शेषराज भट्टराईटन्टकपाले
अख्तियारको सामना गर्ने बिरबलहरू टन्टकपालेकै अंशियार हुन् । चोर्ने, घर फोर्ने, लुट्ने, धुत्ने, अनावश्यक सुत्ने, खुर्ची, घमण्डी, पाखण्डी, लोभी, पापी टन्टकपालेकै सेरोफेरोमा पर्छन् ।
शेषराज भट्टराई :
कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि भने झै मान्छे विभिन्न स्वभावले वेष्ठित हुन्छन् । कोही शान्त सम्भ्रान्त हुन्छन् भने कोही उग्र छुसी स्वभावका पनि हुन्छन् । कोही कुरौटे नारद स्वभावका हुन्छन् भने कोही लोमश ऋषिझै मसानघाटमा पनि तपस्या गरिरहेका हुन्छन् । कोही दुर्वासा ऋषिझै हुन्छन् त कोही अगस्ती ऋषि झै । यहाँ जन्मजात स्वभाव लिएर आएका मध्ये टन्टकपाले स्वभाव भएका मनुवाका बारेमा चियोचर्चागर्ने दुस्चेष्टा गरेको छु ।
टन्टकपाले त्यस्तो मानव चोला हो जसले अरूको आगाको भुतभुते आफ्ना थाप्लामा खन्याउन रुचाउँछ । आत्मा रुवाएर बेचयन जिन्दगी जिउनु नै उसको दिनचर्या र कर्म बनेको हुन्छ । जुन दिशामा लम्किए पनि जोसँग टक्कर गरे पनि उसका भागमा ठक्कर बाहेक केही हुँदैन । अरूले ठेस नलगाए ऊ आफैले ठेसार्जन गर्छ । चारै धाम, चारै प्रहर चारै कोण, बारै मास उसको प्रतिकूल बनिरहेको हुन्छ । जता हेन्यो उतै बिजुली चम्किरहेको हुन्छ र साथमा चट्याङ र गड्याङ गुडुङ त छदैछ । छातीमा पहरा फुटने पहिरो र आँखामा छहरा छूटने वर्षाले सँधै तर्साइरहेको हुन्छ । तै पनि घिडघिडो जिन्दगी घिसार्न मन लाग्छ ।
आफैले खन्याएको राप र तापले जहिलेसुकै सन्तापले हरदम हपहप भैरहेको हुन्छ । अजोड बजोड बेजोडले गर्ने भएर नै टन्टकपाले तुलिएको हो । उखरमाउला अत्यास लाग्दा झोज झमेला आफ्नै कारणले आफ्नो दिनचर्यामा अपलोड भैरहेको हुन्छ । आनन्द शान्त स्वभावले बाँच्न, नाँच्न, हाँस्न, गाउन नफुर्ने उट्पट्याङ मात्रै फुर्ने अनि भाग्यमा ठक्कर मात्रै जुर्ने जिउँदालाई वर्षा होस् या हिउँद टन्टकपाले नै भनिन्छ । आफ्नै बलबुताबाट बेचयन अजमाएर पछुतो बाहेक उसका भाग र भाग्यमा केही रहदैन । हरहमेशा तनाव र चिन्ताले साम्राज्य कायम गरेको हुन्छ । जसको जननी ऊ आफै हो। हैरानी र सास्तीको एकाधिकार जमाएर आफ्नो जिन्दगी नै धिक्कार ठान्ने चख चतुरे टाठाबाठालाई टन्टकपाले विभूषण दिइन्छ ।
हरेक देशमा टन्टकपाले जन्मिन्छ र अन्य सामान्य नागरिकले पाउने हक अधिकारको समान भागिदार हुन्छ । भाग्यले गर्दा जीवन भोगाइको यात्रा सकसपूर्ण हुन्छ तथापी ऊ कर्मलाइ धारेहात लगाई रहेको हुन्छ । मन, वचन, कर्म स्थिर नहुनु शर्मको विषय बन्छ तापनि धुरमुर जिन्दगीलाई दुलमुल बनाउँदा सिंगो जीवन भोगाइ सङ्घर्षमय र सकसपूर्ण बन्न पुग्छ र नै कहलाउँछ ‘टन्टकपाले ।
सौताका पिरले लोग्नेका काखमा तुर्त्याउने विवेकले तुरिएका पनि टन्टकपालेकै परिधिमा पर्छन् । बाबु टोक्ने छोरो जन्मियो भने जन्मनासाथ अपजस पाउने टन्टकपालेमा पर्छ । कसैलाई मार्दै नमारी, कतै चोर्दै नचोरी, जेलनेल खानुपर्यो भने पनि टन्टकपालेमै परिन्छ । बोल्यो बोली बिक्दैन, काम गन्यो कामले पूर्णता पाउँदैन, केही गर्दा पनि गन्तव्य फेला नपर्नु नै टप टन्टकपाले बन्नु हो । अर्काकी छोरी, बुहारी, स्वास्नी वा अर्काको लोग्नेसँग अनाहकमा पल्किएको, सल्किएको आरोप लागेर टाउको दुखाउनु पर्छ भने पनि टन्टकपालेमा नै परिन्छ । भन्नेले हावा नचली पात हल्लिदैन त भन्लान् तर टन्टकपालेले जबरजस्ती हल्लाएको पनि हुनसक्छ । किनकी उसले त्यति नगरे खाएकै पच्दैन ।
कतिपय चुईयारामहरू दाइजोका लोभले आफ्नै अर्धाङ्गीनीलाई जघन्य यातना दिएर हैरान पार्छन् र पछि कानुनको सामना गर्नुपर्दा आफ्नै कारणले आफै जेलनेल पर्ने र ढ्याउ गरुन्जेल पुलिसको डण्डा खाने टन्टकपालेहरू पनि यत्रतत्र सर्वत्र छरिएर बसेका छन् । बाचुन्जेल धन सम्पत्तिको ओइरो लगाउने तर मिठो, मसिनु नखाने, राम्रो नलगाउने, अरूलाई सरसापट पनि नदिने, परोपकारमा खर्च पनि नगर्ने, कतै मोजमस्ती घुमफिर पनि नगरी सुको खर्च नगरी धनसम्पत्ति लुकाउनमा नै टाउको दुखाउँछन् भने तिनलाई पनि टन्टकपाले नै भन्नुपर्छ । छोरा छोरीका पिरलोले पेलिएका छन् भने पनि टन्टकपाले नै भन्नुपर्छ । छरछिमेकीसँग ३६ को व्यवहार छ, अनि आमाबाबुको स्याहारसुसार गर्नुपर्दा रूने सन्तान विदेशीदा खुसी हुने टन्टकपाले पनि मानव समाजमा पाइन्छन् । उपर्तली पल्टिने गरी जनता रुवाएर घुस खाने अनि थुप्रिएपछि ततेर्न नसकेर अख्तियारको सामना गर्ने बिरबलहरू टन्टकपालेकै अंशियार हुन् । चोर्ने, घर फोर्ने, लुट्ने, धुत्ने, अनावश्यक सुत्ने, खुर्ची, घमण्डी, पाखण्डी, लोभी, पापी टन्टकपालेकै सेरोफेरोमा पर्छन् ।
भैराखेको शान्त टाउकामा डोरी लगाएर टनटन्ती कस्ने काइदा टन्टकपालेको अन्तस्करणबाट फुरी रहेको हुन्छ । तपाइ हाम्रो आफ्नै आवासमा शान्तिको आभास भएन भने टन्टकपालेको बास रहेछ भनेर खास मान्छेलाई ठोकुवा गरे हुन्छ । चियाको गिलासमा हुण्डरी मच्चाइ दिनसक्ने अनि तिललाई पहाड बनाउन सक्ने टन्टकपालेको माया त होइन छायामा पनि पर्नु हुँदैन । यस्तै टन्टकपालेको फेला परेर नै कतिपय वरवधु मधुरस पिउन जिउन छोडेर कपाल र कठालो समाएर पछुताइ रहेका हुन्छन् । पिरलोको खानी टन्टकपालेबाट अलग अघच्च रहन सकेमात्र जिन्दगीले सुखले सास फेर्न सक्छ । अन्यथा मानवको माथ टनकटनक टन्किरहन्छ अनि चुलामा भन्दा मनका दुलामा आगो दन्किरहेको हुन्छ ।
०००
फूलबारी, पाेखरा
Subscribe
Login
0 Comments
Oldest







































