बद्रीप्रसाद दाहाल ‘भस्मासुर’देश ?
हेर्दा हेर्दै दलबल यहाँ बन्न थाले निरीह! बाझ्दाबाझ्दै समय भुस भै दीनताले सुसेल्छ!! मुर्दालाई पनि कर लिने स्वास्थ्यशिक्षा र बत्ती! बाँच्नै दिन्नन् कुटिल अगुवा के नयाँ ? तुच्छ रद्दी !!

बद्रीप्रसाद दाहाल :
नारा कुर्ले, नव – नव सिटी, धाक वा फूर्तिसाथ !
स्याटालाइट् – सहर- सपना, स्मार्ट – मेघा अथाह !!
तिर्खा मेट्ने घरघर हिटी स्राेतकाे छैन रक्षा!
बाटा जम्मै पिच त गरिए माल हाली निकम्मा!!१ !!
भोकाएका अभिनव लुरे, स्याल-ब्वाँसा कराए !
थप्दै चर्का कर घरघरै, चुस्नमै बर्बराए !!
गावैँ हाम्रा नगर त बने, छैन आधार – पूर्व !
मात्रै स्वप्ना गफ फजुलका, चल्न थाले अपूर्व !!२ !!
सिंहै-दर्बार त धरधरै, पुग्छ चिन्ता नमान —
भन्दै, नारा घननन भए लुट्नु लुट्छन् जमात !!
पानी-बत्ती फसल-मिल वा खुल्छ उद्योगशाला !
सुन्दा सुन्दै मन-मगजमा, लाग्छ चाबी र ताला !! ३ !!
गाउँ मास्दै नव-नव सिटी, कल्पनामा रमाए !
मन्त्री सुब्बा पिउनतकले, क्या मजाले कमाए !!
हल्ला चर्काे, अतिसय भयाे, लर्खरायाे विकास !
यस्ता हाैवा, फगत गफले वैलिए झन् विकास !!४!!
बाँच्नै गाह्राे कठिन जनता दिक्क छन् वाक्क आज !
ज्यूँदाे मुर्दा कति दिन बनी सास फेर्ला समाज !!
हल्लागुल्ला लुटफुट नयाँ ट्याक्सकाे भारी थप्दै !
ठेट्ना उर्ले झडप झगडा भाउ चर्काे छ उस्तै !!५!!
हेर्दा हेर्दै दलबल यहाँ बन्न थाले निरीह !
बाझ्दाबाझ्दै समय भुस भै दीनताले सुसेल्छ !!
मुर्दालाई पनि कर लिने स्वास्थ्यशिक्षा र बत्ती !
बाँच्नै दिन्नन् कुटिल अगुवा के नयाँ ? तुच्छ रद्दी !!६!!
भस्मासुराेवाच !
समाप्तम्।
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































