रामकुमार पाँडेपर्यटकको परिहास
हिजो दूध चुस्यो अब घुडा चुस । म भन्छ नेताको मुख बन्ध्याकरण गर । दुइटा आँखा चिम्लेर तेस्रो आँखा खोल अनि देश बन्छ ।

प्रा. रामकुमार पाँडे :
म के भन्छ तुरिस्त भन्छ कि दुरिस्ट ? म त तिम्रो देशको इस्ट छ । तिम्रो देशको राम्रो छ । तर फोहर आइ मिन डर्टी थिङ्ग मलाई मन पर्दैन । सहरमा धेरै फोहर फाल्छ । बाँदर त्यो मन्की पसल थाप्छ । मान्छे मोटर एकै ठाउँमा हिँड्छ । सबैभन्दा धेरै फोहर राजनीतिको दुर्गन्ध छ । मुइले पत्रिका पढ्यो । पत्रिकामा नेताको भाषणमात्र छाप्छ । आफ्नो देशको केश नहेर्ने पत्रिका के काम गर्छ ? मलाई तिम्रो देशको पत्रिका पनि राजनीति गर्छ जस्तो लाग्छ । यस्तो गर्नु हुँदैन । मलाई मन पर्दैन । हामी तिम्रो देशको नयाँ घर हेर्न आउँदैन । पुरानो इतिहास छ नि हो त्यो हेर्न मन गर्छ । तर राम्ररी सिहार्न सकेनौ । भत्केको बिग्रेको छ । हिँड्दा छाना खसेर टाउको फुट्यो भने कसले ओखती गर्छ ? भुइँमा त फोहर कुल्चेर हाम्रो जुत्तालाई गन्हायो । फोहर कुल्चेर मान्छे मर्याे भने आइमिन बिमा भन्छ कि इन्सुरेन्स कसले गर्छ ?
तिम्रो मोटर पनि नदीमा खस्छ । ड्राइभरले केटीसँग किन गफ गर्छ ? तिम्रो देशको ट्याक्सीले मिटरलाई क्वाइन मिन्ट गर्ने तार जोड्छ । जाँदा पनि खान्छ । जाँदा किन खान्छ ? हामी काम गर्दा जाँदा जाँदा खाँदैन । जाँदा खाँदा काम गर्दैन । तिम्रो देशमा ठुलो घर हेर्न आएको हैन । हाम्रो देशमा ठुलो घर धेरै छ । तिम्रो घुमाउने घर राम्रो छ । कुमारी पूजा मन पर्छ । तिमीले जात्रा बिगारन लाग्यो। यो मन पर्दैन । तिम्रो देशमा के हेर्न आउने ? इन्द्रजात्रा मन पर्छ । गाइजात्रा सधैं गरेको मन पर्दैन । कतै नभएको जात्रा तिम्रो देशमा छ । आइ मिन हान्डी गाउको जात्रा त्यसै भन्छ । तर त्योभन्दा गजब गजबको जात्रा छ । धेरै पढेका विद्यार्थीले तायर बालेर धुँवा सुङ्छ ।
राजनीतिको मान्छेको झोक बार भत्काएर जान्छ । त्यस्ले आफ्नो देश के बनाउँछ ? हाम्रो देशमा त पागल मान्छेले पनि खराव काम गर्दैन । तिम्रो देशमा त पढेका मान्छे पागलजस्तो लाग्यो होला आइमिन सडकको बत्तीले के बिगारेको छ ? फुटालेपछि आफै अँध्यारोमा हिँड्नु पर्छ । भन्ने आइमिन सेन्स नभएको मान्छे हाम्रो देशमा ननसेन्स भन्छ । जनताले कर तिर्छ । सरकारले बनाउँछ । भत्काउने अधिकार तिमीलाई कसले दियो ? कर्तव्य नगरे छि अधिकार कसरी पाउँछ ? बिद्रोहको शक्तिलाई विकासमा लाने नेता राम्रो छ । तिम्रो देशमा धेरै नेता मनोनित नेता छ । सरकारले गोरुलाई पनि प्राज्ञ बनाउँछ । तिम्रो मन्त्रीको बुढी छैन ।
ओखती पसले डाक्टर बनायो भने अपरेशन गरेर मान्छे मर्छ । हो आइमिन त्यस्तै हो । तिम्रो देशमा अरू देशका भाषाको गेट धेरै सुन्छ । आफ्नै भाषा बोले हामी सुन्छ । तिम्रो देशको पोशाक हाम्रो जस्तो सुट हैन । सुट त हाम्रो देशको सुइपरले पनि लगाउँछ । तिम्रो देशको लुगा छैन । जडौरी लाएर ठुलो मान्छे कसरी हुन्छ । माग्ने धेरै भयो । टाइ लगाएर माग्छ । मन्त्री पनि माग्छ, खाते पनि माग्छ । मागेको पैसाले जाँड खान्छ । तिम्रो देशको जनता धेरै काम गर्छ । नेता भाषण मात्र गर्छ । गरिवलाई ठग्छ । समस्या पर्यो भने जनता गुहार्छ । जनता हावा खान्छ । आफ्नो बाबुको सम्पत्ति जस्तै ठुलो पदमा दिदी, स्वास्नी, भान्जी भर्ना गर्छ । योग्यतालाई ध्यान नदिने कसरी योग्य हुन्छ ? यसले कसरी बनाउँछ ? आइमिन आफ्नो देश बनाउन सक्दैन । आफ्नो नाता बनाउँछ । आफ्नो सम्पत्ति बनाउँछ । लुटेर देश बन्दैन, जुटेर बन्छ भन्छ नि, हो । बुद्धि हुनेले जनता खुसी पार्छ । तिम्रो देशको दल फुटेर कुटेर हिँड्छ ।
सत्य समाचार छाप्ने पत्रिका फाल्न बाल्न लगाउँछ । प्रशंसा गरे मात्र दानापानी पाउँछ । नेपाली भनेको बहादुर हो । बहादुरले गर्ने काम के हो बुझ्नु पर्छ । डाँका पनि धनी भए प्रशंसा पाउछ । ठुलो उही हुन्छ । तिम्रो देशमा नेताको कालो हात डर्टी भन्छ नि हो त्यो म मिलाइन मन छैन । जनता राम्रो छ । हो मैले भन्छ मान्छे राम्रो छ । नेता धेरै बेइमान छ । बेइमान मान्छे सबै माथि छ । पेट्रोलमा आफै मिसावट गर्छ । र जेल जानु पर्ने मान्छे जाँच्न लैजाने भन्दै विदेश जान्छ । विदेशमा जाँड खाएर लड्छ । आफ्नो देशमा पेट्रोल खराब भएर मोटरसाइकल लड्छ । कस्तो छ मान्छे । आफै मात्रा खान्छ । कोही कोही मालिकलाई खुवाउँछ । अनि भ्रष्टाचार कहाँ हट्छ ? तिम्रो देशमा भ्रष्टाचारले सबै बिग्रेको छ । हामी भन्छ । आइमिन बाहिरको क्वाइन भित्र हाल्छ । इज्जत फाल्छ । कोही कोही कुकुरजस्तो इमान्दार भएर देशलाई खराब गर्छ । बाटो बनाउने पैसा खान्छ । हामी बाटोमा हिँड्न गार्हो छ । खुट्टा भाँच्यो भने तिम्रो बाबुको खुट्टा जोड्छ ।
तिम्रो देशको मुन्तरी पहिला स्याल छ नि हो त्यो जस्तै लुखुर लुखुर हिँड्छ । अनुहार छ नि तिम्रो पुरानो आलु छ नि के भन्छ बिउ बनाउने आलुजस्तै चाउरी मान्छे त्यस्तै छ । मन्त्री भएपछि गाला र भुँडी बेलुनजस्तै फुल्छ । मान्छे त अझ के भन्छ भने जनताको नेता भन्छ । त्यसको नाक फुलेर आँखा पुरिन्छ । टाढाको जनता देख्दैन । मान्छे नै छ नि हो त्यो ढाडिएको के जाति फुल्छ भन्छ म त बुझ्दैन । मैले त मान्छे रिसाएपछि गर्धन फुलेको मात्र देखेको छ । तिम्रो देश मैले हेरेको छ । माल पाएर चाल पाएन । कस्तो राम्रो मन्दिर छ । बाफ रे बाफ । तर छानामा तिम्रो टाउकोमा घाँस । कपाल जस्तै उम्रेको छ । साइनबोर्डले छोपेर बुर्का के भन्छ आइमिन राम्रो छोप्छ । नराम्रो खोल्छ । घर राम्रो छ बाहिर फोहर गर्छ । कस्तो मान्छे छ ।
तिम्रो देशमा कुचो कारखाना खोल्नुपर्छ । कारखाना त गान्जाको छ कि मैले देख्दैन, बुझ्दैन । नेताहरू धेरै गान्जा खान्छ जस्तो छ । नत्र देशमा धनी भई मनि कमाउनी धेरै कुरा छ । गरीब छ देश भन्छ, आफू मात्र धनी बने पुग्छ । घुस धेरै खान्छ भन्छ । कसरी खान्छ हामी बुझ्दैन । तिम्रो देशमा विकास गर्न मैले भन्छ त्यो छ नि दिमागले काम गराउन नेताले गान्जा खाएको मान्छेजस्तो हैन खोर्सानी खाएर ततानु पर्छ । त्यो छ नि विश्वविद्यालय युनिभर्सिटी भन्छ, ठुलो ठुलो देशको एक कक्षाको भुरालाई अनुशासन सिकाएजस्तो ग्रेड फस्टको कोर्स पढाएर बलियो बनाउनु पर्छ । तिम्रो देशमा भूगोल पढदैन । देशको सबै थाहा पायो भने बलियो बन्छ भनेर हटायो । त्यसैकारण सीमा मिचिदा पत्तो छैन । मन्त्री त मनपरि बोल्छ । तिम्रो देशको पानी छ । मान्छेको छैन । आइमिन पानीमरूवा भन्छ नि हो त्यस्तै छ । पानीको खेला गर्छ । राजनीति धेरै पढायो । बिहारबाट बुद्धि पढ्यो । फिजीबाट पढ्नु पर्छ भन्छ हामी ।
बनारसमा पढ्नेको दास बुद्धि छ । ठुलो देशको ठुलो मान्छे छ नि हो त्यसको सालिक ढाल्छ अनि आफू उभिन्छ । त्यस्तो मान्छेले देश के गर्छ घर बाल्छ । देशको बलियो बनाउनेलाई फाल्छ । मान्छे के काम लाग्छ ? बहादुर मान्छेको काम भाडा माझ्नेमा जागिर हाल्यो । त्यो तिम्रो छ नि गाँजा लागेको नशाको अपरेशन गरेर पनि पुरानो नेताको ब्रेनले काम गर्दैन । नयाँ नेता आएपछि देश चिन्छ । हामी पनि नयाँ नेताले के भन्छ आइमिन रेनोभेशन गरेको मन पर्छ । आफ्नो देश बनायो भने हामी पनि नाति नातिना सबै बोकेर हेर्न आउँछ । छिमेकी पनि धेरै हेर्ने मन गर्छ ।
तिमीले लोडसेडिङ्ग हैन भ्रष्टाचार सेडिङ्ग गरेर देश उज्यालो पार्छ त सबै ठीक चल्छ । तिम्रो देशका केटाकेटी छ नि प्लस-दु भन्दै सँगै प्लस भएर बस्छ । कस्तो लाज नभएको शिक्षा छ । हाम्रो देशमा त शिक्षा पाउनेले बुद्धिको काम गर्छ । आफ्नो इज्जत नहुनेले देशको वास्ता गर्दैन । भोलि अप्ठेरो पर्छ । नयाँ नेपाल भन्छ टुकीको नेपाल छ । बाँदरबाट मान्छे हुनुपर्छ । हाम्रो विचार छ । मान्छे बाँदर बन्छ । सबै खोल्नु पर्छ तर आफै बन्द गर्छ । छोराहरूले बाबुसँग सबै थोक एकैपल्ट मागेजस्तो देशमा सबैले सबै थोक माग्छ । तिम्रो बाबुले कहाँबाट दिन्छ ? हिजो दूध चुस्यो अब घुडा चुस । म भन्छ नेताको मुख बन्ध्याकरण गर । दुइटा आँखा चिम्लेर तेस्रो आँखा खोल अनि देश बन्छ । हो, हामी त पर्यटक हो यसै भन्छ ।
०००
अन्तर्दृष्टि (२०६६)
Subscribe
Login
0 Comments
Oldest






































