साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोतामेका हास्यव्यङ्ग्य कृतिहरूको अध्ययन तथा विश्लेषण (१)

धेरैतिर आरोपित गर्दागर्दै पनि गोतामे भाषणलाई राजनीतिको पर्यायसँग जोड्दछन् र भन्छन् 'मेरो एकजना मित्र चुनावमा पराजित भएर सोही तोडमा बिरामी परे। मृत्युशैयामा पनि उनलाई राजनीतिले छोडेन।

Nepal Telecom ad

नरनाथ लुइँटेल :

वि.सं. १९९६ भदौ २७ गते काठमाडाैंमा जन्मिएका श्याम गाेतामे नेपाली हास्यव्यङ्ग्य निबन्धका अविस्मरणीय व्यक्तित्व हुन् । गाेतामेकाे पहिलाे प्रकाशित हास्यव्यङ्ग्य निबन्ध ‘मैले पनि पिउन सिकेँ’ हाे, याे २०२५ सालमा प्रकाशित भएकाे थियाे । उनकाे पहिलो कृति चाहिँ ‘मपाईं’ (२०२६) हास्यव्यङ्ग्यसङ्ग्रह हाे । यस अतिरिक्त गोतामेका ‘जदौ’ (२०२७), ‘कायन वाचा’ (२०३४), ‘श्याम गोतामेका प्रतिनिधि हास्यिव्यङ्ग्यसङ्ग्रह (२०४५), सेन्स कमन सेन्स, नन्सेन्स (२०७९) आदि हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहहरू प्रकाशित छन् । झण्डै २ सय जति विभिन्न पत्रपत्रिकामा छापिएर रहेका फुटकर निबन्धहरू रहेका भेटिन्छन् । २०४९ को भैरव पुरस्कारबाट पुरस्कृत स्रष्टा गाेतामेकाे निधन २०५५ साल वैशाख १९ गते भएकाे हाे । उनी कृतिशेष भएकै दिन स्थापना भएकाे हास्यव्यङ्ग्य संस्था सिस्नुपानी नेपाललद्वारा ‘हास्यव्यङ्ग्यकार श्याम गोतामे’ (२०५८) जीवनी र व्यक्तित्वमा आधारित कृति प्रकाशित भएकाे थियाे । नरनाथ लुइँटेलकाे यस कृतिबाट श्याम गाेतामेका हास्यव्यङ्ग्य कृतिहरूकाे अध्ययन तथा विश्लेषण अंश क्रमशः प्रस्तुत गर्नु सान्दर्भिक ठानिएकाे छ । – सम्पादक

नेपाली हास्यव्यङ्ग्यको आधुनिक कालका एक प्रखर स्रष्टा श्याम गोतामेले आफ्नो लेखकीय जीवनभरी हास्यव्यङ्ग्यात्मक रचनाहरू मात्र सिर्जना गरे, त्यो पनि गद्यको निबन्ध विधालाई माध्यम बनाएर। उनले जीवनको पछिल्लो चरणमा केही गोष्ठीमा एकाद कविता वाचन गरेको सुनिए पनि उनका कविता या अरू कुनै विधामा लेखिएका रचनाहरू फेला परेका छैनन् । २०२४।२०२५ सालदेखि तत्कालीन पत्र-पत्रिकामा हास्यव्यङ्ग्य रचना प्रकाशित हुन थालेका श्याम गोतामेको मपाई पुस्तकाकार कृतिका रूपमा पहिलो हो। मपाई कौवा प्रकाशनको दशाैँ कृति हो र यो २०२६ सालमा पहिलो पटक प्रकाशित भएको थियो। यसको दोस्रो संस्करण कौवा प्रकाशनबाटै २०२८ साल कागतिहारको दिन प्रकाशित भएको देखिन्छ।

यसपछि लगत्तै दोस्रो कृतिका रूपमा प्रकाशित भयो जदौ। रत्नपुस्तक भण्डारद्वारा प्रकाशित यो कृतिमा प्रकाशन मिति उल्लेख गरिएको छैन। तर माधवलाल कर्माचार्यद्वारा लेखिएको आमुखमा २०/४/२०२७ उल्लेख छ। यसैले यो कृतिको पहिलो संस्करण वि.स.२०२७ सालमै निस्किएको पुष्टि हुन्छ। श्याम गोतामेको तेस्रो हास्यव्यङ्ग्य कृति कायेनवाचा साझा प्रकाशनबाट वि.सं. ३०३३ सालमा प्रकाशित भएको थियो। त्यसैगरी उनको चौथो कृति श्याम गोतामेका प्रतिनिधि हास्यव्यङ्ग्य नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा वि.सं.२०४६ सालमा प्रकाशित भएको थियो। उनका फुटकर हास्यव्यङ्ग्य रचनाहरू विभिन्न पत्रपत्रिकामा छरिएर रहेका छन्। उनको मृत्यु हुनुभन्दा दुई दिनअघि अर्थात २०५५ वैशाख १६ गते ‘कान्तिपुर दैनिकमा उनको रचना प्रकाशित भएको थियो। सम्भवत उनको जीवनकालमा छापिएको पछिल्लो रचना पनि यही नै हो। यस परिच्छेदमा हास्यव्यङ्ग्यकार श्याम गोतामेका हास्यव्यङ्ग्य कृति एवम् फुटकर रचनाहरूको अध्ययन एवम् विश्लेषण गरिने छ।

मपाईं (हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह) को अध्ययन
वि.सं. २०२६ सालमा प्रकाशित यो सङ्ग्रह श्याम गोतामेको पहिलाे हास्यव्यङ्ग्य कृति हो। कौवा प्रकाशनबाट प्रकाशित यस सङ्ग्रहको भूमिका भैरव अर्यालले पत्रात्मक शैलीमा श्याम गोतामेलाई सम्बोधन गर्दै लेखेका छन्- ‘तपाईंकाे मपाईं’ शीर्षकको यो भूमिका आफैमा एउटा व्यङ्ग्य रचना जस्तो लाग्छ।’ सङ्ग्रहमा सङ्कलित १६ वटा रचना क्रमशः यस प्रकार छन्ः ‘महान व्यङ्ग्यकारसँग अन्तर्वार्ता’, ‘मप्रति खाेइ सहानुभूति ? मेरो नाउँ खोइ ?’, ‘साँचो गफ’, ‘प्रभुजी मलाई पियक्कड बनाऊ’, ‘लेखक होइन, सम्पादक बन्नोस्’, ‘कर्मठ सम्मेलन’, ‘जय नरधूप जय चुरोट’ ‘भुँडी सेवा नियमावली’, ‘मपाई’, ‘सतर्क हुनुहोस् ।’, ‘मैले पनि पिउन सिकेँ’, ‘देशले प्रगति गर्ने महान् आश‌ङ्का’, ‘खाद्य सामग्री’, ‘नेपाली साहित्यमा आधुनिकवाद’ ‘भाषण-माहात्म्य’ र ‘गोतामे परिवारको आदर्श’ । प्रायः सवै रचनाहरू निबन्धात्मक सरचना अन्तर्गत लेखिएका छन्। त्यति लामा पनि छैनन् र एकदमै छोटा पनि छैनन्र- मझौला किसिमका देखिन्छन्।

यस सङ्ग्रहमा सङ्कलित प्रायः सवै निबन्ध त्यतिखेर निस्कने गरेका साहित्यिक तथा साप्ताहिक पत्र-पत्रिकाहरू र सामयिक सङ्कलनहरू जस्तैः ‘रूपरेखा’, ‘समीक्षा’, ‘प्रतिध्वनि’, ‘गोरखापत्र’, ‘मातृभूमि’ आदिमा प्रकाशित भइसकेका देखिन्छन्। यसरी विभिन्न पत्र-पत्रिकामा छरिएर रहेका यी हास्यव्यङ्ग्य निबन्धहरूलाई स‌ङ्कलन गरी यो सङ्ग्रहको रूप प्रदान गरिएको हो।

प्रत्येक निबन्धको थालनीमा निबन्धको मूल भावभूमिलाई व्यक्त गर्ने व्यङ्ग्य चित्र (कार्टून) पनि प्रस्तुत गरिएको छ। यस हिसावले यो सङ्ग्रहभित्र गातोको बाहेक १६ वटा सामयिक व्यङ्ग्यचित्र (कार्टून) समेत समावेश छन् ।

सङ्ग्रहको शीर्षक तथा भावसङ्गति
हास्यव्यङ्ग्यकार गोतामेले यस सङ्ग्रहको नाम अर्थात् शीर्षक मपाईं दिएका छन्। सङ्ग्रहभित्र यही शीर्षकको एउटा हास्यव्यङ्ग्य निबन्ध पनि छ। यस किसिमका स‌ङ्ग्रहहरूमा समावेश भएका कुनै पनि उम्दा रचनाको शीर्षकलाई नै कृतिको शीर्षक दिने आमप्रचलन नेपाली साहित्यमा पाइन्छ। गोतामेले पनि यही प्रचलनलाई पछ्‌याएको देखिन्छ। हास्यव्यङ्ग्य कृति भएको हुँदा शीर्षक पनि हास्यव्यङ्ग्यात्मक हुनु अनिवार्य हुन्छ नै। यस सङ्ग्रहमा समावेश गरिएका प्रायजसो रचनाहरू आत्मपरक शैलीमा लेखिएका छन् । आत्मपरक शैलीमा ‘म पात्रको क्रियाकलाप वढ्ता मुस्वरित हुने गर्छ। यो ‘म’ ले गोतामेको ‘म’ लाई मात्र होइन अरू धेरै ‘गोतामेहरू’ लाई प्रतिनिधित्व गर्दछ। ‘म’ राम्रो, ‘म’ ठूलो, ‘म’ उम्दा र ‘म’ नै श्रेष्ठ हुँ भन्ने अहम्ता नै मपाईंत्व हो। यहाँ मपाईंत्वलाई हास्यमिश्रित व्यङ्ग्यको मु‌ङ्ग्रोले मस्तसँग ठोकिएको स‌ङ्ग्रहको नाम अर्थात शीर्षक मपाईं उपयुक्त देखिन्छ । सङ्ग्रहकाे शीर्षक यसर्थ पनि हास्यव्यङ्ग्यात्मक छ।

गोतामेको हास्यव्यङ्ग्य कृति मपाईं मा स‌ङ्कलित रचनाहरूले समेटेको- विषयवस्तु समय र परिवेशको यथार्थ चित्र हो। सङ्गति नमिलेको वर्तमानका मूलभूत कराहरुलाई ने मूल विषय बनाएर तिनीहरूमाथि निर्मम प्रहार गरिएको छ। विकृति र विसङ्गतिको निकै फराकिलो आयतन ओगटेको भए पनि उनको यो सङ्ग्रहमा मूलत निम्न विषयवस्तुको कुशलतापूर्वक संयोजन गर्दै व्यङ्ग्य गरिएको पाइन्छ।

(क) राजनीतिक विसङ्गति
श्याम गोतामेले यस कृति मार्फत् उच्छेद गर्न चाहेको एउटा प्रमुख विषय हो राजनीतिक विसङ्गति। हावापानी र माटो सुहाउँदो पञ्चायती व्यवस्थाको मूलजरो समातेर राईंदाईं गर्ने पञ्च-महामञ्च नामका नेता तथा राजनीतिज्ञहरूका ‘जनसेवी’ आचरण एवम् क्रियाकलापहरूलाई यस सङ्ग्रहका कतिपय निबन्धहरूमा राम्रोसँग उधिनिएको छ। नेताहरूका भनाइ र गराइ बीचको अन्तरविरोधलाई खोतलिएको छ। शासन र शोषणले गजधम्म भएको भुँडीलाई छ्याल्लब्याल्ल पारिएको छ। राजनीतिको बुइ चढेर राष्ट्र बनाउने नाममा आफू र आफ्‌नालाई सम्पन्न बनाउने बेइमानी र बद‌मासीको पर्दाफास गरिएको छ। यसरी राजनीतिक विसङ्गतिप्रति तीव्र प्रहार गरिएका हास्यव्यङ्ग्य निबन्धहरू हुन्- ‘कर्मठ सम्मेलन’, ‘मेरो नाउँ खोइ ?’, ‘देशले प्रगति गर्ने महान् आशङ्का’ र ‘भाषण-माहात्म्य’। अन्य निबन्धहरूमा मूल विषय अरू हुँदाहुँदै पनि अनेकन प्रस‌ङ्ग र उदाहरणको पहुँच राजनीतिक विसङ्गतितर्फ सोझ्‌याइएको पाइन्छ।

‘कर्मठ सम्मेलन’ निबन्धमा हास्यव्यङ्ग्यात्मक ढङ्गले एउटा राजनीतिक सभाको परिकल्पना गरिएको छ। त्यस सभामा भाग लिने प्रतिनिधि नेताहरूको छनौट गर्ने क्रममा अलग-अलग प्रवृत्तिहरूको पहिचान गर्दै ती प्रवृत्तिलाई क्रमबद्ध रूपमा प्रस्तुत गरिएको छ। राजनीतिलाई विकृत र विसङ्गत बनाउने काम राजनीतिमा संलग्न राजनेताहरूले गरिरहेका छन्। यस किसिमका भ्रष्ट नेताहरू कस्तो पृष्ठभूमिबाट राजनीतिमा आउने गरेका छन् भन्ने कुराको खुलासाको एउटा उदाहरण- ‘सात सालअघि उहाँले वनपालेको गुरूत्तर कार्यभार सम्हाल्नु भएको थियो र आफ्‌नो इमान्दारीको प्रभावले आफ्‌नो पैतृक फुसको घरलाई पक्का घरमा परिणत गर्नुभएको थियो। पछि प्रहरी भई देशसेवा गर्ने महान् अभिलाषा राख्नुभएका नेताजीले प्रहरीको हवल्दार पदलाई सुशोभित पार्नुभयो। (श्याम गोताम- मपाईं, कौवा प्रकाशन, दाेस्राे संस्करण (२०३८), पृ. ३४।) सतीको सराप परेको देश हुँदा उहाँ घुस लिँदालिँदै पक्राउमा पर्नुभयो। २००७ सालपछि उहाँले आफ्‌नो राजनीतिक जीवन सुरू गर्नुभयो। यस्ता भ्रष्ट मानिसकता र आचरण लिएर राजनीतिमा पसेका र उच्च पदमा आसिन हुन पुगेका राजनीतिक नेताहरूले राजनीतिलाई पनि भ्रष्ट र विकृत बनाइरहेका छन्। निबन्धमा वर्णित केही प्रतिनिधिहरू नियतप्रसाद सिंह, कत्थामल केडिया, विवेकप्रसादजी, असोककुमार टण्डन र प्रीतिमाया अलग-अलग प्रवृत्तिका प्रतिनिधिहरू हुन्।

कोही पेशाले न्याय सेवामा संलग्न झगडियाबाट ‘आँप, भण्टा, सुन्तला र सुरुवा माछा उपहार लिन औधी रुचाउने पूर्वजागिरे छन् भने कोही लोटा लिई नेपाल भित्रिएर नेपालको ‘वोनाफाइड’ नागरिक जो ‘लोटा र डोरीबाट पनि मिल र असङ्ख्य टुक्का मालिक एवम् प्रख्यात उद्योगपति’ बनेका छन्। कोही ‘म्याद नाघ्न आँटेका औषधिको म्याद थमाई विदेशी मुद्रा खेर नफाल्ने डाक्टर छन् भने कोही ‘आसमानी सारी, आसमानी ब्लाउज र सोही रङको चिडबुट्टे पेटिकोट धारण गरी साँढे झै हान्ने मुडमा नयाँसडकको पेटिमा हिँड्दा जस्तै हिजडाको पनि आँखा परिहाल्ने महिला नेतृ’ छन्। सवैका नकारात्मक प्रवृत्ति प्रस्तुत गर्दै नकारात्मक नाम दिएर पाठकलाई हाँसो र परिस्थितिलाई व्यङ्ग्य गरिएको छ। उपरोक्त प्रवृत्तिका प्रतिनिधिहरू नै देशको राजनीतिमा सरिक भएको हुँदा राजनीति मुलुक र जनताप्रति उत्तरदायी नभएर स्वयम् भ्रष्ट र पतित राजनेतातर्फ उत्तरदायी भएको विसङ्गत तथ्य यो निबन्धमा उजागर गरिएको छ।

अर्को निबन्ध ‘देशले प्रगति गर्ने महान् आश‌ङ्का’ राशिफलको फलाफल विवरणमा आधारित छ। यहाँ सातवटा राशिलाई सप्तर्षिको रूपमा नयाँ नामकरण गरिएको छ। नेता राशि, मन्त्री राशि, महापञ्च राशि, जिल्ला सभापति राशि, उपसभापति राशि, जिल्लासभासद् राशि र प्रधानपञ्च राशि। सवैका शुभाशुभबारे विवरण दिने क्रममा उनीहरूका भ्रष्ट क्रियाकलाप, पदीय कुआचरण, नैतिकहीन आनीवानी, निजी स्वार्थका निम्ति बढिरहेको महत्त्वाकाङ्क्षा, आदि कुरालाई यहाँ मुखरित गरिएको छ। यो निबन्ध पनि राजनीतिक विस‌ङ्गतिको जरो उधिन्दै खरो ढङ्गले प्रहार गर्न सक्षम देखिन्छ ।

‘भाषण माहात्म्य’ निबन्धको प्रस्तुतीकरण अलिक फरक छ। राजनीतिक विसङ्गतिलाई नै विषयवस्तुको मियो बनाउँदै लेखिएको यो निबन्धमा ‘अधिकार कर्तव्यमा समन्वय भए झै भाषण र राजनीतिमा नङ-मासुको सम्बन्ध हुन्छ (श्याम गोतामे, पूर्ववत् पृ. ९०।) भनेर
व्यङ्ग्यात्मक पाराले पुष्टि गरिएको छ। यथास्थानमा भाषणको रूप, स्तर र प्रकारका बारेमासमेत प्रकाश पार्दै भाषणलाई अन्यान्य कुराकोभन्दा राजनीतिको प्राणका रूपमा अगाडि सारिएको छ। ‘भाषण जुनसुकै विषयलाई लिएर गर्नुपरे तापनि त्यसमा राजनीतिक सम्मिश्रण हुनु नै अनिवार्य ठानिन्छ। (श्याम गोतामे, पूर्ववत्, पृ. ९२।) नेताले भाषण केवल भाषण मात्रै गर्दछन् उनको दायित्व जिम्वेवारी, कामको लक्ष उद्देश्य केवल भाषण गर्नु मात्रै मएको छ- त्यसैले ‘अब भाषण गर्नेलाई स्रोताको र सुन्नेलाई वक्ताको दरकार पर्न पनि छोडिसक्यो। दुवै स्वावलम्बी भइसके। भाषण गर्नेले स्रोता नपाए एक्लै भए पनि भूगोलपार्कको पटोलाई मञ्च बनाएर भट्याउने स्वतन्त्रता पाएकै छ र सुन्नेले कतै पाएन भने साँझपख आफ्‌नी श्रीमतीद्वारा गरिने संवेदनशील र रोमान्टिक भाषण सुन्नका लागि त्यति कष्ट भोग्नु पर्दैन। (श्याम गोतामे, पूर्ववत्, पृ. १२।)

धेरैतिर आरोपित गर्दागर्दै पनि गोतामे भाषणलाई राजनीतिको पर्यायसँग जोड्दछन् र भन्छन् ‘मेरो एकजना मित्र चुनावमा पराजित भएर सोही तोडमा बिरामी परे। मृत्युशैयामा पनि उनलाई राजनीतिले छोडेन। उनको आफ्‌नो समापन-भाषण वा जीवनको दर्शन अथवा राजनीतिक फर्मुला यस प्रकार थियोः स्वार्थ + बेइमानी + औसरवाद – विवेक = राजनीति। यसरी प्रस्तुत हास्यव्यङ्ग्य स‌ङ्ग्रहमा सङ्कलित हास्यव्यङ्ग्य रचनाको मूल विषयवस्तुमध्ये एक राजनीतिक विसङ्गतिलाई बनाइएको छ भन्न सकिन्छ।

क्रमश: अर्काे शनिवार

०००
हास्यव्यङ्ग्यकार श्याम गोतामे (२०५८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x