सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

साँढे पुराण

वयस्क बेलादेखि लड्दै-भिड्दै, लड़ाउँदै- भिडाउँदै, सिंगौरी खेल्दै-खेलाउँदै, बलमिच्याई गर्दै-गराउँदै, उपद्रो गरेर जीवनको कैयौं वसन्त पार गरेर बुढो हुँदा पनि मै मात्र हुँ भनी मैमत्ता, साँढा भई गाँड फुलाउदै टाँडमा बसेका देखिन्छन् ।

Nepal Telecom ad

दिलीप अर्याल :

आजको हाम्रो बसिबियाँलो मुख्यरूपमा साँढेको चर्चा विषयमा केन्द्रित रहनेछ । यसलाई एक प्रकारको साँढे महिमा, साँढे महात्म्य, साँढे पुराण वा साँढे निबन्ध जे नाम दिएपनि खासै फरक पर्दैन होला भन्ने मलाई लाग्छ । साँढेकै विषयमा अलि विस्तृत एवं गहन् चर्चा, परिचर्चा गर्ने सिलसिलामा सर्वप्रथम् नेपाली बृहत शब्दकोषले साँढे र यसका एकाघरका परिवारहरू बारे के भन्दछ त ? भनी यसो पाना पल्टाउँदा यस्तो पो भेटियो त !

साँढे – ना.(सं. षन्ड) १. वृषोत्सर्गमा वा अन्य धार्मिक उद्देश्यले डामेर छाडिएको बहर; साँढे २. मोटोघाटो र बलियो भइकन मनलागी व्यवहार गर्ने व्यक्ति | वि.३. उच्छृंखल; उद्दण्ड (साँढेको जुधाइ, बाच्छाको मिचाइ-उखान)
साँढ- ना.(सं. षन्ड) १. साँढे २. सिङ मोटो हुने एक जातको लेकाली भेडो, बरुवालको थुमा ३. मोटो र बलियो व्यक्ति ४. मर्यादा, अनुशासन नभएको व्यक्ति
साँढा-वि.(साँढे +आ) कसैका अधिनमा नबस्ने; कसैको अधिनमा नरहने; स्वच्छन्द; छाडा
साँढी- ना.(साँढे +इ) १. मानिस मरेको एघारौं दिन वृषोत्सर्ग गर्दा डामेको बाछाका साथमा छोडिने बाछी । २. कसैका नियन्त्रण, अनुशासनमा नरहेकी स्त्री; आफूखुसी आचरण गर्ने स्त्री ।

यी त भए नेपालका सन्दर्भमा नेपाली शब्दकोशले समेटेका साँढे र उसका शाखासन्तान तथा समग्र साँढे- प्रवृत्तिका सामान्य परिभाषा एवं छोटो परिचय । तर विश्वका हरेक देशमा साँढे र साँढे संस्कृति अलग अलग हुने भएकोले साँढेलाई परिभाषित गर्ने शब्दहरू देशै पिच्छे फरक फरक हुन सक्छन् । अब यसै प्रसंगमा विश्वभरका साँढे र साँढे-प्रवृत्तिका साझा विशेषताहरूलाई भने यसरी चर्चा गर्दा उचितै होला भन्ने लाग्छ ।

संसारभरका साँढेहरू प्राय: मोटाघाटा, बलिया हुने तथा उच्छृङ्खल र उदण्ड हुने हुनाले यिनीहरूले गर्ने कृत्य तथा नृत्य एकै खालका हुन्छन् । प्राय: साँढेहरूले कमजोर एवं निम्सरा बाछाहरूलाई हेप्छन, दपेटछन्, हान्छन्, लडाउछन् अनि त्यसपछि तिनलाई खान-पिउन दिंदैनन् । साँढेको जुधाइ बाच्छाको मिचाइ भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै कुरा प्रष्ट हुन्छ- बलिया बलिया साँढेहरू प्राय: साँढी वा गाईसँगको अफेयरलाई लिएर होस्, आफ्नो क्षेत्राधिकारको विषयलाई लिएर होस् वा आ-आफ्नो प्रभुत्व एवं एकाधिकार लाद्ने कुरामा होस् बेलाबेलामा लड्ने, भिड्ने, डुक्रने, कुर्लने र जुध्ने गर्दछन् अनि अन्त्यमा कमजोर साँढेहरूलाई घाइते पार्ने, परास्त गर्ने र कहिले कहिले त ज्यानै लिएर छाड्छन् ।

कलिला स-साना बाछाहरू लगायत साँढे उन्मुख किशोरहरू पनि ठूला साँढेहरूको जुधाइबाट पीडित हुन्छन् तर तिनको अधिकार बारे गतिलोसँग बोल्ने आजसम्म खासै कोही देखिएको छैन । संसारभर नै साँढेहरूले आफ्नो वर्चस्व र गरिमालाई कायम राख्न भनी आफ्नै सहोदर दाजुभाइहरूलाई गोरू बनाउने गर्दा रहेछन् । विचरा गोरुको काम केवल जमीन जोत्ने, गाडा तान्ने, भारी बोक्ने मात्र हुने रहेछ । उसका सारा इच्छा, आकाङ्क्षा र उमङ्गलाई साँढेको सक्रियतामा बलिदानी गराई गोरूलाई श्रम मात्र गराउने अनि लखतरान बनाएर छाड्ने परम्परा संसारभर झनझन मौलाएको देखिन्छ ।

अब थोरै प्रसङ्ग बदलौं । नेपालका साँढेलाई अर्थ्याउने क्रममा नेपाली वृहतशब्दकोषले औंल्याए बमोजिम वृषोत्सर्गको प्रसङ्ग पनि आएकोले यो बारेमा नवपिंढीले समेत धेरथोर बुझ्नै पर्ने हो कि ? उही पशुपतिको जात्रा सिद्राको ब्यापार भने जस्तै म पनि मौकामा चौका हानी टोपलौं कि भनेर वृषोत्सर्गको सम्बन्धमा एक-दुई कुरा राख्न लाग्दा कतै लवस्तरोको उपाधि भिर्नु पर्ने त हैन ? खैर, जे सुकै होस् । आफूले थाहा पाएका धेरथोर भन्ने आँट गरेँ है त ?

नेपाली हिन्दू समाजमा मान्छे मरेको एघार दिनको दिन गरिने विशेष मृत्यु संस्कार मध्ये एक पर्दछ-एघारौँ वा वृषोत्सर्ग संस्कार । यस संस्कारमा साँढे र उसको प्यारी साँढीलाई पूजाआजा र उपासना गर्दै खुला ठाउँमा छाड्ने चलन चलेको देखिन्छ । गाईको वंशवृद्धि लगायत तात्कालिक समाजका कृषिका विविध आवस्यकतालाई परिपूर्ति गरोस् भन्ने मुख्य उद्देश्यले नै साँढेको प्रसिद्धि स्वरूप यो चलन चलाएको हुनुपर्छ । फेरि गाई संरक्षणका लागि साँढे त नभई भएन नि । बल्ल छर्लंग भयो- यस संस्कारगत कार्यमा अत्यन्त महत्व मानिएको साँढे अर्थात वृष लाई उत्सर्ग याने स्वतन्त्र छाड्ने गरिएकाले यस कार्यलाई वृषोत्सर्ग भनिँदो रहेछ ।

आजकल भने यस संस्कारमा सांकेतिक रूपमा तामाको साँढे र साँढी बनाई नदी किनारमा छाड्ने चलन देखिन्छ । आखिर जे होस् , यस प्रचलनको अत्यन्त सकारात्मक पक्ष चाहिं के रहेछ भने जस्तोसुकै परिस्थितिमा पनि साँढे महोदय र साँढी महोदयाको प्रणयलाई अलग गर्नु हुन्न । तर यस २१ औं शताब्दीको समयमा त के गर्नु , कृत्रिम गर्भाधान र कृत्रिम सामग्रीहरूको विगविगीले विचरा साँढे साँढीहरू दुवै नै ठूलो पिरमर्कामा परेका ज्यूँदो यथार्थ भनिरहनु नपर्ला । यी सबै कुराहरू विचार गर्दा उनीहरूले छिट्टै नै “विश्व साँढे-साँढी सम्मेलन” को आयोजना गरी यो कुण्ठित अधिकारको पुन:प्राप्ति गर्न आवश्यक कदम चाल्नुपर्ने देखिन्छ ।

साँढेहरूको साम्राज्य स्वभावैले पितृसत्तात्मक भएकोले उनीहरूले केवल आफ्नो हक, अधिकार, रजाईं र मोजमस्तीलाई बढी महत्व दिने गर्दछन् भन्ने कुरामा दुई मत नहोला । साँढे र गाईको इतिहासलाई राम्ररी अध्ययन गर्ने हो भने यी कहिल्यै पनि स्थायी रूपमा श्रीमान-श्रीमती, जोइ-पोई, खसम-खसमी, लोग्ने-स्वास्नी जसरी बसेका पाइँदैनन् । प्राचीन कालदेखि २१ औं शताब्दी सम्मको कालखण्डमा साँढे र गाई बीच पटके जोइपोई र लिभिंगटुगेदरमा बस्ने सम्मको चलन रहेको कुरा भने नकार्न सकिन्न । संसारभरका साँढेहरूको कुरा गर्दा यिनीहरूले जातैले छाडाको उपाधि पाएकोले त्यो उपाधिलाई चरितार्थ गरी आफूखुशी जीवन-यापन गरिरहेको उदाहरण यत्रतत्र, सर्वत्र पाइन्छ । गौमाताहरूको हक तथा अधिकारको बारेमा कुरा गर्दा उनीहरूको मुखमा पेरुङ्गो लाएर खान बोल्न बन्द गरे सरह नै रहेको अवस्था विगतदेखि नै रहेको देखिन्छ । त्यस्तै प्रेमको मामलामा पनि गाईहरू साँढेबाट निकै नै पीडित छन् भन्दा पाप नलाग्ला । उही मान्छेको जस्तै बच्चा पाउने देखि तिनका सारा स्यहार सुसार गर्ने जिम्मा गाईको मात्र छ । बिचरा पति पीडित गौमाताहरू !

सबैलाई थाहा भएकै कुरा हो- अंग्रेजीमा साँढेलाई बुल (Bull) भन्ने गरिन्छ । ज्यादा बुलबुल (चञ्चल) हुने, बुर्लुकबुर्लुक (उन्मत्त, मैमत्त) उफ्रने जात हुने हुनाले शायद हाम्रै नेपाल तिरको शब्दको भावलाई समेटेर अंग्रेजहरूले साँढेको नाम Bull न्वारन गरेका त हैनन् भन्ने कुरामा मलाई शंका लाग्छ । पश्चिमाहरूका साँढे र साँढेसँग सम्बन्धित केही नामहरू उल्लेख गर्नुपर्दा बढी सुनिएका प्रसङ्ग यी हुन- शिकागो बुल, स्पेनका बुल, बुल फाइट, बुल फेस्टिवल । निश्चय नै हाम्रो बेग्लै र पश्चिमाहरूको भिन्नै खालका साँढे र साँढे संस्कृति छन् – यसमा कहिँकतै शंका छैन । अस्ति यसो टिभी हेर्दै गर्दा एउटा विज्ञापनमा देंखे- रेडबुल । थाहा भयो- नेपाल लगायत संसारभर आजभोलि हरेक बच्चादेखि बुढासम्म यो रेडबुल प्रसिद्ध रहेछ । त्यो विज्ञापनमा भनिएको थियो- तुरुन्तै शक्ति दिने अनि स्फूर्ति दिने हामी सबैको एकमात्र पेय– रेडबुल ! यो पेयपदार्थ साँढेको महिमा र वर्चस्वलाई संसारभर प्रसिद्धि गराउने उद्देश्यले साँढे-प्रवृत्तिहरूले गरेका एउटा सशक्त प्रयोग पनि हुनसक्छ कि भन्ने मैले अड्कल काटें ! एकछिनमा शेयरको बुल बारे पनि टिभीले भन्न भ्यायो | तर म सँगै बसेर टिभी हेर्ने मेरा साहिला काकाले भन्नुभयो- के गर्नु भतिज, यो बुल माने साँढेले कहिँ गए पनि सुख दिएनन् । हुँदाहुँदा टेलिभिजन हेर्दा पनि यी साँढेले नछाड्ने भए बा !

साँढे र मान्छेको प्रवृतिगत सम्बन्ध बारेमा कुरा गर्दा लाग्छ कि मान्छे र साँढेका बीच अन्योन्याश्रित भावनात्मक एवं प्रवृत्तिगत सम्बन्ध रहेको छ । यसैले होला कतिपय मान्छेलाई कति मैमत्ता भएका साँढे , साँढी जस्ता भन्ने उपाधि सहजै प्राप्त हुन्छ | अनि भनेको सुनिन्छ – ओ हो ! त्यसको त कुरै नगरौँ के विधि उचालिएको, साँढ नै हो त्यो मान्छे त ! ए त्यसले त अरूलाई के टेर्छ र हुनसम्मको साँढा हो त्यो मान्छे । हेर हेर, खाएर साँढे भाको, छया ! नेपालीमा प्रचलित भनाइ छ नि – असनको साँढे जस्तो ।

अहिले संसारमा चलेको मान्छेको बिभिन्न स्वभावको कुरा गर्ने हो भने तिनमा प्रशस्त साँढे प्रवृत्ति हावी रहेको कुरा छर्लंगै देखिन्छ । राजनीतिकै कुरा गरौँ न । यिनीहरू वयस्क बेलादेखि लड्दै-भिड्दै, लड़ाउँदै- भिडाउँदै, सिंगौरी खेल्दै-खेलाउँदै, बलमिच्याई गर्दै-गराउँदै, उपद्रो गरेर जीवनको कैयौं वसन्त पार गरेर बुढो हुँदा पनि मै मात्र हुँ भनी मैमत्ता, साँढा भई गाँड फुलाउदै टाँडमा बसेका देखिन्छन् । प्राय: हरेक राजनीतिका गोठमा यो संस्कृति मौलाएको पाइन्छ भने कतै कतै त नराम्रैसँग बौलाएको पनि पाइन्छ । यस्ता साँढे प्रवृत्तिहरूको प्रमुख विशेषता चाहिं के रहेछ भने– म बाहेक कोही जान्दैनन्, म नै बलशाली हुँ, पुरानै बल र शक्ति ममा छ भन्ने घमण्ड र धङधङी, के के हुन् के के ।

सरसर्ती हेर्दा सारा संसार नै साँढेमय रहेछ । हरेक व्यक्ति, समाज र राष्ट्र यो साँढे-प्रवृत्तिमै अल्मलिएको देखिन्छ । हरेकले आफ्ना शक्ति र सामर्थ्यका बलमा साना र निम्सरालाई हेप्ने अनि नियन्त्रणमा राख्ने गर्दा रहेछन् । आर्थिक साम्राज्य, भौगोलिक साम्राज्य, धार्मिक साम्राज्य, राजनीतिक साम्राज्य, हातहतियारको साम्राज्य, व्यक्तिगत विचार वा प्रभावको साम्राज्य वा अन्य कुनै खालको साम्राज्य फैलाउन हरेक देश र मान्छेले आ-आफ्ना साँढे तथा साँढे प्रवृत्तिको इस्तेमाल गरेको देखिन्छ । सत्य यो हो कि प्रत्येक मान्छेमा कुनै न कुनै प्रकारको साँढे-प्रवृत्ति लुकेको हुन्छ । मौका पायो कि मान्छेले आफ्नो त्यो प्रवृत्ति निकाली हाल्छ । एकपटक आफूले आफैंलाई नियालौं त, आफूमा कति डिग्री साँढे- प्रवृत्ति छ भनेर । अन्ततोगत्वा, हरेकलाई बोध हुन्छ- म स्वयं पनि साँढे पुराणको एउटा पात्र हुँ !
इति श्री वृषभ् पुराणे पृथ्वी खन्डे यथार्थ महात्म्ये वृषभस्य साम्राज्य वर्णनं नाम द्वितियोSध्याय: ।

०००
गोकर्णेश्वर- ७, काठमाण्डौ
फोन : ९८५११०५२५५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हल्ला

हल्ला

दिलीप अर्याल
बसिबियाँलो

बसिबियाँलो

दिलीप अर्याल
रोगहरूको बैठक

रोगहरूको बैठक

दिलीप अर्याल
जय कविता !

जय कविता !

दिलीप अर्याल
माटो- महिमा

माटो- महिमा

दिलीप अर्याल
काइदाको कञ्जुस

काइदाको कञ्जुस

शेषराज भट्टराई
धन्य ! कुर्सी

धन्य ! कुर्सी

डा. टीकाराम पोखरेल
कर्तव्यबोध

कर्तव्यबोध

कमला पन्थी अधिकारी
कन्फ्युजन

कन्फ्युजन

रमेश समर्थन
बास !

बास !

डा.रवीन्द्र समीर
0
Would love your thoughts, please comment.x
()
x