नरनाथ लुइँटेलवा… लोकतन्त्र ! क्या लोकतन्त्र !!
कस्तो दुर्मति ! हुर्मत लियो कुर्सी समाउन ज्यान दियो ऐरे गैरे, प्यारो खैरे संविधानका धारा खैरेका हातमा लगाम फेर्दै भारती भैया विदेशी रक्सी उसैका साथमा ह्वीस्कीको चुस्कीले बढ्यो फियो काँचका पर्दामा धमास दियो वा… लोकतन्त्र, क्या लोकतन्त्र !!

नरनाथ लुइँटेल :
मरन फेरिएको छ
चरन फेरिएको छ
अस्ति भर्खरको इतिहास
इरेजरले मेटेर सफाचट
अर्के किरिङमिरिङ केरिएको छ
आँखै बिझाउने गरी
शिरानमा लेखिएको छ–
वा… लोकतन्त्र, क्या लोकतन्त्र !!
गाडी गुड्ने तेल छैन, पकाइखाने सेल छैन
दलदलभित्र नेताहरूको आपसमै मेल छैन
सिद्धान्त सबै पोली खाए, उसले उसको खुट्टो समाए
तिल्के आए, छिर्के लाए, मिडियामै छादे अनि छदाए
कसले भन्छ जालझेल छैन,
देख्दा कहाँ ठेलमठेल छैन,
जसले हान्यो उसले जान्यो, चानचुने यो खेल हैन
वा… लोकतन्त्र, क्या लोकतन्त्र !!
आउँछ चुनाव– गतिला गतिला गफ हुन्छ
गफै गफमा दाह्रा धुन्छ, आकाशको तारा छुन्छ
जित्ने हार्ने, हार्ने जित्ने उल्टोपाल्टो
होक्राँ गर्ने उत्तानो टाङ लाउँछ
जित्ने लठुवा गन्धे मुख बाउँछ
सत्ता उसकै, भत्ता उसकै
यता कन्याउँछ, उता कन्याउँछ
आफन्त बटुली भाग लगाउँछ
गरिब जनताका डोका पन्साउँदै
पद जोगाउन शक्तिकेन्द्रका ढोका धाउँछ
वा… लोकतन्त्र, क्या लोकतन्त्र !!
कस्तो दुर्मति ! हुर्मत लियो
कुर्सी समाउन ज्यान दियो
ऐरे गैरे, प्यारो खैरे
संविधानका धारा खैरेका हातमा
लगाम फेर्दै भारती भैया
विदेशी रक्सी उसैका साथमा
ह्वीस्कीको चुस्कीले बढ्यो फियो
काँचका पर्दामा धमास दियो
वा… लोकतन्त्र, क्या लोकतन्त्र !!
हाई लोकतन्त्र, हो कि ठोकतन्त्र
कसैलाई धोकतन्त्र, कसैलाई भोकतन्त्र
रमिते दुनियाँ हेरिरेछ
हाँसोमय हाम्रो यो जोकतन्त्र !!
वा… लोकतन्त्र, क्या लोकतन्त्र !!
०००
कलङ्की, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest


































