भोलानाथ सुबेदीहाँडीघोप्टेहरूको महामूर्ख जात्रा
असत्यले सत्यलाई छोप्ने प्रयास हुन्छ तर इतिहासमा सत्य सधैँ सुनौला अक्षरमा चम्किन्छ भने हाँडीघोप्टेहरूका करतुतहरू कालोसूचीमा सुरक्षित रहनेछन्।
ध्रुवराज थापा ‘पुरुष’:
“कुनै ठाउँ हाँडीघोप्टे हुँदैन न त त्यहाँका सबै मानिस हाँडीघोप्टे हुन्छन्।”
हाँडीघोप्टे हरू कवि लेखनाथका कविताका अनुयायी होइनन् मात्र, ‘मैखाउँ मै लाउँ…’ भन्ने स्वार्थी दर्शनका परमभक्त हुन्।
किनकि उनीहरू “मैखाउँ मै लाउँ सुखसयल वा मोज मै गरूँ, मै बाँचू मै नाँचू अरू सब मरून दुर्बलहरू” भन्ने मन्त्र सदा जपिरहन्छन्।
हाँडीघोप्टेहरू आफू काम गर्दैनन् तर कुरा ठूला गर्छन्, काम गर्नेलाई बकम्फुसे कुराले पछार्ने कोसिस गर्दछन्। यिनीहरू टप्परटुइँया स्वभावका हुन्छन्। यिनीहरू शक्तिका अनन्य पुजारी हुन्। यिनीहरू आफ्नो दुनो सोझ्याउन जस्तोसुकै हत्कन्डा अपनाउन पछि पर्दैनन्। माछा देखे दुलोभित्र हात सर्प देखे दुलोबाहिर हात यी पाजीहरूको नियमितता नै हो। चाकडी दचाप्लुसी, दोहोरो चरित्र यिनीहरूको मनपर्ने गहना हो। त्यतिमात्र कहाँ हो र ! हाँडीघोप्टेहरू आफ्नो स्वार्थसिद्ध हुन्छ भने दिनरात चिल्लो घस्ने मात्र होइन, कालिदास प्रवृत्तिको अनुसरण गर्दछन्। हाँगोसहित म भुइँमा बजारिएर के भो त ? हाँगो त काटेँ भन्ने फूर्ति यिनीहरूमा हुन्छ।
संकीर्ण सोच, गरिब मानसिकताको पृष्ठभूमिको उपज नै हाँडीघोप्टेहरू हुन्। केही नदेखेको केही नजानेको केही नसुनेको त्यस्ता दरिद्रहरूको सोच त्योभन्दा ठूलो के हुन सक्छ ? हुन पनि भोगेटेको बोटमा स्याउ कहिले फलेको छ र ? कसै गरी आलुको बोटमा गोलभेडा फले तापनि त्यसले कहाँ सक्कली गोलभेडाको स्थान लिन सक्छ र ?
हाँडीघोप्टेहरू घरको छानो उघारेर आकाश हेर्ने धृष्टता गर्दछन् तर घरबाहिर निस्केर आकाश हेर्ने सदइच्छा राख्दैनन् किनकि उनीहरू एकहोरो अनि मेरो गोरुको बारै टक्का भन्ने स्वभावका हुन्छन्। विचरा उनीहरू। असल सोच्नै सक्दैनन् खराब भुल्नै सक्दैनन्। सके राम्रो गर्नु नसके नराम्रो चैं नगर्नु भन्ने बूढापाकाहरूको भनाइ उनीहरूलाई खल्लो लाग्छ किनकि यो वाक्य उनीहरूको चरित्र विपरीत छ। उनीहरू त जानेर पनि राम्रो नगर्ने, सपनामा पनि बिगार गर्ने नियत राख्दछन्। यी हाँडीघोप्टेहरू चैते भाँडहरू हुन् यिनीहरू छेपारोले झैँ रङ्ग बदल्छन्, बाँदरले झैँ न आफ्नो घर बनाउँछन् न त अर्काको घर बन्न दिन्छन्। भत्काउनु बिगार्नु विध्वंश गर्नु यिनीहरू आफ्नो महानता सम्झन्छन्।
हाँडीघोप्टेहरू आफैं दोषी हुन्छन् त्यसैले उनीहरू कसैलाई सद्दे देख्दैनन्। उनीहरूको आँखामा बी.पी.को दोषी चश्मा टाँसिएको हुन्छ। उनीहरू त्यो दोषी चश्मा खोलेर कहिल्यै कसैलाई हेर्न जान्दैनन् जाने पनि त्यो प्यारो चश्मा खोल्नै मान्दैनन्।
हाँडीघोप्टेहरू भन्ने बित्तिकै उनीहरू अशिक्षित हुन्छन्। मूर्ख भएर उनीहरूको स्वभाव त्यस्तो भएको हो भन्ने धेरैको विश्वास आंशिक मात्र सत्य हो।
अनपढको अज्ञान क्षम्य हुन सक्छ; तर पढेको मानिसको मूर्खता क्षम्य हुँदैन, किनकि उसको मूर्खतासँग निर्णय गर्ने शक्ति पनि जोडिएको हुन्छ। उनीहरूको हाँडीघोप्टे स्वभावलाई अबुझको संज्ञा पनि दिन सकिन्छ। उनीहरू एक दुईपटकका लागि माफीको लागि योग्य पनि ठहरिन सक्छन् तर पढेको मान्छे हाँडीघोप्टे प्रवृत्तिको भयो भने त्यो आफू, परिवार, समुदाय र राष्ट्रकै लागि घातक हुन्छ। त्यस स्तरको जमात राष्ट्रको क्रोनिक क्यान्सर साबित हुन सक्छ। यस्ता स्यालहुइँयाहरूको जमातले अधोगति निम्त्याउँछन्। आफू र आफ्नो मुलुकलाई कहिल्यै उत्रन नसक्ने खाल्डोमा जाक्न सक्छन्। जसको प्रत्यक्ष उदाहरण वर्तमान समुदायमा छर्लङ्ग देख्न पाइएकै छ। वि.सं. २००७ सालमा जहानियाँ शासनबाट मुक्त भएको मुलुक नेपालको आजको गति र दोस्रो विश्वयुद्धपछि स्वतन्त्र भएको मुलुक जापानको आजको अवस्था दाँजेर हेर्ने हो भने पनि थाहा लाग्छ कि नेपालमा हाँडीघोप्टेहरूको डम्पिङसाइट कति चुलिएको छ।
एक्काइसौँ शताब्दीमा पनि यतिविघ्न निर्घिणीहरू अस्तित्वमा रहन सक्ने अनुमान प्राचीन कालमै गरिएको थियो। प्रमाणस्वरूप नीतिमा उल्लेखित यी पङ्क्तिहरू आज पनि त्यतिकै ज्वलन्त र सान्दर्भिक छन्: “नपढेको भए मूर्ख बरु क्यै काम आउँछ। पढेको मूर्खको सङ्गत गर्नेले दुख पाउँछ।”
वास्तवमै यो मुलुकमा अहिले पढेका मूर्खहरूको सङ्ख्या थपिँदै गएको छ। नपढेका मूर्ख बढी भएको बेलामा बरु यस माटोमा कानुनी राज थियो। विधिको शासन थियो। पापदेखि मानिस डराउँथ्यो। देशप्रेम, दया, माया, धर्म, मान, सम्मान, इज्जत, प्रतिष्ठा, दान, पुण्य सबै आ-आफ्नै अस्तित्वमा थिए तर… तर आज पढेका मूर्ख बढ्नाले विधिको शासन र कानुनीराज इतिहासमा सीमित भएको छ। अराजकता, बेइमानी, झुठ, चोरी, डकैती, बलात्कार, आतङ्क, हत्या, लुट्याइँ, फटाई, व्यक्तिगत स्वार्थ, मैखाउँ मै लाउँ पढेका मूर्खहरूको आजको सम्पदा भएको छ।
त्यसो भन्दैमा यहाँ सबै हाँडीघोप्टेहरू छन् भन्ने होइन, यो भीडमा केही साधु-भद्रहरू पनि नभएको होइनन्। हिलोमा कमल पनि फूल्छ यो सबैलाई ज्ञान छ। तर कमलको अस्तित्व गन्हाउने लेदो हिलोले ओझेलमा परिदिएको छ। एक्लो बृहस्पति भुट भनेझैँ भद्रहरू जति सबै अल्पमतमा परेका छन् भने अर्कोतिर हाँडीघोटे भाँडहरू सूर्यलाई हत्केलाले छोप्ने दुष्प्रयास गरिरहेका छन्।
हाँडीघोप्टेहरू आफ्नो स्वार्थ पूरा हुन्छ भन्ने आफ्नै आमाबाबु तथा परिवारको अस्मिता पनि दाउमा राख्न पछि पर्दैनन्। पारि गाउँको दादा बोलाइ आफ्नो आमाबाबु, दाजुभाइ, दिदीबहिनीलाई तह लगाउने धम्की दिन्छन्। हिप्पीलाई अँगालो हालेर आफ्नी अर्धाङ्गिनीलाई काबुमा राख्न खोज्दछन्। यसैमा उनीहरू गर्वका साथै बहादुरी अनुभव गर्दछन्।
यी खुराफातीहरूको समाजमा चोरलाई चौतारो र साधुलाई सुली चढाउने काम हुन्छ। आफ्नो दोष लुकाउन अरूलाई औंला ठड्याउने काम हुन्छ। आफूलाई अधिकार चाहियो भन्ने तर अरूको अधिकारको घाँटी निमोठ्ने। राम्रा कुरा गर्ने, मात्र केही नगर्ने तर नराम्रा कुरा नभने तापनि भित्रभित्रै नगरी नछाड्ने प्रवृत्ति हाँडीघोटे पथ हो। आफूले गरे जे पनि ठीक अर्काले जे गरे त्यही कुरा बेठीक लाग्ने। आफ्ना कदम संवैधानिक अर्काले चालेको कदम असंवैधानिक हा ! हा ! हा ! यसै सन्दर्भमा जर्ज बर्नाड साको भनाइ यहाँ चरितार्थ भए न त ? “जब मानिस बाघ मार्दछ ऊ यसलाई शिकार भन्दछ, तर जब बाघले मान्छे मार्दछ तब ऊ यसलाई क्रूरता भन्दछ।”
यसरी हाँडीघोप्टेहरू आफ्नो अधिकारको उपयोग गर्दा अर्काको अधिकारको हनन हुनु हुँदैन भन्ने जान्दैनन् र जाने पनि मान्दैनन्। यिनीहरू कालोलाई सेतो र सेतोलाई कालो बनाउन खप्पिस हुन्छन्। चमेरे प्रवृत्तिका कारण यिनीहरू भद्र, सन्त चरित्रलाई आफ्नो चङ्गुलमा पार्ने षड्यन्त्र गरिरहन्छन्। यिनीहरू आफै धामी र आफै बोक्सी हुन्छन्।
निदाएकालाई बिउँझाउन सजिलो हुन्छ भनेर यिनीहरू सधैँ निदाएको अभिनय गर्दछन्। आफ्नो ढप र ढीपीमा किलो गाढिएझैँ गाडिन्छन् यिनीहरू। माथिदेखि तलसम्मका यस्ता हाँडीघोप्टेहरूको खेलले आज मुलुक र जनताको बर्बादी भइरहेको छ। यत्रतत्र निकृष्ट, कुटिल खेल नाङ्गोपाराले खेलिँदैछ।
हाँडीघोप्टेहरूको यस्तै राष्ट्रिय खेलकै सन्दर्भमा एउटा संस्थामा त्यस्तै खेल खेलियो। हाँडीघोप्टेहरूको एक टुकडीले बिनाचेतावनी अचानक आफ्नो षड्यन्त्र अनुरूप आफै कार्यरत संस्थामा धावा बोले। बेतुकका माग राखी गरिएको यस किसिमको असहयोगका सन्दर्भमा कार्यालय प्रमुखद्वारा डाकिएको बैठकमा समस्या समाधानका लागि पहल गर्ने निर्णय गर्दा ती पानीमरुवा पाजीहरूले सहमति जनाएको अभिनय गरे। अत्यन्त कुशल कलाकारले झैँ अभिनयकलामा पोख्त यी हाँडीघोप्टेहरूको पछि छुट्टै भूमिगत बैठक बस्यो र रातारात नपढेका र पढेका सबै मूर्खहरूलाई समेटी अर्को भयङ्कर षड्यन्त्रको तानाबाना बुनियो।
भोलिपल्ट कार्यालय समयमा काम सुचारु हुनुपर्नेमा हाँडीघोप्टेहरूको अघिल्लो दिनको योजनाअनुरूप त्यहाँ एउटा भीड जम्मा भयो। त्यस भीड वा महामूर्ख जात्रामा भद्र साधुहरूको कौतूहलतापूर्ण उपस्थिति थियो। हाँडीघोटेहरूले भेलामा स्यालहुइँया मच्चाए। भद्रसाधुहरू मुखामुख मात्र गरिरहे। तिनीहरूको नाङ्गो ताण्डवनृत्य विवश हेरिरहे। विचराहरू के गर्न सक्थे र ? बहुला कुकुरले मान्छेलाई टोक्यो भन्दैमा मान्छेले बहुला कुकुरलाई टोक्न हुन्न भन्ने कुरा भद्रहरू जान्थे।
हाँडीघोप्टेहरूलाई संस्थामा कार्यरत केही व्यक्तिको लगनशीलताको बदलामा हिलो छ्याप्नु थियो। उनीहरूले पाएको ख्यातिमा दाग लगाउनु थियो। राम्रो काम गरेर आफूमाथि पुग्ने होइन कि अरूको खुट्टा तानेर पछार्नु थियो। शत्रु साधना गर्नु थियो। त्यसैले त्यो महामूर्ख भेलाले संस्थामा अस्थिरता ल्याउनेलाई पुरस्कृत गर्ने र संस्थाप्रति प्रतिबद्ध लगनशील व्यक्तिको घाँटी निमोठ्ने र लाञ्छना लगाउने दुष्प्रयास गरियो।
फलस्वरूप उपस्थित हाँडीघोप्टेहरूकै संलग्नतामा केही पढेका मूर्ख विद्वान् र केही अल्प विद्या भयङ्करहरूलाई समेटेर जाँचबुझ समिति बन्यो। हाँडीघोप्टे समितिले जाँचबुझको अभिनय गर्यो। समितिमा सम्मिलित शिक्षित अशिक्षित सबैलाई हाँडीघोप्टेहरूले आफ्नो बसमा पारे। जसजसमाथि अत्तो थाप्नु थियो जसजसलाई झुटो लाञ्छना लगाउनु थियो अनि जसको खुट्टा तानेर आफू त्यहाँ पुग्नु थियो तिनीहरूमाथि षड्यन्त्रको तानाबाना बुनियो। आफू र आफ्ना मातहतका हाँडीघोप्टेहरूको करतुतहरू सबै लुकाई अरूलाई थोपर्न बेतुकका मनगढन्ते स्तरहीन बनावटी दोषहरूको खोजी गरियो।
केही दिनपछि समितिले पुनः महामूर्ख भेला बोलाई मनगढन्ते प्रतिवेदन प्रस्तुत गर्यो। आफैं मुद्दा लगाउने, आफैं अनुसन्धान गर्ने र आफैं फैसला सुनाउने-यस्तो अधिकार पाएको समितिलाई त शाही आयोगले पनि डाहा गर्नुपर्ने हो!
अधिकार दिइएको समितिले पेश गरेका प्रतिवेदनमा पूर्व योजनानुसार आफ्नो शिकारलाई छानीछानी प्रहार गरिएको थियो। “वि.सं. २०५८ सालमा राजदरबार हत्याकाण्डमा चलेको स्वचालित मेसिनगनले जस्तै।”
आश्चर्य मान्न पर्दैन यस प्रतिवेदनले समितिका स्वयम् हाँडीघोप्टे र तीनका आसेपासे पिछलग्गु हाँडीघोप्टेका सारा करतुतहरू ढाकछोप गरी ओझेलमा पारेका थिए।
महामूर्खको सभामा उपस्थित कतिपय भद्र भलादमीहरूलाई यो ठाडो आरोप पचेन र सत्यको खातिर डटेर प्रतिवाद गर्ने बरु मर्न नै किन नपरोस् भन्ने निर्णय गरे भने, हाँडीघोप्टे महामूर्खहरूले भने स्यालहुइँया मच्चाइरहे। एकसय पटक फलाक्यो भने असत्य पनि सत्य साबित हुन्छ भन्ने हिटलरका प्रचारमन्त्री गोवेल्सको शैलीमा उनीहरू ठूलो स्वरमा स्याल हुइँया मच्चाउन चाहन्थे।
हुन त इतिहास साक्षी छ जहाँ राम्रो गर्न खोज्दा भीमसेन थापाले सेरिनुपर्यो, धर्मसाक्षी छ रामले वनबास जानु पर्यो सीताले हरिनुपर्यो, बलीले बाँधिनुपर्यो, भीष्मले वाणशय्यामा सुत्नुपर्यो।
सतीले सरापेको यो देशमा काम गर्नेको नाम कुन्नी के …जी हुन्छ भन्छन्। असत्यले सत्यलाई छोप्ने प्रयास हुन्छ तर इतिहासमा सत्य सधैँ सुनौला अक्षरमा चम्किन्छ भने हाँडीघोप्टेहरूका करतुतहरू कालोसूचीमा सुरक्षित रहनेछन्।
यस्ता हाँडीघोप्टेहरूको महामूर्ख यात्रा यस मुलुकमा यत्रतत्र बग्रेल्ती देख्न र सुन्न पाइएको छ। ती तमाम हाँडीघोप्टे महामूर्खहरूप्रति भिरबाट गुल्टिने गाईलाई रामराम भन्नु बाहेक अरू के नै गर्न सकिन्छ र ? धेरैमा यति भन्न सकिन्छ, “त्यस्ता दुष्टात्माहरूको सद्बुद्धि फिरोस्… अस्तु ।”
तरेली (२०६५)
०००
काभ्रे, पनौती । हाल: कपन, काठमाडौं।
Subscribe
Login
0 Comments
Oldest




































