नन्दलाल आचार्यकुइरोभित्रको ब्वाँसो र मङ्गलपुर जङ्गलको महासर्कस
ब्वाँसो बुढो भए पनि उसले घाँस खाँदैन, सिकार गर्न बिर्सिँदैन !" यो सुनेर साना मुसाहरू खुसीले उफ्रिनेछन् र चमेरोहरू फेरि हजुरकै पखेटाको छहारी खोज्न आउनेछन्।

नन्दलाल आचार्य :
आदरणीय जङ्गलका सर्वेसर्वा,
५५ इन्चको छातीभित्र संसद्को मुढा लुकाएर बस्नुभएका
महा-महिम खड्ग-सिंहे ब्वाँसोज्यू,
भोटको भिक्षा माग्दा सिंह जस्तै गर्जने तर ओढारको कुर्सीमा पुगेपछि कुइरोभित्रको ब्वाँसो जस्तै हराउने हजुरको दिव्य चरित्रलाई टाढैबाट नियालेर यो भोजपत्रको पानामा नङ्ग्राले कोर्दै छु । अचेल हजुरलाई मान्छेको बस्तीतिर ‘नेपी गोली’ भनेर पनि चिन्न थालेका छन् रे, तर म त जङ्गलको रैथाने वासी, त्यसैले हजुरलाई आफ्नै मौलिक नाम ‘खड्ग-सिंहे ब्वाँसो’ भन्नै बढी रुचाउँछु । यो मंगलपुर जङ्गलको संसद् अचेल मानिसहरूको कंक्रिटको महल भन्दा कम छैन । त्यहाँ मानिसहरू ‘तँ कुकुर, म बिरालो’ भन्दै भुक्छन्, यहाँ हाम्रा जङ्गलका माननीयहरू ‘तँ स्याल, म गिद्ध’ भन्दै मञ्चै भत्काउन खोज्छन्। फरक केही छैन महाराज, केवल हजुरको ओढारको मोह र यो जङ्गलको सिंहासनको सर्कस उस्तै छ।
हजुर त नीति-शास्त्रका ज्ञाता, उपनिषद्को रस चाखेका र वेदका ऋचाहरू कण्ठस्थ पारेका महा-पण्डित ब्वाँसो ! शास्त्रले त स्पष्टै भनेको छ नि- ‘फलवान् वृक्ष नमन गर्छ, गुणी जन झुक्छन् ।’ तर हजुरको यो दिव्य रूप हेर्दा त लाग्छ, हजुरमा जति धैरे सत्ताको फल लाग्दै जान्छ, हजुरको थुतुनो उति नै जङ्गलको नीलो आकाशतिर फर्किन्छ । यो कस्तो अचम्मको वनस्पति विज्ञान हो महाराज ? रुख जति बुढो भयो, हाँगाहरू उति नै कडा र अहङ्कारी हुँदै जाने ? कतै हजुरको टाउकोमा पलाएको यो अहङ्कारको ‘अदृश्य सिङ’ कुनै दिन जङ्गलको काँढेझाडीमा अल्झियो भने फुत्किन गाह्रो होला नि ! ख्याल गर्नुहोला, सिङ भाँचिँदा दुखाइ सिंहलाई जति नै हुन्छ, तर इज्जत भने स्यालको जति पनि बाँकी रहँदैन ।
हजुर त हिजोअस्तिसम्म संसद्को त्यो वरको रुखको फेदमा आउनै छाड्नुभएको थियो । आफू बस्ने ओढारभित्र छिरेर बाँसुरीमा ‘मङ्गल धुन’ बजाउँदै भन्नुहुन्थ्यो- “त्यो संसदमा त केवल कागहरूको काँ-काँ मात्र सुनिन्छ, म जस्तो महापण्डित त्यहाँ गएर के गर्नु ?” प्रभु, यदि हजुर जस्तो चतुर र अनुभवी ब्वाँसो नै कागको काँ-काँ देखि डराएर ओढारको अँध्यारो कुनामा लुक्ने हो भने यो जङ्गलका साना मुसा, भ्यागुता र न्याउरीमुसाहरूले कसको छहारी खोज्नु ? हजुर तो जङ्गलको नीति-पुरुष, तर अचेल विपक्षी स्यालहरूले अलिकति हुइँया मच्चाउने बित्तिकै हजुरको सातो जान्छ ।
एकपटक त्यो तन्नेरी ‘रवि-रङ्गे मयूर’ लाई हेर्नुस् त ! उसले जङ्गलको न्याय र सुशासनका लागि आफ्नो सुन्दर, रङ्गीचङ्गी पुच्छर नै दाउमा लगाइदियो । जति पटक शिकारीहरूले उसको प्वाँख लुछे, जति पटक पुराना स्यालहरूले उसलाई घेरे, उति नै पटक उसले नयाँ प्वाँख पलाएर संसद्को रोस्ट्रममा ‘केस’ हरूको फाइल खोल्दै नाच्यो । उसले त आफ्नो सानो ‘इगो’ को गुड नै भत्काइदियो । तर हजुर भने एउटा सानो स्यालको टोकाइ र कागको काँ-काँ देखि डराएर ओढार भित्र कुँजिरहने ? जाबो यो साङ्ठनिक र व्यक्तिगत अहङ्कारको पोकोलाई जङ्गलको गहिरो खाल्डोमा पुरिदिनुस् महाराज, नत्र यो भर्खरै बनेको नयाँ गुँड (गठबन्धन) फेरि कुन दिन भत्किनेछ, पत्तै पाउनुहुने छैन ।
जङ्गलमा एउटा पुरानो र असाध्यै मर्मस्पर्शी उखान चर्चित छ- “माटोको घैँटो फुटे त जोडिएला, तर चित्त फुटे जोडिन्न ।” तर हजुरको राजनीतिक भान्छामा त चित्त मात्र होइन, निष्ठाका प्लेटहरू नै दैनिक जसो फुट्ने र जोड्ने नाटक भइरहन्छ । त्यो ‘प्रचण्ड-बिरालो’ लाई नै हेर्नुस् न ! कुनै समय ऊ जङ्गलमा गर्जँदा पहाडका चट्टानहरू हल्लिन्थे, आफूलाई जङ्गलको ‘क्रान्तिकारी बाघ’ भन्दै हिँड्थ्यो । तर अचेल ऊ सत्ताको दूध चोर्नका लागि मुसाको दुलो चहार्दै हिँड्छ । उसले आफ्नो जीवनकालमा जति पटक रङ बदल्यो, त्यति त जङ्गलको छेपाराले पनि आफ्नो छाला फेर्न भ्याएको थिएन । अहिले ऊ ‘म सुध्रिएँ, म शाकाहारी भएँ, म त दुबोको घाँस मात्र खान्छु’ भन्दै बाख्राहरूको बथानमा छिर्न खोज्छ, तर जङ्गलका बुढा बाख्राहरूले पनि उसको त्यो नक्कली दार्शनिक रूपलाई पत्याउँदैनन् । प्लेट एकपटक फुटेपछि जतिसुकै अचुक चोपले जोडे पनि त्यसमा दाग रहिरहन्छ र पानी अडिँदैन भन्ने कुरा हजुर भन्दा बढी कसलाई थाहा होला र ?
समयको चक्र निकै क्रूर हुन्छ प्रधानमन्त्रीज्यू ! जङ्गलको हावा सधैँ एकैनासले चल्दैन । कहिले पूर्वबाट हिउँदको चिसो सिरेटो आउँछ त कहिले पश्चिमबाट डढेलो बोकेर आउँछ । कुनै समय यस्तो थियो, जब हजुर जङ्गलको चौतारीमा उभिएर ‘म यो जङ्गललाई सिङ्गापुर बनाउँछु, सुख्खा खोलाहरूमा पानीजहाज चलाउँछु, घर-घरका ओढारमा ग्यासको पाइप पुर्याउँछु’ भन्दै टुक्का हाल्नुहुन्थ्यो । त्यतिबेला जङ्गलका साना भ्यागुतादेखि लिएर आकाशका चराचुरुङ्गीसम्मले ‘नेपी गोली आई लभ यू ! नेपी गोली आई लभ यू !’ भन्दै कोरस गाउँथे । चमेरोहरूले त रातभरि उल्टो झुन्डिएर भए पनि हजुरकै गुनगानको भजन कीर्तन गाउँथे ।
तर आज हेर्नुस् त, समयको पाङ्ग्रो कसरी घुम्यो ! तिनै चमेरो र कागहरू आज ‘यो बुढो ब्वाँसो कहिले थाक्छ र हामी यसको अङ्शको सिनो खान पाउँछौँ’ भन्दै वरको रुखका हाँगाहाँगामा बसेर आँखा तर्दैछन् । यो जङ्गलको तीतो नियति हो प्रधानमन्त्री, यहाँ ताली बजाउने हातहरूले नै भोलि कुर्सीबाट ओराल्न ढुङ्गा हान्छन् । जसले हिजो हजुरको आरती उतारेका थिए, आज तिनै चमेरोहरू हजुरको ओढारको जग खन्दै छन् ।
जङ्गलको यो राजनीति एउटा ठुलो ‘रुद्रघण्टी’ जस्तै हो प्रधानमन्त्रीज्यू, जसले जोडले बजायो, त्यसैको धुन निस्कन्छ । राजनीति भनेको जङ्गलको त्यो दलदल हो, जहाँ अजङ्गको हाती पनि फस्छ र सानो कमिलो पनि पौडिएर तैरिन सक्छ । मलाई थाहा छ, यो जङ्गलमा अर्को ‘चन्द्रमुखे बाज’ जन्मिन सक्दैन । एउटा युगमा एउटा मात्रै यस्तो बाज जन्मन्छ, जसले आकाशको उचाइमा उडेर पनि जङ्गलको भुइँमा रहेको फोहोर, भ्रष्टाचारको सिनो र स्यालहरूको षड्यन्त्र स्पष्ट देख्न सक्छ । तर हजुर त यो जङ्गलको पाँच वर्षका लागि मात्र चुनिएको सामान्य ब्वाँसो हुनुहुन्न, हजुर त युगौँयुगसम्म आवश्यक पर्ने ‘नीति-पुरुष’ हुनुपर्ने पात्र ! अनि किन ती विदेशी सर्कसका मालिकहरूसँग हड्डी माग्न जाने गद्दार स्यालहरूको इसारामा नाच्नुहुन्छ ? तिनीहरूका मुखमा त सधैँ रिसको राँको बलेको हुन्छ । तिनीहरूको कुरा सुन्ने होइन प्रधानमन्त्रीज्यू, तिनीहरूको रचनात्मक आलोचनालाई केवल हावाको झोँका जस्तै कानैले मात्र सुनिदिनुस्, मनमा लिएर ओढारभित्र नथुनिनुस् ।
जङ्गलको दुर्दशा र ओढार बाहिरको सिंहनाद
अचेल जङ्गलको हालत निकै नाजुक छ । खोलाहरू सुकेका छन्, हरिया रुखहरू तस्कर मुसाहरूले काट्दै छन् र साना जनावरहरू भोकभोकै मर्दै छन् । हजुरलाई पिर त छ, म बुझ्दछु । रातभरि ओढारमा छटपटिँदै टोलाएर बस्नुहुन्छ । कसरी जङ्गलको अर्थतन्त्र सुधार्ने ? कसरी मृगहरूलाई विदेशी सर्कसका स्यालहरूको फन्दाबाट जोगाउने ? कसरी जङ्गलको सिमाना रक्षा गर्ने ? हजुरको छातीमा जङ्गल सुधार्ने पिर छ, मुटुमा देशको माया छ, तर थोरै ‘म्यानेज’ गर्न नसक्दा हजुरको सबै पराक्रम कुइरोभित्रको ब्वाँसो जस्तै हराइरहेको छ ।
त्यसैले, मेरो यो विनम्र बिन्ती छ, अब त्यो ओढारको ओसिलो कुनाबाट निस्कनुस् र संसद्को त्यो मुख्य मुढामा गएर एकपटक सिंहनाद गरिदिनुस् ! औपचारिकता नै सही, तर हजुरको त्यो कोट टल्काएर लट्ठी टेक्दै गरेको उपस्थिति मात्रले पनि ती बिरालो र भालुहरूको सातो जानेछ । हजुरको एउटै गर्जनले जङ्गलका त्रसित भेडाहरूमा पनि सिंहको जस्तो साहस आउनेछ ।
जब हजुर मेरो यो पत्र पढेर संसद् भवन (वरको रुख) तिर प्रस्थान गर्नुहुनेछ, तब त्यहाँको महा-नाट्य हेर्नलायक हुनेछ ।
भयानक प्रचण्ड-बिरालो एउटा कुनामा बसेर आफ्नो जुँगा चाट्दै अर्को दूधको बाल्टिको दाउ हेरिरहेको हुनेछ ।
छेरबहादुरे भालु संसद्को बीचमै घुर्दै निदाइरहेको हुनेछ, उसलाई जङ्गल डुबोस् कि बँचोस्, केही मतलब छैन, ऊ त केवल आफ्नो पालो कहिले आउँछ र फेरि सत्ताको मह खान पाइन्छ भन्दै सपना देखिरहेको हुनेछ ।
छवि-रङ्गे मयूर आफ्नो नयाँ रङ्गीन प्वाँख फिँजाएर पुराना फाइलहरू खोल्दै कराउनेछ ।
तर जब खड्ग-सिंहे ब्वाँसो मुढामा बस्नेछ, तब संसदमा सन्नाटा छाउनेछ । हजुरले घाँटी ख्याकारेर भन्नुहोला- “हे जङ्गलका वासीहरू ! यो देशमा बिरालोले बाघको छाला ओढेर हिँड्दैमा ऊ सिंह बन्न सक्दैन । ब्वाँसो बुढो भए पनि उसले घाँस खाँदैन, सिकार गर्न बिर्सिँदैन !” यो सुनेर साना मुसाहरू खुसीले उफ्रिनेछन् र चमेरोहरू फेरि हजुरकै पखेटाको छहारी खोज्न आउनेछन्।
प्रधानमन्त्रीज्यू, जबसम्म नेतृत्वमा बस्ने ब्वाँसोले आफ्नो अहङ्कारको ‘सिङ’ त्याग्दैन, तबसम्म जङ्गल सुरक्षित रहन सक्दैन । जनताको आशाको त्यान्द्रो निकै कमजोर हुन्छ, यसलाई अहङ्कारको कडा घामले सुकाइदिनु हुँदैन । विपक्षी स्यालहरू जतिसुकै चिच्याए पनि, यदि आफ्नो बाटो स्पष्ट छ भने जङ्गलको यात्रा रोकिँदैन । छवि जस्ता मयूर र म जस्ता बाजहरू जङ्गलका गहना हुन्, उनीहरूलाई शत्रु होइन, जङ्गलका पहरेदार मान्नुपर्छ ।
भित्री अहङ्कारको ऐना जति छिटो फुट्छ, उति नै छिटो सत्यको नयाँ अनुहार देखिन्छ । ओढारबाट बाहिर निस्कनुस् र यो जङ्गलको महासर्कसलाई एउटा सुन्दर बगैँचा बनाउनुस् । स्यालहरू त कुनामै बसेर नयाँ षड्यन्त्रको जालो बुन्दै रहनेछन्, किनकि जङ्गलको राजनीति कहिल्यै सकिँदैन, यो त निरन्तर चलिरहने नाटक हो । तर हजुरको एउटा सही कदमले यो मङ्गलपुर जङ्गलको इतिहास बदल्न सक्छ।
चेतना भया !
उही
— जङ्गलको पहरेदार,
चन्द्रमुखे बाज ।
०००
उदयपुर
Subscribe
Login
0 Comments
Oldest









































