चिरञ्जीवी दाहालनसाटिएको झोला
मैले दायाँ काँधमा बोकेको र उनले बायाँ काँधमा बोकेको झोला एक आपसमा बेसरी ठोकिए । हामीले जिल्ल पर्दै एक अर्कालाई हेराहेर गर्यौँ ।

चिरञ्जीवी दाहाल :
झोला जस्तै, झोले मान्छेहरू पनि थरिथरिका हुने रहेछन् । कोही राजनीतिक दलका झोले, कोही वाष्पजलका झोले , कुनै भोज र मोजका झोले र कुनै डोजका झोले । खोतल्दै जाने हो भने झोलेहरू अनेक प्रकारका भेटिन्छन् । जे होस् यहाँ चर्चा गर्न लागिएको झोले भने माथि उल्लेख गरिएका झोलेभन्दा पनि अलि भिन्न प्रकारका छन् । यी झोले महाशयले न देखिनेगरी नेताको झोला बोक्छन् न कुनै राजनीतिक दलको ! तर पनि यिनी झोले नै हुन् ।
कुराको थालनी गर्दा एकदिनको एउटा कार्यक्रममा पुग्नुपर्ने हुन्छ । त्यस कार्यक्रममा उपस्थित हुनेहरू सबैले झोला बोकेका थिए । तर त्यहाँ सबै झोला बोक्नेहरूलाई झोले भन्न सकिने आधार केही पनि थिएन । त्यत्रो मानव सागरमा उनी एकजना मात्र झोले भनिन लायकका पात्र रहेछन् । लाग्यो , यिनले अरु कसैको होइन बेहोसीमा अभिमानको झोला बोकेका थिए ।
अभिमानकै कारण सायद उनले आफ्नो अनुहारमा साधु र मेरो अनुहारमा चोरको रूप देखे ! अन्यथा सयौँ जना उस्तै झोला बोकेकाहरू मध्ये मेरै कुमको झोलालाई भोको गिद्धले सिनो झम्टिए झैँ नझम्टिनु पर्ने थियो ! जब तिनले एक्कासि मेरो झोला झम्टिए, भाग्यले म जोगिएँ तर मेरो झोला भने जोगिन सकेन , म घाइते नभए पनि मेरो झोला भने घाइते भयो । उनको अप्रत्यासित व्यवहार देखेर म झसङ्ग भएँ । उनी निकै उत्तेजीत हुँदै भन्न लागे “ यहाँ राखेको मेरो झोला खै ? तिमीले नै साट्यौ होइन ? ” उनले अभिमानको रस मिसिएको नीमको झोलको स्वाद भन्दा पनि तीतो भाषामा प्रश्न गरे । मैले निकै नरम भएर भनेँ “होइन मैले यहाँको झोला किन साट्थेँ , यहाँको जस्तै झोला मसँग पनि छ !
मैले अझै डराइ डराइ प्रश्न गरेँ, “झोलामा कुनै महत्वपूर्ण वस्तु थियो र ?“ “केही पनि थिएन तर यो मेरो झोला त होइन नि, म अर्काको झोला किन बोकौँ ! मेरो झोला तिमीले साटेको हुनुपर्छ !” यिनले मलाई ठाडै झोला चोरको अभियोग लगाए । अभियोग लगाउने बेला यिनले कसैको बुढ्यौली उमेरको पनि ख्याल गरेनन्, न यो खुइलिएको तालुमा यिनका आँखा रोकिए ! एकजना जेष्ठ नागरिकलाई दसी प्रमाण बिना चोर उपाधिले विभूषित गरिरहँदा यिनले न आत्मग्लानी भएको महसुस गरे, न कुनै प्रकारले असहज भएको जस्तै गरे !
उनको पोशाक र टाइँफाइँ हेर्दा, यिनी निकै खानदानी मान्छे हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्थ्यो भने स्वभाव भने ठिक विपरीत देखिन्थ्यो । यिनी कृपण र भुइँफुट्टा रहेछन् भनेर मैले सहजै अनुमान गरेँ । उनको फुर्ती हेर्दा सायद उनले आफ्नो उचाइ कुनै अग्लो पहाड जस्तै ठानिरहेका थिए । मलाई भने यिनको उचाइ पहाड जस्तो नभएर सेपिलो र धापिलो जमिनमा जमेको फोहोर जस्तै लागिरहेको थियो ।
उनले, मैले दिएको उत्तर सुन्ने कोशिससम्म पनि गरेनन् । जब मेरो झोलाको खानतलासी गरेर सके, अनि भने “ यो मेरो झोला होइन रहेछ, मेरो झोला खोइ त ? ” उनले मेरो काँधबाट थुतेको झोला फुत्त भुई+मा फाले र एकसय मिटरको छोटो दौडमा भाग लिएको तीव्र गतिको अफ्रिकी धावक दौडिए जसरी भोजनालय कक्षतिर दौडिए । आफ्नै गल्ती भएको स्पष्ट भएपछि र म निर्दोष प्रमाणित भइसकेपछि कमसेकम यिनले मसँग क्षमा याचना गर्लान् भन्ने लागेको थियो । तर मेरो अनुमान “बिना बादल झरीको आश” भने जस्तै भयो । हुनसक्छ, होस गुमाउनेहरूको शब्दकोषमा ‘क्षमा याचना’ भन्ने शब्द हुँदैन क्यारे ! “घर पुगेपछि सबैभन्दा पहिले घाइते झोलाको उपचार गर्नु पर्ला ।” मैले आफ्नै मनको “मेमोरी” मा घाइते झोलालाई ”सेभ” गरेर राखेँ ।
म अब सभाकक्षबाट निस्किएर बाहिर चौरमा थुचुक्क बसेँ र आफू घाइते हुनबाट जोगिएकोमा ईश्वरलाई धन्यवाद दिएँ । अब भने मेरो नजर उनी भए तिरै थियो । म उनका सारा गतिविधि अवलोकन गर्दै थिएँ । यसभन्दा बाहेक म केही गर्न पनि असमर्थ थिएँ ।
यिनको व्यवहार देख्दा मेरो मनमा पनि क्रोधाग्नि उत्पन्न भएको थियो । तर मैले आफ्नो क्रोधलाई नियन्त्रण गरेँ र उनले जस्तै अनियन्त्रित तवरले आगो दन्काउन उचित ठानिन । अन्यथा केही बेर लफडा समेत हुन सक्थ्यो ! मसँगै उभिएका अर्का झोलाधारी मित्रले मुसुक्क हाँस्दै भने “भर्खरै देखाउनु भएको संयमका लागि यहाँलाई धन्यवाद । तपाईँ पनि उनी जस्तै भइदिएको भए आज यहाँ दोस्रो महाभारत हुन सक्थ्यो ।” म उनी तिर फर्केर मुसुक्क हासेँ मात्र ।
ती मित्रले भने “ कस्तो नमूना मनुष्य रहेछन् ती महोदय ! पहिलो कुरा त्यो मानव सागरमा झोला यसैले साट्यो भन्ने आधार केही पनि थिएन । दोस्रो कुरा आफूसँग भएको र अर्काको वस्तु हुबहु उस्तै देखेपछि सट्टापट्टा गर्ने धृष्टता पेशेवर चोरले पनि गर्दैन । यो कुरा तिनले बुझ्नु पर्थ्यो र अर्को कुरा झोलाको गुणस्तर मात्र होइन, झोलाको रङ र वनावट तथा झोला भित्रका सामाग्रीमा पनि विविधता थिएन । फेरि सबैले झोला बोकेको देखेपछि तिनले पनि आफ्नो झोला काँधबाट छुटाउनु हुँदैन थियो । कार्यक्रममा वितरण गरिएका सबै झोलाहरूको मापदण्ड एकै प्रकारको थियो । यस भित्र एक थान डटपेन , एउटा पातलो स्पाइरल बुक र कार्यक्रम तालिका लेखिएको एक पन्ना कागत बाहेक त्यहाँ अन्य कुनै पनि वस्तु थिएन । झोला साटिएको भए पनि न पहाडको गह्रा खस्थ्यो न तिनको ढाडमा चरा बस्थ्यो !” जब अर्का मित्रले मेरो संयमताको प्रशंसा गरे मैले थप बल पाएको महसुस गरेँ । थप बल प्राप्त गरे पनि अब म पुनः उनैको पछि लागेर नारी खैँचने पक्षमा भने थिइन । अन्यथा उनी र म मा के भिन्नता हुन्थ्यो र ?
जीवनमा पहिलोपटक चोर छापको डाम लिएर मुख अमिलो बनाउँदै म बाटो लागेँ । लाग्यो, के मेरो अनुहार साँच्चिनै चोरको जस्तै छ ? घरमा गएर ऐना हेरेँ, अनुहारमा केही परिवर्तन थिएन । मेरो अनुहार कतैबाट पनि चोर जस्तो लागेन । उनले के को आधारमा चोर ठाने उनै जानुन् ! मैले त्यो झोला काण्डलाई एउटा सामान्य दुर्घटना मात्र ठानेँ , लाग्यो कथा सकियो ।
तर कथा अझै बाँकी रहेछ । दूर्घटनाको करिब बाह्र पन्ध्र दिनपछि, म बाटोमा कतै गइरहेको समयमा विपरीत दिशाबाट आइरहेका उनी एक्कासि मसँग ठोकिए । हुनसक्छ हिँड्दाहिँड्दै हामी दुई मध्ये कुनै एकजनाको खुट्टाको सन्तुलन बिग्रियो । मैले दायाँ काँधमा बोकेको र उनले बायाँ काँधमा बोकेको झोला एक आपसमा बेसरी ठोकिए । हामीले जिल्ल पर्दै एक अर्कालाई हेराहेर गर्यौँ । मैले उनलाई झोलाको विषयमा प्रश्न गरेँ , “कार्यक्रममा साटिएको झोला फेला पार्नु भयो ?” उनले निकै लामो हाँसो हाँस्दै भने “त्यसदिन मेरो झोला कसैसँग पनि साटिएको रहेनछ । जब घरमा पुगेर झोला बिसाएँ, अनिमात्र थाहा पाएँ, मैले बोकेको झोला मेरो आफ्नै रहेछ ।” उनले निकै लामो हाँसो त निकाले तर अझै पनि आफूबाट गल्ती भएको स्वीकार गर्न सकेनन् !
०००
चितवन ।
Subscribe
Login
0 Comments
Oldest






































