फित्काैली डटकमदुईतिहाइको ठेडी
आज तिनै ‘सार्वभौम’ भनिने अनुहारहरूमा पार्टी-मुस्कान टाँसिएको छ, अनि मुखमा जबरजस्त ठोकिएको छ— दुईतिहाइको ठेडी।
प्रेम घिमिरे ‘अग्निकवच’ :
जनताको पसिना र मतपत्रको भारी बोकेर नयाँ बानेश्वरको भव्य मञ्चमा पुगेका माननीयहरूको दशा हेर्दा लाग्छ— उनीहरू कुनै जीवन्त लोकतन्त्रका हिस्सेदार होइनन्, बरु सत्ताको मतानमा सजाइएका बोल्न नजान्ने काठका कालिगढ हुन्। चुनावको मैदानमा गर्जंदा लाग्थ्यो, यिनको एकै हुङ्कारले सिंहदरबारका पर्खालहरू थरथर काम्नेछन्। तर, संसद्को रातो गलैँचामा पाइला के टेकेका थिए, ती सबै गर्जनहरू शीर्ष नेतृत्वको पाउमा खसेर लम्पसार परे। आज तिनै ‘सार्वभौम’ भनिने अनुहारहरूमा पार्टी-मुस्कान टाँसिएको छ, अनि मुखमा जबरजस्त ठोकिएको छ— दुईतिहाइको ठेडी।
मकैबारीमा ठड्याइएको बुख्याँचा कम्तीमा इमानदार हुन्छ। उसलाई आफ्नो सीमा थाहा छस त्यो न त कसैको प्रतिनिधित्वको दाबी गर्छ, न त देश बनाउने गफ हाँकेर भत्ताको थैलो भर्छ। तर, यी सुट-टाई र दौरासुरुवालधारी बुख्याँचाहरूको पाखण्ड गज्जबको छ। हाजिर खातामा औँठाछाप वा दस्तखत धस्काउन यिनका हातहरू बिजुलीझैँ चल्छन्, तर जनताको आर्तनाद पोख्न यिनको जिब्रोमा पक्षाघात हुन्छ। रोस्टम अगाडि उभिएर विवेकको दियो बाल्नुपर्ने मानिसहरू, पार्टी-कमान्डरको रिमोट कन्ट्रोलले मात्र चल्ने रोबोट बनेका छन्। उताबाट स्विच थिचिएपछि मात्र यिनका हात माथि उठ्छन्, यताबाट टाउको हल्लाइन्छ, र अन्ततः कोरसमा एउटै यान्त्रिक ध्वनि गुञ्जिन्छ— ‘हुन्छ’ वा ‘हुन्न’।
दुईतिहाइको यो अङ्कगणित जनताका लागि आशाको सगरमाथा थियो, तर दलका सिन्डिकेट मालिकहरूका लागि सांसदहरूको मुख थुन्ने कडा बिर्को बनिदियो। कत्रो विरक्तलाग्दो सन्नाटा । गाउँमा बाढीले बस्ती बगाउँदा, सिटामोल नपाएर गरिबको सास जाँदा, वा युवाहरू मुग्लानिन बाध्य हुँदा पनि यी माननीयहरूको मुख खुल्दैन। खुलोस् पनि कसरीर ? शीर्ष तीन(चार जना महाप्रभुहरूले ह्वीपको लोहोरोले मुखमा यस्तो ठेडी ठोकिदिएका छन् कि सास फेर्दा पनि पार्टीको अनुशासन भङ्ग होला भन्ने डरले यिनीहरू थुरथुर काम्छन्। सांसद हुनुको अर्थ केवल अङ्क पुर्याउने भेडा(बाख्राको हुलमा सामेल हुनु मात्रै हो तर ?
सत्ताको न्यानोमा लट्ठिएर कुर्सी जोगाउने यो लाचार मौनता कुनै तपस्या होइन, जनताको विश्वासमाथिको खुला डकैती हो। संसद् अब बहसको थलो रहेन, केवल मालिकको आज्ञा तामेल गर्ने र विवेकको दाहसंस्कार गर्ने चिहानघाट बन्यो। जतिसुकै चिल्ला गाथा गाए पनि, इतिहासको कठघरामा जब यी वर्षहरूको हिसाब मागिनेछ, तब ‘दुईतिहाइको ठेडी’ ठोकेर बुख्याँचा बनेका यी मौन माननीयहरूलाई कुनै क्षमा मिल्नेछैन। किनकि, आवाज भएर पनि नबोल्नु गल्ती मात्र होइन, लोकतन्त्रको हत्यामा चुपचाप साक्षी बस्नु महाअपराध हो।
०००
बर्दीवास
Subscribe
Login
0 Comments
Oldest










































