साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फोकटलालको ज्ञानोपदेश

आखिर फोकटमा ज्ञान बाँड्न छुट्नु भनेको एक किसिमले पुनर्जन्म नै हो ! सबै फोकटलाल ज्ञानीहरूको जय होस् !

Nepal Telecom ad

दामोदर न्यौपाने :

अहिले हाम्रो समाजमा बाढी केवल भोटेकोशी र त्रिशूली नदीमा मात्र आएको छैन, नेपालीका दिमागमा पनि ज्ञानको महाविनाशकारी बाढी आएको छ । पानीको बाढी रोक्न त तटबन्ध लगाइएला, तर चौतर्फी उर्लिएको ‘फोकटको ज्ञान’को बाढी रोक्ने कुनै संयन्त्र यो धर्तीमा अहिलेसम्म बनेको छैन । ज्ञान जताततै छताछुल्ल छ । पोखिएर खुट्टा टेक्ने ठाउँसमेत छैन । जसलाई पनि आफ्नो मनमा लागेको विचार ज्ञानको रूपमा फोकटमा बाँड्ने ठूलै बजार लागेको छ ।
चिया पसल होस् वा सदन, सबले आफूलाई सर्वज्ञानी साबित गर्न कुनै न कुनै ज्ञानको प्रसङ्ग जोडिहाल्छन् । भट्टी होस् वा मसानघाट, यात्रा होस् वा रमिता, जुनसुकै स्थानमा फोकटको ज्ञान पेल्ने फोकटलालहरूको कुनै कमी छैन । चियाको एक चुस्कीसँगै अमेरिका र चीनको विदेश नीति पल्टाउने र नेपालको बजेट मिलाइदिने चिया अड्डाका फोकटलाल विज्ञहरूमा देश चलाउने ज्ञानको कमी छैन, तर चिया खाएको बीस रुपैयाँ तिर्नुपर्दा उनीहरूको सम्पूर्ण अर्थशास्त्र साथीको खल्तीमा गएर टुंगिन्छ ।

“आजको तँ तिरिदे न, यो बजेट पास भएपछि म तिरिहाल्छु नि, साँवाब्याजसहित !”
तर, त्यो मायावी बजेट कहिल्यै पारित हुने भए पो ! भट्टीमा दुई पेग निप्ट्याएपछि मान्छे सीधै ब्रह्माण्डको सृष्टि र अध्यात्मको कुरा गर्न थाल्छ । घाटमा लास पोलिइरहँदा उसमा मसान वैराग्य जाग्छ र मसाने ज्ञानीको रूपमा “यो देखिएको सबै मोहमाया हो, मरेर केही लानु छैन” भन्दै चरम वैराग्यको प्रवचन दिन्छ । तर घाटको नेटो काट्नेबित्तिकै जग्गाको दलाली र कमिसनको बार्गेनिङमा कम्मर कसेर लागिहाल्छ ।

अझ आजकाल त सामाजिक सञ्जालहरू फोकटलाल उत्पादन गर्ने कारखानाकै रूपमा विस्तार भएका छन् । बिहान आँखा खुल्न नपाउँदै ह्वाट्सएपमा आध्यात्मिक ज्ञान, म्यासेन्जरमा ज्योतिषीय भविष्यवाणी, फेसबुकमा राजनीतिक विश्लेषण, टिकटक र रील्समा स्वास्थ्योपचार, अनि एआईको च्याटबटबाट निकालिएका दुई–चार वटा गह्रौँ शब्द कपी गरेर आफ्नै मौलिक दर्शनजस्तो गरी पोस्ट्याउने आधुनिक दार्शनिक फोकटलालहरूको जमात दिनानुदिन बढिरहेको छ ।

पहिले मानिसले ज्ञानका लागि गुरु खोज्थ्यो । अहिले गुगलबाबा, युट्युबगुरु र च्याटबटाचार्य एउटै मोबाइलभित्र विराजमान छन् । आफूलाई जे जान्न मन लाग्यो, तुरुन्तै उत्तर पाइन्छ । समस्या उत्तर नपाउनु होइन, उत्तर पाएको पाँच मिनेटमै आफू विशेषज्ञ भएको भ्रम पैदा हुनु हो ।

हितोपदेश भन्छः विद्याले मानिसलाई विनम्र बनाउँछ, विनम्रताले योग्यता दिन्छ, योग्यताबाट धन कमाइन्छ, धनबाट धर्म अर्थात् सत्कर्म गर्न सकिन्छ र धर्मबाट वास्तविक सुख प्राप्त हुन्छ । तर अचेल ज्ञान प्राप्त भएपछि विनम्र हुनुको सट्टा तुरुन्तै फेसबुकमा स्टाटस लेख्ने, भिडियो बनाउने र अरूलाई ज्ञान बाँड्ने चलन बढेको छ । त्यसैले आजको युगमा ज्ञान प्राप्त गर्नु ठूलो कुरा होइन, आफूले कति नजानेको रहेछ भन्ने थाहा पाउनुचाहिँ ठूलो कुरा भएको छ ।

म आफैँ पनि, यो ज्ञानको महामारीबाट अछुतो छैन । म समाज तथा कार्यक्षेत्रमा फोकटमा ज्ञान बाँड्ने एक किसिमको परम फोकटलाल नै हुँ । र त्यसको अंश भएकोमा गौरवान्वित महसुस समेत गर्दछु ।

केही दिन अघि मात्रै एकजना मित्र एक्सेल फाइलसँग संघर्षरत थिए । काम गर्दागर्दै अचानक आफूले काम गरिरहेको भागबाहेक बाँकी संसार नै लोप भएजस्तो देखिन थालेछ । सम्भवतः पाना ‘पेज ब्रेक प्रिभ्यु’ मोडमा पुगेको थियो । केहीबेर उनले माउस घुमाए, स्क्रिन नियाले, हुन सक्ने सम्म गरे, अनुहार खुम्च्याए । जब कुनै उपाय लागेन, तब अन्तिम आशाको केन्द्रजस्तै गरी मतिर फर्केर भने, “यो किन देखिँदैन ?”

अब म पनि कहाँ पछि हट्थेँ र ! आफ्नो आनुवंशिक गुण देखाउँदै तुरुन्तै उनको समस्या समाधान गरिदिएँ ।
समस्या त हल भयो, तर त्यसपछि मेरो फोकटलाल मनलाई एउटा गम्भीर परीक्षा दिनुपर्यो ।

उनले त्यहाँ रहेका केही पुराना तथ्याङ्क मेट्नुपर्ने रहेछ । कम्तीमा २० वटा सेलमा रहेका उस्तै डाटा हटाउनका उनी प्रत्येक सेलमा माउस लैजाँदै एक-एक गरी ‘डिलिट’ थिच्न थाले ।

म भने आजकल नयाँ ज्ञान बाँड्नुभन्दा पनि मानिसहरूले आफ्नै ज्ञान र सीपका भरमा कसरी काम गर्छन् भन्ने कुरा सूक्ष्म रूपमा अवलोकन गर्ने नयाँ नशामा लागेको छु । त्यसैले म मुसुमुसु मुस्कुराउँदै उनको त्यो अनौठो कसरत हेरिरहेँ ।
मेरो मुस्कान देखेर उनले लजाउँदै भने,
“मैले यो एक–एक गरेर मेटेको देख्दा तपाईंलाई कस्तो वाक्क लागेको होला है ? मैले साह्रै अनप्रोफेसनल तरिकाले काम गरिरहेको छु ।”
म अझ मुस्कुराएँ र भनेँ,
“हैन-हैन, आजकाल म नयाँ ज्ञान बाँड्नुभन्दा पनि मान्छेले आफ्नै ज्ञानको भरमा कसरी काम गर्छन् भनेर सूक्ष्म अवलोकन गर्दै नव्य ज्ञान आर्जन गर्न थालेको छु ।”

अरूले गरिरहेको काम कसरी गर्छन्, सजिलै हुने कामलाइ कति जटिल तरिकाले गरिराखेका छन् भनेर द्रष्टा भावमा हेर्दा छुट्टै आनन्द आउँछ, किनकि मान्छेको दुःख पाउने प्रक्रिया र शैली फरक-फरक हुन सक्छ । यदि एक वर्षअगाडिको मेरो ‘सक्रिय फोकटलाल’ वाला अवतार हुँदो हो त मैले उनको हातबाटै माउस खोसेर, “यसरी होइन, यो सबै एकैचोटि सेलेक्ट गर्नुस् अनि एकै क्लिकमा यसरी मेट्न सकिन्छ । किन २० चोटि दुःख पाएको ?” भन्दै फोकटको ज्ञानोपदेश दिइसकेको हुन्थेँ । तर हिजो मलाई उनको त्यो २० पटकको मेहनत हेर्दा परम आनन्द आयो ।

संसारमा मान्छे आफ्नै तरिकाले दुःख पाउन स्वतन्त्र छ । किन फोकटमा ज्ञान दिएर उसको दुःख पाउने मौलिक अधिकार खोस्ने ?

आखिर अहिले मानिसलाई ज्ञानको कमी होइन, ज्ञानको बाढीले नै सताइरहेको छ । कसैले फेसबुकमा वा अनलाइनमा कुनै समाचार देख्यो भने स्रोत हेर्नुभन्दा पहिले निष्कर्ष निकाल्छ । कसैले एआईबाट कुनै उत्तर पायो भने त्यसलाई जाँच्नेभन्दा पहिले नै “एआईले पनि यही भन्छ” भनेर अन्तिम प्रमाणका रूपमा प्रस्तुत गर्छ ।

अझ रमाइलो कुरा त के भने, एआईले लेखेको कुरा मान्छेले कपी गरेर पोस्ट गर्छ र तल लेख्छ, “मेरो नितान्त व्यक्तिगत विचार ।”

अब व्यक्तिगत विचार कसको हो रु पोस्ट गर्नेको कि एआईको रु यो प्रश्न सोध्यो भने फेरि अर्को फोकटलाल अगाडि तम्सिएर भन्छ, “एआई त साधन मात्र हो, विचार त मेरै हो नि ।”

एआईले लेखेको कुरा मानिसले आफ्नो बनाएर पोस्ट गर्नु र अरूले त्यसमा “वाह १ कति गहिरो विचार १” भनेर कमेन्ट गर्नुबीचको यो डिजिटल चक्र हेर्दा लाग्छ, भविष्यमा ज्ञानको मौलिकता जाँच्न मानिसलाई होइन, मानिसको सामाजिक सञ्जालका पोस्टलाई परीक्षण गर्नुपर्नेछ ।

म सम्झिन्छु, अस्ति भर्खरै एकजना विद्वान् राष्ट्रसेवकले सामाजिक सञ्जालमा यस्तै ‘फोकटको ज्ञान’ बाँड्दाबाँड्दै सम्बन्धित कार्यको विशेषज्ञको हिसाबले टिमुरेको यात्रा तय गर्न पुगे । त्यसैले ज्ञान पेटमा राख्नु पाचन प्रक्रियाका लागि राम्रो होला, तर मुखबाट जथाभावी ओकल्नु शरीर र कार्यक्षेत्र दुवैका लागि निकै महङ्गो पर्न सक्छ ।

कहिलेकाहीँ ज्ञान बाँड्ने क्रममा जसलाई ज्ञान दिइन्छ, उसले त्यो ज्ञान ग्रहण गरेन भने मनमा ठूलै खिन्नता महसुस हुन्छ । मनुष्य स्वभावैले अरूलाई ज्ञानोपदेश गर्न माहिर हुन्छ, तर अरूले दिएको ज्ञान आत्मसात् गर्न उसलाई कालो जिरा निल्न जस्तै गाह्रो हुन्छ ।

एकदमै अप्ठ्यारो परेर भित्तामा टाउको नठोकिएसम्म मनुष्य कहाँ कसैको कुरा सुन्छ र ?  तर अचम्म त के भने, ती ज्ञानको नजरअन्दाज गर्ने मनुष्यहरूले मेरो फोकटको ज्ञानलाई बेवास्ता गर्दा पछि ठूलै समस्या झेल्नुपरेका र अन्त्यमा घुमीफिरी मैले भनेकै बाटोमा फर्कनुपरेका ऐतिहासिक घटनाहरू पनि मेरो स्मरणमा सुरक्षित छन् ।

यस्ता घटनाले मेरो फोकटलाल मनलाई फेरि बलियो बनाउँछन् । मनले भन्छ, “देखिस् ! मैले पहिल्यै भनेको थिएँ नि !”
तर विवेकले भन्छ, “चुप लाग् । यसपालि पनि फोकटको ज्ञान नदे ।”

आजकाल म विवेकको कुरा अलि बढी सुन्न थालेको छु । तसर्थ, यो कलियुगमा ज्ञान कहाँ दिने, कसलाई दिने, कसरी दिने, कस्तो प्रकारले दिने र कति मात्रामा दिने भन्ने कुराको ज्ञान हुनु नै सबैभन्दा ठूलो ज्ञान हो । हाम्रो समाजमा ज्ञान बाँड्ने ‘दाता’हरूको कमी छैन, तर ज्ञान थाप्ने ‘भिखारी’हरूको भने अनिकाल छ ।

पहिला-पहिला ज्ञानीहरू खोजेर, गुरुदक्षिणा राखेर, खुट्टामै ढोगेर ज्ञान लिनुपर्थ्यो । अहिले जमाना उल्टियो । ज्ञानीहरू नै उल्टो पैसा अर्थात् ‘बुस्ट’ तिरेर, विज्ञापन गरेरै भए पनि आफ्नो ज्ञान मान्छेको दिमागमा जबरजस्ती कोच्न लागिपरेका छन् । यो देख्दा लाग्छ गंगा उत्तरतिर प्रवाहित भइरहेको छ ।

फेसबुकमा कसैले आफ्नो पोस्ट ‘बुस्ट’ गर्यो त भने अब उसलाई ज्ञानको गहिराइभन्दा पहुँचको चौडाइले चिनिन्छ । एउटा विचार पाँच सय मानिसले हेर्दा त्यो सामान्य विचार, पाँच लाखले देखेमा महान् विचार ! एल्गोरिदमले ज्ञानको गुणस्तर होइन, मानिसले कति समय स्क्रिनमा हेर्यो भन्ने कुरा गन्न थालेपछि विद्वताको नयाँ मापन जन्मिएको छ ।
अहिले ‘भ्यु’ नै प्रमाण हो, ‘लाइक’ नै जनमत हो र ‘सेयर’ संख्या नै सत्य हो ।

तपाईं कुनै राम्रो विचार लेख्नुस् । त्यसलाई कुनै छापा वा अनलाइन पत्रिकामा प्रकाशानार्थ पठाउनुस् । ती पत्रिकाका सम्पादकज्यूहरू ज्ञानका यस्ता ठूला गोदामका ठेकेदार हुन्, जहाँ तपाईंको मौलिक ज्ञानको खासै भाउ नै हुँदैन । उनीहरू अटो-रिप्लाईको बुलेट बम फालेर तपाईंको ज्ञानलाई हप्तौँसम्म थन्काइदिन्छन् ।

“हामीकहाँ इमेलको चाप छ । यो मौलिक हो कि होइन  ? १२ सय शब्द भन्दा बढी त छैन ? अनुहार प्रस्ट देखिने फोटो छ कि छैन ? अन्य कतै प्रकाशित भएको हो कि होइन र ?” सात दिन कुर्नुहोस् त्यतिवेला सम्म पनि प्रकाशित भएन भने बुझ्नुहोस् तपाइको लेख प्रकाशित हुँदैन ।

यस्तो नक्कली भाउ खान्छन् कि लाग्छ, संसारको सारा ज्ञान उनीहरूकै कम्प्युटरको ‘रद्दीको टोकरी’ अर्थात् डस्टविनमा किचिमिची परेर बस्नका लागि मात्र जन्मिएको हो ।

लेख पठाउने लेखकहरूलाई यो डिजिटल हण्डरको तितो अनुभव पक्कै होला । किनकि जो कोही पनि फोकटको ज्ञान बाँड्न कहिल्यै पछि पर्दैन । लेखकले आफ्नो लेख पठाउँदा पनि एउटा ज्ञान बाँडेको हुन्छ, सम्पादकले अस्वीकार गर्दा पनि अर्को ज्ञान बाँडेको हुन्छ र पाठकले नपढी स्क्रोल गर्दा त झन् लोकतान्त्रिक ढङ्गले ज्ञान अस्वीकार गरिरहेको हुन्छ ।

अहिले बिहान उठ्नेबित्तिकै ह्वाट्सएप र म्यासेन्जरमा “यो ज्ञान ११ जनालाई सेयर नगरे पाप लाग्छ” भन्ने आध्यात्मिक अल्टिमेटम र ज्योतिषीय धम्कीहरूको बाढी नै आइपुग्छ ।

डाक्टरले प्रेस्क्रिप्सन लेख्न नपाउँदै गुगल बाबा र च्याटजीपीटीका चेला बनेर “यो औषधिको साइड इफेक्ट यस्तो छ नि, डाक्टरसाब !” भन्दै उल्टै मेडिकल ज्ञान पेल्ने बिरामीहरूको पनि बजारमा ठूलै बिगबिगी छ ।

कहिलेकाहीँ त डाक्टरलाई नै लाग्दो हो, “मेडिकल कलेजमा यत्रो वर्ष पढेर मैले आखिर के नै सिकेँछु र ? दुई मिनेट गुगल गरे पुग्ने रहेछ !”

राजनीतिमा पनि यही रोग छ । एउटा भाषण सुनेर मानिस अर्थशास्त्री बन्छ, एउटा भिडियो हेरेर संवैधानिक विज्ञ बन्छ, एउटा समाचारको शीर्षक पढेर अन्तर्राष्ट्रिय सम्बन्ध विशेषज्ञ बन्छ र दुईवटा फेसबुक कमेन्ट पढेर देशको शासन प्रणाली नै पुनर्संरचना गरिदिन्छ ।

कहिलेकाहीँ त लाग्छ, नेपालमा विश्वविद्यालयहरूको संख्या घटाएर सामाजिक सञ्जालका कमेन्ट सेक्सनहरूको संख्या बढाए पनि हुन्छ । किनकि त्यहाँ प्राध्यापक, अर्थशास्त्री, कानुनविद्, चिकित्सक, इन्जिनियर, भूगोलविद्, इतिहासकार र विदेशनीति विशेषज्ञ सबै एकै ठाउँमा भेटिन्छन् ।

तर ज्ञानको यो छताछुल्लबीच एउटा समस्या छ । सबैले बोलिरहेका छन्, सुन्ने कोही छैन । सबैले सल्लाह दिइरहेका छन्, सिक्ने कोही छैन । सबैले अरूको गल्ती देखिरहेका छन्, आफ्नै गल्ती हेर्न ऐना खोज्ने फुर्सद कसैलाई छैन ।
अन्त्यमा, यो चौतर्फी ज्ञानको अपच भएको समाजमा मैले एउटा परम सत्य बुझेको छु । संसारमा सबैभन्दा ठूलो ज्ञानी र सुखी त्यो हो, जो अरूको अज्ञानता र गल्तीलाई मौन बसेर मुसुमुसु मुस्कुराउँदै हेर्न सक्छ ।

त्यसैले अब मैले यो फोकटको ज्ञानोदान गर्ने महादानी फोकटलालको चोला त्याग्ने निर्णय गरेको छु ।
अब म कसैको माउस तान्ने छैन । कसैले एक्सेलमा २० पटक सेलका कन्टेन्ट मेटोस् कि २० हजार पटक, म त बस कुनामा बसेर एउटा रहस्यमयी मुस्कान छर्दै बस्नेछु ।

कसैले फेसबुकमा गलत तथ्य लेखोस्, कसैले रील्समा आधा-अधुरो ज्ञान बाँडोस्, कसैले एआईको उत्तरलाई आफ्नै दर्शन बनाएर पोस्ट गरोस्, कसैले चिया पसलमा देशको अर्थतन्त्र पाँच मिनेटमै सुधारोस्, म चुपचाप हेर्नेछु ।
किनकि संसारमा सबैलाई सुधार्ने जिम्मेवारी मैले मात्र लिएको होइन ।

मौनता नै यो फोकटलालहरूको देशमा परम ज्ञान हो ।
भन्न त भनियो । तर आनुवंशिक गुण भएकाले कतै फेरि फुत्काइहालेँ भने त्यसलाई मानवीय कमजोरी होइन, फोकटलाल धर्मको पुनरुत्थान ठानिदिनुहोला । आखिर फोकटमा ज्ञान बाँड्न छुट्नु भनेको एक किसिमले पुनर्जन्म नै हो ! सबै फोकटलाल ज्ञानीहरूको जय होस् !

०००
जनकपुरधाम, धनुषा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उखान, इख र अङ्कलको टिभी

उखान, इख र अङ्कलको...

दामाेदर न्याैपाने
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
दुईतिहाइको ठेडी

दुईतिहाइको ठेडी

फित्काैली डटकम
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x