फित्काैली डटकम‘अविरल यात्रा–१११’ मा कवि निरञ्जना चन्द ‘निरु’का एक दर्जन कविता गुञ्जिए
अध्यक्ष नर्मदेश्वरी सत्यालको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा एमाले नेता एवम् महासङ्घका इन्चार्ज जीवन घिमिरे उपस्थित हुनुहुन्थ्यो भने प्रा.केशव सुवेदी, प्रा.डा.जीवेन्द्र देव गिरी, प्रा.डा.हेमनाथ पौडेललगायत हुनुहुन्थ्याे ।

काठमाडाैं । राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्षमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७२ सालदेखि अविच्छिन्न रूपमा आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को १११ औँ शृङ्खलामा अत्यन्त कुशल एवम् सामाजिक रूपान्तरण अभियानकी अभियन्ता तथा सशक्त प्रगतिवादी कवि निरञ्जना चन्द ‘निरु’का एक दर्जन सुन्दर, सशक्त, वैचारिक कविता गुञ्जिए ।
राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालकी अध्यक्ष नर्मदेश्वरी सत्यालको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा एमाले नेता एवम् महासङ्घका इन्चार्ज जीवन घिमिरे उपस्थित हुनुहुन्थ्यो भने प्रा.केशव सुवेदी, प्रा.डा.जीवेन्द्र देव गिरी, प्रा.डा.हेमनाथ पौडेल, प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’, प्रा.डा.देवी नेपाल, महासङ्घकी उपाध्यक्ष नमुना शर्मा, महासचिव आर.सी.न्यौपाने विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । महासङ्घका पूर्वअध्यक्ष प्रेमनाथ अधिकारी, वासुदेव अधिकारी, माधव चौलागाईँ, निराजन चापागाईँ, महेशराज खरेल, प्रशान्त खरेललगायत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको काव्य विभाग सदस्य गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहमा सङ्घका महासचिव डा.कृष्ण सुवेदीले कविनायक निरञ्जना चन्द ‘निरु’को परिचय दिनुहुँदै वि.सं.२०४५ असार १८ मा सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका वडा नं.४ मा माता पदमा शाही र पिता लालबहादुर शाहीकी सुपुत्रीका रूपमा जन्मिएकी निरञ्जना चन्द निरुले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरसम्मको शिक्षा हासिल गरी हाल शिक्षण पेसामा संलग्न रहेकी छिन् । हालको ठेगाना बर्दिया जिल्लाको बाँसगढी ८ मा रहेकी चन्द अध्ययन, भ्रमण तथा साहित्यलेखनमा रुचि राख्छिन् । ‘निरुले साइनो’ छोटा कवितासङ्ग्रह २०७६, ‘निरुपण’ मुक्तकसङ्ग्रह २०७७ र ‘वनपूmलको विद्रोह’ कवितासङ्ग्रह २०८२ जस्ता कृति प्रकाशित गरिसकेकी छिन् भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न पत्रपत्रिकाहरूमा थुप्रै फुटकर रचना पनि प्रकाशित भएका छन् । लुम्बिनी प्रदेशस्तरीय कविता प्रतियोगितामा प्रथम २०७७, नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सवमा तृतीय २०७८, साहित्य सदन नेपालले आयोजना गरेको कविता महोत्सवमा द्वितीय २०८० भएर सम्मान तथा पुरस्कार पाउनुका साथै उनले अन्य थुप्रै पुरस्कार पनि प्राप्त गरेकी छिन् । नेपाली समकालीन युगजीवनलाई नजिकबाट नियाल्ने; विकृति, विसङ्गतिलाई यथार्थपरक ढङ्गले उजागर गर्ने र स्पष्ट रूपमा रूपान्तरणको आग्रह गर्ने, आशावादी जीवनदृष्टि राख्ने र सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने यिनै स्रष्टालाई आज हामीले यो विशेष समारोहमा उनका बारओटा कविता सुन्ने अवसर जुटाएका छौँ भन्नुभयो ।
समारोहको अध्यक्षता गर्दै नर्मदेश्वरी सत्यालले दश वर्षअगाडिदेखि सञ्चालन गरिएको ‘अविरल जनसाहित्य यात्रा’मा यसको उद्देश्यअनुसार एकजना प्रगतिवादी स्रष्टालाई यो विशेष समारोहमा उपस्थित गराई कविको व्यक्तित्व तथा कृतित्वका बारेमा समेत चर्चा गर्दै एक दर्जन कविता, गीत, गजल सुन्ने र ती रचनाको समालोचना गर्ने गरिन्छ । यो कार्यक्रमले स्रष्टालाई र समग्र नेपाली साहित्यमा केही न केही योगदान अवश्य पुग्छ भन्ने ठानेर थालनी गरिएको हुँदा यस्तो महत्त्वको शृङ्खलालाई निरन्तरता दिइरहिएको छ । साहित्यमा पनि वर्गीय प्रेम हुन्छ र विनाभेदभाव सबैलाई समान अवसर प्रदान गर्दै सिर्जनामा रहेका स्रष्टाको कमीकमजोरी सुधार्ने उद्देश्यका साथ वाचित रचनामाथि विशेषज्ञ व्यक्तित्वद्वारा समीक्षा गर्ने प्रचलन रहेको छ । प्रगतिशील दृष्टिकोणसहित रचना गरिएको साहित्यले सामाजिक रूपान्तरणमा मदत गर्दछ भनेर नै हामी हरेक महिना एकजना स्रष्टाको छनोट गर्दछौँ ।
आजको शृङ्खलामा सुर्खेतमा जन्मिएर बर्दियालाई कमृथलो बनाउँदै सिर्जनाकर्ममा लागिरहनुभएकी, सिर्जनाका माध्यमबाट वैचारिक रूपमा सामाजिक रूपान्तरण अभियानमा पनि समर्पित हुँदै नेपाली प्रगतिवादी साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियानलाई सशक्तढङ्गले अगाडि बढाइरहनुभएकी स्रष्टा निरञ्जना चन्द ‘निरु’लाई प्रस्तुत गरिरहेका छौँ । हामीले उपत्यका र मोफसललाई समान रूपमा प्राथमिकतामा राखेर कार्यक्रम गरिरहेका छौँ । आज भने यो वर्षाको समयमा पनि बर्दियादेखि हामीले गरेको निम्ता स्वीकार गरी आइदिने निरञ्जनालाई हामी विशेष स्वागत पनि गर्दछौँ । सङ्गठनमा रहनुभएका साथीहरू नै जिम्मेवारीबोध नगरी टाढाबाट रमिते बनिरहनुभएको परिवेशमा महिलालाई घरव्यवहारसमेतले अल्मल्याइदिने यथार्थलाई समेत पन्छाएर उहाादेखि आएर कवितावाचनका लागि तयार भइदिने निरु आफ्ना सिर्जनामा गम्भीरताका साथ समाजका कुरूप यथार्थलाई उतार्ने र सरलताका साथ जीवनभोगाइका यथार्थ एवम् सुन्दर, सशक्त विम्बलाई प्रयोग गर्दै रूपान्तरणका पक्षमा वैचारिकता सम्प्रेषण गर्ने स्रष्टा पनि रहेकी उनका कविताले पुष्टि गरेका छन् । आजको यो विशेष समारोहमा प्रमुख अतिथिका रूपमा एमाले नेता एवम् महासङ्घका न्चार्ज जीवन घिमिरे पहिलोपटक उपस्थित भइदिनुभएको छ । निमन्त्रणा स्वीकार गरी उपस्थित भइदिनुहुने विशेष अतिथिज्यूहरू, अतिथिज्यूहरू एवम् सबै सबै आदरणीय व्यक्तित्वलाई हार्दिक स्वागत पनि गर्दछु भन्नुहुँदै कविनायकलाई माल्यार्पण गरी स्वागत गर्नुभयो ।
कविनायक निरञ्जना चन्द ‘निरु’ले विगत एघार वर्षदेखि निरन्तर सञ्चालन भइरहेको यो विशेष महत्त्वको विशेष समारोहमा कर्णाली प्रदेशकी मलाई सम्झेर अवसर दिनुभएकोममा मलाई गौरवबोध भएको छ र यो मेरो पहिलो एकल कवितावाचन पनि हो । मेरो सानैदेखिको स्वभाव स्वतन्त्रता र उन्मुक्तिको पक्ष लिनु रहेको, जातीय उत्पीडन समाजमा देखेर मन दुख्ने गरेको र कविता लेख्ने गरेकीमा ती कविता भए वा भएनन् भन्ने चाहिँ आफैँलाई थाहा नभएको, जागिरलाई प्राथमिकता दिनै पर्ने भएकाले लेखेर मात्रै जीविकोपार्जन नहुने अवस्थामा ‘वनपूmल’ कवितासङ्ग्रह प्रकाशित भएपछि प्राप्त भएका प्रतिक्रियाले, कर्णाली प्रदेशस्तरीय कविताप्रतियोगितामा प्रथम भएपछि, नेपाल प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको कवितामहोत्सवमा मेरो कवता तृतीय भएपछि र साहित्य सदन नेपालले आयोजना गरेको देशव्यापी कवितामहोत्सवमा द्वितीय भएपछि चाहिँ मेरो आफ्नो लेखनप्रति आफैँलाई विश्वास लाग्नथालेको हो ।
कर्णाली पनि कमजोर छैन है भन्ने देखाउने र त्यसका लागि लेखिरहने उद्देश्य रहेको छ । द्वन्द्वमा जीवन गुजारेका तर अयोग्य साबित गरिएका महिलाका पीडा देखेपछि; वादीका, राउटेका, छाउपडी व्यहोर्न बाध्य पारिएका, युवापलायनका, दहेजका लागि मारिने नारीसमेतका उत्पीडन देखेपछि मैले आफ्ना कवितामा आफ्नो क्षमतानुसार उतार्ने प्रयत्न गरेकी हुँ भन्ने रचनागर्भको जानकारीसहित आफ्ना ‘युगीन प्रतिध्वनि’, ‘अयोग्य योद्धा र पदचापहरू’, ‘वनपूmल’, ‘मेरो बस्तीमा घाम किन आएन !’, ‘छाउगोठका शरणार्थी सपनाहरू’ र ‘मधेसको आँगनमा दहेज’ शीर्षकका छओटा सशक्त, सुन्दर, विम्बात्मक एवम् वैचारिक कविता वाचन गर्नुभयो । सहयोगी कविहरू जयन्ता पोखरेलले ‘निश्चिन्त भएर उठ’ शीर्षकको, यशोदा अधिकारीले ‘दिलमाया’ शीर्षकको, रामचन्द्र दाहालले ‘फर्केर आऊ आफ्नै घर’ शीर्षकको, माधव चौलागाईँले ‘गुराँसहरू युद्ध गर्दैनन्’ शीर्षकको, गीता सापकोटाले ‘सत्तासीन गुनासो’ शीर्षकको र कविनायकका गुरु प्रा.डा.जीवेन्द्र देव गिरीले ‘जीर्णकवच’ शीर्षकको त्यस्तै सशक्त, सुन्दर, कलात्मक, विम्बात्मक र वैचारिक कविता वाचन गर्नुभएको थियो ।
वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्नुहुँदै समालोचक डा.अमृता शर्माले अविरल जनसाहित्य यात्राको यो सोद्देश्यमूलक अभियान १११ औँ शृङ्खलामा पुगेको छ । वाचित कवितामाथि टिप्पणीसमेत गरेर कविलाई थप परिष्कृत पार्ने पनि यो अभियानको उद्देश्य सकारात्मक छ । आजको यो समारोहको उपस्थिति पनि उल्लेखनीय छ । अग्रज र आदरणीय गुरुहरूका अगाडि आज उभिने अवसर मलाई मिलेको छ । आज हामीले सुनेका एक दर्जन कविता वैचारिक र सुन्दर छन् । कर्णालीको विकट भूगोलमा सङ्घर्ष गर्दै समाजमा विध्यमान विभेद, शोषण र महिलाले भोगेको उत्पीडनलाई विद्रोही चेतका साथ उजागर गर्दै सामाजिक रूपान्तरणको स्पष्ट वैचारिकता कवितामा सम्प्रेषण गरिएको छ । सबै कविताको विषयवस्तु यथार्थपरक छ । महिलाको श्रम र सङ्घर्षलाई कवितामा उजागर गरिएको छ, युद्धको सन्त्रासबाट मुक्त समाजको परिकल्पना गरिएको छ । श्रमको सौन्दर्यगान गाइएको छ, जनयुद्ध लडेका महिलाका पीडा कवितामा आएका छन् । सत्तासीनको गुनासो कवितामा भने सत्तासँगको गुनासो भन्नु उपयुक्त होला ।
कवितामा अभिव्यक्त विचारले कविताको सशक्ततामा क्षति नपुर्याओस् भन्ने सावधानी आवश्यक हुन्छ । संसारभर पुगेका युवालाई स्वदेश फर्कन आग्रह गरिएको छ । परिवर्तनका लागि विद्रोही चेतना कवितामा सशक्त बनेर आएको छ । मधेसमा अहिले पनि दहेजका नाममा महिला उत्पीडनमा परिरहेका मात्र होइन मारिनेसम्मको मर्मान्त पीडा कवितामा आएको छ । एउटा कवितामा अलि उग्रनारीवाद अभिव्यक्त भएको त होइन भन्ने देखिएको छ, समाजको नियम भङ्ग गर्ने उद्घोष अलि अतिवाद पो भयो कि भन्ने लागेको छ । कवितामा कर्णालीको उत्पीडन यथार्थपरक ढङ्गले आएको छ । प्रायः कवितामा अमानवीय विभेदको अन्त्यको आग्रह गरिएको छ । विषयवस्तु चयन सुन्दर र सचेत देखिएको छ । सङ्घर्ष र रूपान्तरणका पक्षमा कविताले वकालत गरेका छन् । कवितामा प्रयुक्त विम्ब, प्रतीक सशक्त र सुन्दर छन् । धेरै कवितामा भावको एकत्व रहेको छ भने केहीमा दोहोरो अर्थ लाग्नेखालको देखिएका पक्षमा सचेत हुनु आवश्यक छ । आशावादिता, सपना, दृष्टिकोण स्पष्ट रहेको देखिन्छ । आज सुनिएका कविताको आबाज कविको मात्र नभएर सामूहिक आबाज हो भन्ने खालका रहेका छन् । एउटा कवितामा हाम्रो समाज सुसम्भ र सुसंस्कृत रहेको उल्लेख भएको लेखिएको मिलेन भन्ने लागेको छ । विचारनिर्देशित स्रष्टा भएकीले रूपान्तरणका लागि मन्दिर, देवदेवीसँग भिख माग्नु उपयुक्त नहुने र यो सङ्घर्षको विकल्प हुननसक्ने र कवितामा कम शब्दको चयन उपयुक्त हुने भन्ने सुझावसमेतको धारणा राख्नुभयो ।
प्रमुख अतिथि जीवन घिमिरेले एक दशकभन्दा पहिलेदेखि अविच्छिन्न ‘अविरल जनसाहित्य यात्रा’को यो विशेष शृङ्खलामा आज उपस्थित हुने अवसर मिल्यो । म भूगोलक्षेत्रमा रहेर काम गरेको मानिसलाई हालै प्राप्त भएको जिम्मेवारीअनुसार यस्तो प्रकृतिको समारोहमा सहभागिता यो पहिलो हो । आज सुनिएकी स्रष्टा उदाउँदो प्रतिभा हुनुहुँदो रहेछ र उहाँका आज सुनिएका कविताका आधारमा सुगममा मात्र प्रतिभा प्रस्फुटन हुने होइन रहेछ भन्ने पुष्टि भएको देखिएको छ । सुनिएका कवितामा सामाजिक परिवर्तनको भाव स्पष्ट छ, वर्गीय दृष्टिकोण स्पष्ट देखिएको छ । अबको दश वर्षपछि चाहिँ यस्ता खाले कार्यक्रम होलान् कि नहोलान् ? कविता लेख्ने र सुन्ने होलान् कि नहोलान् ? प्रविधिले मिच्दै मिच्दै संस्कृति धरापमा परिरहेको छ ! हाम्रा लोकगीतका स्रोत कमजोर बनिरहेका छन् ! नयाँपुस्ताको रुचि बनाउने विषयको लेखन र आकर्षण बढाउनु आवश्यक रहेको छ । रूपान्तरणका नाममा विषादी भित्र्याएको जेन्जी आन्दोलनले पाँच पुस्तासम्म मिलेर बसेको हाम्रो समाज र संस्कृतिमा चुनौती ल्याइदिएको छ । निरङ्कुशताको अन्त्यको लागि चेतना र जागरण छर्ने कविता, गीत, सङ्गीत आज कमजोर भएकाले हामीले बहस चलाउनुपर्ने र स्रष्टाका कलम त्यसतर्फ सोझिनुपर्ने आजको आवश्यकता रहेको धारणा राख्नुभयो ।
समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्वलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले वैचारिक दृढताले युक्त, सङ्गठनमा आबद्ध, सरलताभित्र बौद्धिकता मिश्रण गरी गम्भीर एवम् रूपान्तरणप्रेमी भाव सम्प्रेषण गर्ने; दुःख, पीडा, उत्पीडनमा बाँचेका निमुखा मान्छेका पक्षमा कविताले स्पष्ट वकालत गरेका छन् । अयोग्य साबित गरिएका महिलाका पीडा कवितामा उजागर गरिएको छ । छाउगोठ, दहेज, वादी, राउटेका पीडा, युवापलायनका समस्या, दाइजोप्रथाजस्तो कुरूपताका विपक्षमा आजका कविताले वकालत गरेका छन् र स्पष्ट वर्गीयताको पक्षधरता लिएका छन् । गिट्टी कुट्ने दुखियाले विनाकुनै गुनासो आफ्नो कर्म गरिरहेका छन् तर सहरियाहरू भने देशसँग गुनासो गरिरहेको व्यङ्ग्यात्मकता कविले अभिव्यक्त गरेकी छिन् ।
कलात्मक, सुन्दर र विम्बै विम्बले सजिएका कविता हामीले श्रवण गेका छौँ । वाचन पनि कविको सुन्दर रहेको छ र मधेसको आँगनमा परिवर्तनको भाले किन बासेन ? भनेर कविले मर्मान्त व्यङ्ग्य पनि गरेकी छिन् । आफ्ना सिर्जनामा आशावादी जीवनदृष्टि सम्प्रेषण गर्ने यिनै प्रखर स्रष्टा निरञ्जनाका बारेमा हामीले सुन्यौँ, कविता सुन्यौँ, परिचर्चा गर्यौँ र यो शृङ्खला हामी सबैका लागि धेरै हदसम्म अविस्मरणीय रहेको छ । अर्काे महिनामा ११२ औँ ‘अविरल जनसाहित्य यात्रा’मा झापाको दमकका प्रगतिवादी कवि विन्दु दाहाल ‘मुकदर्शक’लाई हामी प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता श्रवण गर्नका लागि यहाँहरू सबैलाई निम्ता गर्ने नै छौँ भन्ने जानकारीसहित अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।
०००
रमेश पाेखरेलकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest







































