नरनाथ लुइँटेललाँकुरीभञ्ज्याङबाट काठमाडौँलाई गाली ?
तुवाँलोभित्र छिपेको तेरो अनुहार हेर्नुपरेको छैन हामीलाई आँसु र रगतको तर्पण दिएर हामीले खोजेको संविधानको खाका हेर्न मन छ हामीलाई दिल्ली, अमेरिका र चीनले थाहै नपाई बनेको एउटा खाँटी सरकार हेर्न मन छ हामीलाई ।

नरनाथ लुइँटेल :
काठमाडाैंँ ! तँ बेइमान छस्
जतिसुकै सुन्दर छु भनेर
फूर्ति लाए पनि
तँ कुरूप छस्
लाँकुरीभञ्ज्याङबाट हामी धेरै-धेरैले
एकैसाथ हेर्यौँ
तँ आफ्नो मुख लुकाएर
गजधम्म बसेको छस्
आफ्नो दुष्ट अनुहार
तुँवालोको बर्कोभित्र लुकाएर
भएभरको लाज पनि पचाएर
किच्च किच्च हाँसे झैँ गर्छस्
साँच्चै काठमाडौँ तँ असाध्य कुरूप छस् !
षड्यन्त्रमा माहिर छस्
तिगडममा सिपालु छस्
जालझेलमा खप्पिस छस्
हामी लाँकुरीभञ्ज्याङबाट
एउटा उद्घोष गरिरहेछौँ
एउटा चुनौती दिइरहेछौँ-
ए छुल्याहा काठमाडौँ !
दुनियाले थाहा पाउने गरी
एउटा सरकार त बनाएर देखा
हामीले शताब्दियौँदेखि चाहेको
एउटा संविधान निर्माण गरेर त देखा ।
तुवाँलोभित्र छिपेको तेरो अनुहार
हेर्नुपरेको छैन हामीलाई
आँसु र रगतको तर्पण दिएर
हामीले खोजेको संविधानको
खाका हेर्न मन छ हामीलाई
दिल्ली, अमेरिका र चीनले थाहै नपाई बनेको
एउटा खाँटी सरकार हेर्न मन छ हामीलाई ।
थुक्क काठमाडौँ,
के तँ यसो गर्न सक्छस् –
लाँकुरीभञ्ज्याङबाट हामी उद्घोष गरिरहेछौँ
तँ त साह्रै बेइमान छस्
जतिसुकै सुन्दर छु भनेर
जस्तोसुकै फूर्ति लाए पनि
तँ सोचेभन्दा धेरै धेरै कुरुप छस्
हाम्रो भावनालाई पटक्कै नबुझ्ने
तँ सोचेभन्दा धेरै धेरै कपटी छस्
हाम्रा आकाङ्क्षाहरूमाथि तुषारापात गर्ने
एक पित्को विश्वास गर्नै नसकिने
तँ त चरम विश्वासघाती छस्
लाँकुरीभञ्ज्याङबाट जुनसुकै प्रहर हेरे पनि
काठमाडाैं, तँ चिताइनसक्नुको कुरूप देखिन्छस् ।
०००
(फेसबुक साहित्य सञ्जालद्वारा लाँकुरीभञ्ज्याङमा २०६७ पुस २४ गते आयोजित समारोहमा तत्काल रचित र वाचित ।)
Subscribe
Login
0 Comments
Oldest






































