साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उत्तर हराएको देशमा प्रश्न उद्योगको उज्ज्वल भविष्य

म यो लेख यतिमै टुङ्ग्याउन चाहन्थेँ । तर मनमा अर्को प्रश्न उठेको छ । यो लेख सकियो भन्ने प्रमाण के हो ? त्यसको उत्तर खोज्न फेरि अर्को लेख लेख्नुपर्ने त होइन ?

Nepal Telecom ad

दामोदर न्यौपाने :

(न्यायदर्शन, प्रतिप्रश्न र हाम्रो बौद्धिक प्रगतिको कथा)

केही समयअघि एउटा कार्यक्रममा सहभागी हुने अवसर मिलेको थियो । कार्यक्रमको विषय गम्भीर थियो । वक्ता गम्भीर थिए । श्रोता पनि गम्भीर देखिन्थे । यति गम्भीर वातावरण थियो कि मुस्कुराउनुअघि पनि अनुमति लिनुपर्लाजस्तो लाग्थ्यो ।

कार्यक्रम सकिनै लाग्दा प्रश्नोत्तर सत्र सुरु भयो । मलाई लाग्यो अब केही संशय मेटिनेछन् । तर म गलत रहेछु ।
पहिलो सहभागी उठे र भने, मेरो एउटा सानो प्रश्न छ ।
नेपालमा समस्या प्रायः यस्तै वाक्यबाट सुरु हुन्छ ।
उहाँले प्रश्न सोध्नुभयो । वक्ताले उत्तर दिन मुख खोलेकै थिए, अर्को सहभागी उठे ।

“त्यस प्रश्नभन्दा अघि एउटा प्रश्न सोध्नुपर्ने देख्छु ।”
अर्का सज्जनले थपे, “मूल प्रश्न नै प्रश्नयोग्य छ ।”
तेस्रा उठे, “हामीले प्रश्नलाई पनि प्रश्न गर्नुपर्छ ।”
चौथाले भने, “यो प्रश्न कसले निर्माण गर्यो् भन्ने प्रश्न अझ महत्त्वपूर्ण छ ।”

यसपछि वक्ताले पानी पिए । मैले पनि पानी पिएँ । केहीबेरपछि प्रश्नको मूल लेखक नै कुन प्रश्नबाट कार्यक्रम सुरु भएको थियो भनेर सम्झने प्रयास गरिरहेका देखिन्थे ।

त्यस दिन पहिलोपटक मलाई लाग्यो, हामी प्रश्न सोध्ने समाज हौँ कि प्रश्न उत्पादन गर्ने समाज ?
बाल्यकालदेखि हामीलाई जिज्ञासु बन्न सिकाइयो । गुरुजनले प्रश्न गर भन्थे । विद्यालयले प्रश्नपत्र दिन्थ्यो । विश्वविद्यालयले अनुसन्धानका प्रश्न खोज्न सिकायो । धर्मशास्त्र र दर्शनले पनि प्रश्नको महत्त्व बतायो ।
अर्जुनले प्रश्न गरेपछि गीता जन्मियो । उपनिषद्मा प्रश्नकै आधारमा ज्ञानको विस्तार भयो । महर्षि पिप्पलादकहाँ पुगेका शिष्यहरूले प्रश्न गरेपछि प्रश्नोपनिषद्को निर्माण भयो ।

हाम्रो परम्पराले प्रश्नलाई सम्मान गर्योो । तर एउटा कुरा कहिल्यै बिर्सेन । प्रश्नको उद्देश्य उत्तरसम्म पुग्नु थियो ।
आज प्रश्न बाँचेको छ । उत्तर हराउन थालेको छ ।
पहिले मानिस प्रश्न गर्थे किनभने उनीहरू केही जान्न चाहन्थे । अहिले धेरैजसो मानिस प्रश्न गर्छन् किनभने उनीहरू अर्को प्रश्न जन्माउन चाहन्छन् ।

अहिलेको समाजमा उत्तर दिनु जोखिमपूर्ण काम भएको छ । उत्तर दिएपछि त्यसलाई गलत सावित गर्न सकिन्छ । तर प्रश्न सोधिरह्यो भने बौद्धिक देखिन पाइन्छ ।
एक जना साथीसँग मेरो यस्तै अनुभव भयो ।
मैले सोधेँ, “प्रश्नलालजी, यहाँको घरको काम कहाँसम्म पुग्यो ?”
उनले मलाई हेरेर भने, “घर भन्नाले केलाई भन्न खोज्नुभयो ?”
मैले सम्झाएँ, “मानिस बस्ने घर ।”
उनी सन्तुष्ट भएनन् ।
भने, “मानिस को हो ?”
मैले उत्तर दिन खोजेँ ।
उनी फेरि बोले, “बस्नु भनेको के हो ?”

त्यसपछि मैले घरको कुरा नै छाडिदिएँ । घर नबनेको कुरा स्वीकार गर्न सजिलो थियो, तर घरको दार्शनिक परिभाषा खोज्नु अलि कठिन पर्यो ।

महर्षि गौतमले न्यायदर्शनमा सोह्र पदार्थको चर्चा गरेका छन् । प्रमाण, प्रमेय, संशय, प्रयोजन, दृष्टान्त, सिद्धान्त, अवयव, तर्क, निर्णय, वाद, जल्प, वितण्डा, हेत्वाभाष, छल, जाति र निग्रहस्थानजस्ता अवधारणाले न्यायशास्त्रको आधार निर्माण गर्छन् ।

मलाई कहिलेकाहीँ लाग्छ, यदि उहाँ आजका टेलिभिजन बहस र सामाजिक सञ्जाल हेर्न जीवित हुनुभएको भए न्यायसूत्रमा केही संशोधन अवश्य गर्नुहुन्थ्यो ।
किनभने हामीले संशयको क्षेत्रमा उल्लेखनीय प्रगति गरेका छौँ ।

न्यायदर्शनले संशयलाई अनुसन्धानको प्रारम्भ मान्छ । हामीले त्यसलाई अनुसन्धानको अन्तिम गन्तव्य बनाएका छौँ ।
पहिले संशयबाट निर्णयतर्फ यात्रा हुन्थ्यो । अहिले निर्णयबाट संशयतर्फ फर्कने चलन बढेको छ ।
कसैले एउटा तथ्य प्रस्तुत गर्योध भने तुरुन्त अर्को प्रश्न आउँछ । त्यसको उत्तर आयो भने अर्को प्रश्न जन्मिन्छ । त्यो पनि समाधान भयो भने अर्को ।

यसरी प्रश्नहरू यति प्रजननशील भएका छन् कि कतिपय बेला उत्तर बिचरा लोपोन्मुख प्रजातिजस्तो देखिन्छ ।
आजकल उत्तर दिने मानिस र गैंडाको अवस्था उस्तै हुँदै गएको छ । दुवै भेटिन कठिन छन् । कतै कसैले सीधा उत्तर दिइहाल्यो भने मानिसहरू शङ्काले हेर्न थाल्छन् । यति छिटो उत्तर कसरी आयो ? पक्कै पर्याप्त अध्ययन पुगेन कि ? पर्याप्त जटिल शब्द प्रयोग भएनन् कि ? पर्याप्त प्रतिप्रश्न उठेनन् कि ? उत्तर जति सरल भयो, त्यति नै शङ्कास्पद देखिन थालेको छ । बरु प्रश्नभित्र प्रश्न र त्यसभित्र अर्को प्रश्न राख्न सकियो भने व्यक्ति विद्वान् ठहरिन्छ ।
हाम्रो समाजमा एउटा रोचक वर्ग विकसित भएको छ । उनीहरूलाई म प्रतिप्रश्नविशेषज्ञ भन्छु ।

यिनीहरूको विशेषता के छ भने उनीहरू कुनै पनि विषयमा प्रत्यक्ष उत्तर दिँदैनन् । उत्तर दिनुभन्दा पहिला उत्तरको औचित्यमाथि प्रश्न उठाउँछन् ।
एकपटक कसैले सोध्यो, भ्रष्टाचार किन बढिरहेको छ ?
उत्तर आउला भन्ने आशा थियो ।
तर प्रश्न सुन्नासाथ एक विद्वान्ले प्रतिप्रश्न गर्नुभयो, “पहिले भ्रष्टाचारको दार्शनिक परिभाषा तय गरौँ ।”
अर्काले थपे, “भ्रष्टाचारलाई ऐतिहासिक सन्दर्भमा बुझ्नुपर्छ ।”
तेस्राले भने, “भ्रष्टाचारलाई पश्चिमी अवधारणाले मात्र बुझ्न मिल्दैन ।”
चौथाले भने, “भ्रष्टाचारको प्रश्नभन्दा भ्रष्टाचारबारे प्रश्न गर्ने अधिकार कसलाई छ भन्ने प्रश्न महत्त्वपूर्ण छ ।”
यतिबेलासम्म भ्रष्टाचार खुसी भएको हुनुपर्छ किनभने कसैले उसलाई रोक्ने प्रयत्न गरिरहेको थिएन ।

यस्तै एउटा गाउँको सभा सम्झन्छु ।
एक जना वृद्धले धेरै सरल प्रश्न सोधे, सडक किन बनेन ?
यो प्रश्न सामान्य थियो । उत्तर पनि सामान्य हुन सक्थ्यो ।
तर सभामा उपस्थित एक जना चिन्तकले विषयको स्तर उकास्ने प्रयास गर्नुभयो ।
“के सडक बन्नु मात्र विकास हो ?”
वृद्ध अलमलिए ।
चिन्तकले उत्साहपूर्वक अर्को प्रश्न थपे, “विकासको परिभाषा के हो ?”
त्यसपछि विकास, आधुनिकता, उपभोक्तावाद, विश्वीकरण र जलवायु संकट हुँदै चर्चा कहाँ पुग्यो, थाहा भएन ।
सभा सकियो ।
सडक बनेन ।
तर हामी सबै विकासबारे धेरै जानकार भएर घर फर्कियौँ ।
सडकले त्यस दिन पनि धैर्यपूर्वक आफ्नो पालो कुरिरह्यो ।

वृद्धले अन्त्यमा निराश हुँदै भने, “हजुरहरू विकासको परिभाषा टुङ्ग्याइरहनुस्, म त हिलाम्मे बाटो हुँदै घर जान्छु ।”
तर उहाँको भनाइ खासै सुनिएन । किनभने त्यतिबेलासम्म सभा विकासको परिभाषाबाट सभ्यताको उत्पत्ति हुँदै मानव चेतनाको भविष्यतिर प्रवेश गरिसकेको थियो ।

पूर्वीय न्याय दर्शनको वाद परम्परामा एउटा रोचक कुरा थियो । बहसको उद्देश्य जित्नु मात्र होइन, सत्यसम्म पुग्नु पनि थियो । आफू गलत सावित भए स्वीकार गर्न सकिन्थ्यो । विचार परिवर्तन गर्न लाज मानिँदैनथ्यो ।
आजको अवस्था केही फरक छ ।

आज बहसमा पराजित हुनुभन्दा इन्टरनेट नचल्नु कम पीडादायी ठानिन सक्छ ।
बहसको अन्त्यमा कसैले “तपाईं सही हुनुहुँदो रहेछ” भनेको सुन्नु आजकल दुर्लभ घटना हो ।
बरु हामी नयाँ रणनीति निकाल्छौँ ।
तथ्य बलियो भए विषय फेरौँ । विषय बलियो भए सन्दर्भ फेरौँ । सन्दर्भ बलियो भए भाषाको अर्थ फेरौँ । त्यो पनि काम लागेन भने अर्को प्रश्न सोधौँ ।

यसरी बहस जोगाउन नसके पनि बहस चलाइराख्न सकिन्छ ।
सामाजिक सञ्जाल त यस कलाको खुला विश्वविद्यालय नै हो ।
कसैले लेख्छ, आज पानी पर्यो ।
तुरुन्त प्रतिक्रिया आउँछ, पानी भन्नाले केलाई बुझ्नुभयो ?
अर्काले लेख्छ, यसको स्रोत के हो ?
तेस्रोले भन्छ, पहिलेका सरकारले के गरिरहेका थिए ?
चौथोले टिप्पणी गर्छ, यो विषयलाई वर्गीय दृष्टिकोणबाट हेर्नुपर्छ ।
पाँचौँले भन्छ, समस्या पानी होइन, मानसिकता हो ।
छैटौँले घोषणा गर्छ, यो सबै अन्तर्राष्ट्रिय षड्यन्त्र हो ।

यसबीच मूल लेखक झ्यालबाट झरिरहेको वर्षा हेरिरहेका हुन्छन् । उनलाई पानी परेको कुरा सुनाउँदा यत्रो बौद्धिक आन्दोलन सुरु होला भन्ने सायद अनुमान थिएन ।
यतिसम्म हुँदाहुँदै सातौँ व्यक्तिले लेख्छ, “म यो विषयमा केही बोल्न चाहन्नँ ।”
त्यसपछि दुई सयवटा टिप्पणी आउँछन् ।
“किन बोल्न चाहनुभएन ?”
“नबोल्नुको पनि कुनै राजनीतिक अर्थ छ कि ?”
“तपाईंको मौनता केको समर्थन हो ?”

अन्त्यमा आफू केही बोल्न नचाहेको व्यक्तिले नै जीवनको सबैभन्दा लामो बहसमा सहभागी हुनुपर्छ ।
न्यायदर्शनले जल्प र वितण्डाको पनि चर्चा गर्छ ।
जल्पमा व्यक्ति आफ्नो पक्ष जित्न चाहन्छ । वितण्डामा आफ्नै पक्ष कमजोर भए पनि अर्काको पक्ष भत्काउन खोजिन्छ ।
मलाई लाग्छ, यी दुवै अवधारणा आज पनि अत्यन्त स्वस्थ र सक्रिय अवस्थामा छन् । कतिपय ठाउँमा त आवश्यकताभन्दा बढी सक्रिय छन् ।

कहिलेकाहीँ बहस हेर्दा लाग्छ, सहभागीहरू सत्य खोज्न होइन, एकअर्कालाई उत्तर नदिन आएका हुन् ।
उत्तर मिल्यो भने बहस सकिन्छ । बहस सकियो भने कार्यक्रम सकिन्छ । कार्यक्रम सकियो भने नयाँ प्रश्न कहाँ जन्मिन्छ ?
यसैले प्रश्नलाई जीवित राख्नुपर्छ । उत्तरबाट जोगाउनुपर्छ ।

हिजोको समाजमा ज्ञानी मानिसलाई उत्तर थाहा हुन्थ्यो । आजको समाजमा ज्ञानी मानिसले उत्तर दिए पनि नदिए पनि खास फरक पर्दैन । तर प्रश्नलाई थप जटिल बनाउन सक्नुपर्छ । यस अर्थमा हेर्दा हामीले ज्ञानको क्षेत्रमा कति प्रगति गर्यौँ भन्ने बहसको विषय हुन सक्छ, तर प्रश्न व्यवस्थापनको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेकोमा भने कुनै विवाद छैन ।

यो सब लेखिरहँदा प्रश्नोपनिषद्को कथा सम्झना आइरहेको छ । महर्षि पिप्पलादले शिष्यलाई एक वर्ष तपस्या गर्न लगाएर मात्र प्रश्न सोध्न अनुमति दिनुभयो ।
यो व्यवस्था अहिले पनि अत्यन्त उपयोगी हुन सक्थ्यो ।
सामाजिक सञ्जालमा टिप्पणी गर्नुअघि एक महिना मौनव्रत बस्नुपर्ने नियम बनाइयो भने कस्तो हुन्थ्यो ?
टेलिभिजन बहसमा सहभागी हुनुअघि कम्तीमा सात दिन ध्यान गर्नुपर्ने व्यवस्था गरियो भने कस्तो हुन्थ्यो ?
एक वर्ष होइन, एक हप्ता मात्र पर्खनुपर्योन भने पनि धेरै प्रश्नहरू प्राकृतिक रूपमा मोक्ष प्राप्त गर्थे कि जस्तो लाग्छ ।
अन्त्यमा फेरि त्यही विचारमा फर्कन्छु ।

प्रश्न आफैँमा समस्या होइन । सभ्यता प्रश्नबाटै अघि बढेको हो ।
समस्या त्यहाँ सुरु हुन्छ, जहाँ प्रश्नले उत्तर खोज्ने बाटो छाडेर उत्तरबाट भाग्ने साधनको रूप लिन थाल्छ ।
जहाँ प्रमाणभन्दा अहङ्कार ठूलो हुन्छ । जहाँ निर्णयभन्दा अनिर्णय प्रिय हुन्छ । जहाँ संशय अनुसन्धानको सुरुआत होइन, स्थायी बसोबास बन्छ ।

त्यसैले आजको सबैभन्दा गम्भीर प्रश्न सायद यही हो ।
हामी साँच्चै उत्तर खोजिरहेका छौँ कि केवल नयाँ प्रश्न उत्पादन गरिरहेका छौँ ?
म यो लेख यतिमै टुङ्ग्याउन चाहन्थेँ । तर मनमा अर्को प्रश्न उठेको छ ।
यो लेख सकियो भन्ने प्रमाण के हो ?
त्यसको उत्तर खोज्न फेरि अर्को लेख लेख्नुपर्ने त होइन ?
जे भए पनि सबै प्रश्नकर्ताहरूको जय होस् । उत्तरदाताहरू दुर्लभ सम्पदाका रूपमा संरक्षित रहून् ।

०००
जनकपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फोकटलालको ज्ञानोपदेश

फोकटलालको ज्ञानोपदेश

दामाेदर न्याैपाने
उखान, इख र अङ्कलको टिभी

उखान, इख र अङ्कलको...

दामाेदर न्याैपाने
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
आरती हात्ती र पुरस्कार खेती

आरती हात्ती र पुरस्कार...

चिरञ्जीवी दाहाल
स्वर्ग पुगेपछि 

स्वर्ग पुगेपछि 

कृष्ण शर्मा सुमु
झर्ला र खाउँला !

झर्ला र खाउँला !

डा. विदुर चालिसे
प्रतिवाद

प्रतिवाद

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x