साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दशैँको ‘दशा’ : घटस्थापनादेखि खल्ती-साफसम्मको जात्रा

तर समस्या यही छ, अरूको अनुहार हेर्न हामीलाई फुर्सद छ, आफ्नो अनुहार हेर्न भने दशैँपछि पनि समय मिल्दैन ।

Nepal Telecom ad

दामोदर न्यौपाने :

दशैँ आयो । आकाश नीलो भयो, खेतमा धान झुल्यो, बाटामा धुलो उड्यो र बजारमा मान्छे उर्लिए । गाउँमा पिङ हाल्न बाँस खोजिँदै छ, सहरमा ब्रान्ड खोजिँदै छ । कतै जमरा राख्ने ठाउँ सफा गरिँदै छ, कतै ऋण खोज्ने मान्छेले साहुको ढोका ढकढक्याउँदै छ । देवीको आगमनको तयारी चल्दै छ । महिषासुरको वध गर्ने पर्वमा यसपालि कसको वध हुने हो, त्यो भने दशैँ सकिएपछि मात्र थाहा हुनेछ । अहिलेलाई यति बुझौँ, देवीले असुर मार्ने तयारी गर्दै छिन्, हामीचाहिँ खल्ती मार्ने तयारीमा छौँ ।

दशैँ हाम्रो महान् चाड हो । महान् यस अर्थमा कि अरू बेला गर्न नसकेका खर्च यही बेला गर्न सकिन्छ, वर्षभरि नभेटेका आफन्त यही बेला भेटिन्छन्, वर्षभरि नदेखाएको सम्पन्नता यही बेला देखाउन पाइन्छ र वर्षभरि लुकाएको ऋण पनि यही बेला थप्न सकिन्छ । दशैँले नेपालीलाई खुसी हुने अवसर दिन्छ । त्यो खुसीको मूल्य कति पर्छ भन्नेचाहिँ बैंकको किस्ता आउने दिन थाहा हुन्छ ।

हिजो दशैँ आउँदा बालबालिकाले पिङ खोज्थे । आजकल पिङभन्दा पहिले इन्टरनेटमा नयाँ मोबाइलको मूल्य खोजिन्छ । हिजो घरमा जमरा राख्न माटो र जौ जुटाइन्थ्यो । आजकल घरमा कति इन्चको टेलिभिजन राख्ने भन्ने छलफल हुन्छ । हिजो बाटोभरि आफन्त भेटिन्थे । आजकल बाटोभरि ट्राफिक जाम भेटिन्छ । परिवर्तन भनेको यही हो । संस्कृतिको विकास भएको हो कि संस्कृतिको नाममा खर्च गर्ने प्रविधिको विकास भएको हो, त्यो छुट्याउने फुर्सद कसलाई छ र !

१. नयाँ लुगा, पुरानै ऋण
दशैँ आउन नपाउँदै बजारमा सेल सुरु हुन्छ । पसलेको अनुहारमा मुस्कान आउँछ, ग्राहकको अनुहारमा उत्साह र खल्तीमा भूकम्प । ‘पचास प्रतिशत छुट’ लेखिएको बोर्ड देखेपछि मानिसलाई आफूले आधा पैसा बचाएको भ्रम हुन्छ । सामान नकिन्दा सय प्रतिशत पैसा बचत हुन्थ्यो भन्ने सामान्य हिसाबचाहिँ पसलभित्र पसिसकेपछि बिर्सिइन्छ ।
एक जना मित्र बजारबाट फर्किए । हातमा तीनवटा झोला थिए, अनुहारमा चारवटा खुसी र खल्तीमा एउटा पनि नोट थिएन । ‘के किनेर ल्याउनुभयो ?’ मैले सोधेँ । ‘बच्चालाई लुगा, श्रीमतीलाई सारी, आफूलाई जुत्ता । सबैमा छुट थियो ।’ ‘कति खर्च भयो ?’‘त्यो नसोध्नुस् । छुट कति पाइयो, त्यो सोध्नुस् ।’

मित्रको अर्थशास्त्र गजबको थियो । खर्चको हिसाब राख्दा दुःख लाग्छ, छुटको हिसाब राख्दा गर्व लाग्छ । ऋण लिएर किनेको सामानमा छुट पाएपछि ऋण पनि सस्तो भएको अनुभूति हुँदो रहेछ ।

उनकी श्रीमतीले पनि कम खर्च गरिनन् । छिमेकीको बुहारीले सुनको नयाँ सिक्री किनेको खबर पाएपछि आफ्नी बुहारीको पुरानो सिक्री अचानक पुरानो विचारजस्तो लाग्न थालेछ । घरमा सुनको अभाव थिएन, तुलना गर्ने अवसरको अभाव थियो । अब त्यो अभाव पूरा गर्नुपर्ने भयो ।

‘अरूले के भन्लान् ?’ भन्ने प्रश्नले नेपाली समाजमा जति घर बनाएको छ, त्यति घर बनाउन इँटा र सिमेन्टले पनि सकेका छैनन् । अरूले के भन्लान् भनेर घरमा नयाँ रङ लगाइन्छ, नयाँ सोफा किनिन्छ, नयाँ पर्दा झुन्ड्याइन्छ । घरको भित्तो टल्किन्छ, भित्ताभित्रको तनाव कसैलाइ पत्तो हुँदैन ।

दशैँ सकिएपछि नयाँ कपडा दराजमा थन्किन्छन्, बिल दराजबाट बाहिर निस्कन्छन् । पसलमा तिरेको पैसा सकिन्छ, बैंकमा तिर्नुपर्ने पैसा बाँकी रहन्छ । घरको बैठकमा पाहुनाले प्रशंसा गरेर गएका हुन्छन्, ऋण दिने साहुले हिसाब लिएर आउने दिन गनेको हुन्छ ।

दशैँमा मानिसले आफ्नो हैसियतअनुसार खर्च गर्दैन । अरूले आफ्नो हैसियतबारे के सोचून् भन्ने अनुमानअनुसार खर्च गर्छ । यही अनुमान नेपाली अर्थतन्त्रको एउटा अदृश्य कर हो । सरकारले उठाउँदैन, समाजले उठाउँछ । रसिद दिँदैन, तर किस्ता चाहिँ आफैँले तिर्नुपर्छ ।

२. आशीर्वादको दररेट
दशैँको अर्को विशेषता टीका र आशीर्वाद हो । मान्यजनको हातबाट टीका लगाउने, जमरा ग्रहण गर्ने र सुख, शान्ति तथा दीर्घायुको कामना गर्ने परम्परा हाम्रो सामाजिक आत्मीयताको सुन्दर पक्ष हो । तर परम्परामा जब दक्षिणाको प्रवेश हुन्छ, आशीर्वादको अर्थतन्त्र पनि सुरु हुन्छ ।

टीका लगाउने बालक हजुरबुबाको अगाडि शिर झुकाउँछ । हजुरबुबा मन्त्र पढ्नुहुन्छ, जमरा लगाइदिनुहुन्छ र आशीर्वाद दिनुहुन्छ । बालकको शिर त झुकेको हुन्छ, आँखा भने हजुरबुबाको हातमा हुन्छ । मन्त्र सकिएपछि हात अघि बढ्छ । नोट हातमा परेपछि बालकको अनुहारमा आएको चमकले आशीर्वादको प्रभाव तत्कालै प्रमाणित गरिदिन्छ ।

पाँच सयको नोट आयो भने हजुरबुबा महान् । सयको आयो भने हजुरबुबा मितव्ययी । नोट आएन भने हजुरबुबाको आर्थिक अवस्था बुझ्नुपर्ने हुन्छ । आशीर्वाद दिने मान्छेको मूल्य उसको उमेर, अनुभव र स्नेहले होइन, दक्षिणाको दरले मापन हुन थालेपछि हाम्रो संस्कारले पनि बजारको भाषा सिकिसकेको रहेछ ।
कुनै घरमा टीका लगाएर फर्केको बालकले साथीलाई सोध्यो, ‘तँले कति पाइस् ?’
साथीले भन्यो, ‘एक हजार ।’
‘मेरो त पाँच सय मात्रै ।’

त्यस दिनदेखि दुई बालकको मित्रतामा पाँच सयको खाडल पर्यो । एक हजार पाउनेको हजुरबुबा धनी भए, पाँच सय पाउनेको हजुरबुबा गरिब भए । उमेर, माया र अनुभव सबै नोटको पछाडि उभिएर आफ्नो पालो पर्खन थाले ।
अब दक्षिणा डिजिटल हुँदै छ । खाममा नोट राख्नुपर्ने झन्झट पनि किन ? क्यूआर कोड देखाउनुस्, स्क्यान गर्नुस्, आशीर्वादको रकम सीधै खातामा । प्रविधि अघि बढेको छ । अब नाति हजुरबुबाको घरमा टीका लगाउन जाँदा ‘हजुरबुबा, आशीर्वाद दिनुहोस्’ भन्दा पहिले ‘हजुरबुबा, तपाईंको मोबाइल बैंकिङ चल्छ ?’ भनेर सोध्ने दिन टाढा छैन ।
दक्षिणा दिन नसक्ने आफन्तको घरमा जान समय मिल्दैन । दिने क्षमता भएका आफन्तको घरमा भने समय आफैँ मिलेर आउँछ । नाता उही हो, पात्र उही हुन्, फरक दक्षिणाको सम्भावनामा छ । हामीले सम्बन्धलाई कति सस्तो बनायौँ भने एउटा खामले आत्मीयता नाप्न थाल्यौँ ।

३. मामाघरको बाटोमा घाँस, ससुरालीको बाटोमा कालोपत्रे
दशैँको अर्को जात्रा आफन्त भेट्ने जात्रा हो । पहिले बालबालिकाका लागि मामाघर आकर्षणको केन्द्र हुन्थ्यो । मामा, माइजू, हजुरआमा, भान्जाभान्जी र घरमा पाइने मीठो खानपिनले त्यो घरलाई विशेष बनाउँथ्यो । त्यहाँ जान महँगो उपहार चाहिँदैनथ्यो । आफैँ पुग्नु नै उपहार थियो ।

आजकल भने सामाजिक सम्बन्धको नक्सा पनि विकास निर्माणको योजनाजस्तै बदलिएको छ । मामाघर जाने बाटोमा घाँस उम्रिएको छ, ससुराली जाने बाटोमा कालोपत्रे भएको छ । यो परिवर्तनको श्रेय सडक विभागलाई दिने कि सामाजिक प्राथमिकतालाई, अनुसन्धानकै विषय छ ।

एक जना ज्वाइँसाब दशैँमा ससुराली जान निस्किए । गाडी तयार, उपहार तयार, नयाँ कपडा तयार । ससुरालीमा स्वागत कस्तो हुन्छ भन्ने कल्पनाले नै अनुहार उज्यालो थियो ।
मैले सोधेँ, ‘मामाघर पनि जानुहुन्छ ?’
‘समय मिल्यो भने जाउँला ।’
‘हजुरआमा भेट्न मन लाग्दैन ?’
‘मन त लाग्छ नि । तर यसपालि ससुरालीमा सबै जम्मा हुने कार्यक्रम छ ।’
ज्वाइँसाबको मनमा माया थियो, कार्यक्रमको तालिकामा प्राथमिकता थिएन । माया मनमा राख्न सकिन्छ, कार्यक्रमचाहिँ क्यालेन्डरमा राख्नुपर्छ ।

ससुरालीमा ज्वाइँलाई विशेष सत्कार गरिन्छ । खानाका परिकार थपिन्छन्, कोसेलीको आदानप्रदान हुन्छ, मानसम्मानको प्रतिस्पर्धा चल्छ । ज्वाइँले पनि आफ्नो प्रतिष्ठा जोगाउन महँगो उपहार बोकेर जानुपर्छ । दुवैतर्फ माया छ, तर त्यो मायाको प्याकेजिङ खर्चिलो हुँदै गएको छ ।

यता मामाघरकी वृद्ध हजुरआमा नाति आउने बाटो हेरेर बसिरहेकी छन् । उनको हातमा महँगो उपहार छैन, मोबाइलमा भिडियो खिच्ने सीप छैन, सामाजिक सञ्जालमा ‘फ्यामिली गेट टुगेदर’ लेख्ने बानी छैन । उनीसँग केवल सम्झना छ । सम्झनाको बजारमूल्य नहुँदा त्यसको माग पनि घटेको हो कि !

दशैँले नाता जोड्नुपर्ने हो । हामीले भने नातालाई पनि नाफा-नोक्सानको हिसाबमा राख्न थालेका छौँ । जहाँ बढी सत्कार, त्यहाँ बढी यात्रा । जहाँ बढी दक्षिणा, त्यहाँ बढी उपस्थिति । जहाँ केवल माया छ, त्यहाँ ‘अर्को साल पक्का’ । अर्को सालचाहिँ कसको पालो आउँछ, त्यो पनि समयले होइन, सुविधाले निर्धारण गर्छ ।

४. तासको खालमा महिषासुर
दशैँमा तास खेल्नु कतिपय परिवारमा मनोरञ्जनको पुरानो अभ्यास हो । साथीभाइ भेला हुने, हाँस्ने, रमाइलो गर्ने र केही समय बिताउने माध्यम । तर जब मनोरञ्जनको ठाउँ लोभले लिन्छ, तासको पत्तीले घरको शान्ति काट्न थाल्छ ।
एक जना सज्जन बिहान टीका लगाएर निस्किए । निधारमा रातो टीका थियो, कानमा जमरा थियो र खल्तीमा दक्षिणा । साँझ फर्किंदा टीका पुछिइसकेको थियो, जमरा झरिसकेको थियो र दक्षिणा अर्कैको खल्तीमा पुगिसकेको थियो ।
‘कस्तो भयो दशैँ ?’ श्रीमतीले सोधिन् ।
‘आज त भाग्यले साथ दिएन ।’
‘भोलि खेल्नुहुन्छ ?’
‘भोलि त भाग्यले साथ दिन्छ ।’
उनको भाग्यसँगको सम्बन्ध विचित्र थियो । जित्दा आफ्नै सीप, हार्दा भाग्यको षड्यन्त्र । तासको खालमा उनले पैसा मात्र हारेनन्, घरमा दिएको वचन पनि हारे । तर अर्को खेलमा जितेर सबै फिर्ता ल्याउने आशा भने जितिरहे ।
जुवाको सबैभन्दा ठूलो आकर्षण पैसा होइन, हारेको पैसा फिर्ता ल्याउने सपना हो । मानिसले एक हजार हार्छ, त्यसलाई उठाउन अर्को हजार हाल्छ । अर्को हजार हार्छ, पहिलो दुई हजार सम्झेर तेस्रो हजार हाल्छ । अन्त्यमा रकम यति बढ्छ कि सुरुमा किन खेल्न बसेको थियो भन्ने कुरा नै बिर्सिन्छ ।

दशैँमा देवीले महिषासुरमाथि विजय प्राप्त गरेको कथा सुनिन्छ । हाम्रो घरको बैठकमा भने अर्को महिषासुर जन्मिएको हुन्छ । उसको नाम लोभ हो । त्यसको हातमा त्रिशूल हुँदैन, तास हुन्छ । त्यसको रथ हुँदैन, मोटरसाइकल हुन्छ । त्यसले राज्य कब्जा गर्दैन, घरको बचत कब्जा गर्छ ।

जितेको दिन जुवाडे उदार हुन्छ । हार्ने दिन घरका भाँडाकुँडासमेत उसलाई शत्रु लाग्छन् । ऋण बढ्छ, विवाद बढ्छ, शङ्का बढ्छ । कहिलेकाहीँ एउटा खेलले वर्षौँ लगाएर कमाएको विश्वाससमेत गुमाउँछ ।
तासको खालमा बस्ने सबै जुवाडे हुँदैनन् । तर जुवाको लत लागेपछि मानिसलाई खेल छोड्नुभन्दा हार स्वीकार गर्न गाह्रो हुन्छ । त्यसैले दशैँमा रमाइलोको नाममा सुरु भएको खेल कहिले परिवारको आर्थिक सङ्कट बन्छ, थाहा हुँदैन ।

५. रक्सीको बोतलमा बन्द भएको संस्कार
‘दशैँमा अलिअलि त चलिहाल्छ नि !’ यो वाक्य नेपाली समाजको सबैभन्दा सुविधाजनक बहानामध्ये एक हो । अलिअलि भनेर सुरु हुन्छ, अलि बढीमा पुग्छ र कहिलेकाहीँ घरको शान्ति नै बोतलभित्र डुब्छ ।
कुनै घरमा बिहान टीका लगाइन्छ, दिउँसो भोज हुन्छ र साँझ रक्सीको बोतल खुल्छ । सुरुमा सबै जना हाँस्छन् । पुराना कुरा निस्कन्छन्, ठट्टा चल्छ, आत्मीयता बढेजस्तो देखिन्छ । केही समयपछि आवाज चर्किन्छ, पुराना रिस उठ्छन् र नयाँ विवाद जन्मिन्छन् ।

रक्सी खाएर कसैले आफूलाई संस्कृतिको रक्षक घोषणा गर्छ । कसैले देशको राजनीति सुधार्ने जिम्मा लिन्छ । कसैले वर्षौँदेखि मनमा राखेको गुनासो निकाल्छ । तर बिहान उठेपछि कसैले के भनेको थियो भन्ने सम्झना नहुन सक्छ, कसैले मनमा परेको चोट भने सम्झनामा रहिरहन्छ ।

‘दशैँमा रमाइलो गर्नुपर्छ’ भन्ने तर्कमा रमाइलोको परिभाषा कसले बनाएको हो ? परिवारसँग बसेर कुरा गर्नु रमाइलो होइन ? बच्चासँग खेल्नु रमाइलो होइन ? वृद्ध आमाबुबाको कुरा सुन्नु रमाइलो होइन ? कि बोतल नखोलेसम्म संस्कृतिको ढोका खुल्दैन ?

मदिराको अनियन्त्रित सेवनले दुर्घटना, झगडा र पारिवारिक हिंसाको जोखिम बढाउन सक्छ । यस्तो अवस्थामा चाडपर्वको नाममा गरिएको व्यवहारलाई व्यक्तिगत रमाइलो भनेर पन्छिन मिल्दैन । रमाइलोको स्वतन्त्रताले अरूको सुरक्षा खोस्ने अधिकार दिँदैन ।

दशैँमा देवीको आराधना गरेर शक्ति मागिन्छ । त्यही साँझ घर फर्केर आफ्नै परिवारलाई डर देखाइन्छ भने पूजा र व्यवहारबीचको दूरी नाप्न कुनै दार्शनिक ग्रन्थ चाहिँदैन । घरका सदस्यको अनुहार हेरे पुग्छ ।

६. बलिको नाममा भक्ति, भोजको नाममा पेटमाथि अत्याचार
दशैँमा पशुबलिको धार्मिक र सांस्कृतिक महत्त्वबारे विभिन्न मत छन् । परम्परालाई मान्नेहरूका आफ्नै विश्वास छन्, प्रश्न उठाउनेहरूका आफ्नै तर्क । तर कुनै पनि परम्पराको अभ्यास गर्दा करुणा, जिम्मेवारी र नैतिकताको प्रश्न उठाउन पाइँदैन भन्ने होइन ।

देवीको नाममा बलि दिइन्छ । त्यसपछि भोजको तयारी हुन्छ । कसैले बलिको औचित्यमाथि प्रश्न उठाउँदा धार्मिक भावनामा चोट पुगेको तर्क आउँछ । तर भोजमा कति खाने, कति फाल्ने र कति दिनसम्म फ्रिजमा राखेर फेरि खाने भन्ने विषयमा भने धार्मिक बहस कमै हुन्छ ।

हाम्रो पेट पनि दशैँको एउटा प्रमुख सहभागी हो । वर्षभरि उसलाई सामान्य खानामा राखिन्छ, दशैँमा अचानक विशेष अतिथि बनाइन्छ । बिहान मासु, दिउँसो मासु, साँझ मासु । भोलिपल्ट पनि मासु । तेस्रो दिन पेटले निवेदन दिन्छ, ‘महोदय, मलाई पनि अलिकति बिदा चाहियो ।’

तर मालिकलाई पर्वको मर्यादा जोगाउनु छ । खाना बाँकी रहनु हुँदैन, पाहुनाले कमी महसुस गर्नु हुँदैन र थालमा परिकारको सङ्ख्या कम हुनु हुँदैन । भोकले मागेको भन्दा प्रतिष्ठाले पस्केको खाना बढी हुन्छ ।

दशैँ सकिएपछि कतिपय मानिस स्वास्थ्य जाँच गराउँछन्, खानपिनमा ध्यान दिन थाल्छन् र व्यायाम गर्ने सङ्कल्प गर्छन् । त्यसलाई नयाँ वर्षको सङ्कल्पजस्तै अर्को दशैँसम्म जोगाउन सके राम्रो । नत्र शरीरले दशैँभरि बोकेको हिसाब अस्पतालमा बुझाउनुपर्ने हुन सक्छ ।

खाना खानु जीवनको आवश्यकता हो, खानालाई प्रदर्शन बनाउनु सामाजिक प्रतिस्पर्धा । भोक मेटाउने भोजनले शरीर धान्छ, अरूलाई देखाउन पस्किएको भोजले खर्च धान्न नसक्ने अवस्था पनि ल्याउन सक्छ । त्यसैले परिकारको सङ्ख्याभन्दा सँगै बसेर खाने आत्मीयता ठूलो हो भन्ने कुरा बुझ्न पेट बिग्रिनैपर्ने छैन ।

७. बजार अनुगमनको फोटो र जनताको खाली खल्ती
दशैँ नजिकिएपछि बजारमा महँगीको मौसम सुरु हुन्छ । व्यापारीको हिसाबमा माग बढेको हुन्छ, उपभोक्ताको हिसाबमा खर्च बढेको हुन्छ र सरकारी निकायको हिसाबमा अनुगमन बढेको हुन्छ ।
अनुगमन टोली बजार पुग्छ । पसलमा निरीक्षण हुन्छ, केही प्रश्न सोधिन्छन्, केही कागज हेरिन्छन् । क्यामेराले दृश्य कैद गर्छ । समाचारमा आउँछ, ‘चाडपर्व लक्षित बजार अनुगमन तीव्र ।’

जनताले समाचार पढ्छन् र बजार जान्छन् । मूल्य उस्तै हुन्छ । उनीहरू फेरि अर्को समाचार पढ्छन्, ‘अनुगमनलाई थप प्रभावकारी बनाइने ।’ यसरी अनुगमन प्रभावकारी बनाउने क्रम चलिरहन्छ । उपभोक्ताको खल्तीचाहिँ दिनप्रतिदिन अप्रभावकारी हुँदै जान्छ ।

यातायातमा पनि उस्तै छ । घर जानुपर्ने यात्रु टिकट खोज्छन् । टिकट नपाएपछि बढी भाडा तिर्छन्, सिट नपाए जोखिम मोलेर यात्रा गर्छन् । सरकारी निकायले नियम सम्झाउँछ, व्यवसायीले बाध्यता सम्झाउँछ र यात्रुले घर पुग्नुपर्ने कुरा सम्झाउँछ । सबैका आआफ्ना तर्क छन् । बस भने भरिएर हिँडिसकेको हुन्छ ।

दशैँको बजारमा व्यापारीले अवसर देख्छ, बिचौलियाले कमाइ देख्छ, नियामकले जिम्मेवारी देख्छ र उपभोक्ताले बिल देख्छ । बिलमा लेखिएको रकम तिर्ने जिम्मेवारी भने अन्ततः उपभोक्ताकै हुन्छ ।

सरकारले दशैँमा जनतालाई राहत दिने घोषणा गर्छ । जनताले राहतको प्रतीक्षा गर्छन् । घोषणा सार्वजनिक हुन्छ, राहतको विवरण आउँछ तर हातमा नपर्दै चाडपर्व सकिन्छ । कतिपय अवस्थामा जनताको हातमा राहतभन्दा घोषणाको समाचार पहिले पुग्छ ।

समस्या अनुगमन नहुनु मात्र होइन । अनुगमनको परिणाम देखिनु पनि आवश्यक छ । फोटो खिच्नु कामको प्रमाण हुन सक्छ, तर जनताले तिरेको मूल्य घट्नु वा अनुचित व्यापार रोकिनु कामको परिणाम हो । प्रमाण र परिणामबीचको यही फरक बुझ्न सके बजारको दशा केही घट्न सक्छ ।

८. विदेशको पसिना, स्वदेशको प्रदर्शन
नेपाली दशैँको एउटा ठूलो आर्थिक आधार विदेशमा बगाइएको पसिना पनि हो । खाडीको घाममा काम गर्ने छोरोले पैसा पठाउँछ । घरमा नयाँ लुगा किनिन्छ, भोजको तयारी हुन्छ र परिवारले दशैँ मनाउँछ । यो पैसाले घर चल्छ, शिक्षा चल्छ, उपचार चल्छ र चाडपर्वको खुसी पनि चल्छ ।

तर कहिलेकाहीँ त्यो खुसीको एउटा अर्को पाटो पनि हुन्छ । विदेशमा काम गर्ने व्यक्तिले आफ्नो आवश्यकता घटाएर घरमा पैसा पठाएको हुन्छ । घरमा भने उसले पठाएको पैसाले कति महँगो सामान किनियो भन्ने प्रदर्शन चल्छ ।
‘छोराले विदेशबाट पठाएको पैसाले नयाँ गाडी किन्यौँ,’ बाबुले गर्वसाथ सुनाउँछन् ।
‘छोरा कहिले आउँछ ?’ कसैले सोध्छ ।
‘यसपालि बिदा मिलेन ।’
गाडी आइसकेको छ, छोरा आउन सकेको छैन । घरमा नयाँ सामान थपिएको छ, परिवारको एउटा सदस्यको अनुपस्थिति भने पुरानै छ ।

विदेशबाट पैसा पठाउने व्यक्तिको माया रकममा मात्र मापन गर्न मिल्दैन । घरमा बसेर खर्च गर्ने व्यक्तिको आवश्यकता पनि झूटो होइन । तर पैसा पठाउने मानिसलाई केवल कमाइको स्रोत र दशैँलाई केवल खर्चको अवसर बनाइयो भने सम्बन्धको एउटा महत्त्वपूर्ण पक्ष छुट्छ ।

कहिलेकाहीँ विदेशमा रहेको छोराले भिडियो कलमा टीका लगाउँछ । मोबाइलको पर्दामा परिवार देखिन्छ, निधारमा रातो टीका पनि देखिन्छ । तर पर्दाबाट जमराको स्पर्श आउँदैन, आमाको हातले निधार छुँदैन र बुबाको अँगालोको न्यानोपन अनुभव हुँदैन । प्रविधिले दूरी घटाउँछ, अनुपस्थितिलाई पूर्ण रूपमा मेटाउन सक्दैन ।
त्यसैले विदेशबाट पैसा आउनु खुसीको कुरा हो, तर विदेशमा रहेको मानिसको जीवन कस्तो छ भनेर सोध्नु पनि उत्तिकै आवश्यक छ । उसले कति पठायो भनेर सोध्ने समाजले उसले कति दुःख सह्यो भनेर पनि सोध्नुपर्छ ।

९. सामाजिक सञ्जालको विजयादशमी
पहिले दशैँ मनाइन्थ्यो, अहिले दशैँ मनाइएको प्रमाण पनि सार्वजनिक गरिन्छ । नयाँ कपडा लगाइन्छ, फोटो खिचिन्छ, परिवारसँग बसेर तस्बिर बनाइन्छ र सामाजिक सञ्जालमा राखिन्छ । फोटोसँगै लेखिन्छ, ‘परिवार नै सबैथोक हो ।’
फोटोमा सबै जना मुस्कुराइरहेका हुन्छन् । फोटो खिच्नुअघि कसले कसलाई गाली गर्यो,, कसले खर्चको विषयमा झगडा गर्योर र कसले ऋणको कुरा लुकायो भन्ने विवरण भने क्यामेराले कैद गर्दैन । क्यामेराको पनि आफ्नै मर्यादा छ, ऊ देखाइएको दृश्य मात्र खिच्छ ।

कसैले लेख्छ, ‘दशैँ भनेको माया र सद्भाव हो ।’ त्यसको तल कसैले कमेन्ट गर्छ, ‘दाइ, यसपालि दक्षिणा कति दिनुहुन्छ ?’

कसैले परिवारसँगको फोटो राख्छ । अर्कोले त्योभन्दा महँगो रिसोर्टको फोटो राख्छ । पहिलोले आफ्नो खुसी सार्वजनिक गरेको हुन्छ, दोस्रोले खुसीको स्तर बढाएको हुन्छ । त्यसपछि पहिलोले अर्को वर्ष अझ राम्रो फोटो खिच्ने सङ्कल्प गर्छ ।

सामाजिक सञ्जालले टाढाका आफन्तलाई जोडेको छ, सम्झना बाँड्ने अवसर दिएको छ र परदेशमा रहेका परिवारलाई नजिक ल्याएको छ । समस्या प्रविधिमा होइन, प्रविधिलाई प्रतिष्ठाको तराजु बनाउने हाम्रो बानीमा छ ।
आजकल दशैँको सफलताको अर्को सूचक लाइक र कमेन्ट पनि भएको छ । फोटोमा धेरै लाइक आएपछि पर्व सफल भएको अनुभूति हुन्छ । आफन्तको घरमा कति समय बिताइयो भन्नेभन्दा पोस्टमा कति प्रतिक्रिया आयो भन्ने कुरा महत्त्वपूर्ण हुन थाल्यो भने सम्बन्धको लेखाजोखा पनि डिजिटल खातामा सरेको मान्नुपर्छ ।

निधारमा टीका लगाएको फोटोले संस्कृति देखाउँछ । घरभित्रको व्यवहारले संस्कार देखाउँछ । पहिलो कुरा अपलोड गर्न सजिलो छ, दोस्रो कुरा जीवनभरि अभ्यास गर्नुपर्छ ।

१०. दशैँपछि बाँकी रहने दशा
दशैँको अन्त्य हुन्छ । जमरा ओइलाउँछ, टीका पुछिन्छ, पाहुना फर्कन्छन् र बजारको भीड घट्छ । घरको भुइँमा केही अक्षता बाँकी रहन्छन्, दराजमा नयाँ कपडा र टेबुलमा केही बिल । सामाजिक सञ्जालमा दशैँका तस्बिरहरू रहिरहन्छन्, बैंकको खातामा भने दशैँको प्रभाव अझै बाँकी हुन्छ ।

दशैँअघि ऋण लिएको मानिस दशैँपछि किस्ताको हिसाब गर्छ । जुवामा हारेको मानिस पैसा जुटाउने उपाय खोज्छ । धेरै खर्च गरेको परिवार आगामी महिनाको बजेट मिलाउँछ । विदेशमा रहेको छोराले फेरि काममा फर्केर अर्को वर्षको दशैँका लागि पैसा बचत गर्न थाल्छ ।

यता वृद्ध आमाबुबा अर्को दशैँको प्रतीक्षा गर्छन् । ‘अर्को साल त आउँछु नि,’ छोराले भिडियो कलमा भन्छ । आमाले पत्याउँछिन् । किनकि आमासँग आशा गर्नेबाहेक अर्को विकल्प हुँदैन । छोरासँग फर्कने इच्छा छ, तर काम, ऋण र जिम्मेवारीको आफ्नै हिसाब बाँकी छ ।

यही हो दशैँको अर्को यथार्थ । सबैको दशैँ एउटै हुँदैन । कसैका लागि यो भेटघाटको उत्सव हो, कसैका लागि खर्चको दबाब । कसैका लागि घर फर्कने अवसर हो, कसैका लागि घर फर्कन नपाएको पीडा । कसैका लागि धार्मिक आस्था हो, कसैका लागि सामाजिक प्रतिस्पर्धा ।

दशैँलाई बिगार्ने दोष सबै परम्पराको होइन । बजार, प्रविधि, आधुनिकता वा विदेश जाने प्रवृत्तिलाई मात्र दोष दिएर पनि हुँदैन । प्रश्न हाम्रो प्राथमिकताको हो । पर्वलाई आत्मीयताको अवसर बनाउने कि प्रदर्शनको मञ्च, दक्षिणालाई आशीर्वादको पूरक बनाउने कि आशीर्वादकै मूल्य, मनोरञ्जनलाई खुसीको माध्यम बनाउने कि परिवारको तनावको कारण ।

दशैँमा देवीले असुरमाथि विजय प्राप्त गरेको कथा सुनिन्छ । त्यो कथाको अर्थ अरूलाई असुर घोषणा गर्नु मात्र होइन, आफूभित्रका लोभ, अहङ्कार र देखावटीपनलाई पनि चिन्नु हो । अरूको खर्च देखेर आफूलाई सानो ठान्ने, दक्षिणाको रकमबाट सम्बन्धको मूल्य तोक्ने र परम्पराको नाममा अरूलाई दुःख दिने बानीमाथि प्रश्न गर्न सकियो भने दशैँको विजय केही अर्थपूर्ण हुन्छ ।

नयाँ लुगा किन्नु गलत होइन, ऋण गरेर अरूलाई देखाउनैपर्ने बाध्यता बनाउनु समस्या हो । दक्षिणा दिनु गलत होइन, त्यसकै आधारमा नाताको मूल्य तोक्नु समस्या हो । रमाइलो गर्नु गलत होइन, आफ्नो रमाइलोका लागि अरूको शान्ति खोस्नु समस्या हो । परम्परा मान्नु गलत होइन, परम्पराको नाममा विवेकलाई बिदा गर्नु समस्या हो ।

यसपालि दशैँमा एउटा सानो प्रयोग गरौँ । खर्च गर्नुअघि आवश्यकता हेरौँ, दक्षिणा दिनुअघि आफ्नो क्षमता हेरौँ, रमाइलो गर्नुअघि अरूको सहजता हेरौँ र फोटो खिच्नुअघि परिवारसँग साँच्चै केही समय बिताऔँ । यसो गर्दा दशैँको खुसी घट्दैन, बरु त्यसको मूल्य बिलमा होइन, सम्बन्धमा देखिन थाल्छ ।

अन्ततः दशैँमा टीका रातो हुन्छ, जमरा हरियो हुन्छ र आकाश नीलो हुन्छ । तर खल्तीको रङ कस्तो हुन्छ भन्ने कुरा हाम्रो विवेकले निर्धारण गर्न सक्छ । खल्ती रित्तिए पनि मन भरिएको छ भने दशैँ सफल हुन सक्छ । खल्ती भरिए पनि मन रित्तिएको छ भने दशैँको भव्यता केवल प्रदर्शन हुन सक्छ ।

देवीले महिषासुरलाई जितिन् । अब हामीले आफ्नो अहङ्कार, लोभ र देखावटीपनलाई जित्न बाँकी छ । फरक यति हो, देवीलाई युद्ध गर्नुपर्यो्, हामीलाई ऐना हेर्नु मात्रै पर्छ । तर समस्या यही छ, अरूको अनुहार हेर्न हामीलाई फुर्सद छ, आफ्नो अनुहार हेर्न भने दशैँपछि पनि समय मिल्दैन ।

०००
जनकपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उत्तर हराएको देशमा प्रश्न उद्योगको उज्ज्वल भविष्य

उत्तर हराएको देशमा प्रश्न...

दामाेदर न्याैपाने
फोकटलालको ज्ञानोपदेश

फोकटलालको ज्ञानोपदेश

दामाेदर न्याैपाने
उखान, इख र अङ्कलको टिभी

उखान, इख र अङ्कलको...

दामाेदर न्याैपाने
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
मोडर्न ड्रेस

मोडर्न ड्रेस

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
छाडा साँढेको खोजी

छाडा साँढेको खोजी

ठाकुरप्रसाद अधिकारी
विवशता

विवशता

दिप मंग्राती
रकमी हस्ताक्षर

रकमी हस्ताक्षर

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x