चिरञ्जीवी दाहालताली पर्व सधैँ आइरहोस्
मेरो विचारमा ताली बजाउँदाको सबैभन्दा नराम्रो पक्ष यति मात्र हो । अन्यथा यो ताली बजाउने नसाका फाइदाहरू यति छन् कि न गनेर साध्य लाग्छ न भनेर साध्य लाग्छ !

चिरञ्जीवी दाहाल :
ताली बजाउँदा बजाउँदै उमेरले बाली पकायो तर ताली बजाउने कार्यबाट मुक्ति भने पाएको छैन ! सायद, ताली बजाउने बानी रहरले लागि दिएको भए यसरी नित्य ताली बजाउने स्थानको खोजीमा समय खर्च गर्नु पर्दैनथ्यो । जब आदत नै बसिसकेपछि भने झ्वाट्ट ताली बजाउने कामबाट मुक्ति खोज्नु असम्भव जस्तै रहेछ । कहिलेकाहीँ दिक्क लाग्छ, म अन्य नसा र ताली बजाइरहने नसा बीच तुलना गर्छु, मेरो मनले भन्छ अन्य नसामा लठ्ठिनु भन्दा यो नसामा झुम्नुको छुट्टै मजा हुनेरहेछ ।
एकैछिन विचार गरेर सम्झन्छु, कमसेकम गतिलो आदत बसेको छ, ठिकै भएको छ । यो आदत बसेको एक-दुई साल मात्र होइन सालवसाली यही पारा हो । त्यसैले होला गाउँका छोराछोरी पुस्ताका सबैले ताली बा भन्छन् , गर्वले छाती चौडा हुन्छ । सुरुसुरुमा निकै असजिलो लाग्ने गरेको यो नाम सुनिरहँदा अचेल भने बानी परिसकेको छ । जब कसैले ताली बा भनेर सम्बोधन गर्छन्, मलाई अच्चाक्ली रमाइलो लाग्छ र ऊ खाँटी आफ्नै मान्छे भएको महसुस हुन्छ ।
नसा जेसुकैको होस्, जब कुनै वस्तुको नसा लाग्छ, जीवनभर त्यसको लालसा मनमा रहिरहन्छ र त्यसको सङ्गत छोड्न मनले फिटिक्कै मान्दैन । नसाका कारण मनग्य कमाओस् , सुकुम्बासी बनाओस् वा नाम र इज्जत डुङ्डुङ्ती गनाओस्, नसामा फसेको मान्छे लत नामको नालीबाट उठेर अटालीमा पुग्न गाह्रो हुन्छ । जाँड धोक्नेलाई जाँडको नसा, चुरोट तान्नेलाई चुरोटको नसा, राजनीति गर्नेलाई राजनीतिको नसा लागेजस्तै नढाँटी भन्नुपर्दा म पनि ताली बजाउने नसामा फसेको छु । कहिलेकाहीँ लाग्छ, नसाहरू मध्ये सबैभन्दा सस्तो, कम खर्चिलो र सर्वसुलभ नसा यही ताली बजाउने नसा रहेछ । आलीको डिलमा बसेर सुनको थालीमा भोजन गर्ने नसा लागेको भए सुनको भाउले दाउ हेरिरहेको बेला मेरो के दशा हुन्थ्यो होला ? भाग्यले साथ दिएपछि कसको के लाग्छ, जे होस् हातको नसा फुल्ने गरी ताली बजाउने नसा बसेर ढासा पारेर हिँड्न पाएकोमा खासा लागेको छ भने ताली बजाएरै ठूलो मान्छे बन्न सक्ने आशा पलाएको छ ।
कुनै दिन मलाई ताली बजाउने ठाउँमा दौडाहा गर्न मौका नमिले औडाहा हुन्छ । जिउबाट चिटचिट पसिना चुहिन्छ र एक्कासि मन फिटफिट हुन थाल्छ । त्यसपछि भने आकारमा पनि मसिना होइन एक पाउको असिनाले टाउकोमा बजाए जस्तो पीडा हुन्छ । ओठ, मुख सुक्छ र टाउको फुट्ने गरी दुख्छ । जब कुनैदिन ताली बजाउने औपचारिक कार्यक्रमको आयोजना भएको खबर पाइँदैन, खाली बस्नुको साटो घरमै बसेर ताली बजाउन मनलाग्ने रहेछ । यदाकदा औपचारिक रूपमा ताली बजाउने धन्दा रोकिएको बेला टेलिभिजन र मोबाइलमा नेताको भाषण सुन्यो ताली बजाउन मन लागिहाल्छ ।
सन्तोषको कुरा के छ भने एकछत्र ताली बजायो भनेर आजसम्म कसैले गाली गरेको भने थाहा पाएको छैन । ताली बजाउने विषयलाई लिएर न आजसम्म कसैले धम्की दिको छ न लम्कीझम्की नै गरेको छ । त्यसैले नसा मध्ये सबैभन्दा किफायती, सुरक्षित र भयरहित नसा ताली बजाउने नसा नै रहेछ भनेर ठोकुवा गर्न सकिन्छ । राजनीतिको नसाले घर बलेको, पैसा जलेको र ढाडमा बेलका दाना फलेको देखिएकै हो । धरैलाई थाहा छ, जाँड र चुरोटको नसाको कारण मुटु र फोक्सो नराम्रोसँग गलेको घोषणा त डाक्टरले गर्ने गरेकै छन् । यति मात्र होइन, केही नसाले अनुहारमा कालो दलि दिन्छ, कुनै नसाका कारण भाग्यले छलि दिन्छ ।
‘फुलीको नसामा सात गाउँ डुली घरमा आएका जेठा दाइले ठुलीले प्रहार गरेको पन्युको डामलाई ऋण असुली गर्न जाँदा बाटो भुली डाँडाको चुलीबाट लडेको घाउ ‘ भनेर हावादारी कथा सिर्जना गर्नेहरू पनि बेलाबखत भेटिने गरेकै छन् । अझ कुरो नचपाई भन्ने हो भने यस्ता अर्धाङ्गिनी ढँटुवाहरू केही व्यक्तित्वसँग मेरो पनि राम्रै उठबस छ । दुनियाँ अनेक थरि नसामा फसिरहँदा आफूलाई भने यति गजबको नसामा बानी परेकोमा निकै गर्व पनि लाग्ने नै भयो ।
यो नसाले राम्रैसित जरा गाडेपछि, एकदिन ताली बजाउन नपाउने हो भने त्यसदिन न भान्छामा खानुपर्छ न ओछ्यानमा जानुपर्छ ! भोक र निन्द्रा एकसाथ गायब हुन्छन् ।
त्यसैले ताली बजाउने ठाउँको खोजी अघिल्लो दिन गरिसक्नु पर्ने हुन्छ । लाग्छ, नसामा फसेको मान्छे र चुनावमा टिकट बाँड्ने भान्छेको यो साझा समस्या हो । जब संयोगले कुनै दिन ताली बजाउन पाइँदैन, मेरो आवाज चुनाव हारेर घाइते भएको, चैते नेताले गरेको काइते भाषण जस्तै ताइ न तुइको बनिदिन्छ । ताली बजाउन नपाउँदा भने कहिले म गँजडीले गाँजा सेवन गर्न नपाएर छटपटिए झैँ छटपटिन थाल्छु । कहिले नेतालाई भाषण गर्न प्रतिबन्ध लगाएको अवस्थामा जस्तो छटपटीमा पर्छु भने कहिले साहित्यक कार्यक्रमा कविता वाचन गर्न भन्दै बोलाएर कविता वाचन गर्न समय नदिइएको कविको जस्तो अवस्थामा पुगेको हुन्छु । मेरो विचारमा ताली बजाउँदाको सबैभन्दा नराम्रो पक्ष यति मात्र हो । अन्यथा यो ताली बजाउने नसाका फाइदाहरू यति छन् कि न गनेर साध्य लाग्छ न भनेर साध्य लाग्छ !
यसरी ताली बजाएर रमाउनु पर्ने कारण के पनि छ भने एक दुई समारोहमा बाहेक जब ताली बजाउने निम्तो आउँछ, त्यसदिन घरको मकै भटमास र एक कप चियाको बचत हुने गरेको छ । साहित्यिक कार्यक्रममा चिया र बिस्कुटको आशमा बज्ने ताली र नेताको भाषणमा मासु र चिउराको गासमा बजाउने ताली मात्र होइन, भटभटेमा दुई लिटर पेट्रोल भर्न पाउने खास लोभमा बज्ने ताली विशेष प्रकारको हुने गरेको छ । आशा छ, नियमित बजाउने तालीको चिया बिस्कुट भन्दा मौसमी रूपमा बजाउने तालीको मासु चिउरा र भटभटेमा पेट्रोल भर्न पाइने ताली निकै गुणस्तरीय हुने भएकोले यस प्रकारको ताली पाँच पाँच वर्षमा मात्र होइन सँधै भरी बजाउन पाइयोस् यही कामना छ ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest








































