नरनाथ लुइँटेलडाढोले भुतुक्क भएर डढ्दा डढ्दै
अर्यालको यो डाढो छापिँदा म लठुवाचाहिँ सर्टको बाहुलामा सिँगान स्याँक्क पार्दै र घुँडातिर खस्किन लागेको कट्टु माथि सार्दै खालिखुट्टा स्कूलतिर दगुर्दै थिएँ । मलाई अहिले ऐभाँतको यो डाढो सल्काउने आरसी रिजाल चाहिँ यता के गर्दै थिए कुन्नि !
नरनाथ लुइँँटेल :
भैरव पुरस्कार २०८३ द्वारा सम्मानित आर सी रिजालको व्यक्तित्व परिचयका क्रममा समारोहमा वाचित लिखितम् मन्तव्य
भैरव अर्याल र वासुदेव लुइँटेलको संयुक्त गठबन्धनमा ३० को दशकतिरै झण्डै आधा दर्जन जति डाढेहरूको डाढे राग बटुलेर ‘डाढो’ निबन्धसङ्ग्रह निस्केको थियो । त्यसमा स्वयम अर्यालको पनि डाढो पुराण समावेश छ । भैरवले ढाढोको प्राचीन, पौराणिक र ऐतिहासिक सन्दर्भ उठाउँदै यसलाई तीन वगएमा वर्गीकरण समेत गरेका छन् ः १) पुङमाङे डाढो २) पानी डाढो र ३) भष्मासुरे डाढो । डाढोको यो नाटीको वयान रोचक छ, नपढेकाकले पढ्न र पढिसकेकाले फेरि पढ्न सजिलो होस भनेर आजै बिहान फित्कौलीमा पुनरप्रविष्ट गरिएको छ । तपाइँहरूका मोबाइलबाटै अहिले भर्खर हेर्न र पढन सकिन्छ ।
तैँले चाहिँ अहिले यो डाडोको प्रसङ्ग किन तानेको भन्नु होला । नतानूँ कसरी ? जब कि मलाई यै डाढोले हुनसम्मको औडाहा भइरहेको छ । फेरि भन्नु होला ए त्यसो भए अहिले आरसी रिजाललाई उही भैरवको नाममा १११ वटा सुकिला हाती सहितको पुरस्कारले पुर्न आँटेकामा डाढो लागेछ । २०७८ सालमै यो पुरस्कार मैले जिप्ट्यासकेको हुँ, अब भने तपाइँको आशंकाले फेल खायो । पुरस्कारको हैन मलाई त आरसी रिजाल भन्ने मान्छेकै डाढोले डढाइसकेको छ । किन र कसरी होला ? मेरा मनमा हुँडलिइरहेको या डाढोलाई अलि सङ्क्षेपमै भए पनि यहाँहरूसमक्ष पोखेर अलिकति हलुका हुन चाहेको छु ।
यो डाढोको आरम्भ हुन्छ जन्मदेखि नै । २०१५, १६ सालमा म भोजपुरको पखेरोतिर किन वन्मेको हुँला जब कि यी आरसी रिजाल मकवानपुर गडीमा २००९ सालमै फ्यात्त जन्मेछन् । लौ भन्नोस् त, उमेरले मभन्दा ६,७ वर्षै जेठो भएर किन जन्मिनु परेको हो ? अनि आरसी जन्मेको गढीतिर मै जन्मिदा हुन्थेन र ? डाढोको मूलजरो नै यही हो ।
यदि म मकवानपुर गढीतिर जन्मेको हुन्थेँ भने मेरो मुल कर्मथलो हेटौडा नै हुने थियो, म त्यतै ढलिमली गरिरहेको हुने थिएँ । हेटौडालाई हास्यव्यङ्ग्यको दोस्रो राजधानी मै बनाउने थिएँ, आरसीले कहाँ च्याउन पाउँथे र भन्या ? आफ्नो आँगन खर्लप्पै काटेर मकवानपुरे सिस्नुपानी मै बनाउँथेँ, साहित्य संगमलाई दान गर्ने दानवीर पनि मै हुन्थेँ ती संस्थाको स्वामित्वमा रहने गरी भवन समेत बनाउने काममा म आफै सक्रिय हुने थिएँ । मकवानपुरका विभिन्न स्थानमा पाँचपाँचजना दिवंगत वरिष्ठ स्रष्टाहरू भैरव अर्याल, गोपालप्रसाद रिमाल, पारिजात, आदिकवि भानुभक्त आचार्य र महाकवि लक्ष्मीप्रसाद देवकोटाका प्रतिमा स्थापना गराउने कार्यमा अरु कसैलाई ढिम्किन दिन्थेँ र भन्या । यी स्रष्टाका नाममा अक्षयकोष स्थापना मै गर्थेँ । हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना गरी पुरस्कार प्रदान गर्ने व्यवस्था मै मिलाउँथेँ ।
आफ्नै नाममा सिस्नुपानी हेटौंडामा हास्यव्यड्ग्यका प्रतिभाहरुलाई प्रदान गर्ने गरी पुरस्कार स्थापना पनि मै गर्थें । मातापिताका नाममा बुढ्यौली साहित्य पुरस्कार स्थापना पनि मै गर्थें । हेटौंडामा मेरै नेतृत्व र पहलमा दिवंगत साहित्यकारहरू तुलसी थापा र गणेशकुमार पौडेलहरूको स्मृति ग्रन्थ प्रकाशन र उहाँहरूका नाममा पुरस्कार स्थापना पनि मेरै सक्रियतामा सम्पन्न हुने निश्चित थियो । यहाँ अहिले जति पनि प्रतिमा बनेका छन्, जति पनि पुरस्कार स्थापना भएका छन्, ती सबै विषय वा प्रशंगमा हेटौँडामा गजप गजपका कार्यक्रमहरू पनि भइरहन्छन् । ती सबै कार्यक्रममा महत्वपूर्ण भूमिका मेरै हुने थियो । विचरा आरसी रिजाल भन्ने मनुवा त किनारामा उभिएर रमित पो हेरिरहेका हुने थिए । यसरी जति सम्झदै गयो उति यो डाढोले मलाई कोपरिरहेको छ । हे फसाद !
हेटौडा भ्याएर काठमाण्डौ छिरेपछि पनि रिजाललाई गलहत्याएर अर्को उपद्रो मैल नैे गरिरहेको हुने थिएँ । हास्यव्यङ्ग्यका हस्ती केशवराज पिँडालीको नाममा नेपालमै पहिलोपटक पुरस्कार स्थापना पनि मैले नै गर्ने थिएँ । अझै के के चकचक मबाट हुने थिए, आरसी रिजाल र बाँकी तपाइँहरू त रमिता पो हेरिरहनु हुने थियो ।
’खरानीभित्रको आगो’ एउटा गैरहास्यव्यङ्ग्य कृति बाहेक ‘कुकुरको पुच्छर’, ‘कण्ठलँगौटी“, ‘हाकिमको खप्पर’, ’फु फु फु’ र ‘को वरिष्ठ’ जस्ता हास्यव्यङ्ग्यका उम्दा कृतिहरू पनि आरसीले हैन मैले नै लेखेका हुने थिए । ‘भोलारामको आत्मा’ नामको हिन्दी र उर्दु हास्यव्यङ्ग्य निबन्धहरुको नेपाली अनुदित कृति पनि मैले नै प्रकाशित गरेको ठहरिने थियो । आरसी हैन, विगत चार वर्षदेखि बुढ्यौली साहित्यको प्रवद्र्धनमा पनि उत्तिकै सकृयताका साथ म नै लागिपरिरहेको हुने थिएँ । नपत्याए चट्याङमास्टरलाई खुसुक्क सोधे हुन्छ ।
यी सबै उत्पात र बितपातका कामहरूमा मेरो संलग्नता र सक्रियता देखेर तपाइँहरू छक्कै पर्नु हुने थियो । हत्तेरिका अनि आरसीको ठाउँमा म किन भइँन र मेरो ठाउँमा तपाइँ किन हुनु भएन ? हो, अनि यही आहारिस र डाढोको आगोले मलाई भतभती पोलिरहेको हो । डाढोले फोक्सो कजेजो समेत डढाइरहेको छ । हो, यसरी नै अनादि कालदेखि हरेकलाई डढ्ने र डढाउने प्रक्रिया जो चलिआएको छ भैरव अर्यालले डाढोका रुपमा यसैको बडो मजाकिलो नालीबेली लगाएका छन् । २०३१ सालमा अर्यालको यो डाढो छापिँदा म लठुवाचाहिँ सर्टको बाहुलामा सिँगान स्याँक्क पार्दै र घुँडातिर खस्किन लागेको कट्टु माथि सार्दै खालिखुट्टा स्कूलतिर दगुर्दै थिएँ । मलाई अहिले ऐभाँतको यो डाढो सल्काउने आरसी रिजाल चाहिँ यता के गर्दै थिए कुन्नि !
आरसी रिजालका बारेमा अर्को डाढो लाग्ने कुरा लक्ष्मण गाम्नागेले गतवर्ष भनेका थिए । टुङ्ग्याउनीमा गाम्नागेको त्यो कथन सुनाउनु प्रासङ्गिक होला भन्ने ठानेको छु । गाम्नागेले फित्कौलीकै कार्यक्रममा सगौरव भनेका थिए– “वासुदेब शर्मा लुइँटेल अर्थात भूतका भिनाजुले आफू भूतको भिनाजु भनेर त भन्नुभयो तर सालो को हो भनेर हामीलाई नचिनाइकन जानुभयो । अहिले पो थाहा भयो त्यो भूत सालो त आरसी रिजाल पो हुनुहुँदो रहेछ । कामको भूत चढेपछि चढ्यो चढ्यो । कसैले केहीले रोक्न थाम्न नसक्ने । हास्यव्यङ्ग्य साहित्यको प्रवर्द्धनमा यसरी भूतजस्तो मरिमेटेर लाग्ने भूतका भिनाजु पछि यिनै भूतका साला हुन् भन्दा कसैले होइन भन्ने ठाउँ छैन ।” भनेपछि यस कथनले के पुष्टी गर्छ भने मलाई जसरी नै लक्ष्मण गाम्नागेलाई पनि यो वैगुनी डाढोले सताउनु सताएको रहेछ नि !
यसरी डाढोको भुतभुतेमा पिर्सलिँदा पिर्सलिँदै भए पनि भैरवको नामसँग जोडिएका तीनवटै पुरस्कारले आज सम्मानित आरसी रिजाल, टेकवीर मुखिया र देवीप्रसाद चापागाइँलाई हार्दिक बधाई ज्ञापन गर्न म बाध्य भएको छु । यति भन्न पाउँदा पनि भतक्क भएर डढेको मेरो मन अलि शान्त भएको छ । सबैले मलाई सान्त्वना दिनु होला । ओकलिएर पोखिएको मेरो डाढोमय यो गन्थन ध्यानपूर्वक सुनिदिनु भएकामा यहाँहरू सबैलाई हार्दिक धन्यवाद । जय भैरव ! जय हास्यव्यङ्ग्य !!
०००
३०८३ असोज १८
भैरव स्मृति भवन, जोरपाटी
Subscribe
Login
0 Comments
Oldest







































