चिरञ्जीवी दाहालखरी झरेको मादल
कुनै समय कसैले बजाउँछन् कि भन्दै मादलबाट खरी झारेर पोको पार्ने जिम्वाल अचेल आफैँ खरी झरेको मादल जस्तै बनेका छन्, न आवाज निकाल्न सक्छन्, न ताल र सुर निकाल्न सक्छन् !

चिरञ्जीवी दाहाल :
जिम्वालको महलमा कामदारहरूको निकै चहलपहल हुन्थ्यो । केहीलाई छोडेर बाँकी कामदारहरू निकै इमान्दार र सोझा थिए । इमान्दार भएर पनि जिम्वालको नजरमा भने उनीहरू सबै कामचोर प्रवृत्तिका मानिन्थे । छिमेकी गाउँतिरकाले बाल नदिए पनि आफ्नो गाउँमा भने जिम्वालको निकै शान, मान र धाकरवाफ थियो । उनको हाँकोडाँको निकै चर्को भएकोले त्यही हाँकोडाँको सुनेर मनैदेखि मुख अमिलो बनाए पनि कुनै कामदारले पनि चर्को बोलेर झर्को माने झैँ गर्न सक्दैन थिए ।
उनको आदेशको उल्लङ्घन गर्ने हिम्मत कामदारको त कुरै छोडौँ, गाउँका मै हुँ भन्नेको पनि थिएन । यिनको दौराको फेर समाउन पाए प्रायजसो गाउँले आफूलाई स्वत: शक्तिशाली भएको महसुस गर्थे । यही कारण कामदार इमान्दार नबनी सुखै थिएन । तर पनि उनीहरू इमान्दार कामदारमा कहिले पनि गनिएनन् ।
घोडाको स्याहार गर्ने सुसारेले घोडाको रेखदेखमा कुनै पनि प्रकारको कमिकमजोरी हुन दिँदैन थियो । भात पकाउने भान्से, सरसफाई गर्न खटिएकाहरू कसैले पनि बेइमानी गरेनन् । गोठालोको जिम्मा लिनेले गाईभैँसीको हेरचाह मजैले गर्ने गरेका थिए । खेत जोत्नेले खेत जोत्थ्यो । तर तिनले कहिले पनि जस पाएनन् । मनोरञ्जनलाई कमिकमजोरी मान्ने हो भने, उनीहरू साँझपख सबै भेला भएर केही समय नाचगान गरेर मनोरञ्जन लिन्थे । तिनले लिने गरेको मनोरञ्जनले जिम्वालको नीजि काममा फिटिक्कै असर परेको थिएन । यदाकदा गीतका शब्दहरूमा सामान्य किसिमले जिम्वालको व्यवहारीक पक्षलाई औँला उठाइएको भने हुन्थ्यो । यति पनि जिम्वालको सहजसँग सहन सकेनन् । अर्कालाई उखान सुनाउन खप्पिस जिम्वालले “ दुध दिने गाईको लात सहनुपर्छ ‘ भन्ने उखान आफैँले बुझेनन् ।
एकदिन उनले सबैलाई डाकेर भने – भोलिदेखि तिमीहरूले नाचगान गर्ने पाउदैनौ । “आज मध्यरात बाह्र बजेदेखि तिमीहरूलाई नाचगानमा प्रतिबन्ध लगाइदिएको छु । ” जिम्वालले मादलको खरी झारिदिए । मुजुराको बिट भाँचिदिए । सारङ्गी र डम्फु बाकसमा कोचेर ताला लगादिए । जिम्वालका सहयोगीहरू बिलखबन्दमा परे ।
जिम्वालको तर्क थियो, यिनले सबै वाद्यवादनहरू उधारोमा ल्याएका थिए । यसरी उधारो माल जिम्वालको घरमा हरेकदिन बजिरहँदा अनिष्ट हुन सक्थ्यो । ठूला घरको इज्जत माटोमा मिल्न सक्थ्यो । आफ्नो हैसियतमाथि प्रश्न उठ्न सक्थ्यो ! कथंकदाचित गाना बजानाका साधन बिक्री गर्ने साहुहरू लगानी उठाउन घरमै आए भने सहयोगीहरूको होइन जिम्वालको घरको इज्जत जान्थ्यो ।
त्यसदिन कामबाट फुर्सद पाउनासाथ कामदारहरूले भोलिपल्टदेखि बजाउन नपाइने मादल , सारङ्गी , मुजुरा र डम्फुलाई धित मरुन्जेल हेरे । तर एकपटक बजाउने हिम्मत भने गर्न सकेनन् । जब तिनले प्रतिबन्ध फुकुवा गर्ने माग पेश गर्न जिम्वालको खोपीमा पुगे , जिम्वाल त्यही खरी झरेको मादल बजाएर पुर्बेली लोकभाकामा नाचिरहेका थिए तर खरी झरेको मादलबाट आवाज आएको थिएन । त्यसबाट आउनु पर्ने खाँटी आवाज गायब थियो । मादलबाट न ताल निस्किएको थियो न सुर ! आखिर खरी झरेको मादल बाट ताल निस्कने कुरा पनि त भएन ! तै पनि उनी विना तालसुरमा झुमिरहेका थिए । लाग्थ्यो मादल घरमा मात्र होइन, सारा दुनियामा सुनिएको छ ! बिचरा जिम्वाल भ्रममा थिए ।
सहयोगीहरूले आफ्नो गुनासो पोख्दै भने – जिम्वालबा, हामीलाई प्रतिबन्ध लगाएर आफू चाँही मनोरञ्जन लिने ? जिम्वालले सायद सुनेनन् क्यारे, उनी त्यही खरी झरेको मादल बजाउन व्यस्त थिए । एकदिन जिम्वालका सहयोगीहरू मात्र होइन जिम्वालको व्यवहारले उनका परिवारका सदस्यले समेत घर त्यागेको घोषणा गरे । अचानक जिम्वाल एक्लै परे । अचेल उनी विना आवाजको सोही खरी झरेको मादल बजाएर दिन कटाउँदै छन् भन्ने सुनिएको छ । उनका केटाकेटी र सहयोगीहरू मिलेर बजारबाट अरू धेरै नयाँ मादल खरिद गरे । अचेल उनीहरू जिम्वालको कान खानेगरी मादल बजाउँछन् , सायद केही समय अब गाउँमा यसै गरी मादल घन्किने छ । मान्छेहरू भन्छन् खरी झरेको मादलमा बरु खरी भर्न सकिन्थ्यो तर यति चर्को स्वरमा मादल बजाउँदा मादलमा प्वाल पर्यो भने , पुनः कसरी मनोरञ्जन लिने !
जिम्वालसँग भने त्यही चर्को आवाज र ताल सुन्नुभन्दा बाहेक अन्य कुनै विकल्प बाँकी थिएन । उनका सहयोगीहरू र परिवारका सदस्यले घर त्यागेको विषयमा पनि उनको कुनै गुनासो छैन । कुनैबेला यही मादल बजाउन प्रतिबन्ध लगाएकै कारण आफू एक्लिन परेको हो ? उनलाई त्यतिबेला आफैले गरेको निर्णय प्रति आत्मग्लानी भएको छ । अहिले जिम्वाल पहिलेको जिम्वाल जस्तो छैनन् । उनका न सहयोगी छन् न हरुवाचरुवा नै छन् ! उनले अतीतका कुराहरू त्यति सम्झदैनन् । उनका अघिपछि बसेर कथा कहानी सुन्नेहरू अचेल नयाँ खरिद गरिएको र सिपालु हौँ भन्नेहरूले बजाएको मादलको तालमा लठ्ठिएका छन् । कुनै समय कसैले बजाउँछन् कि भन्दै मादलबाट खरी झारेर पोको पार्ने जिम्वाल अचेल आफैँ खरी झरेको मादल जस्तै बनेका छन्, न आवाज निकाल्न सक्छन्, न ताल र सुर निकाल्न सक्छन् !
०००
चितवन ।
Subscribe
Login
0 Comments
Oldest






































