साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सन्तुष्टि सर्वेक्षण

फेरि यस्तो सवाल नसोध्नु नि नत्र त म बिष्ट न सिष्ट यहि होत्रो थुतुनोमा बजारिदिइनुपर्ला ! आरने दाइको प्यारो धम्की सुनेपछि त्यहाँबाट पनि बुर्कुसी मार्नुबाहेक मेरो उपाय रहेन।

Nepal Telecom ad

युगल बसेल :

सरकार गठन भएको पुरै दुई महिना बितिसक्यो तर सरकारप्रति सरोकारवालाको सन्तुष्टि कति छ भनेर सप्रमाण सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्ने जमर्को कुनै माइका लालले गरे जस्तो लागेन। कसैले जमर्को गरेन भनेर चुप्प लाग्नुभन्दा म पनि त एउटा माइको लाल हुँ नि भनेर मैले टुप्पी कसेँ । हुन त राजनीतिक विश्लेषण गर्ने मेरो पेशा,औकात ,क्षमता केही छैन र यससित मेरो गोरु बेचेको साइनो पनि छैन। तैपनि वर्तमान ऐतिहासिक दुईतिहाईको सरकारप्रति आम जनताको के प्रतिक्रिया छ भन्ने चासो आँतैदेखि आयो र बातैमा व्यक्त गर्न मन लाग्यो। यसरी व्यक्त गर्दा बात कसुर लागेछ भने पनि परेको बेहोर्ने भनेर मैले टुप्पी कसेँ। हनुमानजस्ता पौरखीलाई त उनको क्षमता उनैलाई चिनाइदिने जाम्ववान थिए तर मजस्ता स्वघोषित पौरखी परीक्षकका लागि वा भनौँ सर्वेक्षकका लागि कोही पनि रहेनछ । यो अथाह दुखेसो कहाँ पोख्ने भन्ने थाहा नपाएर म बिलखबन्दमा परेको छु। जुहारको पारख जौहरीले गर्छ तर जौहरी नै नभएपछि जुहारको के लाग्छ ? आफूलाई अनमोल जुहार ठान्ने म महामहिमलाई बिनामोलको भएर कुक्रुक्किनुपरेकै छ ।
गुणग्राही जहाँ छैन ,बेकम्मा छ वहाँ गुणी ।
कौडीमा पनि मिल्किन्छ भिल्लका देशमा मणि ।।
भनेर लेखनाथ बाजेले भनेको साँच्चै रहेछ।

जे भए पनि ममा एउटा अदम्य सोच पलाएपछि रात रहे अग्राख पलाए जस्तो नहोस् भनेर झ्यापझुप सोच कार्यान्वयन गरेर आफूलाई कर्मठ साबित गर्न म रेकर्डर र कापीकलम लिएर मैदानमा कुदिहालेँ।

साहित्यसाधकबाटै सुरुवात गरेमा सर्वोत्तम नतिजा निक्लने सम्भावना देखेर म मेरा छिमेकी सदानन्द साहित्यप्रेमीको दलानमा दाखिल भएँ र उनका सामु प्रश्न तेर्साएँ- ´´वर्तमान सरकारका कामकारबाही वा गतिविधिबाट तपाईं कति सन्तुष्ट हुनुहुन्छ ?“

उनले दायाँ आँखो चोरी औँलाले च्यात्दै भने – ´´इस् सन्तुष्टि ! केको सन्तुष्टि ? यस सरकारले ज्याला दिने मिडियाको संख्या बढाउला, बेरोकतोक मेरो सृजना छ्यापछ्याप्ती छपाउला र टाक्सिएको खल्ती अलिकता ठाउँमा आउला, अरूका रचना तानतुन गरेर छ्पाए पनि कुनै बात कसुर नलाउला भनेको त एउटा मुसो त के भुसुनो पनि मारेन ए । म त सन्तुष्ट होइन रुष्ट पो छु त । खबरदार ! सन्तुष्टिको कुरा गर्यौ भने । उनले मलाई सावधान गराए । अब त्यहाँ बसिरहे नौली बुहारीका नौपुला घाँस ,रहँदा बस्दा जगल्टाको नाश भने जस्तो होला भनेर मैले टाप कसिहालेँ ।

त्यसपछि लुसुक्क गएर खुसुक्क डेढ महिनादेखि विधुर जीवन बिताइरहेका जखमले जेठाबाको दैलो मैले ढकढकाइहालेँ । जेठाबाले दैलो खोल्ना साथ उनका सामु उही बनिबनाउ प्रश्न पस्किहालेँ । प्रश्न सुन्नासाथ जेठाबा राँकिए – ´´एक छैन ,दुई छैन, तीन छैन, म सन्तुष्ट छँदै छैन, लुजा ! जसले जे नाप्ने हो नापोस् ! भोकाएको बाघ गर्जेझैँ गरेर उनले अगाडि थपे – ´´बुढी स्वर्गे भएको डेढ महिना भइसक्यो । यस सरकारले अहिलेसम्म मेरो जोडी मिलाइदिन सकेको छैन । अलि उमेरदार र हिस्सी परेकी जोई जुटाइदेला भन्ने मलाई कत्रो आस थियो , सरकार भने कानमा तेल हालेर बसेको छ । संविधानको मौलिक हकमै ´बिजोडालाइ जोडा पारिदिनु राज्यको दायित्व हुनेछ `भन्ने दफा थप्दै संविधान संशोधन गर्नुपर्नेमा केही आनबातै गरेको छैन । अहिले हेर त मलाई, मामाको बारीभरि साग छ म भान्जीको के लाग्छ भनेजस्तै गरेर खुम्चिनु परेको छ।“ उनको मागलाई दिमागमा सलबलाउन दिनु भन्दा त्यहाँबाट तिरोधान हुनुमै मैले कल्याण देखेँ।

आधाभन्दा बढी हिस्सा ओगटेका महिलालाई सन्तुष्टि सर्वेक्षणमा सामेल गरिएन भने वैधता नआउला भनेर छिमेकी ठुली भाउजूकहाँ मैले धमाकेदार इन्ट्री गरेँ। भाउजूले आफ्ना कपालका सेता रौं उखेल्दै थिइन् । मैले त्यसरी उखेल्दा तीन तिहाई कपाल पातलिएला नि भाउजू भनेर सतर्क गराउन खोजेँ । तर मेरो राय उनलाई पचेन र च्याँउइठ्ठिइन् -´´ कपाल खुइलिए मै टक्लु हुन्छु, कसलाई के लछालरपाटो लाग्ने हो र ?“भन्दै अँध्यारो मुख पारिन् ।

´´बिझाए पनि पाउजु जाति ,रिसाए पनि भाउजू जाति , होइन र ?“ भनेर मैले साइँसक्कल लगाउँदै थपेँ – ´´थाप्लोमा एउटै मात्रै रौँ बाँकी रहे पनि भाउजूका अगाडि अरु त जुनका अगाडि जुनकिरी जस्तै हुन् नि होइन र ?“ भन्दिएपछि भाउजू फुर्कीहालिन् । उनको अँध्यारो अनुहार एकाएक उजालियो र बोलिन् – ´´भो भो, चेपारो पार्नु पर्दैन ।“
उनलाई विश्वस्त पार्दै मैले विश्वस्त पार्दै भनेँ – ´´ढाँटेको भए मरिजाम् ।“

कर्के आँखाले भाउजूले मतिर हेरिन् । मैले पनि यही हो मौका भनेर उही प्रश्न पस्किहालेँ ।
´´सरखारसित केको खुसीराजी हुनु हो ,बाबु ? यति बलियो सरकार भएर पनि तपाईंका दाजुको दारु तन्काउने र भट्टीवालीलाई आँखा सन्काउने बानी छुट्याइदिन सकेको छैन क्यारे । त्यसैले म त यस सरखारलाई लाछी सरखार भन्छु ।“ भाउजूको दमदार उद्गार सुनेपछि म त्यहाँबाट बिदा भएँ ।

म त बिदा भएँ तर मेरो सर्वेक्षण कार्य भने बिदा भएको थिएन। त्यसैले म छिमेकी कान्छीआमाकहाँ पुगेँ । उनले कुचोले कान्छाबालाई सोठ्ठ्याउँदै थिइन् । मलाई देखेपछि कुचो एकातिर मिल्काइन् र भनिन् – ´´तिम्रा कान्छाबालाई झाँक्रीले छलेछ, त्यसैले झाडुले झारफुक गरेको हो ।“

´क्या बात ! ` भन्दै मैले उनको झारफुक कलाको तारिफदारी गरेँ अनि पछि उही प्रश्न तेर्साएँ । उनको अनुहार त रन्केर आगोको फिलिङ्गोजस्तो रातो पो भयो । आफ्नो असन्तुष्टि उनले कर्कस ध्वनिमा पोखिन् -´´

हाम्रो साइँलो छोरोले यहाँ पाँच-पाँच वर्षसम्म हिम्मत नहारिकन एउटै कक्षामा घुँडा धसेर दस कक्षा पास गर्यो तर खोइ त उसलाई जागिर ? एक थान जहान परिवारमध्ये कुनै एकजनालाई जागिर दिन नसक्ने सरकारसँग पनि कोही खुसी हुन्छ ? हाम्रा जहानको सबै भोट यसै सरकारका मान्नेलाई हाल्न कत्रो धुन्दपत्ताल गरेको थ्यो साइँलाले । खोइ त गुनको बदला गुन,खुनको बदला खुन ? अब त त्यो मान्नेलाई देख्यो कि यसै कुचाले हान्ने हो ।“ यति सुनिसकेपछि ´रस नबस यहाँ नबस् ` भन्ने सोचेर मैले कुलेलम ठोकेँ।

आफ्नो सर्वेक्षणलाई लैङ्गिक मात्र होइन जातीय हिसाबले समेत अझ समावेशी गराउनको लागि म आरने दाईकहाँ अनमरिएँ । एउटा हातले भाटी तान्दै उनी हँसिया तताउँदै थिए । मैले रिठ्ठो नबिराई त्यही सवाल राखेँ।
´यस सरखारले जागिरेको तनखाको तौल र बजारको मोल त बढायो तर खै हाम्रो सुविधा के बढायो ? बजारका मोल बढेका छन्, उनका ढुकुटी भरेका छन् । हामी भने कान्लामुनिका भ्यागुता कान्लामुनि नै ? त्यति धेरै भोट पाएर जिताएको सरकारले यत्ती थोरै महँगी पनि घटाउन नसक्ने ? हामीले तीन भागको दुई भाग मूल्य घटाइदेऊ त भनेको छैनौँ नि । सयकडा दुई बीस तीन बीस मोल घटाइदिए पनि पुगिहाल्छ। बजारमोल घटाउनको साटो बढाइदिएपछि कन्पारो तात्दैन ? फेरि यस्तो सवाल नसोध्नु नि नत्र त म बिष्ट न सिष्ट यहि होत्रो थुतुनोमा बजारिदिइनुपर्ला !“
आरने दाइको प्यारो धम्की सुनेपछि त्यहाँबाट पनि बुर्कुसी मार्नुबाहेक मेरो उपाय रहेन।

यति इतिवृत्ति बताएपछि सर्वेक्षणको निष्कर्ष के हो त भनेर मैले पाठकगणलाई बताइरहनु परेन । अब अर्कै अर्कै सर्वेक्षणको जमर्को गर्ने सुर भएछ भने हजुरहरूसित फेरि बात मारौँला, है त ।

०००
सन्धिखर्क तुम्कोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x