जगदीश्वर पाेखरेलआधार ज्येष्ठको होस् साथी बनोस् समाज
संसार हाँक्न सक्छौँ ढिक्का बनेर बस्दा । पाषाण बन्छ धूलो टुक्रेर दूर खस्दा ।। छेकिन्छ आड पाए आँधी हुरी बतास । आधार ज्येष्ठको होस् साथी बनोस् समाज ।।
जगदीश्वर पाेखरेल :
चिन्ता गरेर मात्रै भेटिन्न अर्थ साँचो ।
नेपाल साँच्न सक्ने सामर्थ्यको छ खाँचो ।।
उत्साह भर्न सक्ने चाहिन्छ शक्ति राज ।
आधार ज्येष्ठको होस् साथी बनोस् समाज ।।१
सद्भाव भावना होस् सम्बन्ध बन्छ गाढा ।
नेपाल भावमा होस् बन्दैन देश टाढा ।।
खेल्छन् नि देश भित्रै वैरीहरू कबाज ।
आधार ज्येष्ठको होस् साथी बनोस् समाज ।।२
सम्पन्न बन्न सक्छौँ बेचेर नीर हामी ।
छन् हैम दिव्य अग्ला ऊर्जा हुने छ दामी ।।
हे १ देशका युवा हो जोतेर भू नथाक ।
आधार ज्येष्ठको होस् साथी बनोस् समाज ।।३
झुक्दैन देश हाम्रो अग्लो छ हैम माथ ।
छेक्नेछ हुन्डरी यो मिल्दा हजार हात ।।
हामी सबै हिमाली हाम्रो छ शक्ति ताज ।
आधार ज्येष्ठको होस् साथी बनोस् समाज ।।४
संसार हाँक्न सक्छौँ ढिक्का बनेर बस्दा ।
पाषाण बन्छ धूलो टुक्रेर दूर खस्दा ।।
छेकिन्छ आड पाए आँधी हुरी बतास ।
आधार ज्येष्ठको होस् साथी बनोस् समाज ।।५
०००
पाउँदीबजार, लमजुङ
सम्प्रति – सन्तोषीनगर, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest





































