नरनाथ लुइँटेल‘जदौ !’ निबन्धसङ्ग्रहमा गाेतामेकाे व्यङ्ग्यचेत (१)
राजनीतिलाई जनता र राष्ट्रको सेवामा समर्पित गर्नुको साटो आफ्नै स्वार्थसिद्ध गर्ने सिद्धान्तमा रुपान्तरित नेताहरुको मनोदशा यति विघ्न विकृत भएको छ भनेर देखाउन उक्त कथन सर्वथा सक्षम छ।

नरनाथ लुइँटेल :
‘जदौ !’ (हास्यव्यङ्ग्य सङ्ग्रह) लेखन तथा प्रकाशनकालका हिसावले श्याम गोतामेको दोस्रो कृति हो। रत्न पुस्तक भण्डारद्वारा प्रकाशित यो कृतिमा प्रकाशन मिति उल्लेख गरिएको छैन। तर माधवलाल कर्माचार्यले लेखेको कृतिको आमुखको अन्तमा ‘२०/४/२०२७’ भन्ने मिति उल्लेख गरिएको हुँदा यसको प्रकाशन मिति वि.सं. २०२७साल हो भन्ने लख काट्न सजिलो भएको छ। यसको प्रकाशन मिति २०२७ साललाई नै मान्दा मपाई (हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह) भन्दा यो एक वर्षजति कान्छो देखिन्छ। ‘जदौ’मा विविध क्षेत्रका विसङ्गति र विकृतिलाई उधिन्ने ११ वटा निबन्धहरू सङ्कलित छन् । प्रत्येक रचनाको अन्तमा दिइएको सङ्कलन स्रोतले यी रचनाहरू यस सङ्ग्रहमा सङ्कलित र प्रकाशित हुनुपूर्व ‘आरती’, ‘समीक्षा’, ‘प्रतिध्वनि’, ‘गोरस्वापत्र’, ‘मधुपर्क’ आदि पत्र-पत्रिकामा छापिएको जानकारी हामीलाई प्राप्त हुन्छ।
यस सङ्ग्रहमा सङ्कलित ११ वटा रचनाहरू क्रमशः यस प्रकार छन् ‘अन्तर्वार्ता’, ‘सङ्गीत-साँझ’, रिसेप्शन’, ‘व्यङ्ग्य लेखको बजार भाउ’, ‘नयाँ वर्षको भविष्यफल’, ‘चिप्लेटी खाएका मन्त्रीसँग एउटा भेट वार्ता’, ‘म अमर हुन चाहन्न’, ‘मेरो कदर गर्नुहोस् अन्यथा नेपाल छाड्न्या छु’, ‘कान्तिपुरीबाट स्वर्गपुरीतिर’, ‘उहाँले भन्नु भयो….’। कृतिको ‘आमुख’ मा माधवलाल कर्माचार्यले छोटो र चिटिक्क परेको मन्तव्य लेखेका छन्। आमुखको पहिलो र दोस्रो वाक्य नै यस्तो छ ‘व्यङ्ग्य घुर्की होइन। यो एउटा आलोचनाको तरीका हो जसले मान्छेलाई हँसाइ-हँसाई आफ्नो कमजोरीप्रति दया गर्न लगाउँछ, त्यसलाई अफाल्न लगाउँछ।’ (श्याम गोतामे- जदी रत्न पुस्तक भण्डार, २०४७, काठमाडी. पृ. १।)
सङ्ग्रहको शीर्षक तथा भावसङ्गति
सङ्ग्रहभित्रको कुनै एउटा रचनाको शीर्षक टिपेर सङ्ग्रहको शीर्षक चयन गर्ने परम्पराबाट पृथक रहेर गोतामेले यो सङ्ग्रहको नाम जुराएका छन्- ‘जदौ !’। जातीय विभेदले ग्रस्त नेपाली समाजमा तल्लोजात भनिने मानिसहरूले माथ्लोजात भनिने मानिसहरूलाई मान गरेर ढोग्दा भनिने शब्द हो ‘जदौ !’ । यसैलाई हास्यव्यङ्ग्यात्मक अर्थ दिन खोजिएको भान हुन्छ। सामाजिक, आर्थिक, राजनीतिक विसङ्गतिका स्रष्टा प्रायः ठूलो पद, ठूल्ठूलो जिम्मेवारी प्राप्त ठूला मानिसहरू नै हुन्छन्। जात र सम्पन्नतालेसमेत ठूला बनेका यी ‘विष्ट’ (थर विशेष होइन) हरूलाई गरीव गुरुवा, निर्धा निमुखाहरु ‘स्वस्ती सलाम’ र ‘जदाै !’ गरिरहन विवश छन् । तर उस्तै-उस्तै भएर पनि श्याम गोतामेको यो जदाै !।लि विशिष्ट छ। समाजका साईंदुवाहरूका काला कर्तुतहरुको पाेल खोलेर व्यङ्ग्यको नोलले पुर्पुराे सेक्दै ‘जदौ ! प्रभो ! हजुरहरूका बदमासी, बेइमानी धुर्त्याईं र फट्याईंको यथातथ्य विवरण यही हो, यो फेहरिस्त पढी वाची यस्ता दुर्गुणहरुबाट हजुर आफू मुक्त हुनुपर्यो अनि समाजलाई पनि मुक्त पार्नुपर्याे भन्न खाेजिएको छ सङ्ग्रहको शीर्षकद्वारा। यसरी सङ्ग्रहको शीर्षकबाटै मनमोहक हास्य र झरिलो व्यङ्ग्य सिर्जना गरेका छन् यसका सष्टा श्याम गोतामेले । त्यसकारण भन्नै पर्दछ प्रस्तुत सङ्ग्रहको शीर्षक चयन र हास्यव्यङ्ग्य भावसङ्गति बीच मीठो समन्वय भएको छ।
विषयवस्तु
हाम्रो सामाजिक, राजनैतिक आर्थिक तथा साँस्कृतिक जनजीवनमा देखा परेका असङ्गति र विकृतिहरूलाई नै मूल विषयवस्तु बनाइएको छ ‘जदाै !’ हास्यव्यङ्ग्य सङ्ग्रहमा। समाजमा व्याप्त बिब्ल्याँटाहरूको चित्र खिचिएको छ। पद, अधिकार र जिम्मेवारी प्राप्त ‘ठूला’ मान्छेहरूबाटै हुने गरेका दुराचार, पापाचार, व्यभिचार, भ्रष्टाचार, विश्वासघात, पक्षपात आदिलाई उदाङ्गो पारेर मनोरञ्जनात्मक ढङ्गले हाम्रो सामु राखिदिँदै अर्धेल्याईंहरूमाथि व्यङ्ग्यको बारूद ओइऱ्याएका छन्। ‘जदाै !’ सङ्ग्रहलाई विस्तारपूर्वक अध्ययन गर्दा यसमा सङ्कलित हास्यव्यङ्ग्य रचनाले निम्नलिखित विसङ्गतिहरूलाई प्रमुख विषय क्षेत्रका रूपमा समेटेको पाइन्छ।
(क) राजनीतिक विसङ्गति
‘मपाईं’ मा जस्तै यस सङ्ग्रहमा पनि राजनीतिक विसङ्गतिलाई हास्य एवम् व्यङ्ग्यको मूल आधार बनाई निबन्धहरूको विन्यास गरिएको पाइन्छ। यस सङ्ग्रहमा सङ्कलित प्रायः सवै निबन्धहरूमा राजनीतिक विसङ्गतिका विभिन्न पाटा र प्रकरणहरूलाई विभिन्न प्रसङ्गमा प्रकट तथा प्रस्तुत गरिएको भए पनि मूलरूपले ‘कान्तिपुरीबाट स्वर्गपुरीतिर’, ‘भविष्यद्रष्टा,’ ‘चिप्लेटी खाएका मन्त्रीसँग एउटा भेटवार्ता’ र ‘उहाँले भन्नुभयो’ जस्ता निबन्धमा बढ्ता राजनीतिक विसङ्गतिको चित्रण र चर्चा गरिएको छ।
राजनीतिमा हावी भएको विसङ्गति र विकृतिको एउटा रूप आफू सत्तामा पुग्दा सबै कुरा ठीक, कहीं नभएको प्रजातन्त्र त्यहीँ, देशले विकासै विकास मात्र गरेको देख्ने अनि आफू सत्ताको भर्याङबाट ओर्लनासाथ सबै कुरा बेठीक, प्रजातन्त्रका नाममा व्यक्तितन्त्र र देशले विनासै विनास मात्र भोग्नुपरेको देख्ने प्रवृत्ति पनि हो। यही मूढ प्रवत्तिको गुढ रहस्य खोलिदिएको छ ‘चिप्लेटी खाएका मन्त्रीसँग एउटा भेटवार्ता’ले । याे रचना सानो भूमिकापछि प्रश्नोत्तर शैलीमा अगाडि बढेको छ। पदबाट खुस्किएकाे मन्त्रीसँग सोधिएको एउटा प्रश्नको जवाफको एउटा नमूना- ‘जुनबेला म मन्त्री थिएँ (मैले मन्त्री पद पाउन नै) मेरो निम्ति बढी प्रजातान्त्रिक थियो। माैका अनुसार छेपाराले आफ्नााे रङ्ग बदल्छ भने हामी त मानिस, त्यसमाथि पनि राजनीतिक । पहिले थियाे अहिले छैन। थियोबाट छैन भइसक्यो, के यो परिवर्तन होइन ? (श्याम गाेतामे, पूर्ववत् ।) राजनीतिलाई जनता र राष्ट्रको सेवामा समर्पित गर्नुको साटो आफ्नै स्वार्थसिद्ध गर्ने सिद्धान्तमा रुपान्तरित नेताहरुको मनोदशा यति विघ्न विकृत भएको छ भनेर देखाउन उक्त कथन सर्वथा सक्षम छ।
यस्तै अर्को ‘नयाँ वर्षको भविष्यफल’ निबन्धमा राजनीतिक विसङ्गतिक थाप्लोमाथि थप्पड हान्दै व्यङ्ग्यकारले व्यङ्ग्य कसेका छन्- ‘मन्त्री चन्द्र हुनाका साथै यो वर्षभरि चन्द्र ग्रहण पर्ने सुयोग नरहेकाले मन्त्रीज्यूहरूका आचरणहरू चन्द्रमा औ शीतलता प्रदान गर्ने शैलीका हुनेछन् । शिलान्यास र प्रवचन समारोहहरू विगत वर्षको दाँजाेमा नाम मात्रैका हुनेछन्। उद्घाटन समारोहहरूले देशमा पूरा भएका विकार योजनाहरुको सामयिक मूल्याङ्कन र उदघाटनपछि हुने योजना समारोहहरूले जनजीवनको पेटको स्तर बढेको प्रमाणित गर्ने छन्।’ (श्याम गोतामे पूर्ववत्, पृ. ३८।)
(ख) प्रशासनिक क्षेत्रका विसङ्गति
घूसपेस, भ्रष्टाचार, नातावाद, ढिलासुस्ती, पक्षपात आदि प्रशासनिक क्षेत्रका विसङ्गतिहरूकै नमूना हुन्। यस किसिमका विकृतिको यस सङ्ग्रहमा रहेका निबन्धहरूमार्फत दोहोला काडेका छन्। प्रशासनिक क्षेत्रको विसङ्गतिलाई नै मूलविषय बनाएर लेखिएको ‘अन्तर्वार्ता’ यस सङ्ग्रहको पहिलो निबन्ध हो। कथात्मक शैलीको आभाष दिने यस निबन्धमा क्लर्क पदको निम्ति आफ्नो मान्छे नियुक्त गर्न विज्ञापनको नाटक गरिन्छ। अन्तर्वार्ताका क्रममा तीनजना पदीय व्यक्तिहरु वीचमै आ-आफ्नो मान्छेलाई उत्तीर्ण गर्ने प्रतिष्पर्धा हुन्छ। अन्तमा सवभन्दा ठूलो सोर्सवालाको चाहिं आफ्नो मान्छे भर्ना गरिन्छ। ‘नतिजा निस्केका दिन असफल प्रत्यासीहरू कानेखुशी गर्दै थिए- ‘हेर भाइ । सोर्स नभइ जागीर हुँदैन भनेको यही हो, यो विज्ञापन त रीत पुऱ्याएको पो त ।’ अर्काले वुज्रुक भएर भन्यो- ‘विज्ञापन निकाल्नुभन्दा पहिले नै मान्छे ठीक भइसकेको हुन्छ।’ (श्याम गोतामे पूर्ववत्, पृ. ११।)
यसरी अन्तवार्ताको नाटक रचेर अन्तमा आफ्नै मान्छे भर्ना गरी सकेपछि सोर्स नहुनेहरूको पीडा स्वैरकल्पनामा आधारित छैन। घटना प्रसङ्गका अनेक तारतम्य बुन्दा तिलस्मी खालको कल्पना गोतामे गर्दैनन्। भइरहेका साँच्चै देख्न र भोग्न पाइने, कैयाैँ त आफूले भोगेर आएकाजस्ता लाग्ने घटनाहरूको कथ्यात्मक तालमेल आफ्ना रचनाहरूमा उनले स्वादिलो किसिमले मिलाएका छन्। उपरोक्त किसिमको विसङगति प्रशासनिक क्षेत्रमा व्याप्त छ । जागीर खान योग्यता. क्षमता शीप र दक्षताको कुनै गुञ्जाइस छैन । नातावादको जुइनाले टुमर्किएर योग्यता र क्षमता हुँदाहुँदै पनि अवसर नपाई शिक्षित बेरोजगार बन्न बाध्य भएका युवा युवतीहरूकाे सङ्ख्या अनगिन्ती रहेको छ । अनि कर्मचारीतन्त्रमा मौलाइरहेको चाकरी मनोवृतिकाे खुलासा सोही निबन्धमा प्रस्तुत गरिएको एक सवाल-जवाफको प्रसङ्गले यसरी दिएको छ- ‘उपाध्यक्षले तुरुन्तै अर्को प्रश्नको प्रहार गर्नुभयो- जागिरेमा हुनुपर्ने गुण के के हुन् ?” उनले (प्रत्यासीले) भने शनिवार हाकिमकहाँ चाकडी पुऱ्याउने, दशैं तिहार आदिको प्रेजेन्टेशन पठाउने लत लागेको हुनुपर्छ।’ (श्याम गोतामे- पूर्ववत्, पृ. ९।)
रीत पुऱ्याएर रैरकम हाम गर्ने कर्मचारीको कामलाई प्रस्तुत गरिएको एउटा प्रसङ्ग यस्तो छ- ‘उपाध्यक्षज्यूले सोध्नुभयो- “रीत पुऱ्याउन कत्तिको जान्नु हुन्छ नि ?” उनले गर्वका साथ आफ्नो ऐतिहासिक वीरताको विश्लेषण गर्दै भने- “हजूर मेरो काम र हातको सफाइ देखेर महालेस्वासमेत जिल्ल पर्दछन, आजसम्म वेरुजुबापत एक पैसा पनि तिरेको छैन।” (श्याम गोतामे- पूर्ववत्, पृ. ९।)
भानुभक्तकै पालादेखिको भोलि भोलिवाद नेपालको प्रशासनको पर्याय हो। गरिदिनै पर्ने काम पनि समयमा नगरिदिएर अनावश्यक किसिमले झुलाइराख्ने प्रशासनिक पदका मानिसको मनोवृत्ति पनि गोतामेले आफ्ना रचनामा उतारेका छन् । एउटा उदाहरण यस्तो छ- ‘चित्रगुप्त भने यो मिलेन, ऊ मिलेन ! म्यादै नपुगेको मानिसलाई स्वर्गमा बाेलाउने के-कुन नियमको आधारमा ? त्यसका लागि लाग्ने सीधा-रसद खर्च कुन वजेटबाट बेहोर्ने ? भईपरी आउनेबाट कि सीधा-रसदबाट ? यसको निम्ति त छुट्टै टिप्पणी पेश भई सदर हुनुपर्दछ, त्यसमाथि आज फाँटवालाले बिदा लिएको छ, भोलि म क्याजुअल बस्नेछु, पर्सि शुक्रवार गफ गर्ने कि काम गर्ने, निपर्सि शनिवार नै भयो, कानेकोर्सि आउनोस् अनि हेरुँला आदि अनेक प्रकारको अत्तो लगाई फाइललाई यसरी च्यापी राख्नुभयो, जसरी अनुभवी र इमान्दार भनी टोपलिने ( घुस्याहा) राष्ट्रसेवकले दिनहौं तारीखमा झगडियालाई झुलाउन मिसिललाई काखी च्यापी राख्छ।’ (श्याम गोतामे पूर्ववत्, पृ. ७४।)
प्रशासन यन्त्रभित्र घूसपेसको के कस्तो बोलावाला चलिरहेको छ भन्ने कुरालाई गोतामेले धेरै ठाउँमा रमाइलो पारामा प्रकट गरेका छन्। नहुने काम पनि घूस दिए तुरून्तै हुन्छ र तुरुन्तै हुनुपर्ने काममासमेत विनाघूस कारिन्दा-कर्मचारीले ओरको सिन्को पर सार्दैनन् भन्ने तथ्यलाई यसरी प्रकट गरिएको छ- ‘लड्डु चढाए गणेश त रिझिन्छन् भने चित्रगुप्त मात्र कुन पेट नभएका प्राणि थिए र ? प्रेजेन्ट, ककटेल, रिसेप्शन आदिको प्रलोभन रामबाणभन्दा कम प्रभावशाली कहाँ हुन्छ र ? आखिर चित्रगुप्त अपवाद ठहरिएनन्। टिप्पणी सदर भयो। तिलोत्तमाले टाइप गरिन् । चलानी फाँटबाट डाक्टरको नाउँमा पूर्जी चलान भयो।’ (श्याम गोतामे पूर्ववत्, पृ. ७४।)
यसरी गोतामेले जदौ ! हास्यव्यङ्ग्य सङ्ग्रहमार्फत् प्रशासनिक विसङ्गति र विकृतिमाथि प्रभावकारी ढङ्गले प्रहार गरेका छन् ।
(ग) सामाजिक विसङ्गति
समाजमा व्याप्त अनाचार, दुराचार, चोरी डकैती, अनैतिकता, सामाजिक भेदभाव आदि सामाजिक विसङ्गतिका पर्याय हुन् । गोतामेले आफ्ना रचनाहरूमा यिनै सामाजिक विसङ्गतिका कतिपय केस्राहरूलाई पनि मज्जासँग केलाएका छन्। जदौ ! का स्रष्टा गोतामेले यस सङ्ग्रहको शीर्षकद्वारा नै सामाजिक भेदभावपूर्ण विसङ्गतिमाथि तीखो प्रहार गरेका छन् । जाँड-रक्सि सामाजिक अनाचार र दुराचारको प्रमुख स्रोत बनेको कुरालाई गोतामेभित्रको स्रष्टाले गहिरोसँग बुझेको छ। यस सङ्ग्रहको ‘रिसेप्शन’ निबन्धमा रक्सि पार्टीको राम्रो तस्वीर खिच्दै हाम्रो सामाजिक आचरण र संस्कार कसरी लोप हुँदैजाँदो छ, हाम्रा आफ्नै मौलिक मूल्य र मान्यताहरू कसरी क्षय हुँदैछन् भनेर रोचक ढङ्गले अगाडि सारिएको छ। ‘सवै आ-आफ्नो स्थानबाट आ-आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गरिरहेका थिए। एक घण्टाको पार्टी एट्मोसफेयरपछि पार्टीमा ‘टेन्शन’ आउन थाल्यो। प्रतिष्ठा कायम राख्न खोज्नेहरू चूप लागेर बसेका थिए, राजनीतिज्ञ महोदय आफ्नो मेचबाट भूइँमा लडी फीँज काढिरहेका थिए, साहित्यकार महोदय नयाँ कोकशास्त्रको भूमिका भट्याउन लागेका थिए, सरकारी अधिकृतज्यू व्यवस्थाको अनैतिक पक्षको सविस्तार व्याख्या (प्रसङ्ग सहित) गर्दै आफ्नो मन्तव्य प्रवाहित गर्दै थिए, पियन पालेहरू गदगद थिए- आफ्ना मान्यजनहरूको अनुशासन र मर्यादा देखेर। (श्याम गोतामे पूर्ववत्, पृ. २६-२७।)
रक्सि र रक्सिपानले सामाजिक विचलनमा पुऱ्याएको ‘मर्यादित सहयोग’ माथि गोतामेको यो तीव्र प्रहार हो। गाेतामेले जदौ ! सङ्ग्रहभित्र यत्रतत्र अन्य सामाजिक विसङ्गति र विकृतिमाथि उनले व्यङ्ग्यात्मक तीर प्रशस्त हानेका छन् र सबै तीरहरू निशाना मै लागेका छन् ।
(घ) साहित्यिक एवम् साँस्कृतिक विसङ्गति
‘मपाई’ सङ्ग्रहमा जस्तै ‘जदौ !’ (हास्यव्यङ्ग्य सङ्ग्रह) का केही रचनाहरूले साहित्यिक एवम् साँस्कृतिक विसङ्गतिलाई मूल विषयवस्तुका रूपमा समातेका छन्। ‘बजारिया लेखको बजार भाउ’, ‘सङ्गीत साँझ’, ‘मेरो कदर गर्नुहोस् अन्यथा नेपाल छाेडन्या छु’ जस्ता निबन्धहरू यस कोटीमा पर्दछन्। विसङ्गत स्थिति लेखकको छ. विसङ्गत स्थिति प्रकाशक अथवा सम्पादकका पनि छ। कतै पनि स्वस्थ, दुराग्रहरहित स्थिति छैन। लेख रचना छापिने पत्रिकाको स्थितिबारे व्यङ्ग्यकार गोतामे व्यङ्ग्य कस्छन्- ‘पत्रिकाहरू धेरै छन्, अझ मलाई त कहिलेकाहीँ कस्तो लाग्छ भने पत्रिका किनेर पढ्नेहरूभन्दा पत्रिका निकालेर सम्पादकत्वको सोख पूरा गर्ने बन्धुहरूको सङ्ख्या बढ्ता छ। तसर्थ तिनीहरूका विचार, नियम र सिद्धान्त व्यापक हुनु स्वाभाविक नै हो। कुनै पत्रिका विवादास्पद विषयलाई मात्र प्रकाशित गर्न रुचाउँदछ भने कुनै चाहिँ निर्विरोध विषयलाई सगौरव हास्यव्यङ्ग्य स्तम्भमा ल्याएर विसर्जित गराउन चाहन्छ। कुनै चाहिँ अल्लारे हाँसो मात्र रूचाउने हुँदा गम्भीर र तार्किक विषयवस्तुको खेस्रा मात्र हेर्दैमा दफा ३० को एक आवृत्ति पाठ जप्न थाल्दछ। (श्याम गोतामे पूर्ववत्, पृ. २३।)
लेखक र सम्पादक बीचको पारस्परिक सम्न्धबलाई व्यङ्ग्यात्मक ढङ्गले प्रस्तुत गरिएको यो प्रसङ्ग पनि कम रोचक छैन- ‘उक्त पत्रिका लेखकप्रति कृतज्ञ हुनुको सट्टा लेखकलाई नै कृतकृत्य तुल्याउने गरी यस पाराले उपदेश दिन्छ- ‘हाम्रो पत्रिका (जसको लोकप्रियता हालै आएर अलि बढेको हुँदा प्रत्येक प्रकाशनमा १५३ कपिसम्म बिक्री हुन थालेको छ) स्ट्याण्डर्ड छ तसर्थ यसमा स्ट्याण्डर्ड लेख मात्र प्रकाशित हुन्छन्। तपाईंको रचना प्रकाशित गरी हामीले तपाईंलाई स्ट्याण्डर्ड लेखक बनाइदिएकोमा तपाईंले हाम्रो जय मनाउनु पर्दछ, खोइ ल्याउनुस् पारिश्रमिक ।’ म प्रेमले विभोर भई ‘आशा’ चुरोटको एउटा प्याकेट सम्पादकज्यूलाई ‘अर्पण’ गर्दछु।’ (श्याम गाेतामे पूर्ववत्, पृ. ३४।)
साहित्यकारको मनोदशा र विसङ्गत प्रवृत्तिमाथि प्रकाश पार्दै गोतामे लेख्छन् ‘साहित्यको सिर्जना गर्नुभन्दा कोर्स-बुकका नोटहरू तयार पारी नोट (रूपियाँ) सुम्याउनमा पर्ता पर्ने हुँदा आफ्नो साहित्यिक द्विविधा, मुढता र असङ्गतिको सदुपयोग त्यस क्षेत्रतिर गर्नेतर्फ ध्यानआकृष्ट हुने शुभलक्षण देखा परेको छ। पत्र-पत्रिकाबाट पारिश्रमिक हसुर्न गरिएका अनुवादहरू सशक्त हुने हुँदा र आफ्नो मेहनतले कुनै लेत्वको परिचय र उपसंहार लेखेर बाँकी सोही लेखलाई ऐन बमोजिम सारी, पारिश्रमिक कुम्ल्याउने सुव्यवस्था चाहिँ सन्तोषप्रद ढङ्गमा प्रगति गर्ने योग छ। साहित्यको सृजना लाभकारी साधनको रूपमा गरिने हुँदा ‘साहित्यिक डकै (साहित्यिक चोरी त बराबर भइ नै रहन्छन् ।) ले बढी प्रश्रय पाउने शुभलक्षण देखा परेको छ। ((श्याम गाेतामे पूर्ववत्, पृ. ४२।)
यसै प्रसङ्गमा देशका बुद्धिजीवीहरूको विकृत मानसिकतालाई गोतामेचे उद्घाटन गरिदिएको एउटा अनुच्छेद उतिकै उदाहरणीय छ- ‘मेरा मान्यताहरूले अचेत त्यसै कारण मेरो आचरणसित कुश्ती खेल्न थालिरहेका छन् । दुपीमा अखाडा जमाइ बसेका जम्रारूपी सद्विचारहरूले मगजलाई संघर्षशील बनाउन आन्दोलित गराइरहेका छन्। त्यही कारणले यो घोषणा गर्न वाध्य भइरहेको छु र त्यो के भने यदि देशले मेरो स्वार्थको रक्षार्थ चुनदाम पनि सद्भावना र सहानुभूति जनाउँदैन भने म पनि देशको निम्ति मरिमेट्दिन। ताली एकोहोरो बज्दैन, देशले खन्खन्ती रुपियाँ बजाओस् म पनि आफ्नो डम्फू निःस्वार्थपूर्वक बजाउने छु। (श्याम गाेतामे पूर्ववत्, पृ. ६६।)
साँस्कृतिक विसङ्गतिमाथि सशक्त व्यङ्ग्य गरिएको अत्यन्त राम्रो उदाहरण सङ्ग्रहको दोस्रो निबन्ध ‘सङ्गीत-साँझ’ हो। हाम्रा आफ्नै मादलु र खैजडी, सोरठी र मारूनी, घाटु र च्याब्रुङमाथि आधुनिकताका नाममा प्रवेश गरेको क्याब्रे, डिस्को र पपले नराम्रोसँग आक्रमण गरिरहेको छ। यसरी प्रदुषित र विकृत हुँदै गइरहेको संस्कृतिको एउटा पाटो साङ्गीतिक क्षेत्रको सपाट चित्रण गरिएको छ- ‘सङ्गीत साँझ’ मा। हास्यपूर्ण व्यङ्ग्यले भरिएको यो रचनामा राजधानीमा आयोजित एउटा साँस्कृतिक कार्यक्रमको पूर्णविवरण उतारिएको छ। बीचवीचमा काच्चकुच्च र घाच्चषुच्च घच्का हानेर आयोजक, कलाकार र दर्शक तीनै तहको मानसिकता, क्रियाकलाप र भावभङ्गिमालाई दुरुस्त उतार गरी व्यङ्ग्य कसिएको छ। ‘गायक महोदय’ अल्शेसियनले खाेके झैं खाेकेर गाउन मात्र के थाल्नुभएको थियो माइकबाट बिरालो कुर्लिएको आवाज आउनथाल्यो। कुकुर विरालोको सैद्धान्तिक मतभेदको यो ज्वलन्त श्रव्यकाव्य सुनेर स्रोतावर्गले आफ्नो कर्तव्य पूरा गर्न एउटा सामूहिक हाँसो उत्पन्न गरे ठीक त्यही पारामा जसरी एउटा श्यालले कराएपछि सँगसँगै बसेका अन्य स्यालहरू पनि स्वभावतः कराउँछन्।” (श्याम गाेतामे पूर्ववत्, पृ. ६७।) ‘विदेशी पोशाक, भालु-टोपी र टाइट प्याण्टमा सज्जित लोकगीतका सरक्षिकाहरू’ (श्याम गाेतामे पूर्ववत्, पृ. १६।)द्वारा प्रस्तुत लोकगीतको नमूना पढ्दा तपाईं हामी नहाँसी रहन सक्दैनौं ।
‘लोकगीतको महत्ताउपर धर्मराज थापाज्यूलाईसमेत उछिन्ने गरी भूमिका भट्याइएपछि कार्यक्रम शुरू भयो। ‘तेरो पिमा लिखा’ भन्ने गीतले स्रोताहरू मख्ख । तर म भने यो तथ्याङ्क लिनमा व्यस्त थिएँ कि स्रोतावर्गको कति प्रतिशतले आफ्नो टुपिको संरक्षण गरेका छन्। …विदेशी हाव-भावले सज्जित. पश्चिमी बाद्ययन्त्रद्वारा प्रष्फुटित, रमाइला धूनहरूले युक्त गीतको मर्म, बडो मार्मिक थियो। गायक-गायिकाहरूको हाव-भाव, कटाक्ष र पोज देख्दा लोकगीतको अहिंसक प्रवृतिमाथि पनि यदाकदा शङ्का उत्पन्न हुन्थ्यो। (श्याम गाेतामे पूर्ववत्, पृ. १७।)
यसरी नेपाली गीत र सङ्गीतको क्षेत्रमा देखापरेको विकृतिमाथि श्याम गोतामेले मर्मान्तक प्रहार गरेका छन् । नेपाली मौलिक संस्कृति विकृत भई खच्चर संस्कृतिमा रूपान्तर हुँदै गएको मनोरम चित्रण यसै सङ्ग्रहका ‘रिसेप्शन’ र अन्य निबन्धहरूका कतिपय अनुच्छेद र फाँकीहरूमा पनि पर्याप्त गरिएको पाइन्छ।
क्रमश:
०००
हास्यव्यङ्ग्यकार श्याम गाेतामे (२०५८)










































श्याम गाेतामेबाट मैले धेरै सिकेकाे छु ।अत हक्की र इमानदार हुनुहुन्थ्याे ।पिपललजभित्र पसेर चिया पनि खाइएकाे छ ।