साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नत्र त म…

इतिहास पनि गफ हाँक्नेहरूको होइन, पसिना बगाउनेहरूकै लेखिन्छ; तर विडम्बना, आजको समाज भने म जस्तै गफाडी सुरवीरहरूले ढाकेको छ।

Nepal Telecom ad

दामोदर न्यौपाने :

चियाको चुस्कीसँगै पसलको बेन्चमा देशको अर्थतन्त्रदेखि भू-राजनीतिको गाँठो फुकाउने महाअभियान चलिरहेको हुन्छ। विश्वविद्यालयको शिक्षा प्रणाली सुधार्ने रणनीतिक ढाँचा बनिरहेको हुन्छ। स्थानीय सरकारको ढिलासुस्ती कसरी पखाल्ने भन्ने गम्भीर मन्थन चलिरहेका बेला, म पनि चियाको चुस्की लगाउने दाउले लुसुक्क पसेर कुनामा बसिरहेको थिएँ र कुरा सुन्दै गएँ। मलाई मन थामिनसक्नु भयो र कड्किएर बोलेँ, “तिमीहरूले यो विषयको मर्म र मूल चुरो नै बुझेनौ!” सबैको ध्यान मैतिर सोझियो। म अझ तन्किएर थपेँ, “मैले अलिकति अध्ययन गर्ने समय नपाएर मात्रै हो… नत्र त म यस्तो सुक्ष्म विश्लेषण गरिदिन्थेँ कि यहाँ कसैको केही लाग्ने नै थिएन !”

मेरो वाक्य पूरा नहुँदै, चिया पसलको साइडबाट (सायद हाम्रो बहस सुनेर होला) निधारमा त्रिपुण्ड तिलक धारण गरेका एकजना सज्जन एक्लै फुसफुसाउँदै बाटो लागे:
आलस्यं हि मनुष्याणां शरीरस्थो महान् रिपुः।

सानोमा मेरा हजुरबाले पनि भन्नुहुन्थ्यो, “अल्पविद्या भयाङ्करी!” उतिबेला मलाई हजुरबाका कुराको गहिराइ ठम्याउन गाह्रो हुन्थ्यो भने ती त्रिपुण्डधारी सज्जनको कुरा बुझ्ने त झन् कुरै भएन। त्यत्तिकैमा अर्का एकजना बुज्रुक नजिकै झुल्किए र संस्कृत श्लोकको अनुवाद सुनाएझैँ गरी मै तिर हेरेर भने, “मानिसको शरीरमा लुकेर बसेको आलस्य नै उसको सबैभन्दा ठूलो शत्रु हो, सम्झियौ ?”

मेरो सातोपुत्लो उड्यो! तर म पनि कहाँ कम थिएँ र! नीतिशास्त्रको त्यो श्लोक सुन्ने बित्तिकै मैले आफ्नो आलस्यलाई प्राज्ञिक र सभ्य जामा पहिराइदिएँ। म आफूलाई “अल्छी” कहाँ स्वीकार्थेँ र! बरु “समय व्यवस्थापनको प्राविधिक समस्या” का कारणले पो अध्ययन गर्न नभ्याएको त भन्न भ्याएँ । मैले अध्ययन नगरेको होइन, “प्राथमिकता फरक परेको” पो त! यस्ता विषयमा तयारी नगरेको होइन, “उचित मञ्च नपाएको” ले पो हो त! अर्थात्, मेरो आलस्यले पनि अब आधुनिक व्यवस्थापन शास्त्रको प्राज्ञिक भाषा बोलिसकेको थियो।

मेरो अर्को मुख्य विशेषता भनेकै अरूले वर्षौँ खटेर गरेको कामको छिनभरमै हुर्मत लिनु र समीक्षा पस्किनु हो। कसैले गहन अध्ययन गरेर पुस्तक लेख्यो भने म भन्छु, “विचार त ठीकै हो, तर अझै कसी लगाउन सकिन्थ्यो।” कसैले व्यवसाय सुरु गर्योस भने, “रणनीति उति सारो परिपक्व भएन।” कसैले राजनीतिक वा सामाजिक जिम्मेवारी पायो भने, “म भएको भए त कायकल्प नै गरिदिन्थेँ!” तर जब कसैले मलाई सानो प्रश्न सोध्छ, “तपाईँले चाहिँ यो काम किन नगर्नुभएको त?” म आफ्नो रेडिमेड उत्तर तुरुन्तै पस्किन्छु, “समय नमिलेर पो… नत्र त म…!”
त्यत्तिकैमा अर्का एक पण्डित झुल्किएर भन्न थाले:
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
अर्थात्, मानिसको अधिकार केवल कर्ममा छ, फलमा होइन। तर म जस्ता ‘नत्र त’ दर्शनका अनुयायीहरूले यसलाई अर्कै कोणबाट व्याख्या गर्छौँ। म भन्छु, “कर्म त गर्ने हो, तर पहिले जगत्‌का सम्पूर्ण परिस्थिति मेरो अनुकूल हुनुपर्छ।” त्यो परिस्थिति कहिले अनुकूल हुन्छ? म स्वयम्‌लाई थाहा छैन। तर परिस्थिति नमिलेसम्म मेरो काल्पनिक विद्वत्ता भने सर्वथा सुरक्षित रहन्छ। काम नै नगरेपछि असफल हुने जोखिम हुँदैन, गल्ती हुने सम्भावना रहँदैन र कसैको आलोचना पनि सहनुपर्दैन। त्यसैले म सम्भावनाको दार्शनिक संसारमा सधैँ निर्विकल्प विजेता बनिरहन्छु।

ज्ञानको धरातल जति कमजोर हुन्छ, अहङ्कारको उचाइ त्यति नै अग्लो हुन्छ। भरिएको घडा कहिल्यै छचल्किँदैन, तर आधा भरिएको घडा अलि बढी नै आवाज गर्छ। मेरो पनि अध्ययनको गहिराइ शून्य, तर निष्कर्षको लम्बाइ असीम! अनुभव र अभ्यास थोरै, तर सल्लाहको चाङ पहाड जत्तिकै! आफूले सिन्को भाँचौँ भने नसक्ने, तर अरूले गरेका सयौँ काममा सूक्ष्म खोट औँल्याउने असाधारण क्षमता मभित्र अथाहा छ। मलाई कुनै पनि कुरामा तार्किक बहस छेड्न त्यस विषयको गहन अध्ययन चाहिँदै चाहिँदैन, बस शीर्षक सुने पुगिहाल्छ। कुनै समाचारको हेडिङ देख्ने बित्तिकै सिङ्गो समाचार मेरो विश्लेषकीय प्रतिभा प्रस्तुत गर्ने अखाडा बनिहाल्छ !

एकजना विद्वान्‌ले भनेका थिए रे, “अज्ञानी मानिस नबोल्दासम्म मात्रै ज्ञानी जस्तै शोभायमान देखिन्छ।” तर मलाई यो नीति थाहा भए पनि लागू गर्न मन लाग्दैन। किनभने मौन बस्नु भनेको आफ्नो सम्भावित विद्वत्तालाई लुकाउनुजस्तै लाग्छ मलाई।

कार्यालयमा “यो परियोजना यसरी चलाएर कहाँ पुग्छ, मैले जिम्मेवारी पाएको भए…”, व्यवसायमा “त्यतिबेला मसँग पुँजी भएको भए ठूलो उद्योगपति हुन्थेँ!” त्यस्तैमा कसैले सोध्छ, “सानो लगानीबाट सुरु गर्दा हुन्छ नि?” मेरो रेडिमेड उत्तर साथमै छ, “सानोबाट सुरु गर्ने मान्छे म होइन!” जस्ता संवाद मेरा थेगो नै हुन्। समस्या सधैँ बाहिर छ, समाधान पनि बाहिरै छ, केवल म स्वयम्‌ चाहिँ त्यस समीकरणमा कतै पर्नु पर्दैन।

यदि कुनै दिन कसैले मलाई “तपाईँले भन्नुभएको कुरा बडो गहन लाग्यो, अब काम कहिले सुरु गर्ने त?” भनेर सोधिदियो भने मेरो अनुहारमा अचानक गम्भीरता छाउँछ। “अहिले त परिस्थिति ठीक छैन, समय आएपछि हेर्नुपर्छ” भन्दै पन्छाउँछु। यति भएपछि मभित्र दर्शनशास्त्रको एउटा नयाँ शाखा जन्मिन्छ: ‘काम सुरु नगर्ने बहानाशास्त्र!’ काम नहुनुका कारणहरूको लामो सूची मलाई कण्ठै छ। कार्यालयमा कुनै समय कामको प्रगति समीक्षा गर्दा मेरा शब्दजालले गर्दा रिपोर्ट माग्ने मान्छे नै अन्योलमा परेर प्रति-प्रश्न गर्नै छाडिदिन्छ। अनि मलाई चाहिएको पनि त त्यही हो !

मेरो सबैभन्दा ठूलो खुबी के हो भने म कहिल्यै असफल हुँदिनँ। जसले प्रयास नै गर्दैन, ऊ असफल हुने त प्रश्नै उठ्दैन! म केवल “गर्न सक्थेँ” भन्ने सुरक्षित घेराभित्र बसिरहन्छु। “मैले प्रयास गरेको भए हार्थेँ कि?” भन्ने डरभन्दा “मैले प्रयास गरेको भए जित्थेँ” भन्ने काल्पनिक भ्रम पाल्नु मेरा लागि ठूलो उपलब्धि हो र यो धेरै सजिलो पनि हुन्छ।

साधक र म जस्तो गफाडी सुरवीरबीच यही मूल फरक रहेछ। साधकले आफ्नो क्षमताको परीक्षा दिन्छ, म केवल क्षमताको विज्ञापन गर्छु। साधकले परिणाम देखाउँछ, म सम्भावना सुनाउँछु।

अन्ततः समाजलाई ठूला कुरा हाँक्ने म जस्ता गफाडीभन्दा कर्ममा विश्वास गर्ने साधकको खाँचो हुन्छ। काम गर्ने मानिसबाट कहिलेकाहीँ गल्ती हुन सक्छ, तर उसबाट समाजले केही सिक्छ। कामै नगर्ने म भने सधैँ निर्दोष र सही देखिन्छु, किनकि मेरो विचार कहिल्यै व्यवहारको कसीमा परीक्षण भएकै हुँदैन। त्यसैले, अब मैले पनि मुस्कुराउँदै आफूलाई सोध्ने बेला आएको छ, “अब सुरु कहिले गर्ने?” किनभने “नत्र त म…” भन्न जति सजिलो छ, “अब म गर्छु” भनेर कर्ममा होमिन त्यति नै गाह्रो छ। इतिहास पनि गफ हाँक्नेहरूको होइन, पसिना बगाउनेहरूकै लेखिन्छ; तर विडम्बना, आजको समाज भने म जस्तै गफाडी सुरवीरहरूले ढाकेको छ।

०००
जनकपुरधाम, धनुषा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
खाने भनेको यस्तै हो हजुर

खाने भनेको यस्तै हो...

सुरेशकुमार भट्ट
माननीय सांसद

माननीय सांसद

डा. विदुर चालिसे
शैली किसिम-किसिमका

शैली किसिम-किसिमका

दिलीप अर्याल
0
Would love your thoughts, please comment.x
()
x