नन्दलाल आचार्यक्यान्सर उपचारभन्दा सुनकोशी-आईसीयू प्रिय भो, सरकार !
हाम्रा वृद्ध आमाबाबुहरूले हाम फाल्न पनि दोलालघाट वा मन्दिरको कुना खोज्दै चोरेर हिँड्न नपरोस्, अलि इज्जतका साथ, सरकारी अनुमति लिएरै नदीमा बग्न सकून् !
नन्दलाल आचार्य :
आदरणीय सिंहदरबारमा मुस्कुराइरहेको सरकार,
मेरो दुई हात जोडेको ढोग स्वीकार होस् । हुन त ढोग्नका लागि हात मात्र होइन, मन पनि चाहिन्छ, तर मन त गत साउन २० गते साँझ ५ बजे दोलालघाटको सुनकोशी नदीसँगै बगेर कता कता पुगिसकेको छ ।
म काभ्रे, कुन्ताबेसीको एउटा किसान छोरो, आज आँखामा आँसुको महासागर र ओठमा एउटा तीतो मुस्कुराउने चेष्टा बोकेर यो पत्र लेख्दै छु । मेरो ६८ वर्षका बाबा केदारनाथ पराजुली र ६७ वर्षकी आमा तीलकुमारी पराजुलीले जब सुनकोशीको उर्लंदो धमिलो पानीमा आफ्नो जीवनको अन्तिम सयर गर्नुभयो, तब मैले बुझेँ- यो देशमा क्यान्सरभन्दा ठूलो रोग त गरिबी र त्योभन्दा पनि कडा क्यान्सर त ‘हाम्रो स्वास्थ्य प्रणाली’ पो रहेछ !
हे सरकार, बाबाले आमालाई पिठ्युँमा बोकेर दोलालघाटको बजार हुँदै दुलालेश्वर महादेव मन्दिरछेउ पुग्दासम्म त मानिसहरूले ठुलो प्रेमकथाको चलचित्र छायाङ्कन भइरहेको सम्झिएछन् । ढाका टोपी, कुर्था सुरूवालमा ठाँटिएका बुढाले अशक्त बुढीलाई काँधमा हालेर हिँड्दा मानिसहरूले “वाह ! क्या जोडी !” भनेर ताली बजाउन मात्र बाँकी राखे । तर कसैलाई के थाहा, त्यो त ६७ वर्षको क्यान्सरको पीडा र ६८ वर्षको आर्थिक कङ्गालपनले सँगै मिलेर रचेको अन्तिम एक्जिट पोइन्ट थियो ! आमालाई बोन म्यारो क्यान्सर थियो । यो रोग यस्तो अद्भूत रहेछ सरकार, जसले हाडभित्रको मासी मात्र होइन, बिरामीको घर, खेत, गोठ र पूरै वंशको आर्थिक मासी नै चुसेर सक्दिँदो रहेछ ।
हामी किसान परिवार, गाउँकी शिक्षिका बुहारी र नातिनातिना मिलेर दिनरात माटो मुछेर कमाएको उब्जनी त अस्पतालको रिसेप्शनमै पुगेर स्वाहा हुन्थ्यो । डाक्टरसाबहरूले सिफारिस गर्ने औषधिको बिल देख्दा त लाग्थ्यो- औषधिको नाम पढेर रोग निको हुने भए त औषधि पसलका साहुजी नै भगवान् हुन्थे होला ! हप्ताको दुई पटक अस्पताल धाउँदा धाउँदा बाबाको टोपी र मेरो गोजी दुवै च्यातियो । अनि त्यस दिन बाबाले सोच्नुभएछ- “अब यो देशको महँगो क्यान्सर अस्पताल धाउनुभन्दा त निःशुल्क बहने सुनकोशीमै आमाबुढा भएर स्विमिङ गर्नु सस्तो र दिगो पर्छ !”
कति चलाख ! कति कडा दूरदर्शिता ! वाह बाबा, तपाईंको सोचलाई पनि सलाम छ ! सरकारलाई कहिल्यै कर तिर्न ढिलो नगर्ने मेरो बाबाले अन्ततः सरकारको स्वास्थ्य बजेट बचाउन आफ्नै बलिदानी दिनुभयो ।
हे हाम्रा अभिभावक सरकार,
तपाईंहरू त ठूला-ठूला गाडीमा साइरन बजाएर, ट्राफिक जाम गराएर हिँड्नुहुन्छ । हजुरहरूलाई त अलिकति टाउको दुख्यो भने पनि सिंहदरबारको ढुकुटीबाट ढोका खोलेर विदेशको पाँचतारे अस्पतालमा हेल्थ चेकअप गर्न जाने सुविधा छ । जनताले त अस्पतालको लाइनमा बस्दाबस्दै नयाँ रोग उपहार पाउँछन् । बाबा र आमाले सायद विचार गर्नुभयो होला- “हामी कुन मन्त्री वा सांसद हौँ र ? हाम्रा लागि त यही सुनकोशीको छाल नै चौबिसै घण्टा खुल्ला रहने पाँचतारे आईसीयू हो !”
तपाईंहरूले त देशमा ठूला-ठूला भाषण दिनुहुन्छ- “कोही भोकै मर्दैन, कोही उपचार नपाएर मर्दैन !” हो त नि, कहाँ मरेका हुन् र ? हाम्रा बाबा-आमा त नदीमा पौडी खेल्न जाँदाजाँदै बेपत्ता पो भएका हुन् ! उहाँहरू मर्नुभएको कहाँ हो र ? उहाँहरू त यो देशको लाचार, बहिरो र अन्धो स्वास्थ्य नीतिलाई आफ्नै जिउँदो शरीर उपहार दिएर आफैँ गायब हुनुभएको हो । सशस्त्र प्रहरी र दुई-चारवटा र्याफ्टिङ बोट पठाएर नदीमा सास र लास खोज्न लगाउनुभयो, त्यसका लागि धेरै-धेरै धन्यवाद । तर, यदि त्यही र्याफ्टिङको तेल खर्च र खोजी अभियानको बजेट पहिले नै आमाको क्यान्सरको औषधिमा छुट्याइदिएको भए, आज मेरो ६८ वर्षको बाबाले दोलालघाटको उकालोमा आमालाई बोकेर मृत्युको दोभानतिर दौडिनुपर्ने थिएन होला ।
अब मेरो एउटै रोदन, एउटै माग र एउटै बिन्ती छ सरकार !
हामीजस्ता सोझा जनता त जसोतसो सहौँला, रोऔँला, तर यो देशका तमाम असाध्य रोगीहरूका लागि त कम्तीमा यो सिंहदरबार अलिकति पग्लियोस् ! क्यान्सर, मिर्गौला, मुटुरोग जस्ता विनाशकारी असाध्य रोग लागेका गरिब जनतालाई सरकारले पूर्ण रूपमा ‘निःशुल्क उपचार’ गरोस् । ताकि भोलि कुनै अर्को छोराले आफ्नो बुबालाई आफ्नै आमा बोकेर नदीमा हाम फाल्न गएको समाचार अनलाइनमा पढ्नु नपरोस् । कुनै अर्की बुहारीले आफ्ना सासु-ससुरालाई केवल एउटा औषधिको बिलका कारण संसारबाट बिदा भएको हेर्न नपरोस् ।
यदि सरकारले असाध्य रोगीलाई निःशुल्क उपचार दिन सक्दैन भने, कम्तीमा देशका ठूला-ठूला नदीहरूका किनारमा “क्यान्सरपीडित तथा कङ्गाल नागरिकहरूका लागि हाम फाल्ने सुरक्षित स्थल” भनेर एउटा बोर्ड चाहिँ झुन्ड्याइदेओस् ! ताकि हाम्रा वृद्ध आमाबाबुहरूले हाम फाल्न पनि दोलालघाट वा मन्दिरको कुना खोज्दै चोरेर हिँड्न नपरोस्, अलि इज्जतका साथ, सरकारी अनुमति लिएरै नदीमा बग्न सकून् !
आँखाबाट तप्प-तप्प आँसु खसिरहेका छन्, तर ओठमा यो तीतो र दयनीय हासो थामिन सकेको छैन । बाबा र आमाको सम्झनाले छाती पोलिरहेछ, तर यो देशको नियति देखेर हाँसो पनि उठिरहेछ । बाबा ! आमा ! जहाँ हुनुहुन्छ, सुनकोशीको चीसो पानीमा कम्तीमा क्यान्सरको त्यो तातो पीडा त सेलायो होला नि ? सिंहदरबारले नदेखेको तपाईंहरूको पीडा सुनकोशीले बुझ्यो, त्यसैले त आफ्नै काखमा ठाउँ दियो !
मैरा बाआमालाई क्यान्सर उपचारभन्दा सुनकोशी-आईसीयू प्रिय भो, सरकार !
तसर्थ हे सरकार, अब त ब्युँझनुहुन्छ कि ? कि अझै धेरै पराजुली दम्पतीहरूलाई सुनकोशी, त्रिशूली र कर्णालीको बाटो देखाउने विचार छ ?
– अश्रुपुरित नयन र तीतो मुस्कानका साथ,
उही एक अभागी क्यान्सरपीडितकाे कङ्गाल छोरो
०००
२०८३ साउन २३ गते ।
सिद्धार्थटोल, उदयपुर ।
Subscribe
Login
0 Comments
Oldest










































