हरिशंकर परसाईंकेही लघुव्यङ्ग्यहरू
‘एउटा उपाय छ । सर्प पनि मर्छ र लौरो पनि भाँचिन्न । समितिको बैठकको सूचनामा बैठकमा बाढीपीडितहरूका लागि धनसङ्कलन पनि गरिने छ भनेर लेखिदिऊँ ।

हरिशंकर परसाईं :
व्यङ्ग्यानुवाद : रमेश समर्थन
१. चन्दाको डर (चन्दे का डर)
एउटा ससानो समितिको बैठक बोलाउने योजना चल्दै थियो । एकजना सज्जन जो समितिका सदस्य त थिए तर का मभने केही पनि गर्दैनथे र बिचमा भाँजो हालेर बोक्रे वाहवाही चाहन्थे । उनी भाषण पनि लामै दिन्थे ।
उनी समितिको बैठकमा नआऊन् भनेर मानिसहरू केही न केही गर्न खोज्दै थिए । तर उनी त नबोलाइकनै पनि पुग्नेखालका थिए । फेरि यहाँ त उनलाई बोलाउनैपर्थ्यो किनभने उनी समितिका सदस्य थिए ।
एकजनाले भने, ‘‘एउटा उपाय छ । सर्प पनि मर्छ र लौरो पनि भाँचिन्न । समितिको बैठकको सूचनामा बैठकमा बाढीपीडितहरूका लागि धनसङ्कलन पनि गरिने छ भनेर लेखिदिऊँ । उनी अलकत्रे छुचा मान्छे हुन् र जहाँ चन्दासन्दाको शङ्का हुन्छ त्यहाँ उनी जाँदै जाँदैनन् ।’’
२. वात्सल्य
एउटा सात आठ वर्षको केटो एउटा मोटरसित ठोकियो । टाउकामा चोट लाग्यो । ऊ रुन थाल्यो । वरपरका मानिसहरू झुम्मिए । सबै रिसाएका थिए । बाबुआमा पनि आए ।
‘ड्राइभरलाई समातिराख है …। भागेर जाला…!’ यस्तै पुकारहरू भए । मानिसहरू पिट्न तम्सिए । ऊ भागोस् भने पनि पिटिने डर । मानिसका आँखामा रगत चुहिएको जस्तो छ ।
उसको दिमागमा एउटा कुरो आयो । ऊ अघि बढ्यो अनि रगतमा लत्पतिएको केटालाई उठाएर छातीमा टाँसेर पिठ्युँ थप्थपाउँदै भन्यो, ‘‘बाबु ! बाबु !!’’
यता मानिसहरू रिस त हरायो अनि बाबुआमाले पनि भने, ‘‘कस्तो सज्जन मान्छे रैछ । अरू भएको भए त भागिसक्थ्यो ।’’
३. धन्यवाद भाषण
मध्यमवर्गको मानिस पनि एउटा अचम्मैको प्राणी हुन्छ । एकातिर उसमा उच्च वर्गको अहङ्कार हुन्छ भने अर्कातिर निम्नवर्गको गरिबी हुन्छ । अहङ्कार र गरिबीबाट मिलेर बनेको उसको व्यक्तित्व बडो विचित्रको हुन्छ । उसले ठुला अधिकारीका सामु त पुच्छर हल्लाउँछ तर पिउनका अगाडि बाघ बन्न खोज्छ ।
त, त्यस दिन कार्यालयको पिउनले आफ्नो छोराको विवाहको उपलक्ष्यमा हाकिम र ठुला कर्मचारीहरूलाई एउटा पार्टी दिनुपर्ला भन्ने सोच्यो । उसले अधिकारीहरू र सुब्बा खरदारकोे घरमा विवाह हुँदा सबै साथीहरूलाई पार्टी दिएको देखेको थियो । अनि विवाहको समय नै त्यो अवसर हो जति वेला मानिसले आफ्नो गरिबीलाई बिर्सेको हुन्छ ।
त, गणेश पिउनले प्रत्येक कर्मचारीको नजिकै गएर आज कार्यालयपछि उसले सबैका लागि चियाखाजको व्यवस्था गरेको हुनाले पाल्नुहोेला है भनेर अनुरोध पनि गर्यो । सरहरूले पाँच बजे त्यहाँ जाने कृपा पनि गरे । ३०–४० जनाजति अधिकारी र सुब्बासाहेब र खरदारसाहेबहरू बरन्डामा टेबुलवरिपरि कुर्सीमा बसे । गणेशले व्यवस्था पनि राम्रो गरेको थियो, मिठाई, नमकिन र चिया थियो । सबै राम्रो थियो ।
जब खानेपिउने काम सकियो अनि सबैभन्दा करौटे कर्मचारीलाई सबैका तर्फबाट दुईचार शब्द बोल्ने जिम्मेवारी दिइयो । यस अवसरमा गणेशले आफ्ना दुईचार जना आफन्तलाई पनि कार्यालयका ठुला कर्मचारीहरूले उसलाई कति माया गर्दा रहेछन् भनेर देखाउन बोलाएको थियो । ऊ देखाउन चाहन्थ्यो, उनीहरू कसरी उसलाई आफूजस्तै ठान्दा रहेछन् ! ठुला हाकिमका बिचमा ऊ सानै कर्मचारी भए पनि कत्रो इज्जत रहेछ ! ती सबै आफन्तहरू भुइँमा बसेका थिए र गणेशले गर्व र हर्षपूर्वक उनीहरूतिर हेरिरहेको थियो, मानौँ ऊ भन्न चाहन्थ्यो, ‘देख्यौ त, म त्यति कामै नलाग्ने मान्छे त कहाँ हुँ र !’
त, ती कुरौटे कर्मचारीले भाषण दिन थाले, ‘‘हामी गणेशलाई धेरै धन्यवाद दिन्छौँ । उनको व्यवस्था निकै राम्रो थियो । परमात्माले आज उनलाई यो शुभ दिन पनि देखाए । मलाई थाहा छ जति वेला गणेश यहाँ आएका थिए त्यति वेला यिनीसँग खाने दानो पनि थिएन र लगाउने धरो थिएन । बिचरा भोकभोकै हुन्थे । तर हामीले उनलाई यहाँ नोकरीमा लगाइदिएपछि त उनी मज्जामा छन् ।’’
गणेशको शिर निहुरियो । ऊ रोलारोलाजस्तो भयो । उसका आफन्त पनि उदास भएका थिए । गणेशलाई टाउको उठाएर उनीहरूलाई हेर्न सकिरहेको थिएन ।
कर्मचारीले जब उसको भोकमरीको र गरिबीको पिठ्युँमा आफ्नो उपकारको भारी बोकाए अनि गणेशले काँपिरहेका हातले जुठा कपप्लेट बटुल्न थाल्यो ।
४. आफ्नो–पराई (अपना–पराया)
‘‘तपाईं कुन स्कुलका शिक्षक हुनुहुन्छ ?’’
‘‘म लोकहितकारी विद्यालयमा छु । किन, केही काम छ र ?’’
‘‘अँ, मेरो छोरालाई स्कुलमा भर्ती गराउनु छ ।’’
‘‘उसो भए हाम्रै स्कुलमा भर्ती गराउनुस् न त !’’
‘‘पठनपाठन कस्तो छ नि ?’’
‘‘नम्बर वन ! निकै राम्रा शिक्षकहरू छन् । वातावरण पनि निकै राम्रो छ । निकै राम्रो स्कुल छ ।’’
‘‘तपाईंका बाबुले पनि त्यहीँ पढ्छन् होला ?’’
‘‘कहाँ हुनु ? मेरो बाबु त ‘आदर्श विद्यालयमा पढ्छ ।’’
०००
यी लघुव्यङ्ग्यहरू ‘परसाई रचनावली’ २ बाट अनुवाद गरिएका हुन् ।
Subscribe
Login
0 Comments
Oldest







































