पदम दाहालनारी एकल छन् भने सकसमा …
धर्तीमा समता रहोस् पुरुषको मात्रै नहोस् हैकम नारीको सहयोग योग क्षमता आकार होस् ऐजन । गाडी गुड्न अवश्य नै सडकमा चक्का दुबै दौडियून् नारी एकल छन् भने सकसमा विद्रोह गर्दै उठून् !।
पदम दाहाल :
नारी हुन् सबलाङ्ग अङ्ग पुजिने दैनन्दिनी दामिनी
स्रष्टा हुन् ममता र भाग्य भविता अर्धाङ्गिनी स्रग्विणी ।
त्यस्ती मातृक शक्ति केवल तृषा मात्रै नठानून् बुझून्
नारी एकल छन् भने सकसमा विद्रोह गर्दै उठून् !।१।
नारीभित्र कला गला छ दुइटै जाती गुनी सुन्दर
ज्यादै शून्य नगन्य हुन्छ टुहुरो नारीविनाको घर ।
नारीजीवन हौसला गति दिऊन् बाटो सुधारून् खटून्
नारी एकल छन् भने सकसमा विद्रोह गर्दै उठून् !।२।
आधा ठिक्क अकास ढाक्छ जसले भुल्दै छ मान्छे तर
नेपाली जनमानसै छ घटिया बुझ्ने यहाँ को छ र ?
खप्दैनन् अब कष्ट हालत कुनै दुर्भावना बक्दछन्
नारी एकल छन् भने सकसमा विद्रोह गर्दै उठून् !।३।
वृद्धा एकलमाथि न्याय नजुटे नारी रहून् तत्पर
यावत् शोषण भेदभाव छ भने निर्धा नहोऊन् तर
निष्ठा नैतिक न्याय आश्रय दिऊन् आफन्त साथै जुटून्
नारी एकल छन् भने सकसमा विद्रोह गर्दै उठून् !।४।
धर्तीमा समता रहोस् पुरुषको मात्रै नहोस् हैकम
नारीको सहयोग योग क्षमता आकार होस् ऐजन ।
गाडी गुड्न अवश्य नै सडकमा चक्का दुबै दौडियून्
नारी एकल छन् भने सकसमा विद्रोह गर्दै उठून् !।५।
०००
मादी, सङ्खुवासभा । हाल: लोकन्थली,भक्तपुर ।





































गज्जब राम्रो