साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मास्टरको जिन्दगी: अरूलाई टप, आफ्नै फ्लप

कहिलेकाहीँ त लाग्छ, मेरो ३५ वर्षे शिक्षण अनुभव र जीवनभरको सङ्घर्षको मूल्य आफ्नै घरभित्र कवाडीको भाउमा पनि बिक्न छाडेको छ ।

Nepal Telecom ad

नन्दलाल आचार्य

(शिक्षा केवल डिग्री हासिल गर्ने माध्यम होइन; यो त बाउआमाको पेन्सन, बैङ्कको किस्ता, सन्तानको ‘फ्यासन शो’ र समयले लिने ‘रि-टेक’ परीक्षाको खिचडी यात्रा हो । गाउँको एउटा चक, मार्कर र डस्टर पिएर बाँचेको गरिब शिक्षक बाबुले सहरमा ‘सेमेस्टर सिस्टम’को हावा खाएर ढलेकी आफ्नी छोरीकी सानीमालाई लेखेको यो पत्र आधुनिक नेपाली समाजका हजारौँ हुतिहारा अभिभावक र ‘फेसबुकिया’ पुस्ताको साझा प्रहसन हो ।)

प्रिय कान्छी,
स्नेहका साथ हँसाउने शुभआशीर्वाद !

धेरै दिनदेखि मनको कुनाकाप्चामा गुम्सेर बसेको अमिलो हावा, बैङ्कको किस्ताको चिन्ता र आफ्नै हुतिहारापनलाई शब्दको ‘कार्टुन’ बनाउन आज यो कलम समाएको छु । फोनका दुई-चार मिनेटका सुक्खा, औपचारिक र ‘डाटा सकियो’ भन्दै काटिने संवादभित्र मेरो खल्तीको रित्तोपन र मनको भूकम्प अटाउन सकेनन् । कतिपय व्यथाहरू फोनबाट होइन, रोएर पनि होइन, ‘मुसुक्क हाँसेर छाती पिट्दा’ मात्रै व्यक्त हुन्छन् ! त्यसैले आज शिक्षकको गम्भीर कोट फुकालेर आफ्नै ह्वाङ्ग परेको मनको ऐनाअगाडि उभिएको छु । एउटा असहाय, कङ्गाल तर हाँस्न बाध्य बाबुको यो लाजमर्दो आत्मसंवाद तिमीसामु बिसाउँदै छु ।

छोरी गरिमाको पहिलो सेमेस्टरको नतिजा केही दिनअघि आएछ । उनले काठमाडौँबाट फोन गरेर, मानौँ कुनै ठूलो युद्ध जितेको स्वरमा, यत्ति भनिन्, “बुबा, म त सोलोडोलो फेल भएँ नि ! उताबाट अलिकति प्याम्परिङ पठाउनू, गालीचाहिँ नगर्नू है !” मैले आफ्नो रगतको चाप (बीपी) लाई जेनतेन सम्हाल्दै सोधेँ, “अलि कति अङ्क आयो त मेरी महारानीको ?” तर उनले आफ्नो ‘आईफोन’को म्यासेज बक्सजस्तै रहस्यमय बन्दै केही खुलाउन चाहिनन् । “छोड्नु न बुबा, अर्को परीक्षामा त म टप नै गर्छु” भन्दै हतार-हतार कुरा मोडेर फोन राखिन् ।

फोन त काटियो, तर त्यसपछि मेरो टाउकोभित्र चलेको आँधी अझै शान्त भएको छैन । बाहिरबाट म सिरहाको धुलो उड्ने स्कुलको गम्भीर शिक्षक हुँ- अरूका छोराछोरीलाई अनुशासन, धैर्य र इमानदारीको पाठ पढाउने बाहुबली मास्टर ! तर भित्रभित्रै म आफ्नै सन्तानको काठमाडौँको सङ्गत र सेमेस्टरको नतिजा देखेर छटपटाउने एउटा निरीह, काँतर र रित्तो खल्तीवाला बाउ हुँ । कहिलेकाहीँ लाग्छ- अरूलाई संसार जित्ने उज्यालो बाटो देखाउने यो मास्टर आफ्नै घरको दियो तेल सकिएर निभ्न लाग्दा पनि केवल मुसुमुसु हाँसेर बस्न विवश छ !

कान्छी, तिमी पनि आफ्ना सन्तानलाई अमेरिकी सहरको हावा खुवाउँदै हुर्काउँदै छ्यौ । जागिर, घरव्यवहार, महँगी र आधुनिक पुस्ताका नखराहरूसँग जुध्दै जीवनका अनेकौँ रङ देखिसकेकी छ्यौ । त्यसैले तिमी गरिमाकी सानीमा मात्र होइनौ; उनकी गसिप पार्टनर, सहरका कलेज बुझ्ने सहयात्री र मेरो दुःखको स्याम्पल सुनिदिने आत्मीय सहारा पनि हौ । यही विश्वासले आज आफ्ना सबै सेता कपाल र रित्ता गोजीहरू तिमीसामु उघारिरहेको छु ।

गाउँको एउटा सामान्य माध्यमिक विद्यालयमा डस्टरको धुलो फाल्दै, सेतोपाटीमा मार्कर घिसार्दै जीवन सिध्याएको म एउटा मामुली शिक्षक हुँ । महिनाभरिको पसिनाको गन्ध सुक्न नपाउँदै काठमाडौँका नामी कलेजहरूको भर्ना र धरौटी बुझाउँदै मेरो तलव स्वाहा हुन्थ्यो । आफ्नो फाटेका सेन्डो गन्जी र पुराना जुत्ता लुकाएँ, रहरहरूलाई काठको बाकसमा ताला मारेर राखेँ, अनि हैसियतभन्दा ठूला सपना देखेँ । सहरजस्तो महँगो र कफी शपको संस्कृति भएको ठाउँमा गरिमालाई ठूलो मान्छे बनाउन सकभर आफ्नो ढाड भाँचिने गरी लगानी गरेँ । मलाई लाग्थ्यो- आजको यो सुक्खा रोटी र नुनको दुःख भोलि छोरीले प्याकेजको जागिर खाएपछि उज्यालोमा परिणत हुनेछ । तर आजको यो सोलोडोलो फेलको नतिजाले त्यो उज्यालो सपनामाथि काठमाडौँको बाक्लो तुवाँलो र फोहोरको डङ्गुर थुपारिदिएको छ ।

जीवनभर अरूका छोराछोरीलाई मिहिनेत, अनुशासन र परीक्षामा चोर्नु हुँदैन भन्ने उपदेश दिइरहेँ । मेरा गाउँका विद्यार्थीहरू लोकसेवा पास गरेर वा वैदेशिक रोजगारीबाट कमाएर फर्किँदा उनीहरूलाई देखेर म छाती फुलाउँथेँ । अरू मास्टरका छोराछोरीले डिस्टिङ्क्सन ल्याएको सुन्दा मनमनै सोच्थेँ- आहा ! एक दिन मेरी गरिमाले पनि काठमाडौँबाट यस्तै नतिजा ल्याएर मेरो अनुहारमा चमक ल्याउनेछ । तर आज गाउँका छिमेकीले “मास्टर साहेब, छोरीको नतिजा के भयो ?” भनेर सोध्दा मलाई चियाको कपमा मुहार लुकाउनुपर्ने स्थिति छ । शब्दभन्दा मौनता र मौनताभन्दा अमिलो हाँसो कति भारी हुँदो रहेछ भन्ने कुरा आज सिरहाको यो गर्मीमा महसुस गर्दै छु ।

मनमा बारम्बार एउटै प्रश्न उठ्छ- के म अभिभावकका रूपमा सर्वोत्कृष्ट फ्लप भएँ ? कि स्कुलको हाजिरी खाता मिलाउँदा-मिलाउँदै आफ्नै घरको हाजिरी लिन बिर्सेँ ? धेरै विश्वास गरेर काठमाडौँ पठाउनु नै मेरो ठूलो भुल थियो कि ? उनीहरूले त्यो विश्वासलाई इन्स्टाग्रामको रिल्स बनाउने स्वतन्त्रता ठाने ? आवश्यक बेला लौरो चलाउन नसक्नु नै मेरो मास्टर-बुद्धि हो ? यी प्रश्नहरूले मेरो मगजलाई दिनरात पोलेर भुटुभुटु पारिरहेका छन् । गरिमा मात्र होइन, घरका अन्य सन्तान पनि जिम्मेवारीको नाममा शून्य र मोबाइलको स्क्रिनमा १००% व्यस्त देखिन्छन् । केही सम्झाउन खोज्यो भने प्रतिवाद गर्दै भन्छन्- बुबा, तपाईं त पुराना ‘८० को दशक’को कुरा गर्नुहुन्छ ! कहिलेकाहीँ त लाग्छ, मेरो ३५ वर्षे शिक्षण अनुभव र जीवनभरको सङ्घर्षको मूल्य आफ्नै घरभित्र कवाडीको भाउमा पनि बिक्न छाडेको छ ।

छोराछोरीलाई सहर पढाउनु भनेको रित्तो खल्तीले महँगो क्याफेमा बसेर ब्ल्याक कफी पिउनुजस्तै हो- महँगो पनि हुने, तीतो पनि हुने, अनि छ्यापछ्याप्ती पेट डढ्ने ! तर कान्छी, गरिमा आफैँमा अयोग्य वा बुद्धू त होइनन् । उनी सानैदेखि मेधावी, जिज्ञासु र गाउँमा सबैले तारिफ गर्ने प्रतिभाकी थिइन् । त्यही क्षमताको भ्रममा परेर मैले आफ्नो औकातभन्दा बाहिर गएर उनलाई काठमाडौँको नामी, महँगो र ठूला मान्छेका सन्तान पढ्ने कलेजमा भर्ना गरिदिएको थिएँ । त्यसैले आज उनको असफलताले मलाई नतिजाभन्दा पनि उनको सम्भावनाको अवसानले बढी दुःखी र स्तब्ध बनाएको छ । कतै काठमाडौँको चकाचौंध, ठूला-ठूला मल, मोमोका पसल, गलत सङ्गत वा टिकटकको क्षणिक नशाले उनको लक्ष्यलाई धमिलो बनाइदिएको त होइन ? यो चिन्ताले मलाई राति निदाउन पनि दिँदैन, अनि दिउँसो स्कुलमा पढाउन पनि दिँदैन ।

अर्को एउटा अनौठो डर पनि छ आजका बाबुआमाको छातीमा ! आजका युवाहरू भावनात्मक रूपमा यति धेरै नाजुक र मेसेन्जरको भ्वाइस नोट जस्तै कमजोर छन् कि अलिकति कडा शब्द बोल्यो भने आवेगमा आएर कतै अप्रिय निर्णय वा घर छोड्ने नाटक गरिदिने हुन् कि भन्ने त्रासले म उनलाई ढङ्गले गाली गर्न पनि डराउँछु ! एउटा बाबुले आफ्नै पसिनाबाट हुर्काएको सन्तानसँग बोल्नुअघि १०० पटक सोच्नुपर्ने र डराउनुपर्ने कति ठूलो कमेडी र विडम्बना हो !

त्यसैले कान्छी, आज भिनाजुको नाताले होइन, एउटा पराजित मास्टरका नाताले तिमीसँग एउटा हार्दिक आग्रह छ ।
समय मिलाएर गरिमाको डेरा वा कलेजतिर हान्निएर भेटिदेऊ । उनलाई ढोकामै पुगेर पढ-पढ भनेर हैरान नपार । पहिले उनको मन पढिदेऊ । उनका कुरा सुनिदेऊ । उनी किन भित्रभित्रै हराइरहेकी छिन् र कता भुलिरहेकी छिन्, त्यो बुझिदेऊ । उनलाई नियन्त्रण गर्ने प्रिन्सिपल होइन, विश्वास गर्ने र गफ हान्ने मान्छे चाहिएको हुन सक्छ । उनको जीवनमा सानीमाको गम्भीर अनुहार लिएर होइन, एउटा असल साथी बनेर प्रवेश गरिदेऊ । कहिलेकाहीँ एउटै आत्मीय मःमःको प्लेट र स्पर्शले सयौँ मास्टरका उपदेशले गर्न नसकेको चमत्कार गरिदिन्छ !

उनलाई हल्कासँग सम्झाइदेऊ- नानी ! सेमेस्टरको असफलता जीवनको पूर्णविराम होइन, यो त केबल अलिकति पैसा र समय थप्ने अल्पविराम मात्रै हो । एउटा परीक्षामा लड्नु भनेको जिन्दगीको रेसबाट बाहिरिनु होइन । बरु यही समयले उसलाई अझ परिपक्व, जिम्मेवार र बाबुको रित्तो गोजी बुझ्न सक्ने बलियो मान्छे बनाउन सक्छ । उनलाई आफ्ना बाबुआमाको सिरहाको तातो घाममा बगेको पसिनाको मूल्य बुझ्न सिकाऊ । समयको सम्मान गर्न र सपनालाई केवल इन्स्टाग्राम बायोमा सीमित नराखी वास्तविक लक्ष्यमा बदल्न सिकाऊ ।

म त अझै पनि हार मानेको छैन, कान्छी ! अरूका हजारौँ सन्तानलाई गाउँको स्कुलबाट उज्यालो बाटो देखाएर पठाएको यो बूढो मास्टरले आफ्नै घरकी छोरीलाई काठमाडौँको अँध्यारो भुलभुलैयामा हराउन दिने छैन । आवश्यक परे फेरि आफ्नो वैशाखको पसिना बेच्नेछु, फेरि आफ्ना मनपर्ने दौरा-सुरुवाल र रहरहरू त्याग्नेछु, फेरि बैङ्कको किस्तासँग सङ्घर्ष गर्नेछु । किनकि बाबुको प्रेम कुनै सेमेस्टरको नतिजाले मर्दैन, असफलताको अङ्क देखेर थाक्दैन, र निराशाको तुवाँलोले कहिल्यै सकिँदैन !

यदि तिमीलाई लाग्छ- भिनाजु, अरूलाई सिकाउने तपाईं नै यहाँनिर चुक्नुभयो, छोरीलाई अलि बढी पम्प दिनुभयो भने निसङ्कोच मुखै फोडेर भनिदेऊ । म त्यसलाई आलोचना होइन, आफ्नो मास्टरी सुधार्ने आत्मसुधारको अवसर ठान्नेछु । अभिभावक पनि जिन्दगीको अन्तिमसम्म सिकिरहने ब्याकबेन्चर विद्यार्थी नै हुन् भन्ने कुरा मैले आज झन् गहिरोसँग बुझेको छु ।

समय मिलेसम्म गरिमासँग अपडेटमा रहिरहनू । उनीबारे जे-जस्ता गुप्तचर खबर थाहा हुन्छन्, मलाई सीधै फोन गरेर भनिदिनू । तिम्रा केही आत्मीय र हास्यास्पद शब्दले सायद एउटी बाटो बिराएकी छोरीको भविष्य मात्र होइन, एउटा हताश बाबुको बचेखुसेको आशा र हाँसो पनि जोगाइदिन सक्छ ।
सबैलाई धेरै माया ! सहरी प्रदूषणबाट जोगिनू र आफ्नो स्वास्थ्यको ख्याल राख्नू ।
उही तिम्रो दगुर्ने, खट्ने र हाँस्न बाध्य भिनाजु,

(यो पत्र केवल एउटा बाबुको व्यथा र हाँसोको खिचडी होइन; यो त हजारौँ नेपाली अभिभावकको साझा कमेडी-ड्रामा हो । सन्तानले अभिभावकको खल्ती र त्याग समयमै बुझ्न सके मात्र शिक्षाले अर्थ पाउँछ । अभिभावकले पनि कडा अनुशासनसँगै संवाद, विश्वास र साथीभाइको जस्तो आत्मीयतालाई प्राथमिकता दिन सके मात्र सन्तानको भविष्य साँच्चिकै उज्यालो बन्छ । आखिर, काठमाडौँको सहरिया चकाचौंध, मल र क्याफेभन्दा गाउँमा पसिनाले भिजेको बाबुको च्यातिएको कमिज र आमाका फुटेका गोडा नै जीवनका सबैभन्दा ठूला र वास्तविक विश्वविद्यालय हुन् !)

०००
-शिक्षक, श्री जनता माध्यमिक विद्यालय (प्राविधिक), गोलबजार-४, सिरहा ।
२०८३ साउन ८ गते

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
दुई नम्बरीको संसारमा

दुई नम्बरीको संसारमा

काेइराला वत्सराज
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
आदि, इत्यादि र लगायत

आदि, इत्यादि र लगायत

शिवप्रसाद जैशी
अन्तिम निर्णय

अन्तिम निर्णय

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x