साइबर अपराध सम्बन्धी सचेतना सामग्री

​क्यान्सर उपचारभन्दा सुनकोशी-आईसीयू प्रिय भो, सरकार !

हाम्रा वृद्ध आमाबाबुहरूले हाम फाल्न पनि दोलालघाट वा मन्दिरको कुना खोज्दै चोरेर हिँड्न नपरोस्, अलि इज्जतका साथ, सरकारी अनुमति लिएरै नदीमा बग्न सकून् !

Nepal Telecom ad

नन्दलाल आचार्य :

आदरणीय सिंहदरबारमा मुस्कुराइरहेको सरकार,

मेरो दुई हात जोडेको ढोग स्वीकार होस् । हुन त ढोग्नका लागि हात मात्र होइन, मन पनि चाहिन्छ, तर मन त गत साउन २० गते साँझ ५ बजे दोलालघाटको सुनकोशी नदीसँगै बगेर कता कता पुगिसकेको छ ।

म काभ्रे, कुन्ताबेसीको एउटा किसान छोरो, आज आँखामा आँसुको महासागर र ओठमा एउटा तीतो मुस्कुराउने चेष्टा बोकेर यो पत्र लेख्दै छु । मेरो ६८ वर्षका बाबा केदारनाथ पराजुली र ६७ वर्षकी आमा तीलकुमारी पराजुलीले जब सुनकोशीको उर्लंदो धमिलो पानीमा आफ्नो जीवनको अन्तिम सयर गर्नुभयो, तब मैले बुझेँ- यो देशमा क्यान्सरभन्दा ठूलो रोग त गरिबी र त्योभन्दा पनि कडा क्यान्सर त ‘हाम्रो स्वास्थ्य प्रणाली’ पो रहेछ !

हे सरकार, बाबाले आमालाई पिठ्युँमा बोकेर दोलालघाटको बजार हुँदै दुलालेश्वर महादेव मन्दिरछेउ पुग्दासम्म त मानिसहरूले ठुलो प्रेमकथाको चलचित्र छायाङ्कन भइरहेको सम्झिएछन् । ढाका टोपी, कुर्था सुरूवालमा ठाँटिएका बुढाले अशक्त बुढीलाई काँधमा हालेर हिँड्दा मानिसहरूले “वाह ! क्या जोडी !” भनेर ताली बजाउन मात्र बाँकी राखे । तर कसैलाई के थाहा, त्यो त ६७ वर्षको क्यान्सरको पीडा र ६८ वर्षको आर्थिक कङ्गालपनले सँगै मिलेर रचेको अन्तिम एक्जिट पोइन्ट थियो ! आमालाई बोन म्यारो क्यान्सर थियो । यो रोग यस्तो अद्भूत रहेछ सरकार, जसले हाडभित्रको मासी मात्र होइन, बिरामीको घर, खेत, गोठ र पूरै वंशको आर्थिक मासी नै चुसेर सक्दिँदो रहेछ ।

हामी किसान परिवार, गाउँकी शिक्षिका बुहारी र नातिनातिना मिलेर दिनरात माटो मुछेर कमाएको उब्जनी त अस्पतालको रिसेप्शनमै पुगेर स्वाहा हुन्थ्यो । डाक्टरसाबहरूले सिफारिस गर्ने औषधिको बिल देख्दा त लाग्थ्यो- औषधिको नाम पढेर रोग निको हुने भए त औषधि पसलका साहुजी नै भगवान् हुन्थे होला ! हप्ताको दुई पटक अस्पताल धाउँदा धाउँदा बाबाको टोपी र मेरो गोजी दुवै च्यातियो । अनि त्यस दिन बाबाले सोच्नुभएछ- “अब यो देशको महँगो क्यान्सर अस्पताल धाउनुभन्दा त निःशुल्क बहने सुनकोशीमै आमाबुढा भएर स्विमिङ गर्नु सस्तो र दिगो पर्छ !”

कति चलाख ! कति कडा दूरदर्शिता ! वाह बाबा, तपाईंको सोचलाई पनि सलाम छ ! सरकारलाई कहिल्यै कर तिर्न ढिलो नगर्ने मेरो बाबाले अन्ततः सरकारको स्वास्थ्य बजेट बचाउन आफ्नै बलिदानी दिनुभयो ।

हे हाम्रा अभिभावक सरकार,
तपाईंहरू त ठूला-ठूला गाडीमा साइरन बजाएर, ट्राफिक जाम गराएर हिँड्नुहुन्छ । हजुरहरूलाई त अलिकति टाउको दुख्यो भने पनि सिंहदरबारको ढुकुटीबाट ढोका खोलेर विदेशको पाँचतारे अस्पतालमा हेल्थ चेकअप गर्न जाने सुविधा छ । जनताले त अस्पतालको लाइनमा बस्दाबस्दै नयाँ रोग उपहार पाउँछन् । बाबा र आमाले सायद विचार गर्नुभयो होला- “हामी कुन मन्त्री वा सांसद हौँ र ? हाम्रा लागि त यही सुनकोशीको छाल नै चौबिसै घण्टा खुल्ला रहने पाँचतारे आईसीयू हो !”

तपाईंहरूले त देशमा ठूला-ठूला भाषण दिनुहुन्छ- “कोही भोकै मर्दैन, कोही उपचार नपाएर मर्दैन !” हो त नि, कहाँ मरेका हुन् र ? हाम्रा बाबा-आमा त नदीमा पौडी खेल्न जाँदाजाँदै बेपत्ता पो भएका हुन् ! उहाँहरू मर्नुभएको कहाँ हो र ? उहाँहरू त यो देशको लाचार, बहिरो र अन्धो स्वास्थ्य नीतिलाई आफ्नै जिउँदो शरीर उपहार दिएर आफैँ गायब हुनुभएको हो । सशस्त्र प्रहरी र दुई-चारवटा र्‍याफ्टिङ बोट पठाएर नदीमा सास र लास खोज्न लगाउनुभयो, त्यसका लागि धेरै-धेरै धन्यवाद । तर, यदि त्यही र्‍याफ्टिङको तेल खर्च र खोजी अभियानको बजेट पहिले नै आमाको क्यान्सरको औषधिमा छुट्याइदिएको भए, आज मेरो ६८ वर्षको बाबाले दोलालघाटको उकालोमा आमालाई बोकेर मृत्युको दोभानतिर दौडिनुपर्ने थिएन होला ।

अब मेरो एउटै रोदन, एउटै माग र एउटै बिन्ती छ सरकार !
हामीजस्ता सोझा जनता त जसोतसो सहौँला, रोऔँला, तर यो देशका तमाम असाध्य रोगीहरूका लागि त कम्तीमा यो सिंहदरबार अलिकति पग्लियोस् ! क्यान्सर, मिर्गौला, मुटुरोग जस्ता विनाशकारी असाध्य रोग लागेका गरिब जनतालाई सरकारले पूर्ण रूपमा ‘निःशुल्क उपचार’ गरोस् । ताकि भोलि कुनै अर्को छोराले आफ्नो बुबालाई आफ्नै आमा बोकेर नदीमा हाम फाल्न गएको समाचार अनलाइनमा पढ्नु नपरोस् । कुनै अर्की बुहारीले आफ्ना सासु-ससुरालाई केवल एउटा औषधिको बिलका कारण संसारबाट बिदा भएको हेर्न नपरोस् ।

यदि सरकारले असाध्य रोगीलाई निःशुल्क उपचार दिन सक्दैन भने, कम्तीमा देशका ठूला-ठूला नदीहरूका किनारमा “क्यान्सरपीडित तथा कङ्गाल नागरिकहरूका लागि हाम फाल्ने सुरक्षित स्थल” भनेर एउटा बोर्ड चाहिँ झुन्ड्याइदेओस् ! ताकि हाम्रा वृद्ध आमाबाबुहरूले हाम फाल्न पनि दोलालघाट वा मन्दिरको कुना खोज्दै चोरेर हिँड्न नपरोस्, अलि इज्जतका साथ, सरकारी अनुमति लिएरै नदीमा बग्न सकून् !

आँखाबाट तप्प-तप्प आँसु खसिरहेका छन्, तर ओठमा यो तीतो र दयनीय हासो थामिन सकेको छैन । बाबा र आमाको सम्झनाले छाती पोलिरहेछ, तर यो देशको नियति देखेर हाँसो पनि उठिरहेछ । बाबा ! आमा ! जहाँ हुनुहुन्छ, सुनकोशीको चीसो पानीमा कम्तीमा क्यान्सरको त्यो तातो पीडा त सेलायो होला नि ? सिंहदरबारले नदेखेको तपाईंहरूको पीडा सुनकोशीले बुझ्यो, त्यसैले त आफ्नै काखमा ठाउँ दियो !

मैरा बाआमालाई क्यान्सर उपचारभन्दा सुनकोशी-आईसीयू प्रिय भो, सरकार !
तसर्थ हे सरकार, अब त ब्युँझनुहुन्छ कि ? कि अझै धेरै पराजुली दम्पतीहरूलाई सुनकोशी, त्रिशूली र कर्णालीको बाटो देखाउने विचार छ ?

– अश्रुपुरित नयन र तीतो मुस्कानका साथ,
उही एक अभागी क्यान्सरपीडितकाे कङ्गाल छोरो

०००
२०८३ साउन २३ गते ।
सिद्धार्थटोल, उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टन्टकपाले

टन्टकपाले

शेषराज भट्टराई
मानवता

मानवता

लक्ष्मी रिजाल
बोकाको बिहे

बोकाको बिहे

माधव पोखरेल गोज्याङ्ग्रे
लघुकथा

लघुकथा

रामकृष्ण ढकाल
ककटेल नेपाल

ककटेल नेपाल

चूडामणि खनाल
पावर

पावर

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x