सुरेशकुमार पाण्डेपरिवर्तनको राज
नेताजीले, अहिले त हिमाल तताउनेहरूसँग राहत होइन हर्जाना तिर्नुपर्छ भनेर अडान लिनु भाको छ ।
सुरेशकुमार पाण्डे :
“नेता हो त यस्तो हो !”- मुरारीलाल खुसी भयो।
“के भयो र मुरारी सधैँ नेताको आलोचना र गाली गरेर नथाक्ने आज कता पश्चिमबाट घाम उदाएछन् कि ? रामे आश्चर्य हुँदै प्रश्न गर्यो।
“ए भाइ तिमीले मलाई के सम्झेका हँ ? के म सधै बिरोध नै गर्छु ? राम्रो गरेपछि त राम्रो गर्यो भनेर भन्न पनि त सक्नु पर्यो नि ?” -मुरारीलालले उल्टै प्रतिप्रश्न ठडायो। उनीहरू दिउसोपख बारीमा मकै भाँच्दै थिए।
“हो राम्रोलाई राम्रो भन्नुपर्छ। तर मैले त्यसो भनेन यत्तिमात्र सोधेको, आज हजुर यतिका खुसी हुने कारण के होला ?”-रामेले भन्यो।
“खुसी त विदेशमा हाम्रो नेताको जो सम्मान भयो त्यस्तो अहिलेसम्म भएको थिएन। विदेशमा देशले यसरी सम्मान पाउनु त हाम्रो भाग्य नै हो।” -मुरारीलालले नेताको प्रशंसा गर्दै भन्यो।
“केही दिन पहिले त हजुरले खुबै गाली गरेको सुनेको थिएँ मैले, आज विदेशमा उनकाे सम्मान भयो भनेर हो हजुरले प्रसंशा गरेको ?”- रामेले मकैको घोगा थुम्से डोकोमा राख्दै भन्यो।
“त्यो पनि हो त्यत्तिमात्र पनि होइन, अहिले त डबल खुसी छ। देशसँग पनि कुरा उठाइएको छ। अब देशले अवश्य काँचुली फेर्ने छ। विदेशमा गएर नेताजीले पहिल्यै पनि कुरा उठाउनु भएको थियो ।”- मुरारीलालले भन्यो।
“के कुरा उठाउनु भयो नेताजीले ?”-रामेले बुझ्न खोज्यो।
“छिमेकी मुलुकबाट विकासको मूल फुटाउने बाचा गर्नु भएको थियो नेताजीले, अहिले त हिमाल तताउनेहरूसँग राहत होइन हर्जाना तिर्नुपर्छ भनेर अडान लिनु भाको छ ।अनि मुरारीलाल दाजु खुसी हुने कारण त आर्को पनि हो।”-
यतिबेर कुरा सुनिरहेका भोलाले प्याच भन्यो- “हो र ? भाइ अनि आर्को के कारण हो तिमीलेनै भनिदेऊ ।”-रामेले भोलातिर हेर्दै बुझ्न खोज्यो।
“हाम्रो मुरारीलाल दाजुले त्यही राजनीतिक पार्टीमा प्रवेश पाउनु भएको छ।”- भोलाले सुस्तरी कानमा आएर भन्यो।
“ए ए बल्ल बुझेँ मुरारिलालमा ह्वात्तै आएको परिवर्तनको बारेमा। रामेले बल्ल खाँटी कुरा बुझ्यो।
०००
दाङ घोराही १८
२०८३/०५/२९
Subscribe
Login
0 Comments
Oldest





































