फित्काैली डटकमहरर फिल्म फेस्टिभलमा लघुचलचित्र ‘नर’ सर्वश्रेष्ठ घोषित
समारोहमा १८ लघुचलचित्रमध्ये दर्शकको मतका आधारमा आकाश धिमालद्वारा निर्देशित लघुचलचित्र ‘नर’ उत्कृष्ट बनेको हो ।
काठमाडौँ । नेपाली चलचित्र ‘नर’ दोस्रो काठमाडौँ हरर फिल्म फेस्टिभल–२०२६ मा सर्वश्रेष्ठ लघुचलचित्र घोषित भएको छ । रसियन हाउस काठमाडौँमा भएको समापन समारोहमा १८ लघुचलचित्रमध्ये दर्शकको मतका आधारमा आकाश धिमालद्वारा निर्देशित लघुचलचित्र ‘नर’ उत्कृष्ट बनेको हो ।
यसै गरी नादिम ताबेतद्वारा निर्देशित ‘इन दी डार्कनेस आई सी यु’ दर्शकहरूकै मतका आधारमा उत्कृष्ट फिचर चलचित्र चुनियो । यो चलचित्र फ्रान्स, लेबनान, कतार र साउदी अरेबियाको संयुक्त प्रस्तुति हो ।
दोस्रो काठमाडौँ हरर फिल्म फेस्टको दोस्रो संस्करण आइतबार चलचित्र प्रदर्शन र पुरस्कार वितरण समारोहसँगै सम्पन्न भएको हो । आयोजकले मौसम प्रतिकूल हुँदाहुँदै पनि महोत्सवका तिनै दिन ठुलो सङ्ख्यामा दर्शकको उपस्थिति रहेको बताएको छ ।
महोत्सवको समापन मोराद मुस्तफाद्वारा निर्देशित ‘आयशा कान्ट फ्लाई अवे’ चलचित्रबाट भएको थियो । इजिप्ट, फ्रान्स, जर्मनी, साउदी अरब र ट्युनिसियाको संयुक्त निर्माण रहेको यो चलचित्र काइरोको ऐन सम्स बस्तीमा बस्ने २६ वर्षीय अफ्रिकी आप्रवासी सेवाकर्मी आयशाको कथामा आधारित छ । इजिप्टी र अफ्रिकी आप्रवासीबिचको तनावका बिच गिरोहको नियन्त्रणमा रहेको बस्तीमा आयशाले भोग्नु परेको सङ्घर्ष फिल्मले देखाएको छ ।
समापन समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति ब्रजेश खनालले नेपालमा हरर चलचित्रको प्रवर्धन गर्ने यस पहलको प्रशंसा गर्नुभयो । यसै गरी नेपालस्थित रुसी सङ्घीय दूतावासका मिनिस्टर काउन्सिलर तथा उपनियोग प्रमुख रिनचेन राक्सायेभले चलचित्रमार्फत नेपाल र रुसबिचको सांस्कृतिक आदानप्रदान सुदृढ बनाउनेमा जोड दिनुभयो ।
समापन समारोहमा पूर्ववातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश शाह, रसियन हाउस काठमाडौँकी निर्देशक अनास्तासिया खोख्लोभा तथा नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकको पनि उपस्थिति रहेको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest







































