साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कार्टुन केवल हास्य होइन

राजनीतिमाथि जानकारी राख्ने भएकैले राजनीतिक विश्लेषणयुक्त कार्टुनले पत्रिकाका पाठकको ध्यान तान्छ । त्यसैले राजनीतिकै कार्टुन बढी बन्छन् । समाजका विकृति विसंगति सुधार्न राजनीतिक कार्टुन महत्त्वपूर्ण छ ।

Nepal Telecom ad

प्रा. रामकुमार पाँडे :

ठूलो साइजमा रंगीन सजधजका साथ प्रकाशित कार्टुन सङ्ग्रह ‘बेस्ट अफ अविन’ माथि ध्यान दिएर घोत्लिएपछि भन्न सकिन्छ– अविन श्रेष्ठको कार्टुन– ‘सिग्नेचर’ विशिष्ट छ । भन्नै पर्दैन अविनको शैली विलक्षणै छ । समसामयिक घटनामाथिका उनका चित्र असाध्यै धारिला छन् । विषय चयन, चरित्र चित्रण र ढाँचा विशेष छन् ।

अनावश्यक चित्र र पृष्‍ठभूमिरहित उनका कार्टुन विषयबद्ध छन्, ठोस छन् । विक्रमको ५० देखि कार्टुन–कलामा निरन्तर साधना गर्दै यहाँसम्म आइपुगेका अविन कलाका बलिया हस्ती हुन् । र, चमत्कारपूर्ण व्यंग्य–चित्र उनको खास पहिचान हो ।

अविनको पहिलो कार्टुन ०५० सालमा गोरखापत्रमा छापिएको थियो । अढाई दशकभन्दा बढीको अन्तरालमा अविनले अरू धेरैले झैं ‘तारेख’ धान्ने काम मात्रै गरेनन् बरु कार्टुनलाई परिस्कृत गरे । दैनिक कार्टुन, त्यो पनि स्तरीय कार्टुन ! कार्टुनमा विविध प्रयोग गर्दै नेपाली व्यंग्य चित्रकारमा सबैभन्दा अग्ला बनेर उभिएका छन् अविन । कार्टुनमा सटीक विचारसँगै रेखा, स्ट्रोक पनि गजबसँग खिच्छन् उनी । मनोरञ्जक दृष्टिले पनि त्यो जीवन्त हुन्छ । राजनीति र समाजका गहिरा समस्यालाई मनोरञ्जक पाराले प्रभावशाली प्रस्तुतिसँगै रेखा र रङमा चोटिलो ढंगले भर्नु एक अब्बल कार्टुनिस्टमा हुने गुण हो । त्यसलै भन्न सकिन्छ, अविन अब्बल कार्टुनिस्ट हुन् ।

विकृति–विसंगति नियाल्दै जाँदा सधैं विद्रोह बोले पनि उनका व्यंग्यको भित्री मनसाय हुन्छ– समाज सुधार । र, यस्ता कार्टुनले समाजलाई संग्लो र अग्लो बनाउन मद्दत गर्छ । कार्टुनिस्ट अविनको रजत वर्षसम्मको यात्रामा नेपालमा ठूला राजनीतिक परिवर्तन भए । ‘बेस्ट अफ अविन’ पुस्तकले नेपालको एक कालखण्डको इतिहास कोरेको छ । समाजका विविध विषयलाई विभिन्न कोणले चित्रमार्फत भन्न खप्पिस लाग्छन् उनी । चित्र बेजोड छन् ।

कर्मशील कलाकार अविन कार्टुन चित्रकार मात्र होइनन्, सुझबुझ भएका सचेत कलाकार पनि हुन् । असलमा व्यंग्यकार तेस्रो नेत्रधारी हुन्छन् । र, अरूले सितिमिति नदेखेको विषय चित्रमा लेख्छन् । एउटा व्यंग्यचित्र हजार शब्द भन्न समर्थ हुन्छन् ।

पत्रकारितामा कार्टुन खुबै प्रयोग भए पनि नेपालमा यो पत्रकारिताको अभिन्न अंग थिएन । हास्यव्यंग्य समाज नेपाल (हासने) ले दुईपटक राष्ट्रिय कार्टुन सम्मेलन गर्‍यो । त्यसपछि पत्रकार र व्यंग्य चित्रकारबीच विचार–विमर्श भयो । र, कार्टुन पत्रकारिताको विशेष अंग बन्यो । २०७० देखि २०७७ सम्मका दुई कार्यकाल कार्टुनिस्ट क्लबमा अविनले अध्यक्षको पदभार सम्हाले । उनकै नेतृत्वमा इतिहास झल्काउने कार्टुन प्रदर्शनी, क्यारिकेचर कार्यशालादेखि अग्रज कदर सम्मान, पुरस्कारको व्यवस्था प्रारम्भ भयो ।

कार्टुन नबुझ्दै कार्टुनिस्ट बनेका अविन अब स्वविवेक र सचेतता साथ कार्टुन कोर्छन् । कार्टुनमा उनले सर्वसाधारणमाझ चिनिने ‘कमन म्यान’ चरित्रलाई जन्म दिएका छन् । त्यो चरित्र आमजनताको प्रतिनिधिका रूपमा ‘कान्तिपुर’ दैनिकको कार्टुन–स्तम्भ ‘गजब छ बा !’ मार्फत प्रस्तुत हुन्छ ।

किताबको प्रारम्भमै चेसको व्यंग्यचित्र छ, जसले जनआन्दोलनले सदियौंअघिको सत्ता पल्टिएको परिस्थिति प्रस्तुत गर्छ, जुन बौद्धिकस्तरको छ । ‘समय’ साप्ताहिकमा २०६३ सालमा प्रकाशित यो कार्टुन कम शब्दयुक्त, बलियो र परिस्थितिलाई सही आकलन गर्न सक्षम छ । अविनका धेरैजसो एडिटोरिएल कार्टुनमा शब्दै हुँदैनन् । चित्रमार्फत सबै बोलिएको हुन्छ । शब्द भए पनि असाध्यै थोरै शब्दमा उनी धेरै विषय भन्छन् ।

पुस्तकमा संकलित सबै कार्टुनको वर्णन यो सानो लेखमा सम्भव हुँदैन । पुस्तकमा संकलित अर्को एक कार्टुन उहिले र अहिलेको हुकुम प्रमांगीको विषयमा छ । पछिल्लो श्री ४ को हुकुम प्रमांगी सानो व्यंग्य होइन । कमन–म्यान क्यारेक्टरको प्रयोग ठाउँठाउँमा गरेका छन् । अधिकांश कार्टुनले मुख्य नेताकै चित्रण गर्छन् । तर, ती पात्रले व्यक्तिभन्दा पनि प्रवृत्ति प्रतिनिधित्व गरिरहेका हुन्छन् ।

पुस्तकमा नेपाली राजनीतिमै केन्द्रित व्यंग्यचित्रको प्रभुत्व छ । प्रत्येक कार्टुन एउटा इपिसोड नाटिकाझैं लाग्छ । यी राजनीतिक व्यंग्यचित्रमा कसैको पक्ष लिइएको छैन । पुस्तकमा उनको कोलम ‘गजब छ बा’ का श्यामश्वेत व्यंग्यचित्र पनि संकलित छन्, जुन स–साना देखिए पनि चित्रको गुणस्तर र त्यसका क्याप्सनले यसलाई छुट्टै महत्त्वका बनाएका छन् । यी साना कार्टुनले सामाजिक प्रवृत्तिमाथि व्यंग्यवाण बर्साएका छन् । यो किताबले नेपालको एक कालखण्डलाई इंगित गर्छ ।

राजनीतिमाथि जानकारी राख्ने भएकैले राजनीतिक विश्लेषणयुक्त कार्टुनले पत्रिकाका पाठकको ध्यान तान्छ । त्यसैले राजनीतिकै कार्टुन बढी बन्छन् । समाजका विकृति विसंगति सुधार्न राजनीतिक कार्टुन महत्त्वपूर्ण छ । व्यंग्यचित्रको निसानामा परेर पनि खुसी हुने व्यक्ति महान् हुन् । किनकि कार्टुन सत्य बोल्छ । विवादमा आउनु नै कार्टुनको सफलता हो । कसैमाथि ठाडो, नांगो गाली बेइज्जती गर्नु मात्रै व्यंग्यचित्र होइन । कार्टुनले हसाउँछ, तर यो केवल हास्य होइन । तैपनि व्यंग्यचित्रकै कारण बेलाबखत चित्रकारलाई धम्क्याउनेहरू छन् । खासमा निसानामा परेका व्यक्तिले आफ्ना कमजोरी देखाइदिएकोमा व्यंग्य चित्रकारलाई धन्यवाद भन्नुपर्ने हो । तर, यस्ता नेता हाम्रोमा देखिएको उदाहरण सायदै छन् ।

पुस्तक सङ्ग्रहणीय छ । कहिल्यै पुराना नहुने कलात्मक व्यंग्यचित्र यसमा छन् । अन्तर्राष्ट्रिय मापदण्डमा खरो उत्रिने साजसज्जा र रंगीन आर्ट पेपरमा प्रकाशित यो पुस्तक बुक आर्ट नेपालले प्रकाशन गरेको हो ।

०००
२०७९ वैशाख
जाउलाखेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
पर्यटकको परिहास

पर्यटकको परिहास

रामकुमार पाँडे
नयाँ रामराज्य

नयाँ रामराज्य

रामकुमार पाँडे
दोब्बर पुरस्कार

दोब्बर पुरस्कार

टीकाराम रेग्मी
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
दुई नम्बरीको संसारमा

दुई नम्बरीको संसारमा

काेइराला वत्सराज
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
0
Would love your thoughts, please comment.x
()
x