फित्काैली डटकमदुई कृतिको विमोचनसँगै कथाकार नवीन अभिलाषी सम्मानित
मध्यपश्चिम स्रष्टा समाजले २०८२ सालमा प्रकाशित कथा सङ्ग्रह ‘दहाड’ का लागि अभिलाषीलाई उक्त सम्मानले सम्मानित गरेको हो ।
खजुरा (बाँके) । कविता हुँदै कथा लेखनमार्फत नेपाली साहित्यमा चर्चा कमाइरहनुभएका कथाकार नवीन अभिलाषी ‘सनत रचना कथा सम्मान २०८२’ बाट सम्मानित हुनुभएको छ ।
नेपालगन्जमा मध्यपश्चिम स्रष्टा समाजले २०८२ सालमा प्रकाशित कथा सङ्ग्रह ‘दहाड’ का लागि अभिलाषीलाई उक्त सम्मानले सम्मानित गरेको हो । एक समारोहबिच वरिष्ठ साहित्यकार तथा सम्पादक श्रीओम श्रेष्ठ रोदन र पुरस्कारका संस्थापक तथा वरिष्ठ कथाकार सनत रेग्मीले नगद ११ हजार एकसय ११ रूपियाँ नगद राशीसहित सम्मानपत्र कथाकार अभिलाषीलाई हस्तान्तरण गर्नुभएको हो ।
गत वर्ष प्रकाशित र आह्वान गरेबमोजिम प्राप्त कथा सङ्ग्रहमध्ये वरिष्ठ साहित्यकार तथा सम्पादक गोपाल अश्कको संयोजकत्वमा गठित तीन सदस्यीय छनौट समितिले उक्त कृतिलाई छनौट गरेको आधारमा अभिलाषीलाई सम्मान गरिएको कार्यक्रममा जानकारी गराइएको छ ।
मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष वीपी अस्तुले कथासङ्ग्रह ‘दहाड’ मार्फत् अभिलाषीले नेपाली समाजको इतिहास र वर्तमानका कटु यथार्थहरू, बहुआयामिक असमानताले उत्पन्न गरेका विडम्बनाहरू र सामाजिक संरचनाको पिँधमा रहनेहरूका अलिखित सङ्घर्षहरूलाई केन्द्रमा राखिएका कथाहरू सिर्जना गरी नेपाली साहित्यलाई गुन लगाएको योगदान स्वरुप सम्मान गरिएको जानकारी दिनुभयो ।
कथाकार अभिलाषीले आफूले समाजमा विभेदका अनेक तहहरु रहेछन् भन्ने थाहा भएदेखि साहित्यको अध्ययन र लेखनमा रुची लागेको बताउनुभयो । दहाडमा आफ्नो समुदायको इतिहासलाई भुइँतहबाट हेर्ने कोसिस गरेर लेखेको उहाँको भनाइ छ ।
दुई कृतिको विमोचन
यसैबिच सोही कार्यक्रममा कथाकार रेग्मीको ८० औँ जन्मदिवस मनाइनुका साथै दुईवटा कृतिहरुको विमोेचन पनि गरिएको थियो । कार्यक्रममा रेग्मीले रचना गर्नुभएका निबन्धहरूको सङ्ग्रह ‘टुक्रा टुक्रा जिन्दगी’ र रेग्मीको साहित्यिक व्यक्तित्वमाथि विभिन्न व्यक्तिहरुले लेखेका लेखहरूको सङ्गालो ‘सनत रेग्मी शब्दाभिनन्दन’ पुस्तक पनि विमोचन गरिएको थियो ।
विमोचिक कृतिहरु ‘टुक्रा टुक्रा जिन्दगी’ बारे डा. हरि तिमिल्सेना र सनत रेग्मी शब्दाभिनन्दन पुस्तकबारे साहित्यकार ऋचा लुइटेलले परिचयात्मक टिप्पणी राख्नुभएको थियो ।
मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष वीपी अस्तुको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार तथा सम्पादक श्रेष्ठ, कथाकार अभिलाषी, उपन्यास समाजका अध्यक्ष शङ्कर भारती, नेपाली भाषाविद् प्रा.डा. कृष्णप्रसाद घिमिरे, भारतको महाराष्ट्रबाट आउनुभएका साहित्यकार मनिषा खटाटे, प्रदीप सारङ्ग, नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य किरण आचार्य, लेखक नरेन्द्रजङ्ग पिटरलगायत एक सयभन्दा बढी साहित्यानुरागीहरुको सहभागीता रहेको थियो ।
०००
गजेन्द्र गुरुङकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest









































