नरनाथ लुइँटेलगोतामेका कृतिहरूको अध्ययन तथा विश्लेषण (३)
अन्ततः भूमिकामा भैरव अर्यालले भनेजस्तै भन्न मन लाग्छ- 'मपाईं एकछिनको मनोरञ्जन वा अल्लारे ठिटाठिटोको हँस्यौलीमा मात्र सीमित नभएर समाजमा मानवतापूर्ण-श्रृङ्खला खोज्ने सकसकी ल्याइदिने खालको एउटा प्रेरक पाठ्य पनि भएको मान्नुपर्छ।

नरनाथ लुइँटेल :
वि.सं. १९९६ भदौ २७ गते काठमाडाैंमा जन्मिएका श्याम गाेतामे नेपाली हास्यव्यङ्ग्य निबन्धका अविस्मरणीय व्यक्तित्व हुन् । गाेतामेकाे पहिलाे प्रकाशित हास्यव्यङ्ग्य निबन्ध ‘मैले पनि पिउन सिकेँ’ हाे, याे २०२५ सालमा प्रकाशित भएकाे थियाे । उनकाे पहिलो कृति चाहिँ ‘मपाईं’ (२०२६) हास्यव्यङ्ग्यसङ्ग्रह हाे । यस अतिरिक्त गोतामेका ‘जदौ’ (२०२७), ‘कायन वाचा’ (२०३४), ‘श्याम गोतामेका प्रतिनिधि हास्यिव्यङ्ग्यसङ्ग्रह (२०४५), सेन्स कमन सेन्स, नन्सेन्स (२०७९) आदि हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहहरू प्रकाशित छन् । झण्डै २ सय जति विभिन्न पत्रपत्रिकामा छापिएर रहेका फुटकर निबन्धहरू रहेका भेटिन्छन् । २०४९ को भैरव पुरस्कारबाट पुरस्कृत स्रष्टा गाेतामेकाे निधन २०५५ साल वैशाख १९ गते भएकाे हाे । उनी कृतिशेष भएकै दिन स्थापना भएकाे हास्यव्यङ्ग्य संस्था सिस्नुपानी नेपाललद्वारा ‘हास्यव्यङ्ग्यकार श्याम गोतामे’ (२०५८) जीवनी र व्यक्तित्वमा आधारित कृति प्रकाशित भएकाे थियाे । नरनाथ लुइँटेलकाे यस कृतिबाट श्याम गाेतामेका हास्यव्यङ्ग्य कृतिहरूकाे अध्ययन तथा विश्लेषण अंश क्रमशः प्रस्तुत गर्नु सान्दर्भिक ठानिएकाे छ । – सम्पादक
(ग) मपाईं हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहमा सामाजिक विसङ्गति
मपाईं हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रहमा सङ्कलित रचनाहरूको एउटा विषयवस्तु सामाजिक विसङ्गति पनि हो। जड् अन्धविश्वास, सामाजिक दुराचार, घूस-नजराना, ढिला सुस्ती, भ्रष्टाचार, अनुशासनहिनता, पक्षपात, नातावाद, चाकडी जस्ता यावत विकृतिजन्य कुराहरू सामाजिक विसङ्गति अन्तरगत पर्दछन्। सामाजिक विसङ्गतिका कतिपय पाटा र प्रवृतिहरूलाई हास्यव्यङ्ग्यकार श्याम गोतामेले यत्स कृतिका माध्यमले खाेयाबाट मकै छोडाए झैं छोडाएका छन्। यसरी सामाजिक विसङ्गतिलाई विषयवस्तु बनाई लेखिएका निबन्धहरूमा ‘भुँडी सेवा नियमावली’, ‘सतर्क हुनुहोस्’, ‘खाद्य सामग्री’, ‘जय नरधूप-जय चुरोट’, ‘साँचो गफ’, ‘प्रभुजी मलाई पियक्कड बनाऊ’ आदि रहेका छन् ।
भ्रष्टाचार नेपालको लागि एउटा सामाजिक अभिशाप बनेको छ। मति नै भ्रष्ट भएपछि पदमा पुगेको कर्मचारी होस् या राजनेता ऊ भ्रष्टाचारमा डुबुल्की मार्न थलिहाल्छ। विकास निर्माणको निम्ति विनियोजित रैरकमलाई भ्रष्ट मनोवृत्ति भएका मान्छेहरूले घुमाई फिराई हाम गरेर भुँडी भर्ने काम गर्दछन्। यसरी भँडी भर्ने कामप्रति चोटिलो प्रहार गर्दै लेखिएको रचना हो ‘भुँडी सेवा नियमावली’। विभिन्न बुँदामा विभक्त यो निबन्ध-नियमावली खास गरेर ‘सरकारी अनुदानबाट आफ्नो विकास गर्ने पुनित धेय राखेका देश सेवक (?) को निम्ति लागू हुने छ ।’ भन्दै ‘सरकारले अनुदान पचाउनेहरूको खेदो खनी राष्ट्रिय सम्पत्तिको पाई-पाई असूलउपर गरी हामीलाई आफ्नो दुनो सोझ्याउनमा विफल पारेको बखत यो नियमावली निष्क्रिय हुने’ बताइएको छ। सरकारी रकम नियम मिलाएर खाइपल्केका भ्रष्टहरूको भ्रष्टाचारलाई प्रवृत्तिगत ढङ्गले उधिनआधिन पार्न यो रचना सफल छ।
त्यसैगरी अर्को निबन्ध ‘खाद्य सामग्री’ मा पनि खाने क्रियाका विविध रूपहरूको प्रसङ्ग उचालेर हास्यव्यङ्ग्यकार गोतामेले खाद्य-अखाद्य पदार्थको सूची प्रस्तुत गरेका छन्। ‘गोतामेले जाँड खाएको तथ्यदेखि पञ्चहरूले देश सेवा गर्ने किरिया खाए पर्यन्तका पराक्रमहरुको सम्झना हुन आउँछ। त्यसको अतिरिक्त सामाजिक न्यायमूर्तिहरूले घुस खाएका, आचार-पण्डितहरूले काट्टो खाएका, मजस्तो स्वाभिमानीले अपुताली खाएको, देशसेवक नेताको भाषणले जनताको कान खाएको, बतासे डाँडामा ड्याकोटा विमानले कावा खाएको, सौन्दर्यवादीले सौन्दर्योपासना गरेवापत धोवीखोलाको पुलमा चुटाइ खाएको, विदेशिएका भू.पू नेताहरूले हावा खाएको, निमुखा र इमान्दारले गाली खाएको, साहुले घ्यू खाएको, सूत्र हुनेले जागीर खाएको, नहुनेले लोप्पा खाएको, स्वामीभक्तले नाफा खएको, राष्ट्रवादी भनाउँदाहरूले राष्ट्रको निमेक खाएको, व्यापार वार्तामा टेवुल ओगट्नेले आफुसभा कुरा खाएको. मोहीले रिन खएको, तलसिंले कुटाइ खएको, मन्त्री हुन सफल नहुने नेताले वाँड् खाएको, औसरवादीले गोता खाएको, गद्वारले आची खाएको र यो लेखले तपाईंको कपाल खाएको उज्वल र गौरवपूर्ण संस्मरणहरू उल्लेखनीय छन् । (श्याम गोतामे, पूर्ववत्, पृ. ८४।)
यसका अतिरिक्त ‘जय नरधूप-जय चुरोटमा अम्बल र अम्बलीलाई केन्द्रविन्दु वनाएर, ‘साँचो गफ’मा राजधानीको नगर वस-यात्रालाई लक्ष गरेर, ‘प्रभुजी मलाई पियक्कड बनाऊ मा जाँड रक्सिले उत्पन्न गरेको सामाजिक समस्यालाई आधार बनाएर सामाजिक विसङ्गतिहरूमाथि हाँसो उडाउँदै व्यङ्ग्य गरिएको पाइन्छ। सङ्ग्रहका अरू निबन्धहरूमा पनि कतिपय उपमा उदाहरण र अनुच्छेदहरूमा पनि प्रसङ्गवस सा विसङ्गतिलाई समेटेर व्यङ्ग्य गरिएको पाइन्छ।
यसरी विषयवस्तुको छनौट र तत्सम्बन्धी पूर्वापार संयोजनले यस सङ्ग्र हास्यव्यङ्ग्यको एउटा सवल कृतिका रूपमा उभ्याएको छ।
भाषाशैली
भाषा अभिव्यक्तिको सशक्त माध्यम हो । हास्यव्यङ्ग्य रचनाको निम्ति भाषा सरलताका साथसाथै सरसताको पनि उत्तिकै जरूरी पर्दछ । लोकवोलीमा पचिसकेका बोधगम्य हुनेसम्मका विभाषीय भाषाका शब्दहरूको प्रयोगले मधुर हास्यको उत्पति र गम्भीर व्यङ्ग्यलाई मद्धत नै पुगेको हुन्छ। तर बोधगम्य नहुने खालका विभाषय शब्दहरूको प्रयोग हुनु राम्रो होइन। यस दृष्टिले अध्ययन गर्दा प्रस्तुत सङ्ग्रहमा गोतामेले सरल र संवेद्य भाषा प्रयोग गरेका छन्। व्याकरणका नियमहरू उल्लङ्क्षन नगरी निर्मित सरल र संयुक्त वाक्यहरूको वाहुल्य सङ्ग्रहका हास्यव्यङ्ग्य रचनाहरूमा पाइन्छ।
प्रसङ्गवस कतिपय ठाउँमा ‘फूड-सेन्टर’ (पृ.३), ‘इन्टरेष्टिंग’ (पृ.४), ‘पिकनिक (पृ.५) ‘वण्डरफुल’, ‘एक्सेलेन्ट’ (पृ.६), पोलिटिक्स’ (पृ.१३), ‘लन्च’, ‘इन्टमाइट’ । पृ.१५), ‘रेफर’ (पृ.१६) ‘टेक अप’ ‘क्यू’ (पृ.१७), ‘कण्डक्टर’, ‘बाइस्कलको टिउब । पृ.१९), ‘प्रमोशन’ (पृ.२०), ‘डाइग्नोसिस’, ‘सिम्पोसियम’, ‘फिस’ (पृ.२३), ‘पेग’ ‘नर्मल’ ( पृ.२५), ‘पोज’, ‘मूड’ (पृ.२७), ‘नोट्स’ (पृ.२९), ‘डुप्लिकेट’, ‘लुप’ (पृ.३६), जस्ता अङ्ग्रेजी शब्दको प्रयोग गोतामेले गरेका छन् । तर तत्तत् ठाउँमा मधुर हास्य र गम्भीर व्यङ्ग्यको प्रादुर्भाव भएको देखिन्छ। बोधगम्यतामा आँच पुगेको भने छैन। उक्तिवैचित्र्य प्रकट गर्ने क्रममा कतिपय ठाउँमा विभाषीय शब्दको प्रयोग र लामा लामा वाक्यहरूको प्रयोग पनि हुन पुगेको देखिन्छ। यद्यपि समग्रमा भन्नुपर्दा प्रस्तुत सङ्ग्रहका अधिकाश रचनाहरूमा प्रयुक्त भाषा सरल र सुबोध छ, मौका पर्नासाथ प्रचलित उखान-टुक्कालाई थपथप राखिएको छ। यसले निबन्धहरूलाई अझ सुस्वादु बनाएको पाइन्छ ।
मपाई हास्यव्यङ्ग्य सङ्ग्रहमा शैलीको एकरूपता छैन। हास्यव्यङ्ग्य कृतिको सफल विशेषता पनि यही हो। सङ्ग्रहको पहिलो रचना ‘महान् व्यङ्ग्यकारसँग अन्तर्वार्ता’मा विवरणात्मक र सम्वादात्मक शैली अपनाइएको छ भने ‘मेरो नाउँ स्वोइ ?’, ‘साँचो गफ’, ‘लेखक होइन, सम्पादक बन्नोस्’ आदि रचनाहरू वर्णनात्मक शैलीमा लेखिएका छन्। त्यसैगरी ‘मपाई’, ‘जय नरधूप-जय चुरोट’ र ‘गोतामेहरूको आदर्श’ आत्मपरक र संस्मरणात्मक शैलीमा आधारित छन् भने ‘भुँडी सेवा नियमावली’ बुँदा टिपोट शैलीमा निर्माण गरिएको छ। ‘कर्मठ सम्मेलन’ मा वर्णन र सम्वाद मिसाइएको छ भने ‘सतर्क हुनुहोस्’ रचना विवरण र संस्मरणका विचोबीचबाट अगि बढेको छ।
यसरी शैली विविधताले पाठकलाई प्रत्येक निबन्धमा नयाँ स्वाद दिदै मनोरञ्जन प्रदान गर्दछ भने विसङ्गति बोध गराउँदै त्यसलाई सुधार्नेतर्फ जागरण पैदा गरिदिन्छ। गोतामेका अरू सङ्ग्रहमा पनि यसै किसिमकाे शैलीगत विविधता पाइन्छ।
निष्कर्ष
लेखन तथा प्रकाशन कालको हिसाबले मपाईं श्याम गोतामेको पहिलो हास्यव्यङ्ग्य कृति हो। यही कृतिमार्फत उनी नेपाली साहित्यको हास्यव्यङ्ग्य फाँटमा प्रवेश गरेका हुन्। उनको प्रवेश नै सर्वथा सार्थक र सफल रहेको देखिन्छ। सामाजिक, राजनैतिक साहित्यिक तथा विविध विसङ्गतिमाथि तीव्र प्रहार गरी त्यसमा सुधार र सङ्गतिको अपेक्षा गर्नु हास्यव्यङ्ग्यको धर्म हो। यो धर्मलाई विभिन्न कोणबाट मपाई हास्यव्यङ्ग्य सङ्ग्रहले निर्वाह गरेको छ। भाषिक दृष्टिमा अत्यधिक विभाषीय शब्दको प्रयोग, सामाजिक आर्थिक, साँस्कृतिक विसङ्गतिभन्दा बढी साहित्यिक विसङ्गतिको सेरोफेरोलाई दिइएको प्राथमिकताजस्ता कुरालाई कमीको रूपमा औल्याउन सकिन्छ। यद्यपि मपाई हास्यव्यङ्ग्य सङ्ग्रह नेपाली हास्यव्यङ्ग्यको आधुनिक चरणको एउटा राम्रो प्राप्ति हो भन्न हिचकिचाउनु पर्ने स्थिति छैन। ‘हास्यव्यङ्ग्य हलुका मनोरञ्जनको विषय मात्र होइन भन्ने कुराको बलियो साँक्षी बनेर हाम्रो सामु उभिएको छ मपाईं। (भैरव अर्याल मपाईको भूमिका. पू. घ ।) मपाईंको शीर्षक चयन, भावसङ्गति, विषयवस्तुको संयोजन, भाषाशैली तथा प्रस्तुतिका हिसावले पनि भैरव अर्यालले भूमिकामा लेखेको उपरोक्त कथनलाई नै पुष्टि गरेका छन् ।
प्रत्येक रचनाको प्रारम्भमा प्रस्तुत गरिएका व्यङ्ग्य चित्र (कार्टून) हरूले पाठकलाई अर्को स्वाद दिएका छन्। अन्ततः भूमिकामा भैरव अर्यालले भनेजस्तै भन्न मन लाग्छ- ‘मपाईं एकछिनको मनोरञ्जन वा अल्लारे ठिटाठिटोको हँस्यौलीमा मात्र सीमित नभएर समाजमा मानवतापूर्ण-श्रृङ्खला खोज्ने सकसकी ल्याइदिने खालको एउटा प्रेरक पाठ्य पनि भएको मान्नुपर्छ। तर एउटा विचार पुऱ्याउनु पर्ने कुरा के छ भने साहित्यमा अरू सबै विधाजस्तै हास्यव्यङ्ग्य पनि विचारमा होइन कलामा टल्कन्छ, कलामै चिरायु हुन्छ। (भैरव अर्याल पूर्ववत्, भूमिका, पृ. ग।)
क्रमश: अर्काे शनिवार
०००
हास्यव्यङ्ग्यकार श्याम गोतामे (२०५८)
Subscribe
Login
0 Comments
Oldest








































