डा. भरतकुमार भट्टराई‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (२)
शर्माले आफ्ना हास्यव्यङ्ग्य रचनालाई प्रभावशाली बनाउन अनेक हास्यव्यङ्ग्य–प्रविधिलाई प्रयोग गरेका छन् । वक्रोक्ति वा अभिव्यङ्ग्य/व्यङ्ग्योक्ति उनको महत्वपूर्ण हास्यव्यङ्ग्यात्मक उपकरण बनेको छ ।
प्रा.डा. भरतकुमार भट्टराई :
‘गुरुपूर्णिमा : एक चर्चा’ निबन्धमा सांस्कृतिक विचलनप्रति तीव्र व्यङ्ग्य गरिएको छ । गुरुपूर्णिमा एउटा संस्कारविशेष पर्व हो । गुरु को र के हुन् ? गुरुको पूजा कसरी गर्नुपर्छ र हाल नेपालमा गुरुप्रति कस्तो व्यवहार गरिन्छ ? गुरु कति थरीका हुन्छन् ? थरीथरीका गुरुका चरित्रमा पाइने कमजोरी वा दुर्बलताहरू केकस्ता छन् ? तिनैमाथिका व्यङ्ग्यहरू यस निबन्धमा पाइन्छन् । गुरुपूर्णिमाका अवसरमा गुरुप्रति नमस्कार गर्दै अगि बढाइएको यस व्यङ्ग्यनिबन्धमा गुरुपत्नी लिएर भाग्ने चन्द्रदेखि गुरुदक्षिणाका नाममा दाहिने हातको बुढीऔँलै काटेर लिने द्रोणाचार्यको प्रसङ्गद्वारा गुरुचेला दुवैका चारित्रिक दुर्बलताहरूमाथि कटाक्ष गरेका छन् ।
चेलालाई उछितो काढ्दै भन्छन् – गुरुलाई ठग्ने हाम्रा नसानसामा बगेको संस्कार हो । गुरुका बारेमा घोत्लिँदै गर्दा हाम्रा कार्यालयहरूका सङ्कीर्णता र नारीहिंसाका विषयमाथि चियोचर्चो गर्न पुग्छन् र व्यभिचारी चरित्रमाथि हाँसो उडाउँछन्, “कार्यालयमा आफूछेउ एउटी रूपसी बस्न नपाउँदै हजारौँ आँखा फैलन्छन् । सयौँ ओठ तानिन्छन् । पचासौँ घाँटी खसखसाउँछन् । बिसौँ फाइल टेबुलबाट खस्छन् ।…यद्यपि कति सज्जनहरूले नोकर्नी पालेर पनि पत्नीझैँ सुमसुम्याउँछन् ।” (पृ.५०) लेखकका शब्दमा गुरु भनेको शब्दोच्चारणद्वारा ज्ञान दिने व्यक्ति हो । गुरु धेरै प्रकारका हुन्छन् । पहिला गुरु जन्मदाता हुन् । यी सृष्टिका गतिशीलता हुन् त्यसैले प्रातः स्मरणीय हुन् । दोस्रा गुरु ज्ञानदाता हुन् । यी ब्रह्मज्ञानदाता हुन् । यिनको चरित्र विचित्रको हुन्छ । त्यही विचित्रतामा चर्को विकृति–विसङ्गति छिपेको पोल खोल्छन् स्वाभावोक्ति र वक्रोक्ति वा व्यङ्ग्योक्तिका माध्यमबाट, “ब्रह्मज्ञानदाता गुरुहरूले संसारलाई नश्वर, मिथ्या भन्छन् र आफू चाहिँ सुरा, सुन र सुन्दरीमा लिप्त रहन्छन् ।
सुरा, सुन वा सुन्दरी जोसुकैमा लिप्त भए पनि गुरु साक्षात् परब्रह्म हुन्छ ।…यिनै ब्रह्म चिनेका/चिनाउने गुरु र गुरुपत्नीहरूले संसारलाई ब्रह्मा चिनाउँदै पाएसम्म आफूले ब्रह्मलुट गर्ने परम्परा चलाएका हुन् ।…यी गुरु कार चढ्छन्, सुन र सुन्दरी पाएसम्म सङ्ग्रह गर्छन् र शक्तिका लागि लुछाचुँडी पनि ।…आजका संसारमा यस्ता गुरुको आवश्यकता प्रशस्त छ । यी विशेष पूज्य छन् ।…पहेँला, वसन्ती वा सेता वस्त्र धारण गर्नु, धनका लागि लुछाचुँडी गर्नु र आचार्य रजनीशले जस्तै दिनप्रतिदिन फेरेर कार चढ्नु, सुन्दरी सङ्ग्रह गर्नु र तिनकै सहयोगले ‘सम्भोगबाट समाधिसम्म’ पुग्ने महान् लक्ष्य लिनु यिनका ब्रह्मज्ञानका सामान्य पाठ हुन् । यिनका महिमा अपरम्पार छन् ।” (पृ.५१) तेस्रा गुरु विद्यादाता हुन् । यिनलाई समाजले हेप्छ तर पनि ज्यादै अस्वस्थकर, अप्रीतिकर, कारागारजस्ता कोठामा पालिएका समस्यामूलक जीवलाई सभ्य मानिस बनाउने जोखिमका काममा लागेका हुन्छन् । गुरुहरूमा सबभन्दा टिठलाग्दा र निरीह यिनै हुन्छन् ।
यसै क्रममा पसलजस्ता बोर्डिङ खोलेर कुस्त कमाउने बोर्डिङका शिक्षकहरूलाई कडा व्यङ्ग्य कस्छन्, “कोही स्वनामधन्य गुरुहरू ठुलाठुला सहरका सुपरमार्केटझैँ शिक्षाका थोक व्यापारकेन्द्र सञ्चालन गरेर शिक्षालाई मझौला उद्योगका रूपमा विकसित गराई केही माथिल्ला स्तरमा उठेका छन् । उठाएका छन् आर्थिक स्थिति । यिनले शिक्षालाई कामधेनुझैँ पाल्छन् र अभिभावक दुहुन्छन् । सके यिनलाई हेरेर नै चाणक्यले विद्यालाई कामधेनु भने ।” (पृ.५२) चौथा गुरु अभयदाता हुन् । यी शासनसत्ता र नियमकानुनलाई नियन्त्रणमा लिई एकलौटी दादागिरी गरी सामाजिक अत्याचारमा कहलिएकाहरू हुन् । यिनीहरूले नै समाजमा कुकर्म, दुराचार र हत्या गर्नतर्फ अभयमन्त्र दिई त्यसमा कुनै डर नमानी लाग्न बल दिने गर्छन् र ज्यान मार्ने, लुट्ने, बलात्कार गर्ने, ठग्नेजस्ता उद्योग सञ्चालन गर्ने लाइसेन्स दिएर नेपालीहरूले अन्तर्राष्ट्रिय जेलमा थुनिनेसमेत अवसर दिलाउँछन् । यिनकै कारण देशका नियमकानुन, नैतिकता र सदाचार कागतका पातामा मात्रै सुरक्षित हुन पुगेका छन् अनि सर्वत्र खुलेआम अपराध गर्ने भयावह स्थिति सृजना भएका छन् । यी अभयदाता गुरु तस्कर र अपराधीहरूका प्रमुख नाइकेहरू हुन् जसका हातमा देशको नियमकानुन बन्दी भएको हुन्छ ।
पाँचौँ गुरु कन्यादाता वा पत्नीदाता हुन् । यी त्यस्ता ससुराहरू हुन् जो आफ्ना कन्यालाई दाइजोका पासामा पारेर बेच्छन् । यी बहुपतिप्रथाका संरक्षकसमेत देखिन्छन् र समाजलाई बर्बर युगतिर धकेल्नमा योगदान दिइरहन्छन् । अन्तिम गुरु ज्येष्ठ भ्राता हुन् । यी आफ्ना साना भाइहरूलाई गालामा थप्पडका छाप हान्ने र केश जगल्ट्याउने अत्याचारी र क्रूर हृदयका हुन्छन् । यिनैप्रति वक्रोक्तिले ढाड खुस्कुन्जेल प्रहार गर्ने लेखकीय अभिव्यक्ति गजब छ, “यी गुरु जन्मदाताभन्दा बढी सहृदय, उदार र मर्मज्ञ हुन्छन् । र यी पनि जन्मदाताबराबर आदरयोग्य छन् ।” (पृ.५३) सातौँ गुरु त ती प्रधानमन्त्री हुन् जसले गुरुपूर्णिमामा बिदा दिने परम्परा बसाए । गुरुपूर्णिमाको एक दिन बिदा दिए पनि गुरुहरूको वास्तविक अस्तित्व र इज्जत त सिसिफसको जस्तो अभिशप्त छ । वास्तवमा गुरुहरू हेपिएका, दबिएका, अर्थहीन र मूल्यहीन बनाइएका छन् । लेखकको व्यङ्ग्य यतैतिर प्रहार भएको छ, “सिसिफस गुरुहरू नेपालको पाताल पुगेको मर्यादाको, इमानको, सदाचारको, कर्तव्यको, अनुशासनको ढुङ्गालाई ठेलेर सगरमाथाका चुचुरामा पुर्याउन बाध्य छन् । तर परिस्थिति नेपालमा त्यो ढुङ्गो गुडेर फेरि पाताल पुग्नु बाध्य छ ।
गुरुहरू त्यसलाई फेरि, फेरि, फेरि अनन्तसम्म ठेल्न बाध्य छन् । गुरुहरू सिसिफसझैँ अभिशप्त ।…गुरुहरू थाक्नु हुँदैन । गुरुहरू भोकाउनु हुँदैन । गुरुहरू तिर्खाउनु हुँदैन । गुरुहरूले विरोध जनाउनु हुँदैन । त्यसकै लागि गुरुपूर्णिमा बिदा गरिएको छ । अभिशप्त गुरुहरू ठाडो शिरले हिँड । ज्ञान देओ । सुमार्ग देखाओ । गुरुपूर्णिमा तिम्रै सम्मानका लागि । गुरुपूर्णिमा तिम्रा शोकसन्तप्त आत्माका लागि ।” (पृ.५४) यसरी नेपालमा वास्तविक गुरुहरूको अवस्था यति दयनीय भइसकेको छ कि उनीहरूलाई दिवस मनाएर सम्मान गरेजस्तो गरी सीमान्तकृत स्तरमा हौसला दिनुपर्ने अवस्था आएको छ । शिक्षाक्षेत्रको यस्तो घिनलाग्दो बेथिति अत्यन्तै निन्दनीय रहेको व्यङ्ग्यात्मक अभिव्यक्ति यसमा राखिएको छ । गुरुको वास्तविक सम्मान गर्न छाडेर गुरुपूर्णिमाको बिदा दिनु हास्यास्पद भएको कुरालाई कर्तव्यविहीन शिक्षक वा गुरुहरूको दैनिकीलाई व्यङ्ग्यका तिखा सुइराले घोच्दै आत्मव्यङ्ग्यद्वारा यसरी उपहास र कटाक्ष गरिएको छ, “म पनि घरमा छु । बिरालो सुमसुम्याउँदा थाकेर पत्नी सुमसुम्याउँछु । पत्नी सुमसुम्याउँदा थाकेर बिरालो सुमसुम्याउँछु । विचार गुरुको गर्छु । पत्नी सुमसुम्याउँछु ।…आज गुरुपूर्णिमा हो । सरकारले बिदा घोषित गरेको छ ।” (पृ.५४)
‘स्तरीय रचनाको प्रश्न’ पत्रशैलीमा साहित्यक्षेत्रको विकृतिमाथि तीक्ष्ण व्यङ्ग्य गरिएको निबन्ध हो । नबुझिने हुनुलाई साहित्यको स्तरीयता ठान्ने गलत साहित्यिक मापदण्डप्रति छेडखानी गरिएको छ, “के स्पष्ट भयो भने स्तर भन्नु नबुझिने हुनु हो र जुन जति नबुझिने हुन्छ त्यति स्तरीय हुन्छ ।” (पृ.५५) साहित्यिक पत्रिकाको स्तरीयतामाथि व्यङ्ग्य हान्छन् । अन्य क्षेत्रहरूका छिद्रहरू केलाउँछन् । केराबोक्रे तुच्छ चरित्रका मानिसहरूमाथि कटाक्ष गर्छन् । सडक र हवाई यातायातमा केराबोक्रेले गर्ने हेय क्रियाहरूमाथि दृष्टि दिँदै तिनका दुश्चरित्रलाई नाङ्गेझार पार्छन् । धार्मिक पाखण्डमा रहेको नीच र अमानवीय चरित्रको धज्जी उडाउँछन् केराको बोक्रोसँग जोडेर, “श्रद्धालुहरू व्रतउपवासका दिन केराका स्वल्पाहारले स्वास्थ्य र पुण्यलाभ गर्छन् र बोक्राजति झ्यालबाट बाटामा हुर्याएर चिप्लेटीमा सहयोग गर्दै आफ्नो परमार्थ लाभ गर्छन् र दुईचार जनालाई परमधाम पुर्याउँछन् ।” (पृ.५६) पत्रिकामा प्रकाशित साहित्यिक रचनाहरूको हुर्मत लिने पत्रिका–प्रयोक्ताहरूको चिप्लेटी खेलाइको सातो लिन्छन् । स्तरहीन साहित्यिक पत्रिकाका प्रकाशक–सम्पादकलाई पत्रिका बन्द गरी रक्सीपसल र मासुपसल खोल्ने सल्लाह दिन्छन् र रक्सी तथा मासुका वा अन्य पसलका व्यापारिक कुचक्रमाथि व्यङ्ग्यका मुङ्ग्रा बर्साउँछन् ।
लेखकलाई पारिश्रमिक नै नदिई कसरी स्तरीय लेखरचना पाइन्छ र ! पत्रिकाका वा संस्थाका ठगिखाने शोषकवृत्तिमाथि दमदार कटाक्ष गर्छन्, “लेखकका रचना पारिश्रमिकबिना सहयोगस्वरूप लिएर प्रकाशित गर्दै साहित्यसेवा र ‘जनजागृति’ को लक्ष्य लिनुभएको (हो) भने आफ्नो परिषद्को नाउँ जनशोषण राखे हुन्छ ।…खैरातमा स्तर कसरी रहला ?” (पृ.५८) स्तरीयताको मूल्य नेपाल र नेपालीपनमा नखोज्ने. तर विदेशका वस्तुमा मात्रै खोज्ने हाम्रो मूर्खतापूर्ण दृष्टिमाथि उपहासात्मक व्यङ्ग्य गर्छन्, “जुम्लाका स्याउभन्दा दिनको सयपटक गन्हाउने टालो/कपडाले पुछेर बेचिने भारतीय स्याउ स्तरीय । नेपाली बोलेर किनिने/पाइनेभन्दा इन्द्रचोक वा त्रिभुवनचोकमा अङ्ग्रेजी बोलेर किनिने/पाइने माल स्तरीय ।” (पृ.५८) खैरातमा स्तरीय रचनाको माग गर्ने संस्था वा पत्रिकाहरूप्रतिको घतलाग्दो दनकले भरिएको यस निबन्धमा अन्तमा भनिएकै छ जो ज्यादै मार्मिक र संवेदनशील अनि समाजमा साहित्यलाई हेर्ने दृष्णिकोण तथा साहित्यकारको उच्च मर्यादासँग जोडिएको विषय छ, “देख्नुभएकै छ समाजलाई । साहित्यमा पैसा छैन, मान छैन, इज्जत छैन । त्यसैले त्यसमा आस्था पनि छैन । विश्वास पनि छैन । जहाँ पैसा छैन त्यहाँ स्तर छैन । भोको मानिसको कुनै स्तर हुँदैन ।” (पृ.५९) यस्ता साहित्यिक विषयसँग जोडिएको यो रचना लेखकको एक उत्कृष्ट व्यङ्ग्य हो ।
‘मेरो गाउँको नाउँ छैन’ निबन्ध गाउँलाई हेप्ने नेपाली समाजको सङ्कीर्णतामाथि कडा व्यङ्ग्य गर्ने रचना हो । नक्सा र सरकारी लेखापढीमा नजिक तर न्यूनतम सुविधाबाट सधैँ वञ्चित गाउँ सधैँ टाढा । गाउँ बुझिनसक्नुको छ । यहाँको विकृति र विसङ्गतिको लेखाजोखा गरेर साध्य छैन । त्यसैले लेखक व्यङ्ग्यको चाबुकले यस गाउँलाई नाङ्गेझार पारेर पिट्नुसम्म पिट्छन्, उडाउनुसम्म उडाउँछन् । चर्का व्यङ्ग्योक्तिले लेथ्नो काढ्नुसम्म काढ्छन् । यहाँका अधिकांश घरका मानिसहरू काठमाडौँ, हङकङ, बम्बई आदि स्वदेशी वा विदेशी सहरमा गुलजार गर्छन् अनाम भएर । गाउँलेहरू पनि कुनै पुरस्कार वा तस्करीमा नाम नआउने हुँदा अविकसित छन् भन्दै बाङ्गो लट्ठीले चुट्छन् ।
कृषिप्रधान देशका नागरिक भए पनि यिनीहरू कसरी काम नगर्ने भन्ने राम्ररी जानेका र कृषिप्रधानलाई कुर्सीप्रधान भनेर बखान गर्न जानेका अनि थोरैले केवल कुखुरा पालेर जीवन धानेका अवस्थामा सीमित छन् । यिनको परिचय भनेकै परजीवी र परनिर्भर हुनुमा गम्केको छ । गाउँको कृषियोग्य भूमि बाँझो राखेर खेलकुद मैदान बनाउनु नै यिनीहरूको पुरुषार्थ मानिन्छ । गाउँमा कुखुराबाहेक कुनै उत्पादन नहुँदा स्याल, चितुवा र बाघले बारम्बार गोष्ठी र भोजन वा भोज गर्ने चलन बढेको छ । गाईभैँसी पालेर दुधदही खानु र गोबर प्रयोग गर्नुभन्दा प्रतिष्ठित जीवन जिउन गाईभैँसी बेचेर रक्सी खानु र मोटर वा मोटरसाइकल चढ्नु यिनीहरूको विशिष्ट आधुनिक शैली छ । यस गाउँको पानी मिसाउने विकृतिको चर्चा गर्दागर्दै लेखक सिङ्गो देशको पानी मिसाउने दुर्गुण वा कमजोरीमाथि झापड हान्न थाल्छन् र भन्छन्, “जलस्रोतको धनी देशमा यति सुविधा त हुनैपर्यो । सबै कुरामा पानी मिसाउनु देशको खास विशेषता भएको छ । दुध पन्यालो, पैसा पन्यालो, कुरा पन्यालो, सेवा पन्यालो, इमान पन्यालो, प्रेम पन्यालो, प्रशासन पन्यालो, नीति पन्यालो, राजनीति पन्यालो, धर्म पन्यालो, दर्शन पन्यालो । धारामा बाहेक सबै ठाउँ पानी प्रचुर प्रवाहित छ । अब नेपाली नसानसामा पनि रगतभन्दा पानी नै बग्न रुचाउँछ । बगेकै पनि छ ।” (पृ.६१)
पन्यालोमा धमिलिएका विशिष्ट नेपालीहरूको जीवन अति सस्तो, मूल्यहीन, निरर्थक, कमजोर, लाछी, पराश्रयी, कर्मच्युत भएको तीव्र संवेदनामिश्रित व्यङ्ग्य यहाँ प्रस्तुत गरिएको छ । फेरि नेपालको धन मानिएको वनलाई स्वात्तै सुरसाले निलेझैँ स्वाहा पार्ने नेपालीहरूको विनाशक प्रवृत्तिमाथि वक्रोक्तिमय घन हानेका छन्, “हरियो वन सर्वसम्मत रूपले नेपालको धन मानिएकाले वनका संरक्षणमा दत्तचित्त गाउँलेहरूले तमाम वन फाँडेर बैङ्कमा धन रोपेका छन् र वन चाहिँ बैङ्कका खाताहरूमा झाँगिदै गएका कुरा पासबुकहरूले देखाउँछन् ।” (पृ.६२) काम नगरी कुरा दोचारेर समय बिताउने र दिउँसैदेखि रक्सीमा फिटान भएर धाराप्रवाह अङ्ग्रेजी छाँट्ने गाउँलेहरू रक्सीले छोडेपछि आफैँमा रोगी र सामाजिक समस्या बनेका छन् । क्रिकेट, फुटबल आदिमा खेतीबिनाका बाँझो जग्गा प्रयोग गरेर नेपालमै मेराडोना, इमरानजस्ता प्रख्यात खेलाडी बन्नमा र सुकिला लुगा, खेलकुद र फिलिमका अन्तर्राष्ट्रिय गफ अनि चम्किला जुत्तामा गौरव गर्नमा गाउँ होनहार भएको बताएर लेखकले महागफाडी, फजुलखर्ची, सुकुलगुन्ड्याइँमा खप्पिस कामचोर नेपाली गाउँलेहरूको धज्जी उडाएका छन् ।
चुनावताकाका निर्लज्ज र महाठग नेताहरू नौनीका बोलीमा ब्वाँसाका स्वरूप धारण गरी गाउँ पसेपछि गाउँलेहरू तिनका जाँडरक्सी, भाततरकारीमा बिक्न विवश हुन्छन् र त्यहाँ ठुलो नाटकीय रङ्गमञ्चमा अभिनय गर्ने कलाकार हुन पुग्छन् । ती धूर्तहरू विदूषकझैँ प्रस्तुत भई गाउँको पानी, बाटो, कृषि, स्वास्थ्य, कुखुरा, रक्सी, युवतीहरूका विषयमा खुब चिन्ता प्रकट गरेको महाअभिनय गर्छन् र भोटलाई किन्छन् । राजनीतिक फोहोरी खेल र विवेकच्युत नेपाली ग्रामीण जनतामा यो प्रवृत्ति नेपालभर व्याप्त छ जो चरम उपहास्य पनि छ र नै लेखकको बाङ्गो दृष्टि यसमा परेको हो । बहुरूपी नेताहरू नक्कली मुकुन्डो धारण गरेर चुनावमा जनता झुक्याउन गाउँगाउँ पस्छन् कुखुराचोर स्याल वा बाख्राभक्षी बाघझैँ स्वरूपमा । भाषणमा गाउँलेका दुःखकष्टमा मलहम लगाउन र रुस, चीन, अमेरिका, बेलायतका जनताका उदाहरण दिँदै नेपाल र नेपालीको जीवनस्तर त्यस्तै बनाउन आएको ब्वाँसेचालका आकर्षक भनाइले लट्ठ्याँउन खोज्छन् अनि जनताको बेइज्जत गर्न कुनै कसर बाँकी राख्तैनन् । गाउँलेहरू कुटिल नेताहरूका मिठा वचन र रक्सी खुवाई कसम खान लगाएर भोट हाल्न बाध्य पारेको डरलाग्दो चाल नै थाहा पाउँदैनन् र फस्छन् ।
नौटङ्की विदूषक नेताहरूझैँ गाउँलेहरू पनि लबस्तरा बनेर मादकपदार्थका चुस्कीमा बिक्छन्, इमान र धर्म, विश्वास र विवेक पोलिखान्छन् भनेर लेखकले हाम्रो समाजमा बढेको निम्नस्तरीय चिन्तनको लेथ्नो काढेका छन् । गाउँमा चुनाव नामको महामारी आउँछ र सबैलाई विवेकहीनताको महारोगी बनाएर जान्छ । चुनावमा मुखुन्डोधारी नेताहरू नौनीजस्तै नरम बनेर गाउँ पस्छन् र जनताका सारा दुःखकष्ट फुमन्तर गरेर हटाइदिने चमत्कारी सपना बाँड्छन् । जनताहरूमा युवायुवतीहरू पनि मान्छे कम प्रदर्शनी अधिक लाग्छन् नानाथरीका शारीरिक अङ्गप्रदर्शनसहित अनौठा पोसाक, लवाइढाँचा र अत्याधुनिक पाराका महँगा गरगहनाहरू पहिरेर । अथवा यिनीहरू नेपाली कम विदेशी ज्यादा लाग्छन् । नेपाल सौन्दर्य र नेपाली कलासंस्कृति बिर्सेर यिनीहरू ‘लाइक अ भर्जिन’ जस्ता अङ्ग्रेजी गीतमा रल्लिने प्रदर्शनीका कुपात्र बन्छन् र पश्चिमा संस्कृतिमा बरालिएर स्वत्व पोलिखान्छन् ।
परम्परागत मूल्यमान्यता ध्वंस गर्दै आधुनिक फिल्मी शैलीका सजावटले र ‘लव इज गड’ का प्रेमदर्शनले जीवन सजाउन चाहन्छन् । गाउँमा आधारभूत कुरामा कुनै परिवर्तन छैन तर प्रेमका कुरामा फिल्मी प्रभावले मान्छेको मानसिक वातावरणलाई ध्वस्त र विकृत पारेको छ । विदेशी फिल्म, विदेशी गीत, विदेशी पहिरन, विदेशी जीवनशैली, विदेशी पाराकै मोजमस्ती गाउँतिर छिरेको छ । किनकि गाउँलेहरू गाउँ नै रित्याएर बिदेसिएका छन् । तापनि गाउँ साँच्चै साधारण छ । गाउँ उर्वर छ तर सो भूमि कमाउने गाउँले बिदेसिँदा रित्तो र जनशून्य बनेको छ । यस्तो दुर्दशाबाट छुटकारा दिलाउने कुनै भगीरथ जन्मने विश्वासमा गाउँ बाँचेको छ । त्यसैले गाउँ अहिले अनाम छ । गाउँको गीत कसैले गाउँदैन किनकि आयातित गीतले गाउँलाई क्षतविक्षत पारिसकेको छ । अब त ‘मेरो गाउँको नाउँ छैन’ भन्दै हाम्रा स्वाभिमान, स्वसंस्कृति, स्वदेशीपन र स्वनिर्भरता सबै स्वाहा भएकामा तीव्र कटाक्ष गर्दै निबन्धकार आफ्नो प्यारो माटोप्रतिको गहिरो चिन्ता प्रकट गर्छन् ।
‘सुँगुरको खोरमा बुद्धिजीवीको लघु–प्रवचन’ निबन्धमा हराउँदै गएको मानवतामाथि तीव्र व्यङ्ग्य गरिएको छ । सुरुमै सुँगुरहरूलाई महानुभावहरू भनेर मानिसको लघुभावमाथि खनिएका छन् व्यङ्ग्यकार । खोरभित्र परेका सुँगुरहरूसँग सम्बन्धित विषयमा आफ्नो असमहतिको धारणा राख्दै व्यङ्ग्यशिल्पी शर्मा खोरबाहिरको भयावह वातावरण देखाएर नेपाली समाजभित्रका हेय विकृतिहरूलाई यसरी कटाक्ष गर्छन्, “खोरबाहिर मानवीयता मात्र होइन मानव नै हराएको छ र बिचरो मानिसले अलिकति सभ्यताका दुर्व्यसनमा, अलिकति तस्करी र कालोबजारमा, अलिकति सर्टकर्ट संस्कृति बाँच्नामा, अलिकति व्यर्थका तडकभडकमा, अलिकति पाङ्ग्राका खुट्टा गाँसेर पशुभन्दा अगाडि हुनाको/पुग्नाको महŒवाकाङ्क्षामा आफूलाई खोज्दै छ ।”(पृ.६६) यसरी आजको मानिस दुर्व्यसन, तस्करी, कालाबजारी, स्वसंस्कृतिहीनता, तडकभडक, मूर्खतापूर्ण महत्वाकाङ्क्षा आदि दुष्प्रवृत्तिले चारित्रिक पतनको बाटो समातिरहेको छ । विश्वमा शान्ति बिथोल्नमा मानिस सुँगुरजस्ता पशुहरूभन्दा पनि तल झरेर लागेकाले व्यङ्ग्यकारले व्यङ्ग्यबाणले त्यसप्रति उपहास गर्नुपरेको छ । शान्तिका लागि भनेर विश्वभरि शस्त्रास्त्र थुपार्न र बम पड्काउन लागेकामा मानिस शान्तिप्रिय छैन भन्ने बुझिन्छ ।
मानिस भुसप्रिय, हिलोप्रिय वा गालीप्रिय हुँदै झन्झन् तल खस्दै छ । शरीर नङ्ग्याउने वस्त्रधारी र रक्सी धोकी बेइज्जतकारी हुनुमा गर्व गर्ने मानिसहरूभन्दा त हिलोमा लटपटिएर शरीर ढाकी भुस खाने सुँगुर नै उत्तम हुन्छ भनेर मान्छेको पतनमुखी चरित्रमाथि चर्को व्यङ्ग्य प्रहार गरेका छन् । मानिसले भुस खान थालेकाले झन् विचित्र भएको छ । भुस मानिसले खानु भनेको बुद्धिविवेक सकिनु हो । बकमफुस शिक्षालय र शोधग्रन्थहरूमा मानिसको केवल भुसचिन्तन पाइन थालेकाले लेखक त्यस्ता बुद्धिजीवीप्रति व्यङ्ग्यको गुलेली हान्छन् । सुँगुरका लागि भुस पोसिलो हुन्छ र त्यही खाएर बाँच्छ । वास्तवमा मानिस भएर दालभात खाएर बाँच्न नेपालमा कठिन छ भन्छन् व्यङ्ग्यकार अनि पौष्टिकताको विज्ञापन गर्दै होटलमा बेचिने दालभातको गुणस्तरहीनतामाथि तीव्र व्यङ्ग्योक्ति प्रकट गर्छन् ।
यसै गरी खोरका नामहरूका सन्दर्भबाट चाउचाउका अनेक नाम राखेर जनतालाई गुणस्तरमा ठग्दै पैसा धुत्ने महाछली र महाशोषक उद्योग र उद्योगीहरूको पनि धज्जी उडाउँछन् । हिलोमा बसे पनि सुँगुरले अरूलाई हिलो छ्याप्दैन तर मान्छे सुँगुरभन्दा तल्लो स्तरमा झरेर अरूप्रति हिलो छ्यापी आफू ठालु बन्ने दुस्ट्याइँ प्रदर्शन गर्छ भनी कडा प्रहार गर्छन् । देशप्रेम वा राष्ट्रप्रेमबाट विमुख हुँदो मानवचरित्रलाई यसरी सुँगुरको उदाहरणबाट लेथ्नो काढ्छन्, “जीवनभर हिलामा शरीर गाडेर देशका माटाको तपाईँहरूले जति माया गर्नुहुन्छ त्यो उदाहरणीय छ ।” (पृ.६९) फोहोर पानीको समस्या नहुने सुँगुरको प्रसङ्ग ल्याएर जनतालाई फोहोर पानी खुवाउने सरकारी निकायमाथि तीव्र कटाक्ष गर्छन् ।
शरीर ननुहाई कोट र जुत्ता टल्काएर हिँड्ने मनुष्यको बोक्रेपन, कालो चस्मा ढल्काएर बडप्पन देखाउने ढोँगीपन, योग्यताबिनै शक्तिका आडमा सरकारी जागिर खाने र अफिसमा कामै नगरी भागेर मस्ती गर्ने मान्छेको ठगपन, अनेक थरीका आयोग गठन र विघटनद्वारा भ्रष्टता प्रदर्शन गर्ने सरकारी निकम्मापनबाट राम्ररी निदाउन नसकेका नेपालीहरूको अभागीपनलाई सुँगुरको जीवनसँग तुलना गरेर व्यङ्ग्यप्रहारको निसाना बनाएका छन् । नेपालीहरू सुँगुर सभ्यताको जगेर्ना गर्न लागिपरेका छन् भनेर पनि हाँसो उडाएका छन् । सुँगुर मान्छे बन्दैन तर भगवान् बन्छ भनेर मानिसको तुच्छताको झाँको झारिएको छ । मानिसको अनुहार भए पनि वास्तविक स्थिति यस्तो छ भन्दै व्यङ्ग्योक्ति प्रहार गरेका छन्, “मानिस हुनु – आफ्ना स्वास्थ्यप्रति अति सचेत आमाको दुध चुस्न पनि नपाउनु, अस्पताल नाउँका सत्तल–पाटीका चिसा कोठा पनि नसिब नहुनु, खुट्टाले टेकेर हिँड्दा अपमानित हुनु, नीरस पाठशालामा पढ्नु र पढिसकेपछि हाँसको चाल न बकुल्लाको चाल हुनु, जिन्दगानीभर तालु र पैतालाको पसिना एक गराएर पनि आधा भुस मिसिएको अन्न अङ्ग्रेजी उच्चारणका स्वादले खाएर मान्छे हुनाको अहम् पाल्नु, सुटटाई डटेर सधैँ नाङ्गिनु…।” (पृ.७०) यो बुद्धिजीवीले सुँगुरलाई सम्बोधन गरी उसकै प्रवचनका रूपमा लेखिएको व्यङ्ग्यनिबन्धका रूपमा प्रस्तुत छ ।
यसमा स्वस्थ मन, सरल र निष्कपट व्यवहार छाडेर कलुषित मन, कुटिल र महाकपट व्यवहार गर्न थालेका मानिसहरूलाई सुधार गर्न सुँगुरहरूलाई अनुरोध गरिएको छ । सुँगुरहरू मानिसका खोरमा बन्धनभित्र परेका भए पनि यी साह्रै सरल र निष्कपट छन् भनिएको छ । जर्ज अरवेलको कृति ‘एनिमल फार्म’ मा शिक्षित सुँगुरहरू बिग्रिएर मानिसजस्ता कुटिल, पापी र कपटी बनेका हुन् भन्ने प्रसङ्ग ल्याइएको छ । साथै बराह अवतार बनेर धर्मको रक्षा गरी संसारलाई उद्धार गर्ने सुँगुरहरूले बिग्रिएका सम्पूर्ण मानवलाई एकपटक फेरि उनीहरूद्वारा नै मानवताहीन भएर सिर्जित सामाजिक समस्या र सङ्कटबाट बचाउनुपर्ने आग्रह निबन्धकारले गरेका छन्, “तपाईँहरूले आँट्नुभयो भने सुँगुरसंस्कृतिको जगेर्ना गर्दै मानवसमाजलाई सुँगुरसभ्यताको पाठ पढाएर स्वस्थ, सरल र निष्कपट हुन सिकाउन सक्नुहुन्छ ।…तपाईँहरूले धर्मको क्षति भएका बेला संसारलाई उतार्नुभएको छ । फेरि एकपटक…सम्पूर्ण मानवजातिको उद्धार गर्नुपरेको छ ।” (पृ.७०) यसरी संसारकै सर्वश्रेष्ठ. प्राणी ठान्ने अहङ्कारी मानवजातिलाई सुँगुरबाट सुसंस्कृति र सुसभ्यताको पाठ सिक्न लगाउने व्यङ्ग्यकारको विचारले धर्मछाडा र महाषड्यन्त्रकारी मानिसलाई लज्जित हुने गरी कठोर व्यङ्ग्य हानेको स्पष्टप हुन्छ ।
‘कुकुरहरूका पक्षमा’ निबन्धमा मानिसका चारित्रिक कमजोरीहरूमाथि कुकुरका प्रवृत्तिसँग तुलना गर्दै व्यङ्ग्यप्रहार गरिएको छ । कुकुरका सेवा र स्वामीभक्तिका सामु मानिसका लोभ र निर्लज्जताका वैजयन्ती सगरमाथा हाँसउठ्दा र लाजमर्दा छन् । कुकुरलाई विश्वासिलो साथी बनाउने र यसलाई अनेक कुरामा उपयोग गर्ने मानिसले गाली गर्दा कुकुरको प्रयोग गर्छ जो आजभोलि भनिने सर, श्रीमान्भन्दा सम्मानित लाग्छ लेखकलाई किनकि ती शब्दहरू विश्वासहीन धोकेबाजका पर्याय बनेका छन् । मानिसले आजभोलि यही धरतीलाई नै नर्क बनाएको छ आफ्नो कुकर्म र नैतिकताहीन व्यवहारले भन्छन् व्यङ्ग्यकार । मानिस सुरक्षा, मनोरञ्जन, सेवा र सहयोग, अपराध तथा वैज्ञानिक अन्वेषण–अनुसन्धानका लागि कुकुर पाल्छ । मानवबुद्धिको असमर्थतामा कुकुरको शरण लिइन्छ किनकि मानवबुद्धिको विकास अझै कुकुरको समकक्ष छैन भनेर मानिसलाई खिस्स पारिदिन्छन् व्यङ्ग्यकार । अन्योन्याश्रित घनिष्ठ सम्बन्धका कारण कुकुरबिनाको मानिस र मानिसबिनाको कुकुरको सुखद जीवनको कल्पना व्यर्थ हुने तर्क छ व्यङ्ग्यकारको ।पाब्लोवद्वारा कुकुरमा गरिएको अनुसन्धानले ज्ञानविज्ञानका क्षेत्रमा क्रान्ति नै ल्याएको छ ।
आफूमा आधारित क्रान्तिकारी अनुसन्धान कुनै कुकुरले पढ्दैनन् भन्ने सन्दर्भबाट व्यङ्ग्यकार ती नेपाली साहित्यका पाठकलाई पनि कुकुरहरूले मेरो व्यङ्ग्यनिबन्ध पढ्दैनन् भनेर झाँको झार्छन् किनकि व्यङ्ग्यलाई साहित्यको सशक्त सिर्जना मान्ने क्षमता र गहन यथार्थयुक्त अनुभूति पठनको रुचि तिनीहरूमा छैन । कुकुर साहित्यलेखनका लागि जति पनि मिल्ने विषय हो । कुकुरको कुकुरत्व वा व्यक्तित्व जति उच्चतासँग चित्रित गर्न सकिन्छ त्यति मानिसको गर्न दुर्लभ हुने बताई मानिसको व्यक्तित्व दिनानुदिन खस्कँदै गएकोप्रति कटाक्ष गर्छन् व्यङ्ग्यकार । कुकुरलाई सुरक्षाका लागि मात्रै होइन स्वास्थ्योपचारका लागि पनि यसको उपस्थिति वा स्पर्श उपयोग हुन्छ यसैले चुमेर वा अँगालो मारेर रोमाञ्चकसमेत बनाइन्छ । परन्तु मानिस यसलायक हुन छोड्दै गएको छ विश्वसनीयताको अभाव भएर । अनुभव र अनुसन्धानबाट प्रमाणित भएको छ कुकुरको साथले तनावबाट मुक्ति दिलाई दीर्घायु बन्न रोगप्रतिरोधी क्षमता बढाइदिन्छ । ती रोगीहरू जसले अस्पतालमा कुकुरको सङ्गत गर्न रुचाएनन् तिनीहरू अहङ्कारवश तुच्छ मानवको जुनीमै मरे पनि । अनुसन्धानानुसार उपेक्षित र विवश भई एकाकीपनले ग्रस्त वृद्धवृद्धाहरूका लागि कुकुर नै भरपर्दा साथी र सहयोगी हुन्छन् ।
व्यङ्ग्यकार वृद्ध बाआमालाई दुत्कार्ने सन्तानहरूलाई आगो झोस्दै भन्छन्, “आज सभ्यता र आधुनिकताका दम्भ गर्ने धेरै सन्तानका आँखामा बाबुआमा र कुकुरहरू एकै तहका हुन्छन् । यिनले न बाबुआमा चिन्छन् न कुकुर ।…हतार हतार पाश्चात्य जीवनशैली, सभ्यताका अनुकरणमा हामीले विकृतिहरू भित्र्याएका छौँ…।” (पृ.७४) कुकुरका सामीप्यमा बस्दा मानसिक अशान्ति र संवेगात्मक असुरक्षाको भावनामा कमी आयो । मानिसको निरीहता, नियति र विडम्बनामा लेखकको मार्मिक व्यङ्ग्योक्ति यसरी प्रकट भएको छ, “मानवका बिच मानव कति असुरक्षित छ, कति निःसहाय छ – कुकुरहरूले भन्दा अरूले यो बुझ्दैनन् । मानिसका जङ्गलमा बसेर कुकुरहरूसँग सुरक्षाको भिक्षा माग्नु मानिसको नियति भएको छ । सभ्यता भएको छ ।” (पृ.७५) समयहीन, नियमहीन, असन्तोषी, लोभी र बैगुनी मानिस कुकुरभन्दा तल झरेको छ भन्नेबारे व्यङ्ग्यकार यसरी कटाक्ष गर्छन्, “यी समयनिष्ठ हुन्छन् । यिनले मानिसलाई बढी नियमित र कम तनाउपूर्ण जीवन बाँच्ने गराउँछन् । पाएको खाएर सन्तोष गर्नु र पुच्छर हल्लाउनु नै यिनका जीवनको लक्ष्य । तर दुःख यसैमा छ, मानिसको कुनै पुच्छर छैन ।” (पृ.७५) बाहिरी शरीर ढाक्ने पोसाक लगाएर मानिस सभ्य बन्न कोसिस गर्छ तर कुनै पोसाक नलगाए पनि कुकुर मानिसभन्दा सभ्य, सहयोगी र हितकारी हुन्छन् अनि मानिसको आत्मगौरव बढाउँछन् ।
कुकुर पालेर खुब घमन्ड प्रदर्शन गर्नेहरूलाई पनि लेखक तिनको मूर्खतामाथि छ्यास्छन् । कुकुरहरू आफन्तप्रति निःसर्त र निःस्वार्थ प्रेम गर्छन् तर मानिस ठिक उल्टो गर्छ र चरित्रको दुर्बलता देखाउँछ । वास्तवमा आफन्तलाई निर्मम बन्दै छाडेर टाढिने दुर्भावनायुक्त मानिसहरूका तुलनामा ‘प्रेम र सद्भावनाका दिव्यमूर्ति त कुकुरहरू नै देखिन्छन् ।’ कुकुरहरू त सन्तहरू, महात्माहरू, ऋषिहरूजस्ता लाग्छन् अनि सत्य, प्रेम, सद्भावना, माया, दया, करुणाका प्रतिमूर्ति लाग्छन् । लेखकले सानामा पढ्दा ‘कुकुर’ भन्ने कामचोर, महाठग तथा निरङ्कुश सरप्रति विक्षुब्ध र सङ्गीत सुनाउन ग्रामोफोन घुमाउने क्रियाशील कुकुरलाई सम्झँदा लेखक कुकुरप्रति अनुगृहीत हुन्छन् सरप्रति होइन । कुकुरहरूले ठुलाठुला भूकम्पमा पुरिएका मानवहरूको उद्धारमा पुर्याएको विशिष्ट योगदान विकसित भनाउँदो मानवजातिका लागि अक्षम हुनाको उदाहरण प्रस्तुत गर्नमा काफी छ । मानवेतर पात्रलाई उदाहरण बनाएर मानिसका नीचताको पराकाष्ठालाई ध्वन्यात्मक स्वरूपमा प्रहारात्मक विषय बनाउनु शर्माको हास्यव्यङ्ग्यको वैशिष्ट्य हो ।
‘सङ्कटमोचनका निमित्त पिँडालीलाई चिठी’ निबन्धमा नेपाली साहित्यमा हास्यव्यङ्ग्यलाई उपेक्षित ठान्ने नेपाली समाजलाई तीव्र व्यङ्ग्य गरिएको छ । पत्रशैलीमा लेखिएको यो निबन्ध साँच्चै मर्मस्पर्शी छ ।
यसमा लेखकलाई नेपाली हास्यव्यङ्ग्यका एक महारथी तथा वरिष्ठ पत्रकार केशवराज पिँडालीले एक अन्तर्वार्तामा चोलेश्वर शर्मा पनि हास्यव्यङ्ग्यकार भनेर नाम लिएकामा घोर आपत्ति जनाउँदै नेपाली साहित्यसमीक्षक तथा साहित्यको मूल्य नबुझ्ने उपभोगवादी समाजप्रति कडा व्यङ्ग्योक्ति प्रहार गरिएको छ । साहित्यिक कृतिहरू प्रकाशित गर्ने नेपालकै प्रतिष्ठित संस्था साझा प्रकाशनले लेखकको हास्यव्यङ्ग्यात्मक निबन्धसङ्ग्रहलाई कुनै विधाविशेषमा नराखी ‘छ्यासमिस’ भित्र वर्गीकृत गरिदिएपछि आफू वा हास्यव्यङ्ग्यकारलाई अछुत ठान्ने अविवेकी, अन्यायी र बुद्धिहीन साहित्यिक र प्रकाशनका क्षेत्रका विकृत वातावरणमाथि मुर्र्याएर व्यङ्ग्यको निसाना साधिएको देखिन्छ । देशमा साहित्य र समालोचनाका क्षेत्रमा व्यापक विकृतिहरू जन्मेका छन् । त्यस्ता साहित्यिक क्षेत्रका चर्का विसङ्गतिमाथि व्यङ्ग्यकार यसरी कठोर प्रहार गर्छन्, “आज हजार अनुरोध र अनुनय–विनय गरेपछि र दशबिसपटक चियासियापान गराएपछि मात्र कृतिका मनचिन्ते समीक्षा–समालोचना हुने, इच्छुकहरूका आशयअनुसार भूमिका लेखिने तथा मन्त्री, सचिव, उच्चपदस्थ कर्मचारी वा प्रशासनका निर्देशनअनुसार तोकिएका सीमाभित्र रही काव्यसिर्जना र साहित्यिक गतिविधि सञ्चालित हुने समयमा तपाईं सन्तानब्बे सालअगिकै मानसिकता लिएर बाँच्नुहुन्छ कि कसो ?” (पृ.७९) शर्माले वास्तविक यथार्थलाई सटीक रूपमा राखेका छन् ।
नेपाली साहित्यको वर्तमान परिवेश यसरी नै साहित्यको वास्तविक मूल्याङ्कन हुनबाट वञ्चित छ । समालोचक र भूमिकालेखक दरभाउ खोजेर बस्छन् र केही अर्थोत्पादन हुने भए लेख्छन् नत्र वास्तै गर्दैनन् । कसैका इसारामा वा सरकार र दलका निर्देशनमा झोले साहित्य लेखेर साहित्यको हुर्मत लिएको गम्भीर र दयनीय अवस्था नेपाली साहित्यको अधोगतिको लक्षण बनेको छ । यसबाट लेखक अत्यन्त दुःखी र चिन्तित छन् । नेपाली हास्यव्यङ्ग्यलाई त तुच्छ र हेय मानिन्छ । हास्यव्यङ्ग्य लेखनलाई छ्यासमिस भनेर घोर अपमानित गरिन्छ । समालोचकका दृष्टिमा हास्यव्यङ्ग्यको कुनै मूल्य नै छैन । यस्तो विषाक्त परिवेशमा आफूलाई हास्यव्यङ्ग्यकार भनेर चिनाउने हास्यव्यङ्ग्यका एक महारथी केशवराज पिँडालीलाई गाली गरेझैँ गरेर हास्यव्यङ्ग्यकार शर्माले खुब प्रशंसा गरेका छन् स्तरीय व्याजोक्तिका व्यङ्ग्यात्मक शैलीमा ।
यो मूर्ख समाज एक त साहित्यको सम्मान नै गर्दैन झन् हास्यव्यङ्ग्यलाई त अति हेला गर्छ समाजका तल्ला जाति मान्ने अछुतसरह सम्झेर । पिँडालीजस्ता महान् हास्यव्यङ्ग्यकारलाई दलित शूद्र जातिकै कोटिमा राखेर घोर अपमानित गर्छ । यही सङ्कीर्ण, अनुदार र विवेकहीन समाजको सक्कली अनुहार चित्रित गरेर त्यसको उछित्तो काढ्नु यस व्यङ्ग्यरचनाको मूल अभीष्ट हो । लेखक व्यङ्ग्यका सुइराले घोच्दै साहित्यमा हास्यव्यङ्ग्यलाई हेर्ने सामाजिक तथा पाठकीय कुदृष्टिमाथि कडा व्यङ्ग्यबाण हान्छन्, “नेपालमा हास्यव्यङ्ग्य भन्नेबित्तिकै धेरै पाठकले त्यसलाई अभद्र, अश्लील र हास्यास्पद रचना नै ठान्छन् ।…नेपालमा साहित्यिक क्षेत्रमा हास्यव्यङ्ग्य अछुतजस्तो भएको छ । शूद्र । यो गाईजात्रामा जथाभावी छापेर, प्रदर्शन गरेर मनोरञ्जन गरिने विषय हो । आम धारणा छ, लेखकहरूले पनि गाईजात्रे नै हुनुपर्छ । तिनले गाईजात्रे नै जीवन जिउनुपर्छ ।…हास्यव्यङ्ग्य रचना त्यसैले अछुत वा शूद्र किसिमको भएर बाँचिरहेछ ।” (पृ.८०) लेखकले हास्यव्यङ्ग्यलाई साहित्यका स्थानबाट जातिच्युत गर्ने प्रवृत्तिको अन्त्य गर्न कुनै राष्ट्रिय स्तरको साहित्यिक संस्थाले पहल गर्नुपर्ने धारणा राखेका छन् तर त्यसतर्फ लाग्ने कोही नभएकामा खिन्नता प्रकट गर्दै दह्रो कटाक्ष यसरी गर्छन्, “जहाँ साहित्यकारभन्दा गृह मन्त्रालयको शाखा अधिकृतको दर्जा धेरै महान् हुन्छ त्यहाँ यो मूर्खता किन गर्नु ?” (पृ.८१) नेपालका कुनै पनि ठुला साहित्यिक संस्थाले हास्यव्यङ्ग्यका लेखन वा लेखकलाई सम्मानित र पुरस्कृत गरेको छैन भन्ने तिखो गुनासो पोख्छन् ।
नेपालमा हास्यव्यङ्ग्य लेखक शापित छन् । हुन त नेपालमा सिङ्गो साहित्यजगत् नै उपेक्षित छ किनभने यहाँ जिउँदालाई कहिल्यै सम्मान गरिँदैन मरेपछि गोहीको आँसु चुहाउने घिनलाग्दो चलन छ, “मरेर गइसके । मरेपछि यति कदर गर्नैपर्छ । जिउँदाभन्दा साहित्यकार त मरणोपरान्त नै महान् हुन्छन् नेपालमा ।” (पृ.८२) ठुलै रकम पिँडालीलाई घुस खुवाएर आफ्नो नाम हास्यव्यङ्ग्यकारमा चलाएको भन्ने पाठक वा छिद्रान्वेषकहरूलाई लेखक बडो मार्मिक ढङ्गले यथार्थ सबैका सामु राख्दै आफ्नो वास्तविकता अवगत गराउँछन्, “चोलेश्वर कुनै घुस दिन सक्ने औकातको मान्छे नै होइन । घुस दिन र लिन नसकेर नै दुनियाँका घुस्सा खाएर बाँचिरहेछ ।“ (पृ.८३) नेपाल घुस्याहाहरूको देश बनेको विडम्बना हाम्रो छ त्यसैले जसलाई पनि घुस लिनेदिने पात्रका रूपमा हेर्ने गलत प्रवृत्ति यहाँ छ । नेपाली साहित्यलाई हेर्ने यस्तै तल्लो स्तरको विकृत परम्परामाथि व्यङ्ग्य कस्नु नै शर्माको प्रमुख उद्देश्य रहेको देखिन्छ । त्यसैले यस्तो कृतघ्न नेपाली समाजमा लेखक अब हास्यव्यङ्ग्य नलेख्ने धारणा प्रकट गर्छन् र आफूलाई हास्यव्यङ्ग्यकारको सूचीमा राखिदिएर साथीभाइलाई जबरजस्ती रक्सीसक्सी खुवाएर पैसा खर्च गराइदिने पिँडालीलाई सो नोक्सानको भरपूर गरिदिन आग्रह गर्छन् ।
वस्तुतः यो रचना अत्यन्त गहन स्तरमा लेखिएको व्यङ्ग्य हो । यसले पिँडालीलाई दङ्ग्याएझैँ र थर्काएझैँ गरेर समग्रमा नेपाली साहित्यको र विशेषतः हास्यव्यङ्ग्यको हालको बडो गएगुज्रेको र ज्यादै सङ्कटपूर्ण अवस्थालाई गहिरोसँग प्रस्तुत गरेका छन् । हास्यव्यङ्ग्य नै अबदेखि नलेख्ने लेखकको भनाइ छ जो एउटा सशक्त व्यङ्ग्य हो नेपाली साहित्य र हास्यव्यङ्ग्यको अवमूल्यन र अपहेलनामा जुटेका विवेकहीन, तुच्छ र गैरजिम्मेवार सामाजिक पात्रहरूलाई । नेपाली साहित्य र व्यङ्ग्यको विकासका लागि सुरक्षित र संवर्धित वातावरणको निर्माण राष्ट्रले गर्नुपर्छ र त्यसमा देशका सम्पूर्ण पाठकसमूहले साथ र सहयोग गर्नुपर्छ भन्ने दृष्टिकोण व्यङ्ग्यकारको रहेको छर्लङ्गै छ । चिठीका शैलीमा लेखिएको एउटा गहन व्यङ्ग्योक्ति हो यो । साहित्यको आत्मा निकालेर बरबाद गर्नेहरूको जमात नेपाली राष्ट्रिय क्षितिजमा विराजमान छ त्यसैले नेपाली साहित्यको मौलिकता दिनप्रतिदिन खोक्रिँदै गएको छ । साहित्यको अस्तित्व क्रमशः पराधीन हुँदै गएको छ । साहित्यका क्षेत्रमा डरलाग्दो सङ्कट बढेको छ । यस्तो सङ्कटबाट नेपाली साहित्यको स्वत्व बचाउने सशक्त आवाज हो यो व्यङ्ग्यरचना ।
शासक, दल, ठेकेदार, गुलामगिरी, पैसामुखी समालोचक र प्रकाशक आदिको दबदबामा नेपाली साहित्य दिनानुदिन कठ्याङ्ग्रिँदै र चाउरिँदै गएको छ र यसले हास्यव्यङ्ग्यको साहित्यिक मूल्य र महत्वलाई नामेट पार्न खोजिरहेको गम्भीर विषयलाई यस व्यङ्ग्योक्तिले सजीवतापूर्वक साहसिक स्वरमा प्रस्तुत गरेको छ । यसमा हास्यव्यङ्ग्य सृजना र स्रष्टाप्रतिको तीव्र नकारात्मक परिवेश र तिनका विरुद्ध तेजोवधका दुर्भावनाले खनिने कुपाठकहरूप्रति तीव्र आक्रामक शैलीमा व्यङ्ग्योपहास गरिएको पाइन्छ । यति शक्तिशाली व्यङ्ग्यस्रष्टा नेपाली साहित्यमै सिर्जनारत छन् भन्दा उच्च गौरवबोध हुन्छ । खासमा हास्यव्यङ्ग्यलाई साहित्य नै नगन्ने मूर्खतापूर्ण सामाजिक, राष्ट्रिय र पाठकीय दृष्टिप्रतिको तीव्र आलोचना र व्यङ्ग्य बनेको छ यो रचना । नेपाली हास्यव्यङ्ग्यको सिर्जना र संरक्षण तथा संवर्धनमा अनि यसको उच्च गौरवलाई जीवन्त राख्नमा हिमालझैँ अटल बनी उभिएका छन् शर्मा यसमा । नेपाली हास्यव्यङ्ग्यका विरोधमा कुटिल दृष्टि र फोहोरी नजर लगाउने खराब चरित्रहरूका आँखा फुटाइदिने गरी निर्धक्क भएर आक्रामक बनेका छन् शर्मा । यो उनको अस्तित्वरक्षाको लडाइँ हो, साहित्याकाशमा व्याप्त कुरीति तथा दोगलापनविरुद्धको साहसिक विद्रोह हो । नेपाली साहित्यमा हुर्केको अत्यन्त गलत मनोविज्ञानको व्याख्या र त्यसमाथि आत्मव्यङ्ग्यात्मक शैलीमा गरिएको प्रभावशाली अभिव्यक्ति नै यस व्यङ्ग्यको मूल शक्ति र उपलब्धि हो ।
‘मलाई चुनाउ नामको आम मिठो लाग्छ’ निबन्ध चुनावी राजनीतिसँग सम्बन्धित छ । यसमा नेपाली राजनीतिमा चुनावले कसरी विकृतिका चाङहरू लगाएको छ भन्ने निकृष्ट र हास्यास्पद स्थितिलाई उदाङ्गो पारिएको छ । नेपालमा भोट वा चुनाउ भनेको नोटले किनिने र नोटमा बिकिने स्थिति हो भन्ने मन छुने तथ्यलाई यसमा हास्यको जलप लगाएर मिठोसँग भनिएको छ, “चुनाउ भनेको नोट हो भन्ने धारणा प्रबल र स्वस्थ रूपमा ममा परेको छ । यही नै वर्तमान नेपालको राष्ट्रिय दृष्टि हो । म नै राष्ट्र हुँ ।…चुनाउ भनेको एक हातले तुच्छ नोट लिनु र अर्का हातले अमूल्य भोट दिनु हो ।…तुच्छ नोट लिनु त साह्रै तुच्छ काम हो – नीच । तैपनि नोटलाई तुच्छ र आफूलाई नीच ठानेर नै लिनुपर्छ । लिन छोड्नु भने हुँदैन । संसार चल्दैन र बानी पनि बिग्रन्छ । नोट आउँछ भने आफूलाई नीचभन्दा अझै तल कतै मिल्छ भने लैजान पनि सकिन्छ राजीखुसी ।” (पृ.८५) चुनावमा नोटको खेल गरेर राजनीति विकृत र दुर्गन्धपूर्ण बनेको छ नेपालमा । यस्तो चलन पहिलेदेखि नै प्रचलित थियो नेपालमा । पञ्चायतकालमै चुनावमा पैसाको विशाल चलखेल हुने गर्थ्यो । चुनावमा जितेर कमाउनु वा भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गर्नु नेपाली राजनीतिको पर्याय नै हो । नेता र जनता दुवै नैतिकता छाडेर एकदमै निर्लज्ज रूपमा प्रस्तुत हुन्छन् र रुपियाँपैसाको लेनदेन गरेर चुनाउमा भाग लिन्छन् अनि भोट लिनेदिने कार्य गर्छन् । त्यो अति नै निन्दनीय पक्ष हो ।
त्यसैले व्यङ्ग्यकार नेता र जनता दुवैलाई यसरी उपहास गर्छन्, “प्रजातान्त्रिक ढङ्गले आठदश लाख कमाए त के बिराए ? साथमा पाँचसात लाख नभए के माननीय ? जनताकै बेइज्जत । प्रजातान्त्रिक अभ्यासमा दुईचार लाख कमाइने त त्यसै परिआउँछ ।” (पृ. ८५) मद्यपान आदिको प्रयोग पनि चुनाउको विसङ्गत र घृणित पक्ष नै हो । आम चुनाउको अर्थ लाउँदै लेखकले नेता र जनतालाई तीव्र व्यङ्ग्य गरेका छन्, “आम चुनाउ भनेको आम चुन्ने प्रक्रिया हो । आम (आँप) एक प्रसिद्ध फल हो । पाकेका आम धेरै स्वादिला हुन्छन् । चुनाउ जित्ने उम्मेदवारले पाकेका आम चुस्छन् । जनताले खोयो (कोयो) पाउँछन् ।…आम नेताले जनतालाई आमझैँ स्वाद लिई लिई चुस्छन् ।” (पृ.८५) लेखकका दृष्टिमा निर्वाचनको भित्री रहस्य कमाउ धन्दा चलाउनु मात्रै हो, “महानिर्वाचन…यथार्थमा मह निर्वाचन हो । गुलियो छान्ने प्रक्रिया । ‘कमाउनु’ को गुलियो । मतदाता र उम्मेदवार दुवैलाई चुनाउ ‘कमाउ’ को अर्को नाउँ हो ।” (पृ.८६) नेपाली नेता र तिनकै नोट र मद्यपानको कोट ओढेर महाबेइज्जती, बेइमानी र अस्तित्वहीन चरित्रका नेपाली जनताहरूमाथि मर्मान्त व्यङ्ग्य प्रहार गरिएको छ यहाँ ।
चुनावको इतिहास, भूगोल, राजनीतिशास्त्र र अर्थशास्त्र हुन्छ भन्दै व्यङ्ग्यकारले चुनावी मनोविज्ञानमा हुने दुश्चरित्रलाई यसरी छासेका छन्, “म आफूले वा आफ्ना पक्षले जितेका खण्डमा चुनाउको परिणाम निष्पक्ष ठान्ने व्यक्ति । स्वस्थ प्रजातान्त्रिक मूल्य र मान्यतामा विश्वास गर्ने मान्छे ।” (पृ.८६) यस प्रसङ्गमा प्रजातन्त्रका नाममा हुने अप्रजातान्त्रिक वा राजनीतिक गुन्डागर्दीलाई बाघेझप्पु हानिएको छ अर्थात् मानिस कति ङिच्च वा किच्च गर्छ भन्ने कुरालाई मर्मस्पर्शी झटाराले ठोक्नु्सम्म ठोकिएको छ । ‘नेपाली जनता टुँडिखेलका भेडाच्याङ्ग्रा भए’ भनेर नेपालीहरूको घाँस खाने पशुतालाई छेड हानिएको छ । चुनाउले आकाशपाताल एकै ठाउँ जोडिदिएर वातावरणलाई हावामा बदल्छ । चुनाउका बेथिती कति छन् कति । यस्ता बेढङ्गे स्थितिहरूमाथि प्रशंसा गरेझैँ गरेर तीव्र घृणा प्रकट गर्ने व्याजोक्ति तथा तिरस्कृत तŒवलाई औधी पुरस्कृत बनाएर अतिशयोक्तिमूलक व्यङ्ग्यशैलीमा भन्ने व्यङ्ग्यकारको कथन बेजोड लाग्छ, “एक हातले तुच्छ नोट लिनु र अर्का हातले अमूल्य भोट दिनु अब प्रत्येक नागरिकको अधिकार र कर्तव्य भएको छ । इमान र धर्म भएको छ ।
भोट त अमूल्य छ । त्यसको मूल्य किटान गर्न सकिन्न तापनि त्यसलाई दशबिस तुच्छ नोटमा बेचेर हामीले उम्मेदवार र देशका विकासमा समेत सहयोग गरेका छौँ । यसबाट पनि चुनाउ स्वस्थ प्रजातान्त्रिक अभ्यास हो र तुच्छ नोट लिँदै अमूल्य भोट दिनु प्रत्येक सचेत नागरिकको गौरव हो भन्ने स्पष्ट हुन्छ ।” (पृ.८७) ढँटुवा र लोभीपापी राजनीतिमाथि अतिशयोक्तिकै व्यङ्ग्यप्रविधिबाट ढाडनसो खुस्कुन्जेल व्यङ्ग्यकारले प्रहार गर्न बाँकी राखेका छैनन्, “चुनाउमा प्रत्येक नागरिकलाई एक मुर्रा भैँसी, चार बिघा खेत र एउटा घर दिने उदार विचार, प्रलोभनका कुरा पनि प्रजातान्त्रिक अभ्यासभित्र, चुनाउनीति र राजनीतिभित्र पर्छन् ।…राजनीति र चुनाउका समय–सन्दर्भमा विरोध सहन नसकी जाइलाग्नु, गालीगलौज र मारपिट हुनु, बलपूर्वक मतदान केन्द्र कब्जा गर्नुजस्ता स्वस्थ र पवित्र प्रजातान्त्रिक कार्यकलाप हुन्छन् ।…जे पनि गर्न पाइने भएर नै प्रजातन्त्र हामीकहाँ साँचो रूपमा जीवित हुन्छ ।…त्यसैले प्रजातन्त्रमा सहिद थोक रूपमा पाइन्छन् ।” (पृ.८७) प्रजातन्त्रका नाममा हुने अराजक वितण्डा र चरम स्वेच्छाचारितामाथि लेथ्नो काढ्ने काम यहाँ गरिएको छ ।
चुनाउबाट अनेक प्रकारका फाइदा हुन्छन् भन्ने कूटोक्तिबाट व्यङ्ग्यकार अनेक प्रकारका राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक विकृति र विसङ्गतिको फेहरिस्त पेस गर्छन् र तिनमाथि आक्रमणका बज्राँट लाठा बजार्छन् । पार्टीका घोषणापत्रका षड्यन्त्र र तिकडमले भरिएका भ्रमका पुलिन्दाहरू खोलेर राजनीतिक मरीचिकाका तानाबानाद्वारा नेपाली जनतामाथि चरम शोषण गर्न पल्केका कुखुराचोरजस्ता नेताहरूको हुर्मत लिन्छन् लेखक । नेताका घोषणापत्रबाट पाइने ठुलो कुरा भनेर यसरी सिस्नुपानी लगाउँछन् व्यङ्ग्यकार, “जनताले चाख्न पाउने विकासको फल त आमको कोयो नै हो । प्रजातान्त्रिक व्यवस्थाको सबभन्दा ठुलो प्राप्ति यही हो । यसैका लागि हामी मरिमेट्छौँ ।” (पृ.८९) घोषणापत्रका यी महाबकम्फुसे हावागफ र दलालीका कर्तुत पढ्दा नै हाँसो थाम्न सकिँदैन नि, “हाललाई हामीले एक थान बङ्गालको खाडी वा अमेजन नदी ल्याउँछौँ । अर्को दशपन्ध्र वर्षसम्म हामीलाई विजयी गराउनुभयो भने हामीले एक थान प्रशान्त महासागर पनि ल्याइछाड्छौँ ।…हामीले पुल बनाउँछौँ ।…हामीले गाउँ विकास समितिका वडा वडामा एक एक विश्वविद्यालय खोल्छौँ । त्यसभन्दा ठुलो अन्तरिक्ष विद्यालय खोल्छौँ ।…हामीले डिल्लीबजारलाई नयाँ दिल्ली बनाउँछौँ, फसिकेबलाई मास्को र पुलचोकलाई थियेनआमेनचोक ।” (पृ.८९) नेता र पार्टीहरू सिद्धान्त, मूल्यमान्यता र प्रगाढ आस्थालाई तिलाञ्जली दिँदै अनि तिनका पिछलग्गु धुपौरे जनताहरू घोर अवसरवादी बन्दै राजनीतिलाई मागीखाने भाँडो बनाउन कम्मर कसेर लागेको तथ्यप्रति सङ्केत गर्दै हास्यका जलपमा व्यङ्ग्यकार यसरी उल्ल्याउँछन्, “आज हामी आस्थाले, समर्पणले, भावनाले, मनले भन्दा बढी अवसरले राजनीतिमा छौँ । अवसरवादी भएका छौँ । हामी रातारात लालसलाम भएका छौँ । हामी रातारात जय नेपाल भएका छौँ ।” (पृ.९०) यसैले यस्ता गहकिला बाङ्गा उक्तिहरूले भरिएको यो रचना एक शक्तिशाली व्यङ्ग्य हो ।
‘मास्कवादका बाटामा नेपाल’ निबन्धमा वाम राजनीतिका निकृष्ट प्रवृत्तिहरूमाथि र अन्य बहुदलीय दलहरूका विकृत अनुहारहरूमाथि दरिलो व्यङ्ग्यसन्धान गरिएको छ । नेपालका बहुदलीय पार्टीहरूले नेपालमा बहुदलीय प्रजातन्त्रको पुनर्बहाली भएपछि जेजस्ता मुख छोपेर गर्नुपर्ने खालका कामहरू गरे त्यस प्रकारका लज्जाजनक चारित्रिक दुर्बलताहरूमाथि व्यङ्ग्यकारले घुयेँत्रो हानेका छन् । राजनीतिक पार्टीका नेताहरूका नामहरूसहित व्यङ्ग्य गर्न खोज्दा यो रचना बढी व्यक्तिगत आक्षेप (ल्याम्पुन) का रूपमा मुखरित भएको छ । त्यसबाहेक नेपाली राजनीतिका अनेक उतारचढाव, सरकार ढाल्ने र बनाउने खेलहरू, मुखौटा लगाएर देशको दोहन गर्ने दुष्प्रवृत्ति आदिले तत्कालीन राजनीतिक परिवेश अत्यन्त दुर्गन्धित बनेको सपाट चित्र यस व्यङ्ग्योपहासमा उजागर भएको छ । व्यक्तिगत आक्षेपमा उत्रँदा व्यङ्ग्यकारको लेखकीय धर्म लरबराएको अनुभव रचनाको पठनका क्रममा हुन्छ । केही खोटले डामिएको छ यो रचना तसर्थ व्यङ्ग्यको स्तर खस्केको बुझ्न सकिन्छ । ल्याम्पुनका स्तरमा अभिव्यक्त यो व्यङ्ग्यरचनालाई विश्व परिवेशमा हुर्केको तितो, टर्रो, आक्रोशपूर्ण र चर्को आलोचनाले परपर्याउने प्रवृत्ति भएको श्यामव्यङ्ग्य (ब्ल्याक ह्युमर) को एउटा राम्रो नमुना चाहिँ मान्न सकिन्छ । यस तात्पर्यमा शर्मा यस प्रकारका व्यङ्ग्य सिर्जनाबाट श्यामव्यङ्ग्यकारका रूपमा नेपाली हास्यव्यङ्ग्यका क्षेत्रमा उदाएका छन् ।
‘नेपालको खेती’ निबन्धले नेपालमा हुने विशेष प्रकारको खेतीको व्यङ्ग्यात्मक चिरफार गरेको छ । कृषिप्रधान देश नेपाल हाल कुर्सीप्रधान देश भएको पोल खोल्दै लेखक जसरी पनि देश त प्रधान नै हुनुपर्छ भन्ने उल्लेख गर्दै नेपाल अहिले खडेरीप्रधान, पानीप्रधान, समारोहप्रधान, समुद्घाटनप्रधान, शिलान्यासप्रधान, फोहोरप्रधान, माछाप्रधान, भ्यागुताप्रधान आदि विविध रूपमा दुर्घटित भइरहन्छ भनेर छेड हान्छन् । कारण नेपालमै अनेक प्रकारका मूर्खतापूर्ण गतिविधि र क्रियाकलापहरू हुन्छन् । बहुदलीय नेताहरूले ध्वस्त र कङ्गाल पारेको नेपाललाई व्यङ्ग्यकार यसरी मर्मान्त बनाएर चित्रण गर्छन्, “देश प्रधान त हुनैपर्छ । चाहे त्यो गरिब देशहरूको प्रधान नै किन नहोस् ।” (पृ.९७) केही व्यक्ति–आक्षेपका रङहरू यस निबन्धमा पनि छरिएका छन् जो श्यामव्यङ्ग्यका रूपमा सृजित भएका मानिन्छन् । भन्नलाई कृषिप्रधान देश भनिए पनि नेपालका खेतीहरू विविध प्रकारका छन् भनेर लेखकले सशक्त व्यङ्ग्यको चाबुक प्रहार गरेका छन् । लेखकले सबैभन्दा प्रहार गरेको पहिलो व्यङ्ग्य नै यस्तो छ, ‘नेपालको प्रमुख खेती राजनीति हो ।’ यो खेती नेपालको जताततै, जहाँसुकै, जतिखेर, जोसँग र जसले पनि गर्न सक्छ । यसका लागि झन्डा नै उर्वर भूमि हो जो हरेक दलका, सङ्घसङ्गठनका जति पनि हुन सक्छन् । यसका लागि चुनाउ, हडताल, बन्द, धर्ना, विरोधसभा, जुलुस आदि अत्यन्त उर्वरक मलहरू हुन् । नेपालको दोस्रो खेती प्रजातन्त्र हो । प्रजातन्त्रको व्यापार गरेर नेताहरू मालामाल भएका छन् । प्रजातन्त्रमै हुर्कने एउटा जात भिडतन्त्र हो र यसबाट पनि प्रशस्त आम्दानी गर्न सकिने अवस्था नेपालमा मात्रै छ ।
तेस्रो खेती भाषण हो । परिश्रमपूर्वक काम गर्ने बानी छैन नेपालीको आजभोलि । भाषण छाँटेर कमाउनेहरूकै दिन बलियो छ नेपालमा किनकि ‘हिमाली क्षेत्रबाट बगेर आउने नदीहरूबाट सिञ्चित, गरिबी र अशिक्षाका प्रभावले मलिलो नेपाली माटो भाषणका खेतीका लागि उपयुक्त छ ।’ गरिब र अशिक्षित नेपालीहरूमाथि भाषणका भ्रमात्मक चारो छरेर जति पनि पैसा आदिको सिकार सजिलै गर्न सकिन्छ । काम गरिरहनुपर्दैन केवल नेताका भाषणमा ‘बताउनुभएको छ, भन्नुभएको छ र जोड दिनुभएको छ’ भनेर जनतालाई झुक्याई शोषण गर्ने मिठो लवज भए पुग्छ । यसरी असम्भव सपनाहरू बाँडेर जनता र देशको ढाड सेक्नमा भाषणबाज नेताहरू माहिर बनेका छन् । प्रजातन्त्र नामको देश र जनतालाई खोक्रो पार्ने अद्भुत कला यसैमा छ भनेर लेखकले महाढँटुवा बहुरूपी नेताहरू र तिनकै पिछलग्गु बनेर स्वाहा भएका जनताहरूको रुन्चे अनुहारमाथि व्यङ्ग्यको लाठो बजारेका छन् । नेपालीहरू अब परिश्रमी र इमानदार भनेर विश्वमा चिनिन छाडेका छन् । अर्को खेती आजभोलि अत्यन्तै सप्रेको छ, त्यो हो – वातावरण, पर्यावरण र प्रदूषणको खोक्रो नारा । यिनको नाम जप्दै थरीथरीका धुवाँदार भाषण ठोकेर डलरको उत्कृष्ट आम्दानी गर्न सकिन्छ ।
सहरबजारदेखि गाउँघरसम्म यसको व्यापार चल्ने ठाउँ हो । त्यसैले लेखक मिठो भाषामा व्यङ्ग्य बर्साउँछन्, “काठमाडौँको प्रदूषण हो । यो निर्यातयोग्य गुणस्तरीय छ । यसको समाचार निर्यात गरेर नेपालले डलर कमाउँछ । यसका प्रतापले दुईचार नेपालीले एक मानाको बन्दोबस्त गरे । तिनले प्रदूषणबाट नै घरसर बनाए र सूर्य चुरोट खाँदै छन् ।…यसको खेतीमा गोष्ठी, सेमिनार, वर्कसप आदि गर्नुपर्छ ।…सहयोग माग्नु्पर्छ ।…बाबुआमा बेचेर पनि नेपाललाई डलर चाहिएको छ । डलर ।” (पृ.१००–१०१) यसरी नेपालमा डलर कमाउने धन्दामा लागेर नेपालीहरू निर्वस्त्र हुँदै छन् र विश्वसामु मगन्ते बन्दै छन् भनेर लेखकले मुटु नै छेड्ने व्यङ्ग्यबाण हानेका छन् । बिग्रिएको संस्कार र सभ्यताको धज्जी उडाएका छन् । परमुखापेक्षी, अल्छी, गफाडी, श्रमहीन, पाश्चात्य संस्कृति र सभ्यताको दास, स्वपहिचान र स्वअस्तित्वको मूल्य र मान्यताबाट विमुख हुँदै गएको नेपाली समाजप्रति तीव्र व्यङ्ग्योपहास गरिएको छ । व्याजोक्ति, वक्रोक्ति, अतिशयोक्ति, उक्तिवैचिœय र स्थितिवैपरीत्यजस्ता व्यङ्ग्यप्रविधिको सहयोगले व्यङ्ग्यसन्धान गरिएको छ यसमा ।
‘पुरस्कार पाउनुको नमज्जा’ साहित्यिक विकृतिको उजागर गर्दै हानिएको सशक्त व्यङ्ग्य हो । यसमा लेखकले हास्यव्यङ्ग्यमा कहलिएको भैरव पुरस्कार पाउँदा आयोजित समर्पण समारोहमा भोगेको तितो यथार्थलाई व्यङ्ग्यको विषय बनाएका छन् । पुरस्कृत प्रतिभाको परिचय नै टापटिपे पाराले दिइएको, गहन रूपमा असली योगदानलाई चिनाउन नखोजेको, मोफसलको प्रतिभा भनेर हेपेको, आन्तरिक प्रतिभाभन्दा बाहिरी शारीरिक व्यक्तित्वलाई हेरेर हलुका टिप्पणी गरिएको, ईर्ष्या र प्रतिशोधको भावनाले जलनबोध गरेको, देशका साहित्यकार र नेपाली साहित्यका हास्यव्यङ्ग्यलाई कमसल र गुणस्तरहीन भन्ने तुच्छ प्रकृतिको मूल्याङ्कन गरिएको, प्रतिभालाई प्रोत्साहित गर्नुका सट्टा हतोत्साहित गरिएको र आफूलाई रद्दी हास्यव्यङ्ग्यकारमा दरिएको हुँदा लेखक त्यस्ता आयोजक, समालोचक र सभामा उपस्थित तथाकथित साहित्यकार भनाउँदालाई मज्जाले व्यङ्ग्यको कोर्राले हान्छन् ।
नेपाली साहित्यका समालोचक कस्ता छन् भन्नेबारे उनको उपहास्यात्मक किसिमले प्रकट गरेको व्यङ्ग्य छ, “बाठो नभई समालोचक भइन्न । कसलाई कति उचाल्नुपर्छ, कसलाई कति पछार्नुपर्छ, खुब विचार पुर्याउनुपर्छ समालोचकले ।…समालोचना पनि त्यति नै रद्दी…। तर पनि त्यति र त्यस्तो समालोचना गरेर जति पारिश्रमिक उहाँले समाउनुभयो त्यसले मलाई लेखक हुनुभन्दा त्यस्तै सूत्रात्मक नवीन अन्वेषणमूलक समालोचना गर्नु नै लेखनका स्वास्थ्यका लागि उपयुक्त लाग्यो । पैसा आउनुपर्छ, पुरस्कारबाट होस् कि पारिश्रमिक ।” (पृ.१०५) समालोचकहरू पैसाका लागि मात्रै बोल्छन् वा लेख्छन् भनेर त्यस्ता समालोचकको निकृष्ट वृत्तिको पोल खोलिदिएका छन् । साहित्यिक पुरस्कार वितरण समारोह अति नीरस र त्यहाँ बोलिने विचारहरू अर्थहीन तथा बकबास हुने भन्दै लेखकमा यथार्थमाथि कडा आलोचना गर्ने भूत सवार भएको छ, “लेखकलाई पुरस्कृत गरिँदाको समारोह यति नीरस – कतिले टिप्पणी गरे ।…जहिले पनि समारोहको झारा टार्ने कार्यक्रमभन्दा चियापान अर्थपूर्ण हुन्छ नेपालमा ।…बुद्धिमान्ले सभा–समारोहमा जानुको उद्देश्य नै चियापान हो भन्ने बुझ्नुपर्छ ।…आयोजक र समारोहका श्रोता सबैलाई थाहा थियो । प्रायः सबै भाषण यस्तै नीरस, अर्थहीन र बकबास हुन्छन् । भाषण गर्ने र सुन्ने सबैले बुझेका छौँ । आखिर सबै हामी यही ढाँटढुँट संस्कारमा हुर्केका छौँ ।” (पृ.१०७)
पुरस्कृत प्रतिभाले झेल्नुपर्ने आरोप जहिले पनि नातागोता र आफन्त भएर पाएको हो भन्ने हुन्छ । उसको योगदान र साधनाको मूल्याङ्कन गर्ने र हौसला भर्ने परिपाटी हाम्रो साहित्यिक परिवेश र समाजमा छैन । लेखकको यसप्रति सुन्दर कटाक्ष छ, “मेरा रचनाकर्मले वा रचनागत विशेषता वा नेपाली हास्यव्यङ्ग्य निबन्धमा मेरो बिसतिस वर्षको साधना केही रहेनछ । हुन पनि दुब्लो मान्छेको के योगदान ? के साधना ?” (पृ.१०८) लेखकले पुरस्कार पाउनुको नमज्जालाई हस्यौलीका पारामा यसरी समेटेका छन्, “नलेखेरै पुरस्कार पाएको, रद्दी लेखक भएर पनि पुरस्कार दिइएको, दयाले दिइएको, खनाल भएर खनालका सिफारिसमा परेको, भैरव अर्यालको परम्परा वहन नगरेकै भए पनि पुरस्कार दिइएको, दुब्लो मान्छेले पुरस्कार पाएको…। पुरस्कार पाउनैपर्ने के लेख्या’ छ र त्यसले ?” (पृ.१०८) यसरी नेपाली साहित्यका क्षेत्रमा व्याप्त विकृति र विसङ्गतिको डरलाग्दो खुलासा गर्दै त्यस्ता तुच्छ र हेय प्रवृत्तिमाथि वैपरीत्यको स्थापना, वक्रोक्ति, उक्तिवैचिœय, व्याजोक्ति, अतिरञ्जना, आत्मव्यङ्ग्य आदि व्यङ्ग्यप्रविधिद्वारा तीव्र व्यङ्ग्योक्ति सिर्जना गर्नु यस रचनाको मूल्यवान् पक्ष हो भने ल्याम्पुनको प्रयोगबाट श्यामव्यङ्ग्यको स्पर्श प्रदान गर्नु यसको अर्को उपलब्धि हो ।
‘नेपाली साहित्यमा शर्माहरू’ निबन्धमा शर्माहरूको साहित्यसाधना र नेपाली साहित्यमा त्यसले पुर्याएको योगदानका क्रममा देखिएका कमीकमजोरीलाई हास्यात्मक शैलीमा प्रस्तुत गरिएको छ । नेपाली समाजको साहित्यप्रतिको हाँसउठ्दो दृष्टिमाथि लेखक मजाले छेड हान्छन्, “साहित्य वा साहित्यकारभन्दा ठुला कुखुरा वा कुखुराका फुल वा खसीबँदेल होइनन् । तर नेपालमा धेरैले खसीबँदेललाई साहित्य ठानिरहेछन् ।…तिनले फुर्सद हुनेहरूले, काम नपाउनेहरूले गर्ने काम हो यो भन्ने निश्चित धारणा बनाएका छन् ।” (पृ.१०९) नेपाली साहित्यको सार नै शर्मा साहित्य हो भन्ने दाबीसहित प्रस्तुत गरिएको यस निबन्धमा शर्मालाई प्रसन्नता, आनन्द, खुसी, आशीर्वचनका रूपमा अर्थ्याउँदै ‘जसले विश्वसाहित्यका अगि नेपाली साहित्य र साहित्यकारका इज्जत, आबरु, लाज, शर्म, प्रतिष्ठा र नाक जोगाइराखेका छन् ती शर्मा हुन्’ भनिएको छ ।
वसन्त शर्मा जसले साहित्यमा वसन्त नामको ऋतु भित्र्याए । उनी भक्तिकाव्य लेख्ने भए पनि आँखा बढी राम्रा गोपिनीहरूतिर लगाउँथे । अर्का मोतीराम भट्ट शर्मा थिए जसले साहित्यमा सुन्दरता उमाल्ने शृङ्गार र रसिकता थपेर तहल्का मच्चाए । दाह्रीवाल धरणीधर शर्मा सुतुवा नेपालीलाई जगाउने साहित्यको शङ्खघोष गर्थे । धुरन्धर बालचन्द्र शर्माले रोयल नेपाल एकेडेमीको भाइस चान्सलर भएर साहित्यिक मठमन्दिर कब्जा गरी असाहित्यिक छन्दले चलाउने प्रवृत्ति हुर्काइदिए । उदारमना वासुदेव धेरै राजधानीवासीका आँखामा दुई पुस्तालाई रक्सी खान पुग्ने पैसा साहित्यका नाममा खेर फाल्ने मूर्ख हुन् । वासुदेवको चिनारीबाट राजधानीवासीको असली चरित्रमाथि डङ्का मारिएको छ । न्यायका तराजु रामकृष्ण शर्मा कडा समालोचनाद्वारा बाहिरी भाषासाहित्यका प्रभावमा नेपाली साहित्यलाई बिटुल्याउनेमाथि डन्डा बर्साउने साहस देखाउँथे । छापामार पाराका साहित्य रच्ने श्यामप्रसाद शर्मा साहित्यका चीन विभागीय प्रमुख हुन् । आगाका फिलिङ्गाजस्ता तारानाथ शर्मा गर्मीका आइसक्रिमजस्ता पनि हुन् जसले समालोचनाका हतियारले धेरै नेपाली साहित्यकार र कृतिका सिकार मात्रै गर्दैनन् प्रशंसा र निन्दा दुवैमा विद्यावारिधिझैँ भएर सिस्नाले डाम्नमा माहिर कहलिएका छन् ।
साहित्य र पत्रकारिताका महाबली घटोत्कच शर्मा पत्रकारितामा हात र साहित्यमा व्यङ्ग्यका लात एकसाथ हान्ने व्यक्तित्व हुन् । नेपाली साहित्यका शैली मोहनराज शर्माले मदन पुरस्कृत कृतिलाई यसरी प्रस्तुत गरे कि ‘नेपालीका धेरै साहित्यकार आफैँले नबुझ्ने लेखेर आफू धनी भए र साहित्यलाई पनि धनी बनाए’ भन्ने कथनलाई साबित हुने स्थिति तयार गरिदिए । नेपाली साहित्यको अत्याधुनिक प्रवृत्ति चिन्न, गति र विशेषता बुझ्न अध्येता र सर्जक शर्मालाई उनका समालोचना र सृजनामार्फत पढ्नैपर्ने हुन्छ । बेन्जु, कुन्ता र शारदा शर्मा त्यस्ता कुलका उच्च नारी शर्माहरू हुन् जसले पुरुषहरूभन्दा बढी क्रियाशीलता नेपाली साहित्यमा देखाएका छन् । पुछारमा आउँछन् चोलेश्वर शर्मा । चोलेश्वरले चोलेश्वरकै बारेमा आत्मव्यङ्ग्य प्रस्तुत गरेका छन् । मताहा किसिमको, यस्तै नामको अर्को नभएकाले नेपाली साहित्यमा अद्वितीय बनेको, समसामयिक नेपाली साहित्यको मूल प्रवृत्तिजस्तै केही नलेखेर पनि लेखेको हल्ला गर्ने प्रवृत्ति भएको, अरूलाई नगन्ने गुण र अहंभावको प्रवृत्ति नेपाली साहित्यमा विकास गर्न ठुलो योगदान दिएको र मोफसलमा बसेर नेपाली साहित्यको हास्यव्यङ्ग्यमा भाँडभैलो मच्चाउने खुबी र कमजोरी बोकेको भनेर चिनाएका छन् । उनको चिनारीसँगै उनले नेपाली साहित्यमा झ्याँगिएका दुर्गुणहरूमाथि दरिलो व्यङ्ग्यको प्रक्षेपण गरेका छन् । साथै यस्ता शर्माहरूका योगदानलाई नभुल्न र अझ सबल बनाएर नेपाली साहित्यलाई सशक्त बनाउन साथ दिन सबैलाई आग्रह गरेका छन् । यो रचना केही हास्य र केही व्यङ्ग्यको मिश्रणबाट तयार भएको छ र शर्माहरूको नेपाली साहित्यको विकासमा भएको विशिष्ट योगदानको आकलन गर्न समर्थ भएको छ । यो पनि ल्याम्पुनको प्रयोगबाट श्यामव्यङ्ग्य कोरल्ने सफल रचना बनेको छ ।
‘होटल श्रीराम : जनकपुर धाम’ निबन्धमा धार्मिक क्षेत्रमा व्याप्त विकृति र विसङ्गतिहरूको चिरफार गरी तिनमाथि धारिलो व्यङ्ग्य प्रहार गरिएको छ । मिथक र स्वैरकल्पनाको प्रयोगबाट हास्योक्ति र व्यङ्ग्योक्ति प्रकट गरिएको छ । राजा जनक, सीता, राम, लक्ष्मण, हनुमान् आदि मिथकीय पात्रसित जोडिएका प्रसङ्गहरूलाई अगि सारेर तिनमा आधुनिक परिवेश र गतिविधिहरू जोड्ने स्वैरकाल्पनिक प्रविधिको संयोजन गरी व्यङ्ग्यात्मक संरचना तयार गरिएको पाइन्छ । जनकपुरलाई ‘विवाहयोग्य कन्याहरू थोक रूपमा पाइने क्षेत्र’ भनेर छड्के हानिएको छ । ‘बजारबिचमा जाडाले कामिरहेका कविकोकिल विद्यापतिको हालत देखेर टिठ लाग्यो’ भनी मट्याङ्ग्र्रा हानिएको छ ।
स्वैरकाल्पनिक स्वरूप दिँदै पौराणिक राम नै होटल–मालिक बनेर बसेको देखाएर उनबाटै प्राप्त विवरणहरूबाट आजभोलि कसरी धार्मिक क्षेत्रहरू नै अनेकौँ काला धन्दाहरू सञ्चालन गरिने अखडा वा केन्द्र बन्दै छन् भन्ने खोलुवा दिइएको छ । बेथितिका केन्द्र धार्मिक क्षेत्रहरू बन्दै गएको पोल खोलिएको छ । यसै क्रममा नेपालको औषधोपचारको सन्दर्भ ल्याएर उच्चपदस्थहरू कसरी देशको सम्पत्तिमाथि रजाइँ गरिरहेका छन् र सोही बहानामा कसरी तस्करी आदिबाट आर्थिक–राजनीतिक विचलनहरू निम्त्याउँदै छन् भन्ने रहस्य पर्दाफास गरिएको छ, “आजभोलि नेपालमा माथिल्ला तहका सरकारी कर्मचारी, मन्त्री, राजनीतिकर्मीहरूलाई लुताको उपचार गर्न पनि अमेरिका जानुपर्छ ।…निहुँ मात्र हो औषधोपचार ।…फर्कँदा दुईचार किलो सुन र अलिकति बहुमूल्य वस्तु पनि ल्याऊँ कि प्रभु ?…होटलका लागि दुईचार क्रेट सोमरस ल्याउन अह्राएको छु ।…मदिराले स्वास्थ्य बनाउने इच्छा गर्ने नेपालीले पैसा फाल्न पनि पाउनुपर्यो ।” (पृ.११७) लेखकले यस्ता प्रसङ्गहरूबाट नेपालमा भारतीय तथा अन्य ठुलो पहुँच भएका शक्तिशाली विदेशीहरू नेपालमा आएर मिलेमा नागरिकता नै लिएर व्यापार–व्यवसाय गर्ने बहानामा बस्ने र अनेकौँ डरलाग्दा अवैध कारोबार सञ्चालन गरेर अकुत सम्पत्ति आर्जन गरी आफ्नै देशमा लैजाने गर्छन् भनेका हुन् ।
नेपालको अस्थिर, कमजोर, प्रजातन्त्रवादी भनाउँदो शासन–प्रशासनलाई विविध ढङ्गले आफ्नो कब्जामा पारी तिनीहरू त्यस्ता काला र आपराधिकसमेत ठानिने घृणित कारोबारहरू गरेर बस्छन्, लुट्छन् र नेपाल तथा नेपालीलाई सङ्कटमा पार्छन्, असुरक्षित बनाउँछन् । त्यसैले नेपालीहरू कति नीच, पतित र देशद्रोही हुँदै गएका छन् भन्ने कुरा यसरी बताइएको छ, “नेपालमा जननी र जन्मभूमिभन्दा सुन नै ठुलो छ । संसदीय प्रजातन्त्र छ भनिएको यस मुलुकमा सुन, सुरा र सुन्दरीमा नै सबै मूल्यहरू अडिएका छन् । मलाई पनि सुन र सुरा सङ्ग्रह गर्नुपर्ने बाध्यता भएको छ । नेपाली भइसकेपछि ।” (पृ.११८) जेमा पनि जहिले पनि यत्रतत्र सर्वत्र राजनीति मात्रै हुने देश भनेर लेखकले ‘राजनीतिप्रधान मुलुक’ भन्दै नेपालीहरूलाई झापड हाने । दलीय राजनीति हाबी भएकाले स्वतन्त्र उम्मेदवारले छलछाम नगरी चुनावमा भाग लिँदा हारेको प्रसङ्ग ल्याएर शुद्ध राजनीतिले कुनै जालझेल र षड्यन्त्र नगरी चुनाव जित्नै नसकिने ठहर गरिदिए ।
बेइमानी गरेर, भोट किनेर र गुन्डागर्दी गरेर मात्रै नेपालमा चुनाव जितिन्छ भन्ने बुझाउन हनुमान्ले गुन्डागर्दी र तोडफोड गर्दै चुनाव जित्ने लक्ष्यसहित राजधानी काठमाडौँतिर फड्को मारेको सन्दर्भ जोडिदिए । नेपालका नेताहरू र पार्टीहरू पूर्णतः विदेशपरस्त र राष्ट्रभक्तिप्रति उदासीन छन् भन्ने यथार्थ बुझाउँदै विदेशका स्वार्थका घोडा बनेकाहरूलाई मुड्क्याउन यसो भने, “नेपालका सबैजसो राजनीतिक दलहरूले नाम राख्न पनि देश हेर्दैनन्, विदेश हेर्छन् ।” (पृ.११८) उपद्रव र हिंसाबिना नेपालमा चुनाव जित्नै सकिँदैन भनेर देखावटी संसदीय प्रजातन्त्रको मुखुन्डो उतारिदिए । ‘प्यान्टकोट लगाएपछि स्त्री पुरुष त छुट्टिन्नन् आजभोलि’ भनेर नेपालीत्वलाई तिलाञ्जली दिई विदेशी संस्कृति र सभ्यताको अधीनमा जाँदै गरेको युवापिँढीको झाँको झारे । लागु औषधको व्यापार गर्ने साह्रै उर्वर र सुरक्षित स्थान बनेको नेपालको दुर्व्यसनमा लट्ठिँदो समाजलाई दुत्कारे, फड्कारे ।
धर्मका खोलभित्र जस्तोसुकै गलत र गन्जागोल गरेर भए पनि धर्मभीरु नेपालीहरू लट्ठ पारेर पैसा लुट्न विदेशी ठेकेदार, माफिया, शक्तिकेन्द्रका रिमोट कन्ट्रोलहरू नेपालमा रजगज गरेर बसेका छन् भन्ने भयावह वातावरणको सङ्केत लेखकले गरे, “मानिस ज्यादै धार्मिक छन् । धर्म वा धार्मिक विषयलाई आधार बनाएर, बल्छी बनाएर कारोबार, व्यवसायका माछा बल्झाउँछन् । अब श्रीराम होटल एन्ड रेस्त्राँ, सीता मोमो हाउस, रामायण मदिरालयम् खुल्दै छन् ।…राम नामले ठगहरूले कमाउँदै छन् भन्छन् ।” (पृ.११९) डलरको प्रलोभनमा पर्दै विदेशीको राजनीतिक र आर्थिक डालोमा नेपाल फँस्दै छ, शक्तिकेन्द्रको गोटी बनेर नेपालको भविष्यलाई तहसनहस पार्नमा श्रमिकका रूपमा जनशक्ति बिक्री गर्नमा उद्धत हुँदै छ भनेर यसको खतरनाक परिणाम देखिने सङ्केत पनि लेखकले गर्न भ्याए, “राजनीतिक दलहरू, विभिन्न देशका मैत्री–सङ्घ, समिति, श्रमिक आपूर्ति केन्द्रहरू र गैसस(एनजिओ) खोलेर आफ्ना शाखासन्तानलाई विदेश पठाउने र सुविधा उपभोग गर्ने, ग्रामीण जनतालाई सपना बाँडेर डलरको खेती गर्ने होडमा छन् ।” (पृ.११९)
जनकपुरका साधु, सन्त–महन्तहरू आधुनिक स्वरूपमा फेरिएका र बमबन्दुकसम्मका लडाइँमा सुरिएका सन्दर्भहरू ल्याएर नेपालमा नराम्रोसँग धर्मनाश, संस्कृतिध्वंस र सभ्यताच्युत भएको असङ्गतिको मार्मिक चित्रण गरे । खसीबोकाझैँ मोलमोलाइमा बेचिन तयार नेपाली संसदीय राजनीतिको चरम उपहास्य स्थितिलाई लेखकले भलिभाँती चित्रित गरे, “नेपाल रेकर्डका लागि हुरुक्क हुने मुलुक हो ।…नेपाली पत्रपत्रिकामा छापिएका छन् स्वनामधन्य सांसदहरू । अविश्वासका प्रस्तावका पक्षमा मतदान गर्नुअघि आआफ्ना मोल बुझ्दै छन् । यसले नेपालमा संसदीय प्रजातन्त्र छ र सांसदहरू मर्यादित छन्, सांसद हुन योग्य छन् भन्ने जानकारी विश्वलाई दिएका छन् । सके यो गिनिज बुक्समा रेकर्ड हुन्छ ।” (पृ.१२१) यसरी प्रशस्त संवादको प्रयोग गरी नाटकीय स्पर्श दिँदै नेपाली राजनीतिको अत्यन्त फोहोरी खेललाई हास्यास्पद स्वरूपमा चित्रण गरेर एक शक्तिशाली व्यङ्ग्यको सृजना व्यङ्ग्यकार शर्माले गरेका छन् । यसलाई पनि यस सङ्ग्रहको एक उत्कृष्ट हास्यव्यङ्ग्यका रूपमा बोध गर्न सकिन्छ ।
२. हास्यव्यङ्ग्यशिल्पको उपयोग
शर्माले आफ्ना हास्यव्यङ्ग्य रचनालाई प्रभावशाली बनाउन अनेक हास्यव्यङ्ग्य–प्रविधिलाई प्रयोग गरेका छन् । वक्रोक्ति वा अभिव्यङ्ग्य/व्यङ्ग्योक्ति उनको महत्वपूर्ण हास्यव्यङ्ग्यात्मक उपकरण बनेको छ । जहाँ बङ्ग्याएर घटना वा विषयलाई छुने गरी वर्णन गरेका छन् त्यहाँ वक्रोक्तिको सुन्दर उपस्थिति सङ्ग्रहभरि देखिएको छ ।
उक्तिवैचित्र्य वा वाग्वैदग्ध्य/वाग्विदग्धतालाई प्रयोग गर्ने व्यङ्ग्यकला उनमा छ । केही उदाहरणहरू हुन् – ‘स्वार्थ देवो भवः’ (पृ.१), ‘पुर्खाले आफू लुटिएर देश बचाएथे । हामीले देश लुटेर स्वार्थ बचाएका छौँ ।’ (पृ.१०) ‘हामीले जङ्गल चिनेनौँ र जङ्गली भयौँ ।’ (पृ.१०) ‘रुखलाई केवल काठका मुढाका हिसाबमा हेर्नेहरू मूढहरू नै हुन् ।’ (पृ.१०) ‘बादलमाथि बसेको एक सहर’ (पृ.११), ‘यत्रतत्र घुमिरहने गौका मातापिता र कुकुरका भाइबहिनीहरू’ (पृ.११), ‘युद्धमा ध्वस्त भएको देशको छातीजस्तो । जितेर पनि हारेजस्तो । जिउँदै कसैले मारेजस्तो ।’ (पृ.१५)
अतिशयोक्ति वा अतिरञ्जनाको प्रयोगबाट व्यङ्ग्य गर्नु उनको विशेष कला देखिन्छ । एक उदाहरण – ‘बाटामा हिँड्नेलाई चिप्लिएर लड्न पर्याप्त सुविधा हुने गरी घरबाट हुत्याइएका फोहोरका पोकाहरू ।’
प्यारोडीको सृजनाले व्यङ्ग्यको मट्याङ्ग्रो हान्न उनी सिपालु देखिन्छन् । उदाहरणका लागि ‘स्वार्थ देवो भवः’ (पृ.१) जो मातृदेवो भवः, पितृदेवो भवः, आचार्यदेवो भवः भनेझैँ प्यारोडीमा प्रयुक्त भएको छ ।
स्थितिवैपरीत्य वा परिस्थितिविपरीतताबाट व्यङ्ग्यबाण हान्नमा पनि उनी विशेष लाग्छन् । सोचिन्छ एक थोक तर भइदिन्छ अर्को थोक अनौठोसँग । यस्ता वैपरीत्यबाट व्यङ्ग्य सिर्जना भएका उदाहरणहरू कृतिभरि पाइन्छन् ।
अनौपचारिक शैलीको मोहकताले पनि व्यङ्ग्यको सिर्जनामा सहकारी भूमिका खेलेको पाइन्छ । व्यक्तिले सँगै रहेको अर्को व्यक्तिसँग कुरा गरेजस्तै गरी बडो आत्मीयता गाँसेर भन्नु शर्माको व्यङ्ग्य प्रक्षेपणको विशेषता नै हो । नमुनाका लागि केही उदाहरणहरू –
(१) ‘तपाईँलाई बताऊँ ? तपाईँको पनि त नियत ठिक छैन । पछि लाग्नुभो भने ? तपाईँ होइन अस्ति भाउजूसँग छिः नभनूँ । तपाईँले बुझ्नुभो – मैले बुझेँ । – अनि तिमी ? तिमी पनि त श्रीमान्ले एक आखर कठोर वचन भन्दा सरासर घरबाहिर सन्तोषका खोजमा निस्केकी ? हैन र ? तिमीलाई हामीले चिनेका छैनौँ र ? भो बाबा दुवैलाई लैजान्नँ ।’ (पृ.५)
(२) ‘चोट लाग्छ तपाईँलाई ? हो ? यस्तो सुन्दा ? गजबको कुरो गर्नुभयो । तपाईँमा चोटको अनुभूति ग्रहण गर्ने अङ्गहरू अझै सजीव र संवेदनशील छन् ? चोट लाग्ने ठाउँ छ त अझै तपाईँको ? छ हगि ? ओहो ! भाग्यमानी ।’ (पृ.५)
नेपाली वा हिन्दी आदि भाषाका सारगर्भित उखानहरूको सान्दर्भिक प्रयोगले व्यङ्ग्यहरू चोटिला बनाउने कला छ । केही नमुना – माछो माछो भ्यागुतो, काम गर्ने हनुमान् जस पाउने ढेडु, पायजामे के अन्दर सभी नंगे होते हैं, सौ चूहे खा बिल्ली हज को चली, ऋणं कृत्वा घृतं पिवेत् ।
स्वैरकल्पना/उपकथा जोड्ने शैली तथा मिथकहरूको प्रयोगद्वारा पनि व्यङ्ग्य ध्वनित गर्छन् । यो नमुना हेर्दा थाहा हुन्छ – ‘प्रकृतिले नेपाललाई प्रचुर वनसम्पदा दिएर नेपालीका हातमा सुनको फुल पार्ने कुखुरो दिएथ्यो । तर दिनको एउटा फुल पर्खनुको सट्टा कुखुरो नै मारेर सुनका फुलले रातारात लखपति बन्ने लोभमा हामी पछुताएका छौँ ।’ (पृ.१०)
सन्दर्भसूची
पन्थ, टङ्कप्रसाद, सन् २०२३, ‘सगरमाथा एक पहाडको नाम होइन निबन्धसङ्ग्रहमा व्यङ्ग्य’, त्रिभुवन जर्नल, भोल. २,
अङ्क १, पृ. १०६–११६ ।
प्रधान, प्रमोद, २०६६, नेपाली निबन्धको इतिहास, काठमाडौँ : रत्न पुस्तक भण्डार ।
शर्मा, चोलेश्वर, २०७९, सगरमाथा एक पहाडको नाम होइन, काठमाडौँ : अर्किड बुक्स ।
०००
ललितपुर
Subscribe
Login
0 Comments
Oldest






































