शेषराज भट्टराईअभाव
मान्छे ज्यादै सुकिलोमुकिलो छ भने बुझ्नुहोस् त्यससँग रूपियाँको भन्दा पनि उपियाँको अभाव हुन्छ । त्यस्तै कसैमा ज्ञानको त कसैमा ध्यानको अभाव हुन्छ ।
शेषराज भट्टराई ‘हाँसुले’:
अभावको स्वभाव नै अभाव । सर्टेज अङ्ग्रेजी शब्दले पनि खाँचो नै भन्छ । वान्छित चिजबिजको खाँचो खड्किनु नै अभावको प्रादुर्भाव हुनु हो । हरेक ठाउँ वा प्राणीमा केही न केहीको अभावले दाँत ङिच्याइरहेको हुन्छ । रहर वा आवश्यकताको परिपूर्तिका लागि जगर ठड्याएर हिँडेको मानवको गर्दन हरदम अभावले ङ्याकिरहेको हुन्छ । मानव जमात भोक निन्द्रा नभनी ऐया आत्थो हस्याङफस्याङ गर्दै त्यसको प्राप्त्यार्थ हरतरहले पैसा र पसिना बगाइरहेका हुन्छौँ । इमान्दार, चोर, डाका, फटाहा आफ्नो गक्ष्य र लक्ष्य अनुसार हाड घोटिरहेका हुन्छौँ । हाड घोट्ने पैसा पसिना बगाउने मात्रै भए त हुन्थ्यो नि तर यहाँ त दुष्ट मतिभ्रष्ट भएकाहरूले प्रष्ट रूपमा रगतै बगाइरहेका हुन्छन् ।
इरानी भूभाग हर्मुज जलमार्ग प्राप्त गर्न अमेरिकाले इरानको हुर्मत लिइरहेको छ । भएभरका बम बारुदको सत्यानास गरिरहेको छ । अमेरिकाले आफ्नो अभावको परिपूर्ति गर्दा विश्वजगत नै इन्धनको अभावको भूमरीमा फस्यो । सकिन्छ र पुगीसरी छ भने फजुल फुर्ती पनि देखाउनु पर्छ हैन त ।
तिब्बत भन्ने छुट्टै देश थियो । तर शक्तिशाली देश चीनलाई तिब्बत निलु निलु लागेछ । अर्थात् तिब्बत चीनलाई खाँचो परेछ । तिब्बतको अभाव महसुस भएछ अनि सन् उन्नाइस सय उनपचासदेखि उन्नाइस सय उनन्साट्ठीसम्ममा तिब्बतीयन राष्ट्रनायक दलाइ लामालाई दल्नसम्म दलेर हायलकायल पार्दै भाग्न बाध्य पा¥यो । हजारौँ तिब्बतीयनहरूले चाइनाको अतिचार व्यभिचार सहन नसकेर सुईकुच्चा ठोके त धेरैले तिब्बतमै जिब्रो टोके । हजारौँ तिब्बतीयन नागरिकहरु भागेर नेपाल र भारतमा शरणार्थी बनेर बस्न बाध्य भए । तिब्बतबाट पैदल नै हिँडेर करीब तिस पैँतिस दिनमा त्यहाँका धर्मगुरु दलाइ लामा लामालामा फड्को मार्दै तरक्क आँसु झार्दै भारतमा शरण लिन पुगे । अहिले उनी एकानब्बे वर्षका भएछन् ।
अस्ति भर्खरै बालेन सरकारको उदयपछि तपोभूमि नेपालमा जन्मोत्सव गर्ने प्रस्ताव गरेछन् तर विवादास्पद भनेर नेपाल सरकारले अनुमति दिएन । मित्रराष्ट्र चीन रिसाउँछ कि भन्ने पिरलोले नेपाल पिरोल्लिरहन्छ । दलाइ लामाले भारतमै बसेर स्वतन्त्र तिब्बतको माग गरिरहेका छन् । केही तिब्बतीयन नागरिकले स्वतन्त्र तिब्बतको माग राखेर आत्मदाहा पनि नगरेका होइनन् । अनागरिक हुनुको पीडा भयानक हुन्छ । त्यसैले तिनका लागि आत्मदाहा सामान्य बन्न पुग्छ । कैयौँ तिब्बतीयन युवायुवतीलाई चिनियाँ सेनाले पक्रिँदै परिवार नियोजन गर्दै छोड्दै गरेका थिए । अहिले चीन अधिनस्थ तिब्बतमा धर्मगुरु दलाइ लामाको अभाव छ । यसरी सिङ्गो देशले पनि केही न केहीको अभावको सामना गरिरहेको हुन्छ ।
अभाव गाँसबास र कपासमा हुन्छ । अभाव आश र निरासमा पनि हुन्छ । दिनमा हुन्छ र रातमा पनि हुन्छ । वारी हुन्छ भने पारी पनि हुन्छ । पाउमा हुन्छ भने शीरमा पनि हुन्छ । समथरमा हुन्छ भने भीरमा पनि हुन्छ । उन्मादमा हुन्छ भने पिरमा पनि हुन्छ । अभाव बाहिर हुन्छ भने भित्र पनि हुन्छ । रसमा हुन्छ भने निरसमा पनि हुन्छ । कसैले मृगौला फेर्छन् त कसैले मुटु फेर्छन् । कसैले आँखा फेर्छने त कसैले आँख्ला । भैराखेको जल्दोबल्दो आफ्नै स्वास्थ्यले आफैंलाई लोप्पा खुवाउँछ नि हो त्यतिखेर स्वास्थ्यकर्मी र हेरविचार गर्नेको अभाव खड्किन्छ । कहिलेकाहीँ मौकामा अर्ति उपदेश दिनेको अभावले आफैंलाई रगतपच्छे हुने गरी ठेस लाग्छ । ठेसको कुनै देश हुँदैन यो जोसुकैलाई जता पनि लाग्छ । दुष्टहरू के गल्ती देखाउ भनेर छिद्र खोजेर बसेका हुन्छन् नि हो त्येतीखेर छिद्रको अभावले विरोधी नराम्रोसँग पिरोलिन्छ । त्यसैले अभाव पूर्णतया समावेशी छ । शत्रु, मित्रु, आफू, आफन्त, नातागोता, इष्टमित्र सबैका निम्ति समान छ र हामी त्यसको आद्योपान्त सामना गर्न तल्लिन छौं । जसरी पनि अभावको परिपूर्ति र होस्टेमा हैसे गर्दै उनीसँगै जुनी कटाउनु छ ।
नेपालीहरू रमाइला, मिलनसार र दयालु हुन्छन् । त्यसैले यहाँ विपतको सामना गर्ने क्षमताको अभाव छ । देशभक्त नागरिकको अभाव छ । अभावको परिपूर्ति गर्न नसके देश छोडेर पलायन हुन्छन् । सरकार वा कसैको मुख ताक्यो भने अभावको महसुस हुन्छ त्यसैले आफू सक्षम बनौँ अरू कसैको आश नगरौँ । हरेक आशले अधोगति लगाउँछ । त्यसैले आस नगरी पौरखी बनौँ ।
साम्यवादको जगजगीको अगाडि समाजवादको अभाव हुन्छ । तानाशाहीको अगाडि सुशासन र प्रजातन्त्रको अभाव हुन्छ । अभाव पानीको फोका जस्तै हो । प्रकट हुने र हराउने क्रम निरन्तर चलिरहन्छ । आज नभएको अभावले भोलि शीर उठाउन सक्छ, तब त सुरक्षाकर्मीहरू दैवीप्रकोपको पूर्वतयारी गर्ने गर्छन् । तर त्रियासी साल भदौ दश गते भोटेकोशी र त्रिशुलीमा आएको प्रलयकारी विनाशकारी बाढीले अरबौको हानीनोक्सानी पु¥यायो । हजारौँ नागरिकको ज्यान गयो । जब महाप्रलय हुन्छ त्यतिखेर प्रहरीको पूर्वतयारी आफ्सेआफ भुत्ते बन्न बाध्य हुँदोरहेछ । तत्कालै उद्धार र राहतको अभाव नै हुँदोरहेछ । त्यसैले मानव समाजको दायाँबायाँ तलमाथी वरपर जतासुकै र जतिखेर पनि अभावको जन्म र मृत्यु अकाट्य छ । त्यसैले चनाखो बन्नु सचेत नागरिकको कर्तव्य हो ।
धनधान्यले सर्वमान्य भएकाहरू भोलि धनको अभावले अमान्य तुलिन सक्छन् । आजका ठूलाठालू भोलि अमान्य र विपन्न बन्न पनि सक्छन् । आजको राम भोलि हराम बन्न सक्छ । त्यसैले हुनुपर्ने जे थियो त्यो नहुँदा नै अभावको जन्म हुन्छ । अभावले एक जन्म मात्रै होइन पुनर्जन्म लिइरहन्छ, पोली रहन्छ, पिरोली रहन्छ, डसिरहन्छ र आफ्नै अगाडि बासिरहन्छ, दारा धसिरहन्छ ।
तक्लालाई कपालको अभाव, निसन्तानलाई सन्तानको अभाव, मरुभूमिमा पानीको अभाव, चन्द्रमामा अक्सिजनको अभाव, समुद्रमा खुल्ला जमिनको अभाव । अभाव हाम्रो हितैषी हो । त्यसैले यो अनेक अवतारमा प्रकट हुन्छ र प्रस्ट भन्छ मेरो परिपूर्ति गर । ठूला अखबारलाई राम्रो लेखकको अभाव । कसैलाई अङ्ग्रेजी ज्ञानको अभाव त कसैलाई नेपाली ज्ञानको अभाव । अभाव रीतिरिवाज, परम्परा, संस्कार र संस्कृतिमा पनि हुन्छ । कतै आपसी मेलामिलाप र भाइचाराको पनि अभावै हुन्छ ।
पहिला हाम्रो देशमा दाउराको आगो बालेर चिया खाना मात्रै होइन गाइवस्तुको खोले र भतेर पनि पकाइन्थ्यो । अजङ्गका मुढा र दाउराका छाउरा बालेर आगोको राप र तापले रातो अनुहार पार्दै रातै गुजारिन्थ्यो । वनका दाउरा घाँस कुहेर खेर जान पाउँदैन थिए । प्रकृति प्रदत्त झिजामिजाको अभाव थिएन । तर अहिलेका जमानामा छट्टु राजनीतिक दलका दलालीका कारण जनतालाई सुविधा दिने भनेर दुविधा दिइरहेका छन् । अर्काको देशमा उत्पादित ग्याँस क्यास तिरेर पनि पाइएको छैन । सहरका सुख सुविधा भोगी सुकिलामुकिला निरोगीहरू ग्याँसकै कारणले माम हाम गर्न नपाएर एक हातमा क्यास देखाउँदै अर्को हातले ग्याँस ग्याँस भन्दै एकसय आठ फटिक माला फटाफट जपिरहेका छन् ।
नेपाली जनता करिब दुई दशक अगाडिदेखि राजनीतिक दलको अकर्मण्यताका कारणले गर्दा हरेक मामलामा ठक्कर खाइरहेका छन् । भ्रष्टाचारका लतीहरूले ग्याँस खोकीलामा लुकाएर बालेन सरकारको तेजोबध गर्न उद्यत छन् । अत्यावश्यक उपभोग्य वस्तुहरू लुकाएर सरकारको खुट्टा तान्न दिनरात नभनी खटेका डटेका छन् । कहिले जातीय द्वन्द्व उराल्छन् त कहिले ग्याँसमै जल्दोबल्दो राजनीति गरेर देश तताउँछन् । नेतामा नैतिकताको खडेरी परेको छ । सुझबुझको अभाव छ । नेपाली जनताप्रतिको दायित्ववोधको खडेरी परेको छ । फलतः हामी नेपालीहरू अभावै अभावमा बाँच्नु भन्दा न्वारानदेखिको बल निकालेर जोस जाँगरका साथ आत्मनिर्भर हुने उपायमा लाग्नै पर्छ । अब पनि ख्यालख्याल गर्दा भावी पुस्ताले सराप्नेछन् । जसरी पनि हरेक अभावलाई टाढा राख्न सक्नु र सिक्नु पर्छ । आफ्नो क्षमता र आइडिया झिक्नुपर्छ । साँच्चै भनु भने परनिर्भरता नै अभावको जननी हो ।
त्यसैले हरेक तह र तप्काका देशभक्त नागरिक सचेत बन्दै आत्मनिर्भर हुन सकियो भने अभावले हम्मेसी डस्न र घरभित्रै पस्न चाहिँ सक्दैन । त्यसैले अब नयाँ पुस्ताका युवाजमातको पाइला आत्मनिर्भर तर्फ मोडिनु अति आवश्यक देखिन्छ । लत्पत् नगरी सत्पथ समात्दै अभावलाई थान्को लगाउनका लागि युवा पुस्ता विदेश पलायन नहुने सद्बुद्धिको अभाव चाहिँ नगराइदेउ प्रभु ।
देश गरिब भयो भने त्यहाँ रूपियाँको अभाव हुन्छ । त्यसमा पनि कलकारखाना, उद्योग, इलम र प्राविधिक ज्ञानको अभाव रहेछ भनेर ढोकुवा गर्न सकिन्छ । जग्गा जमिन बाँझो रहन गयो भने पनि त्यहाँ खानेकुरा अन्नको अभाव हुन जान्छ । अन्नको उत्पादन धेरै हुने देशका नागरिकले भोकभोकै बस्नुपर्ने अवस्था आउँदैन । अनि मान्छे ज्यादै सुकिलोमुकिलो छ भने बुझ्नुहोस् त्यससँग रूपियाँको भन्दा पनि उपियाँको अभाव हुन्छ ।
त्यस्तै कसैमा ज्ञानको त कसैमा ध्यानको अभाव हुन्छ । जोइपोइको अभाव थेग्न नसकेर खुइयाँ गर्दै सुस्केरा हाल्नेहरू पनि यही जगत्मा छन् । शिक्षाको अभावले छट्पटाउने र भिक्षाको अभावले रन्थनिने पनि हुन्छन् । ओहोदा अनुसार कसैलाई सत्ताको अभाव हुन्छ त कसैलाई तेजपत्ताको अभाव । बैंकमा कर्जा खाने र भट्टीमा ठर्रा खानेको ढर्रा पनि फरक फरक नै हुन्छ । यस ब्रह्माण्डमा कोही कामको अभावले रोगी भएका हुन्छन् त कोही दामको अभावले । घामको अभावले ओस्सिने र सामन्तीका कारण सोसिने पनि धेरै छन् । अभाव मानव उत्पति सँगसँगै लठारिएर आएको हुनाले जीवित छउञ्जेल जातिसुकै रहर गरेपनि यसले छोड्दै छोड्दैन । त्यसैले मिल्छ र पुग्छ भने अभावमा रमाउँदै अभावमै बाँच्न, नाच्न, र हाँस्न सिक्नुपर्छ । जयाभाव ।
०००
शिवशक्ति मार्ग, फूलबारी–११, पोखरा, कास्की
फोन ९८०६६७७५९४
Subscribe
Login
0 Comments
Oldest






































