साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खरी झरेको मादल

कुनै समय कसैले बजाउँछन् कि भन्दै मादलबाट खरी झारेर पोको पार्ने जिम्वाल अचेल आफैँ खरी झरेको मादल जस्तै बनेका छन्, न आवाज निकाल्न सक्छन्, न ताल र सुर निकाल्न सक्छन् !

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

जिम्वालको महलमा कामदारहरूको निकै चहलपहल हुन्थ्यो । केहीलाई छोडेर बाँकी कामदारहरू निकै इमान्दार र सोझा थिए । इमान्दार भएर पनि जिम्वालको नजरमा भने उनीहरू सबै कामचोर प्रवृत्तिका मानिन्थे । छिमेकी गाउँतिरकाले बाल नदिए पनि आफ्नो गाउँमा भने जिम्वालको निकै शान, मान र धाकरवाफ थियो । उनको हाँकोडाँको निकै चर्को भएकोले त्यही हाँकोडाँको सुनेर मनैदेखि मुख अमिलो बनाए पनि कुनै कामदारले पनि चर्को बोलेर झर्को माने झैँ गर्न सक्दैन थिए ।

उनको आदेशको उल्लङ्घन गर्ने हिम्मत कामदारको त कुरै छोडौँ, गाउँका मै हुँ भन्नेको पनि थिएन । यिनको दौराको फेर समाउन पाए प्रायजसो गाउँले आफूलाई स्वत: शक्तिशाली भएको महसुस गर्थे । यही कारण कामदार इमान्दार नबनी सुखै थिएन । तर पनि उनीहरू इमान्दार कामदारमा कहिले पनि गनिएनन् ।

घोडाको स्याहार गर्ने सुसारेले घोडाको रेखदेखमा कुनै पनि प्रकारको कमिकमजोरी हुन दिँदैन थियो । भात पकाउने भान्से, सरसफाई गर्न खटिएकाहरू कसैले पनि बेइमानी गरेनन् । गोठालोको जिम्मा लिनेले गाईभैँसीको हेरचाह मजैले गर्ने गरेका थिए । खेत जोत्नेले खेत जोत्थ्यो । तर तिनले कहिले पनि जस पाएनन् । मनोरञ्जनलाई कमिकमजोरी मान्ने हो भने, उनीहरू साँझपख सबै भेला भएर केही समय नाचगान गरेर मनोरञ्जन लिन्थे । तिनले लिने गरेको मनोरञ्जनले जिम्वालको नीजि काममा फिटिक्कै असर परेको थिएन । यदाकदा गीतका शब्दहरूमा सामान्य किसिमले जिम्वालको व्यवहारीक पक्षलाई औँला उठाइएको भने हुन्थ्यो । यति पनि जिम्वालको सहजसँग सहन सकेनन् । अर्कालाई उखान सुनाउन खप्पिस जिम्वालले “ दुध दिने गाईको लात सहनुपर्छ ‘ भन्ने उखान आफैँले बुझेनन् ।

एकदिन उनले सबैलाई डाकेर भने – भोलिदेखि तिमीहरूले नाचगान गर्ने पाउदैनौ । “आज मध्यरात बाह्र बजेदेखि तिमीहरूलाई नाचगानमा प्रतिबन्ध लगाइदिएको छु । ” जिम्वालले मादलको खरी झारिदिए । मुजुराको बिट भाँचिदिए । सारङ्गी र डम्फु बाकसमा कोचेर ताला लगादिए । जिम्वालका सहयोगीहरू बिलखबन्दमा परे ।

जिम्वालको तर्क थियो, यिनले सबै वाद्यवादनहरू उधारोमा ल्याएका थिए । यसरी उधारो माल जिम्वालको घरमा हरेकदिन बजिरहँदा अनिष्ट हुन सक्थ्यो । ठूला घरको इज्जत माटोमा मिल्न सक्थ्यो । आफ्नो हैसियतमाथि प्रश्न उठ्न सक्थ्यो ! कथंकदाचित गाना बजानाका साधन बिक्री गर्ने साहुहरू लगानी उठाउन घरमै आए भने सहयोगीहरूको होइन जिम्वालको घरको इज्जत जान्थ्यो ।

त्यसदिन कामबाट फुर्सद पाउनासाथ कामदारहरूले भोलिपल्टदेखि बजाउन नपाइने मादल , सारङ्गी , मुजुरा र डम्फुलाई धित मरुन्जेल हेरे । तर एकपटक बजाउने हिम्मत भने गर्न सकेनन् । जब तिनले प्रतिबन्ध फुकुवा गर्ने माग पेश गर्न जिम्वालको खोपीमा पुगे , जिम्वाल त्यही खरी झरेको मादल बजाएर पुर्बेली लोकभाकामा नाचिरहेका थिए तर खरी झरेको मादलबाट आवाज आएको थिएन । त्यसबाट आउनु पर्ने खाँटी आवाज गायब थियो । मादलबाट न ताल निस्किएको थियो न सुर ! आखिर खरी झरेको मादल बाट ताल निस्कने कुरा पनि त भएन ! तै पनि उनी विना तालसुरमा झुमिरहेका थिए ‌। लाग्थ्यो मादल घरमा मात्र होइन, सारा दुनियामा सुनिएको छ ! बिचरा जिम्वाल भ्रममा थिए ।

सहयोगीहरूले आफ्नो गुनासो पोख्दै भने – जिम्वालबा, हामीलाई प्रतिबन्ध लगाएर आफू चाँही मनोरञ्जन लिने ? जिम्वालले सायद सुनेनन् क्यारे, उनी त्यही खरी झरेको मादल बजाउन व्यस्त थिए । एकदिन जिम्वालका सहयोगीहरू मात्र होइन जिम्वालको व्यवहारले उनका परिवारका सदस्यले समेत घर त्यागेको घोषणा गरे । अचानक जिम्वाल एक्लै परे । अचेल उनी विना आवाजको सोही खरी झरेको मादल बजाएर दिन कटाउँदै छन् भन्ने सुनिएको छ । उनका केटाकेटी र सहयोगीहरू मिलेर बजारबाट अरू धेरै नयाँ मादल खरिद गरे । अचेल उनीहरू जिम्वालको कान खानेगरी मादल बजाउँछन् , सायद केही समय अब गाउँमा यसै गरी मादल घन्किने छ । मान्छेहरू भन्छन् खरी झरेको मादलमा बरु खरी भर्न सकिन्थ्यो तर यति चर्को स्वरमा मादल बजाउँदा मादलमा प्वाल पर्यो भने , पुनः कसरी मनोरञ्जन लिने !

जिम्वालसँग भने त्यही चर्को आवाज र ताल सुन्नुभन्दा बाहेक अन्य कुनै विकल्प बाँकी थिएन । उनका सहयोगीहरू र परिवारका सदस्यले घर त्यागेको विषयमा पनि उनको कुनै गुनासो छैन । कुनैबेला यही मादल बजाउन प्रतिबन्ध लगाएकै कारण आफू एक्लिन परेको हो ? उनलाई त्यतिबेला आफैले गरेको निर्णय प्रति आत्मग्लानी भएको छ । अहिले जिम्वाल पहिलेको जिम्वाल जस्तो छैनन् । उनका न सहयोगी छन् न हरुवाचरुवा नै छन् ! उनले अतीतका कुराहरू त्यति सम्झदैनन् । उनका अघिपछि बसेर कथा कहानी सुन्नेहरू अचेल नयाँ खरिद गरिएको र सिपालु हौँ भन्नेहरूले बजाएको मादलको तालमा लठ्ठिएका छन् । कुनै समय कसैले बजाउँछन् कि भन्दै मादलबाट खरी झारेर पोको पार्ने जिम्वाल अचेल आफैँ खरी झरेको मादल जस्तै बनेका छन्, न आवाज निकाल्न सक्छन्, न ताल र सुर निकाल्न सक्छन् !

०००
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
धूपको धुवाँ र चुरोटको धुवाँ

धूपको धुवाँ र चुरोटको...

चिरञ्जीवी दाहाल
ज्ञानको उल्टी

ज्ञानको उल्टी

चिरञ्जीवी दाहाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
पेसा

पेसा

रमेश समर्थन
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x