दिलीप अर्यालशैली किसिम-किसिमका
रामदेखि रावणसम्म, कृष्णदेखि कंससम्म, मानवदेखि महिषासुरसम्म सबैमा ओजपूर्ण शैली, तर्साउने शैली, झस्काउने शैली, पड्काउने शैली, थर्काउने शैली डगमगाउने शैली, कब्जागर्ने शैली र कब्जियत शैली ।
दिलीप अर्याल :
शैली:- विशेष किसिमले कुनै काम गर्ने प्रणाली वा पद्धति; काम गराइको ढाँचा; परिपाटी; छाँटछन्द । असल शीलस्वभाव भएका व्यक्तिबाट हुने कुरो । कुनै सिद्धान्त जस्तै भएर आएको रीति वा चलन ।
लेख, रचनामा लेखकका व्यक्तित्वगत विशेषताको छाप दिने वा विषयवस्तुका अनुकूल भाव अभिव्यक्त हुने खास ढाँचा पनि शैलीको अर्थ हुने रहेछ, जस्तै: तार्किक शैली, सरल शैली, आलङ्कारिक शैली आदिमा शानका हिसाबले शैलीको स्थान नै मालदार थैली बराबर देखिन्छ । विशिष्ट शैली, अनुकरणीय शैली, गम्भीर शैली, सुन्दर शैली, आकर्षक शैली आदिले व्यवस्थित, ढङ्ग पुगेको, रङ्ग पुगेको कुराकानीभित्र शैलीको पुच्छर गंसाइ अर्थपूर्ण रहेको बुझाउँछ । कहिलेकाहिं कुरा हुँदा निन्दो चर्चोमा पनि शैली घस्रीपसी आउने रहेछ , जस्तै: भद्दा शैली, नराम्रो शैली, भयङ्कर शैली, शोषण शैली, पदुवा शैली, भंडुवा शैली, काइते शैली आदि ।
यदाकदा समाजका बक्र-चक्र लेखि टोपलौं भन्ने म जस्ता कन्सुत्लेका लागि पनि त्यस्तो लेख्ने पारालाई व्यङ्ग्य शैली, बक्रोक्ति शैली जस्ता अभिव्यक्तिले बुझाउने देखिन्छ । हो, आ-आफ्ना दुना सोझ्याउन खास किसिमको अभिव्यक्ति वा प्रस्तुति अर्थात् शैली मिलाउनका लागि नै संसार उद्दत छ । शैली मिलाएमा थैली बलियो हुने, थैली बलियो भएमा जताततै फैलिन सकिने चुरो कुरो रहेछ । थैली बलियो बनाएर राख्ने हो भने बुढेसकालमा दुःख पाइन्न है बाबु भनी अर्ती दिने हजुरआमाले पनि सधैं शैली मिलाएरै भन्नुहुन्थ्यो । यो जगत, विश्व, ब्रह्माण्ड पनि शैली मिलाएर नै सृष्टि, स्थिति र साम्य हुन सक्ने रहेछ ।
राजनीतिक शैली अन्तर्गत मुख्यत: लोकतान्त्रिक शैली, तानाशाही शैली, व्यक्तिवादी शैली, परम्परागत शैलीको कुरा आउने देखिन्छ । यो संगै कर्मचारीतन्त्र शैली, विद्वत शैली देखि तिहारमा खेलिने भैलीमा पनि शैली नमिलाए रङ्ग न ढङ्गको, बेफ्वांकको, ताई न तुई हुने कुरामा शंका छैन । शैली अघि लागेका अन्य नाममा- शैल, शैलीकार, शैलीगत, शैलीतत्त्व, शैलीपरक भेटियो । शैल वा शैली अघि लागेका शब्दले पोख्त, व्यवस्थित, मिलाएर, बान्की मिलाएको अर्थ दिन्छन भन्ने कुरा पक्का छ । शैली पछि लागेका उदाहरणमा पुस्तकशैली, कार्यशैली, पद्यशैली, भाषाशैली, गद्यशैली, जीवनशैली, गोयबल्स शैली, निजात्मक शैली देखियो । यसरी ‘शैली’ भन्ने नामको कार्यशैली पिपलपाते जस्तो देखिन्छ – कहिले शब्दका अघि, कहिले शब्दका पछि – जता पनि ठिक, कहिले क्रान्तिकारी, कहिले कण्टकारी, कहिले पुष्टकारी र अन्त्यमा जातिकारी ( हल्का लठ्याउने औषधि) ।
छन्दमा कविता लेख्न मन छ तर पद्यशैली निकै गाह्रो , निबन्ध लेख्न मन छ तर भाषाशैलीको ज्ञान छैन । लौ त, जेसुकै होस् भनी मुक्त शैलीमा कविता लेखें तर भाव पक्ष शून्य, खल्लो सुन्तला खाएको जस्तो । जति जे गरे पनि जीवनशैली नमिलेमा कतै केही हुनेवाला छैन । शैली नमिल्दा नतिजा जति टर्रा, ढर्रा हुँदै लोकल ठर्रा सरह हुने रहेछन्- बिरामी मात्रै पार्ने, कहिले ज्यानै जाने सम्मको अवस्था । जीवनशैली मिलाएमा सब ठिकठाक, चिरिच्याँट्ट, ट्वाक्क, शानदार, दमदार अनि बेलेबेलामा लम्पसार ।
सम्भ्रान्तदेखि आक्रान्तसम्म, स्थलयान, चलयान र वायुयानमा सवार भई जीवनशैली मिलाउने दौडमा होमिएका अनि कुबेरदेखि सुदामा सम्मका आ-आफ्नै जीवनशैली । रामदेखि रावणसम्म, कृष्णदेखि कंससम्म, मानवदेखि महिषासुरसम्म सबैमा ओजपूर्ण शैली, तर्साउने शैली, झस्काउने शैली, पड्काउने शैली, थर्काउने शैली डगमगाउने शैली, कब्जागर्ने शैली र कब्जियत शैली ।
अहिले समाजमा विभिन्न शैलीको हाउभाउलाई हेर्दा निम्न पच्चिस शैलीलाई बुझ्न छुटाउनु हुन्न भन्ने मलाई लागेको छ :
१. बारुदे शैली – जे कुरामा पनि ठोकिहालौं भन्ने ।
२. पामर शैली – गुदी नभएको, तोरीलाहुरे खालको ।
३. टपरे शैली – मन्त्र, ऋचा पुरै नपढी दक्षिणा र सिदा बटुल्ने टाइपको ।
४. टपर्टुय्याँ शैली – पाण्डित्य प्रदर्शन , लालबुझक्कड पारा ।
५. होस्ल्याङे शैली- होस वा रङ्गढङ्ग नभएको; सुद्धीबुद्धि हराएको; हुस्सु ।
६. भुसुक्के शैली- जे पनि भुसुक्कै बिर्सने, लौ ज्या भन्ने ।
७. घोषणापत्र शैली- गरेको वाचा बिर्सने, भोट मात्र तान्ने ।
८. ट्वाके शैली- यसो मौका मिल्यो कि बिजुली सर्बत चिरिप्प पार्ने ।
९. टापटिपे शैली- सतही ज्ञानका आधारमा स्वार्थ हासिल गर्ने ।
१०. डाङडुंगे शैली- डाङडुङ गर्ने, जे पनि थर्काउने, डर धम्की दिने ।
११. प्याच्चे शैली- जान्नु न तान्नु, बीचमा प्वाक्क बोल्ने ।
१२. मसाने शैली- जिन्दगीभर अवसाद, दिक्दारीका कुरा मात्र गर्ने ।
१३. फसाने शैली – मान्छेलाई ललाई फकाई धन सम्पत्ति र अन्य स्वार्थ लिप्सा पुरा गर्ने ।
१४. घ्याम्पे शैली- भएभरको सबै आफैँ खाउँ अरुलाई केही नदिउँ भन्ने ।
१५. ट्याम्के शैली- बिस्तारै मसिनो स्वरमा कुरा राखेर मान्छेलाई भड्काउने पारा ।
१६. खैराते शैली- सुकेको, रङ्गहीन कुरामा मन्त्रमुग्ध पार्ने तर अन्त्यमा सार असार हुने ।
१७. बोक्रे शैली- अनुहारमा दश थरी पोतेर राम्रा भई हिँड्ने तर वास्तविक अनुहार अर्कै ।
१८. ध्वाँसे शैली- खोर्सानी पोलेर धुँवा फैलाई आफू टाढा बसी रमिता हेर्ने ।
१९. च्वांचे शैली- फोहोर, नाली जता गएर गएपनि धन, सम्पत्ति सोर्ने ।
२०. ग्वांचे शैली- आफ्नो सुरुवाल खुस्किएको, नाङ्गेजार भएको पनि थाहा नपाउने ।
२१. बिराले शैली- बोल्दै नबोली सिध्याउने ।
२२. बाघे शैली- सधैं झापड हान्ने, थर्कमान गराउने ।
२३. गुच्चे शैली – मट्याङ्ग्राले फट्याङ्ग्रा देखि स्याल, सिंह सिध्याउने खेल ।
२४. फुच्चे शैली –बालबच्चाले भात खाँदा मोबाइल नहेरी नहुने बानी; बाध्यात्मक आदत ।
२५. प्याले शैली- दुई चार बोतल रक्सीमा ठुला काम हत्याउने तरिका ।
लौ त, मैले जानेका सम्म शैली -गन्थन भन्न भ्याएँ । अब यहाँहरूका कुरा पनि सुन्ने प्रतिक्षामा छु ।
०००
गाेकर्ण, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































