फित्काैली डटकम‘अनुकृतिहरूमा गोविन्दराज भट्टराई’ वृहत ग्रन्थ लोकार्पित
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. लक्ष्मणप्रसाद गौतम र कार्यक्रमका सभापति प्रा.डा. ज्ञानु पाण्डेले संयुक्त रूपमा कृति लोकार्पण गर्नुभएकाे हाे ।
काठमाडौं । प्रा.डा. कुमारप्रसाद कोइरालाद्वारा सम्पादित ‘अनुकृतिहरूमा गोविन्दराज भट्टराई’ कृति काठमाडौंमा एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । आइतबार आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. लक्ष्मणप्रसाद गौतम र कार्यक्रमका सभापति प्रा.डा. ज्ञानु पाण्डेले संयुक्त रूपमा कृति लोकार्पण गर्नुभएकाे हाे ।
कार्यक्रममा प्रमुख अतिथि डा. गौतमले प्रा.डा. गोविन्दराज भट्टराईको साहित्यिक योगदानको चर्चा गर्दै उहाँलाई स्रष्टाभन्दा पनि साधकका रूपमा चित्रण गर्नुभयाे । उहाँले भट्टराईले आफ्नै बाटो निर्माण गरेर साहित्यिक यात्रा अघि बढाएको उल्लेख गर्दै उहाँ स्वयं एउटा संस्थाका रूपमा स्थापित भइसकेको बताउनुभयाे।
प्रा.डा. अभि सुवेदीले ‘अनुकृतिहरूमा गोविन्दराज भट्टराई’लाई बृहत् दस्ताबेजका रूपमा आएको कृति बताउनुभयाे ।
डा. तुलसी भट्टराईले आफ्ना भाइ गोविन्दराज भट्टराई सबैलाई उत्प्रेरित र सहयोग गर्ने व्यक्तित्व भएको चर्चा गर्दै पाँचथरमा हुँदाको एक प्रसङ्गसमेत सुनाउनुभयाे । उहाँले कृतिले भट्टराईका रचनाबारे बुझ्न सहयोग गर्ने बताउनुभयाे ।
प्रा.डा. नारायणप्रसाद चालिसेले भट्टराईसँगको आफ्नो सम्बन्ध स्मरण गर्दै कृति प्रकाशन भएकोमा खुसी व्यक्त गर्नुभयाे । उहाँले पछिल्लो समय गुणात्मक कृति ओझेलमा पर्ने अवस्था देखिएकोमा चिन्ता व्यक्त गर्नुभयाे।
डा. ज्ञानु अधिकारीले भट्टराई धेरै सर्जकका अभिभावक भएको बताइन् भने तुलसी गौतमले कृतिलाई मूल्यवान् ग्रन्थका रूपमा टिप्पणी गरे । टेकनारायण ढकालले भट्टराईले साहित्य साधनामा निरन्तर समय दिँदै आएको चर्चा गरे ।
सम्पादक प्रा.डा. कुमारप्रसाद कोइरालाले आफूलाई पुस्तक सम्पादनको जिम्मेवारी प्राप्त हुनुको सन्दर्भबारे धारणा राखे । भट्टराईले आफ्ना कृतिमाथि लेखिएका सामग्री हराउने सम्भावनालाई ध्यानमा राखेर पाठकसमक्ष यो कृति ल्याइएको बताए ।
ओरिएन्टल पब्लिकेशनद्वारा आयोजित कार्यक्रममा सभापति प्रा.डा. ज्ञानु पाण्डेले यो पाठकहरूको पुस्तक भएको बताइन् । अनिता कोइरालाले गोविन्दराज भट्टराईलाई चुम्बकको विम्बसँग तुलना गर्दै आफ्ना धारणा राखिन् ।
‘अनुकृतिहरूमा गोविन्दराज भट्टराई’ सेर्गेम प्रकाशन, दमकले प्रकाशन गरेको हो ।
०००
Subscribe
Login
0 Comments
Oldest






































