि
आयुर्वेद बुझेर गाउँ घरमा वैद्यादि सेवारत
पाका मानिसका कुरा गहकिला हुन्छन् सधैँ सारत: ।४२
•••
बाटोको सुविधा थिएन पहिले यात्रा गरे के गरी
सन्तानोन्नति निम्ति पैदल हिँडी टाढा पुगे गौँथली
तीर्थस्नान गरेर पुण्य बटुली व्यापार गर्दै रहे
राम्रो आज बनाउने विषयमा चिन्ता र चासो दिए ।४३
•••
मौरीझैँ रस खोज्न दूर नगरी पुग्थे हिँडी पैदल
फर्किन्थे घर गाउँमा समयमा पूरा गरी कौशल
आफैले घर खेत काम बलले गर्दै नयाँ चिन्तन
होस् उत्पादन गाउँमा धन बचोस् हो अर्थशास्त्री मन ।४४
•••
धारा मन्दिर चोकमा सब मिली गर्थे सफा रक्षण
बाटो गाउँ कुवा सफा नद नदी साझा छ संवर्धन
चौपाया पशुका निमित्त जलका खन्थे मिली पोखरी
चौतारी चिनिए र बस्न सुविधा आनन्द सर्वोपरि ।४५
•••
थोरै खर्च गरेर लाभ लिनु नै हो बुद्धिमानी भनी
साझा भाव समाजका नियमका खाका बनाए धनी
पैंचो गर्न सिकाउँथे समयमा ल्याएर फिर्ता गरी
क्या राम्रो सहकार्य गाउँ घरमा आनन्द पैंचो तिरी ।४६
•••
आफन्ती घर गाउँमा नगदको खाँचो परेका घडी
दिन्थे सापट तिर्दथे समयमा सानन्द ठट्टा गरी
साथी भाइ मिली बजार हटिया वा लाहुरे पल्टन
सारा स्वागत गर्न उद्यत हुने ग्रामीण अभ्यागत ।४७
•••
जे मिल्छ जहाँ जहाँ प्रकृतिका सम्पूर्ण उत्पादन
पाकासाथ विमर्श चिन्तन गरी खोजेर बेच्थे जन
आफैँमा हुनुपर्छ निर्भर भनी आधार खोजे पछि
रिठ्ठा बोट तयार साबुन थियो मैलो पखाल्ने कसी ।४८
•••
ज्याला दाम थिएन गाउँ घरमा अन्नादि दिन्थे बरु
बेच्ने झन्झटबाट मुक्त रहने यो काइदा हो बरु
भोकै मर्नु परेन ती श्रमिकले खाद्यान्न जोहो भयो
गर्थे पर्म छिमेकमा श्रम गरी पालो मिलायो गयो ।४९
•••
हामीले नव कार्य थाल्न कसियौँ बिर्सेर हाम्रो जग
टुप्पो हेर्न हतार लाग्दछ यता आधार बिर्सी सब
हाम्रो संस्कृति धर्म वैभव कला जोगाउँदै सिर्जना
पाकाको कति योगदान छ बुझौँ होला कहाँ बिर्सन ।५०
•••
क्रमश:
०००
विकास चोक , भरतपुर ५, चितवन
Subscribe
Login
0 Comments
Oldest









































