सुरेशकुमार भट्टचंखेको खसी खाने जुक्ति
एक दुई जना बोलाएर ढाली हालौं। कसो ?’ कुन्नि त लौ जे भन्छौ। मरे त भाइ झोल न मोल भैगो बरू तिमीले भने झैं गरे त कसलाई के थाहा हगि । त्यसै गरौं ?

सुरेशकुमार भट्ट :
जुक्ति बुध्दि भन्ने कुरा बडो अनौंठो छ। सबैसँग हुन्छ भन्ने छैन। न त सबैको एकनास छ, हुन्छ न हुँदै नभाका कोहि हुन्छन् वा सबैमा श्रेष्ठ । अर्थात् जो जान्यो त्यो श्रेष्ठ जो जान्दैन त्यो कनिष्ठ । यसै हुने कुरा हो। कतिपयले यस्तोसम्म गर्न सक्छन् कि नभएको कुरालाई हो बनाउन र भएका कुरालाई पनि हैन बनाउन भनाउन सक्छन्। तेस्तै प्रकृतिको थियो माझ गाउँको ‘चंखे’। कसैले कुरा मिलाउन सकेन भने चंखेलाई दिन्थे। ऊ भन्थ्यो ‘हेर भाइ हो समाजमा मिलाउने भन्ने कुरा सजिलो छैन बालुवा पेलेर तेल निकाल्नु र धयरीको दाम्लो बाटेर मातेको गोरू बाँध्नु जस्तै हो बुझ्यौ ’भँगर भन्ज्याङमा’ भन्थ्यो।
मानिसको स्वभाव सबैको एकनास कहाँ हुन्छ र ? कोडी टेढामेढा, कोही कोकलेटा, कोहि सोझा कोहि नर्सिॅंगा जस्ता बांग्गा र कोही ग्वाँगे भुत्लो पनि हुन्छन्। कोही दानी कोही दुष्ट सबैले भोगेकै छौं गाउँघर छर छिमेकमा। तेस्तै दुष्ट स्वभावको मुखिया गाउँको झण्डे थियो । अरू खसी पालेर आफू नि खानी गाउँलेलाई नि खुवाउँथे ऊ पाल्यो बनायो अनि लेवाली/ गाहाकीलाई बेचिहाल्थ्यो। यो कुरा झण्डेको गाउँले कसैलाई नि मन परेको थिएन। तर मुख परेर भन्न कोहि नसक्ने हुँदा चंखेले एक दिन पक्कै तह लाउँछ भनेर बाटो हेरिरहेका थिए।
भोलिपल्ट माघे संक्रान्ति थियो । अघिल्लो दिन दुईचार जना गमस्ता गरेर सुटुक्क चंखेको घरमा गए। चंखेलाई संक्रान्ति के छो दाइ भनेर सोधे। ए तिमीहरु भोलिको संक्रान्ति मान्ने शिकारको लागि पो आयौ भाइ हो म कहाँ ? तारेले भन्यो हो दाइ मोही माग्नु ढुङ्ग्रो लुकाउनु किन नि, भनेर म त खस्रो मान्छे भनि हालेको। ल तेसो भए ढुक्क भएर बस। यसपाली मोटै खसी खाने हो भाइ हो, धन्दै नमान भनेर लौ मलाई एउटा काममा नगई भाछैन म हिंडेँ। तिमीहरू ढुक्क भंएर जाऊ भन्दै आफसू सिउँडी बारको बाटो उकालो लाग्यो मुखिया गाउँतिर।
झण्डेको ठूलो खसी गहिरो गल्लीको कान्लामा चामले खरू खाँदै रछ। चंखेले यता उता सबै हेय्रो कोहि छैन चानुमानु । ऊसको पालो जेवबाट के झिक्यो कुन्नि खसीको पुच्छर समातेर गाड्यो र छाडि दियो। फटाफट माथिको तेर्सो गल्लीमा निस्कियो। तल गल्लीमा प्या प्या गरेर बाख्रा कराएको आवाज आईराथ्यो सुनेको नसुनेई गरेर चंखे झण्डेको बाटाघर खसी खाने जुक्ति गरेर पुग्यो। तल बाख्रा कराएकोले झण्डेले गोठालो डल्लेलाई ॲागनको डिलमा निस्केर बोलायो- ए ! डल्ले बाख्रा किन कराको हेर हेर कुन हो ? किन हो ? ’हस् हस्’ तलबाट डल्लेले भन्यो । अलिबेरपछि डल्लेले पटुकाले खसी डोर्याउँदै लेर आयो र भन्यो यो खसी त नाच्छ र कराउँछ बाज्या । ’के भन्छ यो मोरो’ हो भन्या बाज्या क्यान नमान्या हो’ ? पटुका फुकाएर चंखेले छाडिदियो खसी कराउँदै फनक्क घुमेकोले भन्यो फनफने लागेको को त हैन ?’
ए मुखिया दाइ, कि खोलामा पानीमा झ्याँकिया थियो कि भेलमा ?’ कुन्नि’भन्दै ए डल्ला यो खसी खोलामा डुब्याथ्यो ?’ आफैं तर्याकाे, देखेनो मैले त डुबेको। ’खसी फनफनी घुम्दै कराउँदै गरिरहेकोले झण्डेले चंखेलाई भन्यो- ए भाइ अब के गर्नि होला ?’ भैंसी होइन खसी हो दाइ, बिरामी भएको हल्ला नगरौं, भोलिको माघे संक्रान्ति छ । यति मोटो खसीको मासु पाए सबै खान्छन् दाइ बोरू एक दुई जना बोलाएर ढाली हालौं। कसो ?’ कुन्नि त लौ जे भन्छौ। मरे त भाइ झोल न मोल भैगो बरू तिमीले भने झैं गरे त कसलाई के थाहा हगि । त्यसै गरौं ? ’ल तेसो भए डल्लेलाई रने, दले र तारेलाई मुखिया बाले बोला छ छिट्टो गरेर जाऊ भन् अनि तँ तेतै बाख्रा राम्रोसँग हेर। ’हस् भन्दै खुर्पेटो बजाउॅदै ओरालो लाग्यो।यता दुई जना भएर पानी बसाले।
खसी मका थाँक्रामा बाँधेको छ तै पनि घुम्दै कराउँदै गरिराछ। केहि बेरमै हस्याङ फस्याँङ गर्दै रने, तारे र दले आई पुगेर नउभिदै परैबाट भने मुखिया दाइ किन हो यस्तो झटारो र हतारो ? ”आ भाइ किन हुन्थ्यो ? भोलि संक्रान्ति दिन गावैँ उल्टेर गोलमाल हुन्छ । त्यो भन्दा बरु आजै दुई चार भाइ मिलेर यो खसी बनाई हालौं भनेर। यो चंखे भाइले ए दाइ गाल छल्न पनि यो खसी घरैमा काट र गाउँलेलाई मासु खुवाऊ भन्यो। कुरा मनासिब लागेकोले दुई भाइ मिलेर पानी बसाइम् अनि तिमीहरुलाई बोलाउन पठाको । लौ बरू छिटो गरौं मार कल्ले हान्छ ? तारे भाइले त होला ? ’ल ल हुन्छ भन्दै तारेले खुकुरी उद्यायो दलेले केराको थाम ल्यायो। रने भित्र पसेरआरीमा बेसार राखेर ल्यायो।
खसीतिर हेरेर तारेले भन्यो- हैन खसी त नाँच्दै कराउँदै गर्या छ हँ के चाल हो ?। चंखेले भन्यो नकरा मोरा बगाल छुटाएर ल्याएपछि कराउँदैन त ? ’त्यो त हो नि भन्दै तारेले ल त र भनेर दले र रनेलाई ईशारा गर्याे । उनीहरूले अचानोमा ल्याएर तरे, तारेले मुलै काटे झैं छिन्यायाे । कति छिटो हो एक थोपा रगत बाहिर खेर गएन। खसी भुत्ल्याएर पखालेर काटकुट गरि भाग लाउन मात्र थालेका थिए मान्छे त कुँडुलो ओइरो भैगो। चंखे, झण्डे, तारे आपसमा सल्लाह गरेर जुक्ति निकाले र दले रनेलाई भने हेर बाबु हो, खसी सुत्केरीको करले काटेको त्यसैले उसले पाँच धार्नी कम्तिमा र नउठेमा आठ धार्नी पनि लान्छु भनेकोले ॲाटेर काटेको ।
केहि नभा नि १८ त होला नि सके बिसै पुग्ला चंखेले भन्यो। हो हो ठिक छ सुत्केरीलाई पाँच पॅुडो सारेर जति रहन्छ तेतिमा धार्नी भन्नेले बिसौली, बिसौलीले आधा गरेर खाउँला नि । मरिन्छ कि बाँचिन्छ भनेर मान्ने चाड हो माघे संक्रान्ति भन्यो रनेले। सबैले होमा हो मिलाए। खसी छिपिएको रैछ बिस धार्नीमा पनि राजखानी बढि भो ए मुखिया लैजाऊ मुख्यौली मान भनेर तारेले हँसाउँदै मुखियालाई दिन गएको ए मोरा धेरै नउडा बरू भित्र भाउजूलाई दे भनेको सुनेर सबै गलल हाँसे। दलेले थप्यो आज मुखिया जाग्ने भो बेस्सरी हैन त ? भन्नेबित्तिकै हाँसोको फोहरा छुट्यो….। यस्तै यस्तै छ हाम्रा गाउँघरका रमाइला कथा कुथुङ्ग्री। जय लोकवेद।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































